बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोनले सस्त्यायो कुखुराको मासु र अण्डा

अण्डा प्रतिगोटा २ र मासु प्रतिकेजी १० रुपैयाँ सस्तो
सोमबार, १७ माघ २०७८, १५ : ३२
सोमबार, १७ माघ २०७८

कोरोना महामारीको तेस्रो लहर निम्त्याएको ‘ओमिक्रोन’बाट नेपालको पोल्ट्री व्यवसाय पनि प्रभावित बनेको छ । सङ्क्रमण तीव्र फैलिएपछि कुखुराको मासु र अण्डा खपत ५० प्रतिशत घटिसकेको छ । अण्डा र मासु अत्यधिक खपत हुने होटल तथा रेस्टुराँमा उपभोक्ता नजाँदा खपत र मूल्य दुवै घटेको हो ।

सङ्क्रमण रोकथाम गर्न हाल जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउन घोषणा गरेका छन् । जसकारण अधिकांश होटल तथा रेस्टुराँमा उपभोक्ताको चाप घटेको छ । अर्कातिर, पार्टी प्यालेसहरू पनि आंशिक बन्द हुँदा पनि कुखुराको मासु र अण्डा खपत घटिरहेको छ । 

काठमाडौँ उपत्यकाभित्रका पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिस मात्र सहभागी हुन दिने प्रशासनको निर्णय छ । यतिबेला देशभरका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय र मानिस भीडभाड हुने कार्यमा रोक लगाइएको छ । होस्टल, क्यान्टिन र पार्टी प्यालेस तथा नाइट क्लब बन्द अवस्थामा छन् । कोभिड महामारी सुरु भएयता विदेशी पर्यटकसमेत धेरै आएका छैनन् । जसले समग्र पोल्ट्री व्यवसायलाई नै प्रभावित पारेको हो ।

ह्याचरी संघका अध्यक्ष टीका पोखरेलले ओमिक्रोन विस्तार रोक्न स्कूल, कलेज तथा सम्पूर्ण शैक्षिक संस्था बन्द हुँदा मासुको माग घटेको बताए । ‘शैक्षिक संस्था बन्द हुँदा क्यान्टिन र होस्टल पनि बन्द छन् । जसले त्यहाँको खपत घटेको छ,’ उनले भने, ‘यस्तै, पार्टी, बिहे, व्रतबन्ध रोकिँदा पार्टी प्यालेसको खपत समेत घटेको छ ।’ बिस्तारै उकालो लाग्दै गरेको पोल्ट्री व्यवसाय ओमिक्रोन भेरियन्टले फेरि समस्यामा परेको उनको भनाइ छ । 

घट्यो अण्डा र मासुको मूल्य

ओमिक्रोन प्रभाव नेपालमा पर्नुअघि अण्डाको मूल्य प्रतिगोटा करिब १६ रुपैयाँ कायम थियो । तीनवटा अण्डा किन्न ५० रुपैयाँसम्म तिर्नुपर्थ्यो । तर, ओमिक्रोनको सङ्क्रमण रोक्न स्मार्ट लकडाउन लागू गरिएपछि माग ५० प्रतिशतसम्मले घट्यो । जसकारण यतिबेला प्रतिगोटा अण्डाको थोक मूल्य १२ रुपैयाँ आसपास झरेको छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले यतिखेर प्रतिक्यारेट अण्डाको थोक मूल्य ३३० रुपैयाँमा झरेको बताए । ‘एक क्यारेटमा ३० वटा अण्डा हुन्छ । प्रतिगोटा मूल्य १२ रुपैयाँ पर्न आउँछ,’ उनले रातोपाटीसँग भने । यस्तै, अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १४ रुपैयाँ आसपास पर्ने र प्रतिक्यारेट मूल्य ४२० रुपैयाँ पर्ने विष्टले जानकारी दिए । 

नेपालमा दैनिक ३० लाख गोटा अण्डा उत्पादन तथा खपत हुँदै आएको छ । बजार सामान्य ढंगमा चल्दा माग धान्न हम्मेहम्मे पर्ने गरेको थियो । जसकारण मूल्य बढेर प्रतिगोटा १६ रुपैयाँभन्दा माथिसम्म पुगेको थियो । तर, यतिबेला माग ह्वात्तै घटेपछि उत्पादन खपत नहुने स्थिति निम्तिएको र मूल्य ओह्रालो लागेको व्यवसायीहरू बताउँछन् ।

मासुको मूल्य पनि घट्यो

यतिबेला ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलोमा १० रुपैयाँसम्म घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेल्बासेले ओमिक्रोनको प्रभाव बढेसँगै कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम १० रुपैयाँले घटेको जानकारी दिए ।

‘बजार माग ५० प्रतिशतसम्मले घटेको छ । तर, उत्पादन घटेको छैन,’ उनले भने, ‘उत्पादन उस्तै र माग घटेपछि मूल्य ओह्रालो लाग्न थालेको हो ।’ मूल्य घट्ने क्रम कहिले रोकिन्छ भन्ने निश्चित नभएको उनको भनाइ छ ।

प्रतिकिलोमा १० रुपैयाँसम्म घटेपछि यतिबेला ब्रोइलर कुखुराको मासुको उपभोक्ता मूल्य प्रतिकिलोग्राम ३५६–६० रुपैयाँ कायम छ । यस्तै, जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलोग्राम २४० रुपैयाँ छ । यसअघि, ओमिक्रोन प्रभाव पर्नुभन्दा अघिल्लो महिनासम्म प्रतिकिलोग्राम ३८० रुपैयाँसम्म पर्थ्यो । 

सामान्य अवस्थामा नेपालमा कुखुराको दैनिक माग र खपत कूल आठ लाख किलोग्राम हो । जसमध्ये दैनिक पाँच लाख किलोग्राम कुखुराको मासु काठमाडौँ उपत्यकामै खपत हुने गर्छ । ‘सबै रेस्टुराँ, होटल, पार्टी प्यालेस, शैक्षिक संस्था तथा ठूला स्टार होटल सामान्य रूपमा चल्दा उपत्यकामै दैनिक पाँच लाख किलोग्राम मासु खपत हुन्छ,’ अध्यक्ष बेल्बासेले भने । 

बेल्बासेका अनुसार उपत्यकामा कूल खपतको ७० प्रतिशत मासु व्यावसायिक प्रयोजन र बाँकी ३० प्रतिशत घरायसी प्रयोजनमा खपत हुने गरेको छ । यतिखेर दैनिक मुस्किलले दुई लाख ५० हजार किलोग्राम मासु खपत हुने गरेको छ ।

बढ्यो दानाको मूल्य, चल्लाले पाएन भाउ

पोल्ट्री महासंघका अध्यक्ष विष्टका अनुसार यतिबेला कुखुराको दानाको मूल्य प्रतिकिलोग्राम १० रुपैयाँसम्म बढेको छ । दाना बनाउने कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढ्दा तथा सरकारले आयातमा नौ प्रतिशत भन्सार राजस्व लिँदा दानाको मूल्य बढेको हो । यी दुई कारणले दानाको मूल्य प्रतिकिलोग्राम १० रुपैयाँसम्मले बढेको विष्टले जानकारी दिए ।

दानाको मूल्य बढ्दा चल्ला उत्पादन लागत समेत बढेको महासंघले जनाएको छ । ब्रोइलर कुखुराको चल्लाको उत्पादन लागत प्रतिगोटा ६० रुपैयाँसम्म पर्ने गरेको महासंघले जानकारी दिएको छ । तर, यतिबेला ब्रोइलर कुखुराको बजार माग घट्दा चल्लाको माग समेत घटेको छ । हाल प्रतिगोटा चल्ला ३० रुपैयाँमा बिक्री भइरहेको छ । यो मूल्यमा बेच्दा उत्पादन लागतअनुसार प्रतिगोटा ३० रुपैयाँ घाटा हुने व्यवसायीहरू बताउँछन् । चल्लाको बजार मूल्य घट्दा समग्र पोल्ट्री व्यवसाय नै धराशायी बन्ने स्थिति आएको उनीहरू दाबी गर्छन् ।

महासंघ अध्यक्ष विष्टले हाल नेपालमा दैनिक ३० लाख चल्ला उत्पादन हुने गरेको बताए । यसअघि, कोभिड महामारी अघिसम्म दैनिक ४५ लाख वटासम्म चल्ला उत्पादन हुने गरेको थियो । बिस्तारै कुखुराको मासुको बजार माग घट्न थालेपछि चल्ला उत्पादनसमेत १५ लाखसम्म घटेको छ ।

महासंघका अनुसार नेपालको पोल्ट्री व्यवसायमा कूल एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने करिब ५० लाख मानिसले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन् । बर्डफ्लू लगायत समस्या व्यहोर्दै आएका पोल्ट्री व्यवसायी पछिल्लो दुई वर्षयता कोभिड महामारीको चपेटामा परेको विष्टले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप