बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावका लागि ऐन संशोधनको लफडा, ऋषि कट्टेलको पार्टी दुई चिरा

सोमबार, १७ माघ २०७८, २० : ४८
सोमबार, १७ माघ २०७८

आज २०७८ माघ १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. निर्वाचन आयोगको ‘बटमलाइन’

स्थानीय तहको चुनाव गर्न संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने सत्तारुढ दलको गृहकार्य भइरहेका बेला निर्वाचन आयोगले भने २०७९ साल जेठ ५ भित्रै चुनाव गर्नुपर्ने ‘बटमलाइन’ अघि सारेको छ । जेठ ५ भित्रै चुनाव सुरु गरे स्थानीय तह निर्वाचन ऐन समेत संशोधन गर्न नपर्ने आयोगका उच्च पदाधिकारीको भनाइ छ ।

२. ऐन संशोधन नगरी सुखै छैन

स्थानीय सरकारका जनप्रतिनिधिको पदावधि सकिने मिति नजिकिँदै गर्दा स्थानीय तहको निर्वाचक कहिले भन्ने बहस सुरु भएको छ । निकट भविष्यमा हुने स्थानीय तहको चुनाव नै अन्तिम चुनाव हैन, त्यस्तो चुनाव फेरि पाँच–पाँच वर्षमा आइरहन्छ । अबको चुनाव गर्नुअघि संविधान र ऐनमा भएका प्रावधानहरू बाझिएकाले त्यसलाई संशोधन नगरी चुनाव गर्न सम्भव छैन ।​

३. स्थानीय चुनावको खर्च

देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ ।​

४. राष्ट्रपति फेरि विवादमा 

मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाएर स्थानीय निर्वाचनबारे प्रधानमन्त्रीलाई सचेत गराएपछि राष्ट्रपति भण्डारीमाथि सत्तापक्षबाट प्रश्न उठेको छ ।​

५. ऋषि कट्टेलको पार्टी दुई चिरा

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गराउने माध्यम बनेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै विभाजनतिर गएको छ । पार्टीभित्र दुई लाइन संघर्ष चर्किएसँगै पार्टीमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्नेदेखि अध्यक्ष ऋषि कट्टेललाई नै पार्टीबाट हटाउनेसम्मको निर्णय भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेपछि पार्टी फुटतिर गएको हो ।

६. सस्त्यायो कुखुराको मासु र अण्डा

कोरोना महामारीको तेस्रो लहर निम्त्याएको ‘ओमिक्रोन’बाट नेपालको पोल्ट्री व्यवसाय पनि प्रभावित बनेको छ । सङ्क्रमण तीव्र फैलिएपछि कुखुराको मासु र अण्डा खपत ५० प्रतिशत घटिसकेको छ । अण्डा र मासु अत्यधिक खपत हुने होटल तथा रेस्टुराँमा उपभोक्ता नजाँदा खपत र मूल्य दुवै घटेको हो ।

 

७. मन्त्रिपरिषद्का निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्री बताए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

८. एमसीसीबारे ​

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन नहुने बताएका छन् । सत्तारुढ दलका तर्फबाट एमसीसी अध्ययन कार्यदलका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुपचुप रुपमा राखेका एमसीसीसम्बन्धी दस्ताबेज भेटिएको जानकारी दिए । कार्यदलले खोजबिनका क्रममा नौवटा नयाँ दस्तावेज फेला पारेको र त्यसको गहिरो अध्ययनपछि मात्रै निचोडमा पुग्न सकिने उनको भनाइ छ । 

९. भारतीय र पाकिस्तानीको फन्दामा वडा अध्यक्षदेखि बैंकका डेपुटी सीईओसम्म

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार यही प्रकृतिको ब्ल्याकमेलको उजुरी लिएर ५० जनाभन्दा बढी व्यक्तिहरू ब्युरोमा आएका छन् । त्यो भन्दा बढी मौखिक उजुरी गर्ने तर लिखित नदिने व्यक्तिहरू छन् । ब्युरोका अनुसार विभिन्न स्थानका गाउँपालिका अध्यक्षहरू, वडा अध्यक्षहरू यसको शिकार भएका छन् । त्यसैगरी वोर्डिङ स्कुलका शिक्षकहरु पनि यस्ता फिसिङको शिकार भएका छन् । पत्रकार, व्यापारी लगायतका केही प्रोफाइल बोकेका व्यक्तिहरू यसको शिकार भएको ब्युरोको भनाइ छ । यस्ता फिसिङबाट धेरै व्यक्ति शिकार बनेको भएपनि लोकलाज र डरका कारण बाहिर नआएको ब्युरोको भनाइ छ ।

१०. २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप