बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

राम्री युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो ? ब्ल्याकमेलिङमा परिएला !

भारतीय र पाकिस्तानीको फन्दामा वडा अध्यक्षदेखि बैंकका डेपुटी सीईओसम्म
सोमबार, १७ माघ २०७८, १४ : ०१
सोमबार, १७ माघ २०७८

एक २० वर्षीय युवकको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आउँछ, सञ्जना अग्रवालको नामबाट । सुरुमा ती युवकले उनको रिक्वेस्ट स्वीकार गर्दैनन् । तर युवतीले लगातार फेसबुकको म्यासेन्जरमा म्यासेज गरिरहन्छिन् । साथी नबनेका कारण ती सबै म्यासेजहरू ‘म्यासेज रिक्वेस्ट’मा थुप्रिएका थिए ।

करिब एक साता अघि ती युवकलाई कोरोना सङ्क्रमण भयो । सङ्क्रमण भएपछि उनी कोठामै बस्न बाध्य भए । ४–५ दिन एक्लै कोठामै बस्नु परेपछि उनलाई समय बिताउन गाह्रो हुन थाल्यो । त्यसपछि उनले फेसबुकमा धेरै समय बिताउन थाले । सोही क्रममा करिब २ साता अगाडि आएको ती युवतीको फ्रेन्ड रिक्वेस्ट र म्यासेज पनि देखे ।

उनले सञ्जना अग्रवालको प्रोफाइल हेरे, युवती राम्री थिइन् । अनि केही म्युचल फ्रेण्ड पनि देखे । त्यसपछि उनले रिक्वेस्ट एसेप्ट गरे । त्यसपछि सुरु भयो उनीहरुबीच कुराकानी । सुरुसुरु त कुराकानी सामान्य नै भयो । युवतीले ती युवकलाई ह्याण्डसम देखिएको भन्दै बेलाबेला ‘कम्प्लीमेण्ट’ दिइरहेकी थिइन् । आफू भारतबाट भएको र नेपाल आउन चाहेको पनि बताइरहेकी थिइन् । कुराकानी अलि बढी नै भएपछि नेपाल आउँदा सँगै कतै घुम्न जाने, सँगै बस्नेसम्मको कुराकानी भयो । त्यसपछि युवतीले युवकलाई सोधिन्, ‘तिमीलाई सेक्स मन पर्छ ?’ युवकले उत्साहित हुँदै जवाफ दिए, ‘मनपर्छ !’

अनि युवतीले भिडियो च्याटमा आउने अफर गरिन् । तर त्योभन्दा अगाडि युवतीले युवकको ह्वाट्सएप नम्बर मागिन् । युवकले अझै उत्साहित हुँदै ह्वाट्सएप नम्बर पनि दिए । परिवारमा को–को छ, छुट्टै कोठा छ कि छैन आदि पनि सोधिन् । त्यसपछि युवतीले ती युवकलाई बाथरुममा जान भनिन् । युवक पनि युवतीले भने झैँ बाथरुममा पुगे । त्यसलगत्तै युवतीको +९१९३९४१६०२८९ नम्बरबाट कल आयो । युवकले ह्वाट्सएपमा आएको कल उठाउने बित्तिकै अडियो बिनाको एक भिडियो आयो, जहाँ युवती नाङ्गिन थालिसकेकी थिइन् । अनुहार समेत देखाइएको उक्त भिडियोमा युवती नग्न थिइन् र अश्लील हर्कत गर्न थालिसकेकी थिइन् । त्यसपछि युवतीले युवकलाई पनि आफ्नो यौनाङ्ग देखाउन भन्छिन् । यता ती युवक पनि नाङ्गिन्छन् र युवतीसँग करिब ३ मिनेट जति भिडियो च्याट गर्छन् ।

त्यसलगत्तै एकाएक भिडियो कल कट हुन्छ । त्यसको २ मिनेटमै युवकको ह्वाट्सएप र फेसबुकको म्यासेन्जरमा एउटा ‘स्क्रिनसट भिडियो’ आइपुग्छ । भिडियोमा ती युवकले युवतीसँग गरिरहेको अश्लील हर्कत हुन्छ । ती युवतीले उक्त भिडियो युवकको फेसबुकमा साथी रहेका अन्य २० जनालाई एकैपटक पठाएको स्क्रिनसट पनि पठाउँछिन् ।

त्यसपछि सुरु हुन्छ, ब्ल्याकमेलिङ !

भिडियो डिलिट गर्ने भए सुरुमा ती युवतीले एक लाख भारतीय रुपैयाँ माग गर्छिन् । पछि सोही नम्बरबाट एक हिन्दी भाषामा कुरा गर्ने युवकले फोन गरेर पैसा नदिए भिडियो भाइरल गरिदिने धम्की दिन्छन् । अघिसम्म युवती भनेर मक्ख परेका युवक बल्ल कुनै भारतीय ब्ल्याकमेलरको फन्दामा परेको थाहा पाउँछन् ।

तर नेपालबाट तत्कालै भारतीय बैंक खातामा पैसा पठाउन सकिने अवस्था थिएन । ती युवकले अन्य कुनै विधिबाट पैसा पठाउन सकिन्छ कि भनेर प्रयास पनि गर्छन् । तर त्यो मध्यरातको समय भएकाले त्यो सम्भव भएन । उनले भोलि बिहान बैंक खुलेपछि पैसा पठाउँछु भन्छन् ।

कुराकानीकै क्रममा ‘ब्ल्याकमेलर’ले भोलि बिहान १० बजेसम्म ११ हजार ९९९ रुपैयाँ समय दिन्छन् । भोलिपल्ट युवकले ती ब्ल्याकमेलरलाई बैंक खाता मागेर एसबीआई बैंकमा पुग्छन् । तर बैंकले भारतमा पैसा पठाउन नमिल्ने जवाफ दिएपछि ती युवकले ‘पैसा पठाउन मिलेन, नेपाली बैंककै खाता देऊ’ भन्छन् । तर ब्ल्याकमेलरले गाली गर्दै युवकका केही साथीलाई फेरि उक्त भिडियो पठाइदिन्छन् ।

ब्ल्याकमेलरले तनाब दिएपछि युवकले आफ्ना साथी र केही सिनियरसँग सल्लाह गरेर फेसबुक ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल सबै डिएक्टिभ गर्छन् । तर कोभिड ठीक भइसकेको भएपनि युवक आफ्नो कार्यालयसमेत नगइ कोठामै झोक्राएर बस्न थाल्छन् । तर सिनियर दाइ र साथीहरुले यो पहिलो घटना नभएको भन्दै यसलाई सामान्य रुपमा लिन भनेपछि बल्ल ती युवक आफ्नो दैनिक जीवनमा फर्किन्छन् ।

०००

हुन पनि नेपालीका लागि यो पहिलो घटना थिएन । यसभन्दा अगाडि पनि १५० भन्दा बढी नेपाली नागरिकहरु यही प्रकृतिको ब्ल्याकमेलिङबाट पीडित भइसकेको प्रहरीको भनाइ छ । प्रहरीको जानकारीमै नआएका योभन्दा धेरै घटनाहरु भएको प्रहरीको अनुमान छ । भारतीय र पाकिस्तानी ब्ल्याकमेलरले यौनको लालच देखाएर मध्यम वर्गका नेपाली नागरिकमाथि ब्ल्याकमेलिङ गरेको र आर्थिक लाभसमेत लिएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालको अनुभव छ । ब्युरोमा यही प्रकृतिको उजुरी लिएर राजनीतिज्ञ, व्यापारी, शिक्षक, पत्रकार, कलाकार आदि आइपुगेको एसएसपी अर्यालले रातोपाटीलाई बताए । कतिपय पीडितले त भारतमा रहेका आफन्तलाई भनेर पैसा पठाएको, सीमामा रहेका नागरिकले भारत पुगेरै पैसा पठाएको र एक घटनामा इटालीबाट समेत पैसा दिइएको पाइएको अर्यालको भनाइ छ ।

जब बैंकका डेपुटी सिइओ नै ‘फिसिङ’मा परे

काठमाडौँको निजी कार्यालयमा काम गर्ने ती युवक मात्रै होइनन्, यस्तै ब्ल्याकमेलरको निसानामा परे काठमाडौँकै एक ‘क’ वर्गका बैंकका डेपुटी सिइओ । सुरुमा युवती बनेर फेसबुकबाट ब्ल्याकमेलरले ती बैंकरसँग पनि त्यसैगरी कुराकानीको सुरुवात गरे, फेसबुकमा साथी बन्यो । बैंकरको फेसबुक पोष्टमा लाइक, कमेन्ट गर्ने साथीहरूको लिष्ट तयार पार्‍यो ।

त्यसपछि फेसबुकमा त्यसैगरी ‘यु आर सो ह्याण्डसम’ लगायतका कमेन्ट गर्न थाल्यो । फेसबुकमा म्यासेज पनि गर्न थाल्यो । ती बैंकर पनि राम्री युवतीले कम्प्लिमेण्ट दिन थालेपछि हौसिए र कुराकानी सुरु गरे ।

केही समय राम्रोसँग औपचारिक कुराकानी भइरह्यो । लगातारको कुराकानीपछि युवतीले यौनको कुरा निकालिन् । यौनको कुरा आउने बित्तिकै ती डेपुटी सीईओ पनि उत्साहित भए र युवतीसँग कुराकानी गरे । अनि भिडियो च्याटमा सुरु भयो । युवतीले पहिले वर्णन गरिएझैँ सुरुमा नग्न हुन थालिन् र बैंकरलाई पनि त्यसै भनिन् । युवतीले भनेजस्तै बैंकर पनि पूरापुर नाङ्गो भए । यद्यपि त्यहाँ भिडियो मात्रै हेरिएको थियो, कुराकानी भने भएको थिएन ।

केही समयपछि नै युवतीले आमा आउनुभयो भन्दै फोन काटिन् । अनि त्यसको ३/४ मिनेटमै बैंकरको ह्वाट्सएप र फेसबुकमा अघि भर्खर गरिएको कुराकानीको भिडियो क्लिप आइपुग्यो । उक्त भिडियोलाई सबैतिर पठाएर भाइरल गरिदिने भन्दै चेतावनी दिइयो र इज्जत बचाउन मन पाए १० लाख भारतीय रुपैयाँ पठाउन भनियो ।

अघिसम्म युवती बनेर कुरा गरिरहेकी पात्र अहिले युवकको स्वरबाट फोन र ह्वाट्सएपमा थर्काइरहेका थिए । तत्काल पैसा नपठाए भाइरल गरिदिने भन्दै धम्की दिइरहेका थिए । ती बैंकरले भारतमै रहेका आफ्ना साथीमार्फत पैसा पठाउने कोसिस पनि गरे । तर ती ब्ल्याकमेलरले एकपछि अर्को धम्की दिन थालेपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा मौखिक उजुरी दिए । ब्यूरोले भारतीय प्रहरीसँग समन्वय गरेपनि त्यो त्यति सफल हुन सकेन । ती बैंकर लामो समय सामाजिक सञ्जालबाट बिदा भए र यतिबेला भर्खर सामान्य जीन्दगी बाँच्न थालेका छन् ।

०००

काठमाडौँमै एमबीबीएस तयारी कक्षा सञ्चालन गर्ने ब्रिज कोर्स सेन्टरका एक सञ्चालक पनि यस्तै ब्ल्याकमेलरको फन्दामा परे । उनलाई पनि यसैगरी फेसबुकमा भारतीय मूलकी डाक्टर बताउँदै फ्रेण्ड रिक्वेस्ट आएको थियो । भारतमा पनि एमबीबीएइस अध्ययनका लागि विद्यार्थी पठाउन सकिने र त्यसका लागि आफूले दिल्लीमा समन्वय गर्ने अनि त्यसबाट राम्रो आम्दानी हुने कुरा ती सञ्चालकसँग गरिएको थियो ।

सुरुमा व्यावसायिक तवरबाट सुरु भएको कुराकानी बिस्तारै अन्तरङ्ग कुराकानीमा पुगेको थियो । त्यसपछि युवतीले त्यसैगरी पहिले यौनका कुरा गरिन्, यौनको लालच देखाइन् र भिडियो च्याटमा बोलाइन् । अनि ती सञ्चालक पनि बाथरुममा पुगेर नग्न बनेर युवतीसँग भिडियो च्याट गरे । त्यसलगत्तै ती सञ्चालकलाई पनि त्यसैगरी फेसबुकमा रहेका साथीहरूको लिष्ट र अघि भर्खर गरिएको कुराकानीको भिडियो पठाइयो । र, इज्जत बचाउने भए पैसा पठाउन भनियो । तर सञ्चालकले आफूले भारतमा पैसा पठाउन नमिल्ने र नपठाउने भन्दै जवाफ फर्काएपछि उनलाई धाकधम्की दिँदै नजिकका केही व्यक्तिलाई उक्त भिडियो क्लिप पठाइयो ।

अब भने उनले मुख देखाउन सकेनन् । घरमा छोरा, बुहारीसमेत भइसकेका उनलाई आफ्नै त्यस्तो भिडियो सार्वजनिक हुने डरले तनाव दियो । आफैँ शिक्षकसमेत रहेका उनी कार्यालय पनि जान छाडे । कोठाबाटै बाहिर ननिस्किएपछि उनकी श्रीमतीले कारण सोधे । उनले माफी माग्दै सबै बेलिबिस्तार लगाए ।

त्यसपछि उनकै श्रीमतीले ती सञ्चालकलाई नेपाल प्रहरीको साइबर ब्युरोमा ल्याए । अनि उजुरी गर्न लगाए । ब्युरोले ब्ल्याकमेल गर्नेलाई कारबाहीका लागि पहल गर्ने आश्वासन दियो र यस्तो हुने गरेको भन्दै यसलाई पाठका रूपमा लिन र नआत्तिन आग्रह गरे । साइबर ब्युरोले आफ्नो प्राविधिक विश्लेषण सुरु गरेर ब्ल्याकमेल गर्नेबारे बुझ्दा उनी भारतीय नागरिक रहेको पत्ता लाग्यो र नोयडाबाट उक्त ब्ल्याकमेल गरिएको थाहा भयो । त्यसपछि ब्युरोले भारतीय प्रहरीलाई इमेल पठाएर उक्त व्यक्तिको पहिचान गरी कारबाही गर्न र पीडितलाई थप क्षति हुनबाट रोक्न आग्रह गर्‍यो । भारतीय प्रहरीको साइबर सेलले त्यसपछि नेपाल प्रहरीलाई भने कुनै रेस्पोन्स गरेन ।

०००

काठमाडौँकै एक बोर्डिङ स्कुल सञ्चालकलाई पनि त्यस्तै फिसिङ गरी फसादमा पारियो । उनको घटना पनि माथिको घटनासँग हुबहु मिल्थ्यो । उनीमाथि पनि अत्यधिक ब्ल्याकमेल भएपछि उनी डिप्रेसनमा पुगेका थिए । इज्जत जाने डरले उनले आफ्नो बचाउमा गर्न मिल्ने र सक्ने सबै गरेका थिए । अन्तिममा ब्ल्याकमेलरले नछाडेपछि आत्महत्या गर्नेसम्मको मनस्थितिमा उनी पुगिसकेका थिए । तर यो कुरा परिवारले थाहा पाएपछि उनको उद्धार भयो र काउन्सिलिङ गरेपछि उनी ठीक भए ।

एक प्रतिष्ठितले ३५ लाख रुपैयाँसम्म भारत पठाए : ब्युरो

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्तासमेत रहेका एसएसपी नवीन्द अर्याल तराई क्षेत्रका एक प्रतिष्ठित व्यक्तिले यही प्रकरणमा ३५ लाख रुपैयाँ भारतीय बैंकमा डिपोजिट गरेको बताए । अर्यालले भने, ‘अहिले फेसबुकमा युवती बनेर छिर्ने र पछि ह्वाट्सएपमा कुराकानी गरेर अश्लील हर्कत गर्ने अनि पछि ब्ल्याकमेल गरेर पैसा माग्नेको सङ्ख्या धेरै छ । केही समय अगाडि मात्रै तराई मूलका एक प्रतिष्ठित व्यापारीलाई यसै गरी फिसिङ गरियो र उनले ३५ लाख रुपैयाँ पठाए । त्यसपछि बल्ल उनको अश्लील भिडियो डिलिट गरियो । पछि ती व्यापारीले यो कुरा साइबर ब्युरोका वरिष्ठ अधिकारीलाई मौखिक उजुरी त गरे तर इज्जतका कारण लिखित उजुरी भने गरेनन् । यस्ता धेरै घटनाहरू छन् ।’

नेपाली प्राध्यापकले ५ सय डलर इटालीमा बुझाए

फेसबुकबाट प्रवेश गरी फिसिङ गर्ने र ब्ल्याकमेल गर्ने समूहले नेपालकै एक प्राध्यापकसँग ५ सय डलर अमेरिकी डलर इटालीबाट बुझेका छन् । नेपालमै रहेका ती प्राध्यापकले पनि राम्री युवतीको प्रोफाइल फोटो देखेकै कारण कुराकानी गरेका थिए । उमेर हदकै कारण सेवा अवधि सकाउन लागेकै बेला उनी ती युवतीका प्रेमजालमा परे । उनले पनि यौनको आशक्ति देखाएपछि आफू रसियन युवती भएको र रसियामा बस्ने गरेको भन्दै अश्लील हर्कत गर्न भनेका थिए । रसियन युवती, रसियामै बसेर भिडियो च्याटमा बस्दा के फरक पर्ला र भनेर ती प्रोफेसरले अश्लील हर्कत गर्दै भिडियो च्याट गरे ।

तर रसियन युवती भनिएका व्यक्तिले पनि ती प्रोफेसरसँग त्यसैगरी ब्ल्याकमेल सुरु गरे र एक हजार डलर माग गरे । प्रोफेसरले आफू नेपाली नागरिक भएको र बाहिर पैसा पठाउन नमिल्ने बताए । तर युवतीले पैसा नपठाए आफूले उक्त भिडियो भाइरल गरिदिने बताएपछि युवतीले नै विदेशमा कोही आफन्त छ होला नि भनेर सम्झाइन् । प्रोफेसरले आफ्नो बाल्यकालको साथी इटालीमा रहेको सम्झिए । अनि साथी इटालीमा छ भने । त्यसपछि युवतीले इटालीमा आफ्नो मान्छे रहेको बताइन् । अनि प्रोफेसरले ती साथीसँग कुरा गरेर युवतीले भनेको व्यक्तिलाई ५ सय डलर दिन भने । ती युवतीले इटालीबाटै कुनै व्यक्तिलाई पठाएर ५ सय डलर लिइन् । त्यसपछि मात्रै प्रोफेसरमाथि ब्ल्याकमेल बन्द भयो । यसबारेको उजुरी साइबर ब्युरोमा पनि आइपुग्यो । साइबर ब्युरोले अनुसन्धान गर्दा उक्त ब्ल्याकमेल मलेसियाबाट भएको पत्ता लाग्यो ।

निसानामा राजनीतिज्ञ र प्रतिष्ठित व्यक्तिहरू

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार यही प्रकृतिको ब्ल्याकमेलको उजुरी लिएर ५० जनाभन्दा बढी व्यक्तिहरू ब्युरोमा आएका छन् । त्यो भन्दा बढी मौखिक उजुरी गर्ने तर लिखित नदिने व्यक्तिहरू छन् । ब्युरोका अनुसार विभिन्न स्थानका गाउँपालिका अध्यक्षहरू, वडा अध्यक्षहरू यसको शिकार भएका छन् । त्यसैगरी वोर्डिङ स्कुलका शिक्षकहरु पनि यस्ता फिसिङको शिकार भएका छन् । पत्रकार, व्यापारी लगायतका केही प्रोफाइल बोकेका व्यक्तिहरू यसको शिकार भएको ब्युरोको भनाइ छ । यस्ता फिसिङबाट धेरै व्यक्ति शिकार बनेको भएपनि लोकलाज र डरका कारण बाहिर नआएको ब्युरोको भनाइ छ ।

यसरी छान्छन् व्यक्ति

युवती प्रयोग गरेर वा युवती बनेर फिसिङ गर्ने गिरोह सुरुमा फेसबुकबाट प्रवेश गर्छन् । उनीहरूको निशानामा फेसबुकमा धेरै साथी भएका व्यक्तिहरू हुन्छन् । उनीहरूको प्रोफाइल हेर्छन् र कामबारे जानकारी राख्छन् । अनि उनीहरूले पैसा तिर्ने हैसियत राख्छन् कि राख्दैनन् भनेर पनि हेर्छन् । जब ती व्यक्ति समाजमा प्रतिष्ठित व्यक्ति हो, उसले आफ्नो इज्जतका लागि पैसा खर्च गर्छ भन्ने लागेमा त्यसपछि पहिले फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउँछन् । रिक्वेस्ट एसेप्ट भएमा सोझै हाइ हेल्लोबाट कुराकानी सुरु हुन्छ । एसेप्ट भएन भने पनि उनीहरूले बारम्बार म्यासेज पठाउँछन् ।

रिप्लाइ भएमा ती व्यक्तिको प्रोफाइल हेरेर नजिकका व्यक्ति, आफन्त, कमेण्ट गर्ने, लाइक गर्ने सबैको लिष्ट तयार पार्छन् । अनि नग्न भएर भिडियो च्याट गरेजस्तो गर्छन् र त्यही भिडियो च्याटको स्क्रिनसट लिन्छन् । अनि ब्ल्याकमेल सुरु गर्छन् ।

यस्ता व्यक्तिको निसानामा फेसबुकमा पार्टीको फोटो तथा भिडियो अपलोड गर्नेहरु धेरै परेका छन् । पार्टी गर्न सक्नेले पैसा तिर्न सक्छ भन्ने सोच राखेर ब्ल्याकमेलरले यस्तो गरेको हुनसक्ने साइबर ब्युरोका इन्सपेक्टर वुद्धि सुवेदी बताउँछन् । सुवेदी भन्छन्, ‘यस्ता घटनाको पीडितको समान पक्ष के छ भने उनीहरूको फेसबुकमा धेरै साथी छन्, उनीहरू समाजका प्रतिष्ठित व्यक्तिहरू छन्, उनीहरूको अधिकांश पोष्ट पब्लिक पोष्ट रहेको छ । अझ कतिपयको फेसबुक भेरिफाइड पनि छ ।’

४० देखि ६० वर्ष उमेर समूहका बढी पीडित

साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालका अनुसार यस्ता घटनाबाट सबैभन्दा पीडित ४० देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन् । यो उमेरका व्यक्तिहरू एक प्रकारले सेटल भइसकेको हुनाले पनि उनीहरूलाई ब्ल्याकमेल गरेमा पैसा आउने विश्लेषणका साथ उनीहरूले यही उमेर समूहका व्यक्तिहरूलाई बढी निसानामा पार्ने गरेको पाइएको एसएसपी अर्याल बताउँछन् । साथै यी उमेरका व्यक्तिहरू यौनका कुरा गर्ने बित्तिकै बढी लालायित हुने गरेको पाइएको र त्यसैको फाइदा यस्ता ब्ल्याकमेलरले उठाउने गरेको अर्याल बताउँछन् ।

नचिनेको मान्छेसँग फेसबुकमा कुरा नगर्न आग्रह

साइबर ब्युरोका प्रवक्ता नवीन्द अर्याल फेसबुकमा नचिनिएका व्यक्तिसँग कुराकानी नै नगर्न आग्रह गर्छन् । फेसबुकबाट नै पीडकले पीडितबारे सबै जानकारी लिने र त्यहीँबाट नै फिसिङको सुरुवात गर्ने गरेको पाइएको उनको भनाई छ । जसको फेसबुकका अधिकांश वा सबै पोष्टहरु पब्लिक गरिएका हुन्छन्, ती व्यक्तिहरू नै यस्तो ब्ल्याकमेलरको निसानामा परेको पाइएको भन्दै फेसबुकका साथीहरूको लिष्ट हेर्न नमिल्ने बनाउन अर्यालको सुझाव छ । त्यसैगरी पोष्टहरु साथीहरूले मात्रै हेर्न मिल्ने बनाउन पनि अर्याल सुझाव दिन्छन् ।

अधिकांश ब्ल्याकमेलर भारतीय र पाकिस्तानी

साइबर ब्युरोका प्रवक्ता नवीन्द अर्यालका अनुसार यसरी फेसबुकबाट प्रवेश गर्दै ह्वाटस्एपको नम्बर माग्ने र अश्लील गतिविधि गरी भिडियो बनाउने व्यक्तिहरू भारतीय वा पाकिस्तानी नागरिक रहेको पाइएको छ । ब्युरोमा परेका उजुरीमा पनि अधिकांश ब्ल्याकमेलरले +९१ वा +९२ को नम्बरबाट फोन गर्ने गरेका छन् । +९१ बाट सुरु हुने फोन भारतको हो भने +९२ बाट सुरु हुने फोन पाकिस्तानको हो । अहिले नेपालीहरूलाई फिसिङ गरी पीडित बनाउनेहरू अधिकांश भारतीय र केही पाकिस्तानी नागरिक रहेको पाइएको ब्युरोको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप