बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनको सुरक्षा : के भन्छन् चितवनका सिडिओ र एसपी ? (भिडियोसहित)

यसरी हुँदैछ एमाले महाधिवेशन लक्षित विशेष सुरक्षा तयारी
शुक्रबार, ०३ मङ्सिर २०७८, ०८ : ०१
शुक्रबार, ०३ मङ्सिर २०७८

शम्भु दंगाल/गणेश दुलाल (चितवन)

चितवनको स्थानीय प्रशासनले एमालेको १० औं महाधिवेशन लक्षित सुरक्षा तयारी थालेको छ । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका पदाधिकारीबीच महाधिवेशन लक्षित सुरक्षा रणनीति तय गर्ने बारेमा छलफल भएको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनार र सौराहामा हुने एमाले महाधिवेशनमा व्यापक मात्रामा मानिसहरुको उपस्थिति हुने भएपछि सोहीअनुसार आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तथा सवारी व्यवस्थापन गर्नेबारे छलफल भएको हो ।  

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको नेतृत्वमा सुरक्षा निकायले सुरक्षा योजना निर्माणको काम तिव्र पारेका छन् । सम्भावित जोखिमको पहिचान तथा व्यवस्थापनका लागि आवश्यक योजनाहरु बनाउन थालिएको प्रजिअ तामाङले रातोपाटीलाई जानकारी दिए ।

महाधिवेशन आयोजकसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायहरुबीच छलफल अघि बढाएको पनि तामाङले जानकारी दिए ।

एमाले महाधिवशेनका बेला जिल्लामा रहेका सुरक्षाकर्मीको संख्यामा थप गर्ने प्रजिअ तामाङको भनाइ छ । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘महाधिवेशनका लागि जिल्लामा अपुग सुरक्षाकर्मीहरु आवश्यक मातहतका कार्यालयबाट माग गर्ने तयारी भइरहेको छ । हाल कार्यरत ट्राफिक प्रहरीहरु कम भएकाले सुरक्षा समितिले निर्णय गरेर ट्राफिक प्रहरी माग्ने, सशस्त्र प्रहरीको बाहिनीबाट थप जनशक्ति माग गर्ने र प्रदेश प्रहरी कार्यालयबाट थप संख्यामा नेपाल प्रहरी माग गरेर सुरक्षा दिने तयारी गरेका छौं ।’

 


एमालेको महाधिवेशन चितवनमा गर्ने निर्णय भएदेखि नै जिल्लाको सुरक्षाका लागि आवश्यक तयारी तथा पूर्वाधारका बारेमा काम सुरु गरेको  प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

पूर्वाधार र भिड व्यवस्थापनको सुरक्षा योजना

स्थानीय प्रशासनले महाधिवेशन उद्घाटन सत्रमा सहभागीको अवस्था हेरेर भीड नियन्त्रण गर्ने र सोहीअनुसार आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने भएको  छ । 

प्रजिअ तामाङले एमालेको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेदेखि नै पार्टीका प्रभावशाली व्यक्तिहरुसँग छलफल गरेर जिल्लाको सुरक्षालाई २ वटा दृष्टिकोणबाट हेर्दै आवश्यक सुरक्षा योजनाहरुको तर्जुमा थालेको बताए ।

नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा सहभागीहरुलाई बस्ने व्यवस्थापन गर्ने र बन्दसत्र होटलमा हुने भएका कारण सुरक्षा चुनौति साँघुरिएको उनको भनाइ छ ।​

महाधिवेशनमा आउने भीभीआइपी र भीआइपीहरु सौराहाको सेभेन स्टार होटलमा बस्ने भएकाले त्यहाँ सीमित क्षेत्र भएका कारण सुरक्षा चुनौतिको सम्भावना कम भएको उनले बताए ।

उता महाधिवेशनको उद्घाटनको दिनमा मानिसहरुको चहल–पहल धेरै नै हुने भएकाले ट्राफिक व्यवस्थापन अलि जटिल हुन सक्ने प्रमुख जिल्ला अधिकारी तामाङ बताउँछन् ।

सार्वजनिक सवारीलाई कडाइ गरिने

प्रजिअ तामाङले एमाले महाधिवेशन अवधिमा भरतपुर क्षेत्र भएर सञ्चालन हुने सार्वजनिक सवारी सञ्चालनमा कडाइ गरेर ट्राफिक व्यवस्थापन गर्ने तयारी रहेको बताए । उनले एमालेको महाधिवेशन उद्घाटनका दिन ट्राफिक व्यवस्थापन चुनौतिको विषय भएकाले आवश्यकता हेरेर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने तथा कडाई गर्ने तयारी भएको बताए ।

प्रजिअ तामाङका अनुसार ट्राफिक व्यवस्थापनका लागि पश्चिमबाट आउने सवारीहरुलाई नारायणीबाट भित्रिन नदिने, काठमाडौंबाट आउने सवारीलाई आँपटारीमा नै रोक्ने र पूर्वबाट आउनेलाई पारस बसपार्कमा रोक्ने गरी व्यवस्थापन मिलाइनेछ ।

मंसिर १० गतेका लागि सार्वजनिक सवारीहरुलाई २/३ घण्टा आवत– जावतमा कडाइ गर्ने र आवश्यक तथा भीभीआइपी र भीआइपी सवारीहरु मात्र सञ्चालन गर्न दिएर भिड व्यवस्थापन गर्ने योजना अनुसार काम गर्ने उनले बताए । त्यस्तै, जनपथ प्रहरी, नेपाल प्रहरी र गुप्तचरहरु परिचालन गरेर सम्भाव्य दुर्घटना र सुरक्षा सतर्कता अपनाउने स्थानीय प्रशासनको योजना रहेको छ । सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखेर सुरक्षाका आवश्यक निर्णय लिइने प्रजिअ तामाङले बताए ।

चितवनको अवसरका रुपमा रहेको एमाले महाधिवेशनमा त्रुटिरहित सुरक्षा योजना बनाएर कार्यान्वयन गर्ने तयारी रहेको प्रजिअ तामाङको भनाइ छ ।

 

परिस्थितिजन्य घटना बाहेक अन्य अपराधिक घटना शून्य

प्रजिअ तामाङले परिस्थितीजन्य घटना बाहेक चितवनमा अन्य अपराधिक घटना नभएको बताए । उनले पछिल्लो समयमा चितवनमा परम्परात रुपमा हुने गरेका अपराधिक क्रियाकलापका घटनाहरु नरहेको भन्दै जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै जिल्लामा पहिले–पहिले जस्तो हुने गरेको संस्थागत अपराधिक क्रियाकलाप पनि पछिल्लो समयमा नभएको दावी गरे ।

उनले चितवनमा हाल केही छिटपुट मात्रामा परिस्थितीजन्य अपराधका घटनाहरु मात्र हुने गरेको बताए । ‘चितवनको शान्ति सुरक्षाको अवस्थाबारे भन्नु पर्दा कुनै पनि परम्परागत अपराधका घटना छैनन्’ प्रजिअ तामाङ भन्छन्, ‘संस्थागत अपराधिक व्यवस्था पनि छैन र सिचुएसनल अपराध बाहेकका घटनाहरु अन्य अपराधहरु शून्य छ ।’

तथापि जिल्लाको धेरै क्षेत्र राजमार्गले छुने भएकाले सो क्षेत्रमा भने सुरक्षा चुनौतिहरु रहेको उनी बताउँछन् । प्रजिअ तामाङ भन्छन्, ‘यो जिल्लामा ९३ किलोमिटर राजमार्ग छ, यो राजमार्गका कारण सेक्युरिटी थ्रेट रहेको अवस्था छ ।’

जिल्लामा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र कुनै समयमा मानिस र वन्यजन्तु बीचको द्वन्द्वका कारणले सुरक्षा चुनौति उत्पन्न हुने गरेको पनि प्रजिअ तामाङले सुनाए । साथै चितवनमा नेपालको सम्पूर्ण राष्ट्रियता (समुदाय) पाइने भएकाले कुनै–कुनै बखत सुरक्षा चुनौतीहरु आउने गरेको उनले उल्लेख गरे ।

चितवन देशकै मध्यभागमा रहेका कारण पूर्वदेखि पश्चिमसम्मका व्यक्तिहरु बसोवास गर्ने र आवत–जावत गर्ने भएकाले अवस्थाअनुसार सुरक्षा चुनौति उत्पन्न हुने भए पनि हाल सुरक्षा चुनौतिको अवस्था नरहेको उनले बताए ।

कोरोनाको जोखिम न्यून रहेको दाबी

जिल्लामा कोरोना संक्रमणको जोखिम पनि न्युन रहेको प्रजिअ तामाङले दाबी गरे । उनले नेपालमा कोरोना नियन्त्रणका २ वटा मात्र उपाय भएको बताए । कोरोना नियन्त्रणका लागि पहिलो त स्वास्थ्य मापदण्ड अपनाउने र दोस्रो भनेको टेष्ट गरेर रोकथाम गर्नु नै उपयुक्त हुने उनको भनाइ छ ।

जिल्लामा कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन जनचेतना प्रवाहमा कुनै कमी नराखेको र नागरिकहरुले पनि सरकारले तोकेको मापदण्ड अपनाएर कोरोना नियन्त्रणमा सरकारलाई सघाएको उनले विश्वास व्यक्त गरे । कोरोना नियन्त्रणमा टेष्टले महत्वपूर्ण भुमिका खेल्ने भएकाले चितवनमा सोको कार्यान्वयन पूर्णरुपमा भएको उनले बताए ।

‘हामीले स्वास्थ्य मापदण्ड अपनाउन आम नागरिकहरुमा सक्दो मात्रामा जनचेतना फैलाउने काम गरेका छौं, नागरिकहरुले पनि त्यसको पालना गर्नुभएको छ भन्ने हाम्रो विश्वास हो र मेडिकलको राजधानी नै चितवन हो । टेष्टको हिसावले कोरोना नियन्त्रणका लागि यो जिल्ला सबल छ । त्यसैले यहाँ कोरोनाको चुनौति त्यस्तो छैन ।’ उनले भने ।

जिल्लामा हाल पछिल्लो एक महिनामा कोरोनाको ५ प्रतिशत मात्र केसहरु रहेकाले स्वास्थ्य सुरक्षामा सहज भएको उनको भनाइ छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित न्यून रहेका भन्दै यसका लागि खोप कार्यक्रमले उल्लेख्य भूमिका निर्वाह गरेको उनले दाबी गरे ।

‘अहिले चितवनमा २१४ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यो हुनुमा कोरोना खोपको प्रभावकारिताले महत्वपूर्ण भुमिका खेलेको छ । हामीले अहिले पनि १८ वर्ष माथिका नागरिकका लागि कोरोना खोप लगाउन खुल्ला गरेका छौं । सबै प्रकारका खोपहरु लगाउने काम जारी छ’ उनी भन्छन्, ‘फाइजर खोप पनि क्यान्सर अस्पतालबाट लगाउने व्यवस्था गरेका छौं । प्रत्येक विहीबार स्वास्थ्य कार्यालयबाट छुटेका व्यक्तिहरुलाई पनि खोप लगाउने व्यवस्था मिलाएका छौं । यसका कारण जिल्लामा कोरोनाको जोखिम कम रहेको छ ।’

सुरक्षाको काम तिव्र पारिएको छ : एसपी ओमप्रसाद अधिकारी

चितवन जिल्लामा हुने एमालेको महाधिवेशनका लागि सुरक्षा योजना बनाउन व्यापक रुपमा तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) ओम प्रसाद अधिकारीले रातोपाटीलाई बताए ।

अधिकारीले भने, ‘महाधिवेशनमा केन्द्रित भएर दैनिकरुपमा छलफल तथा योजनाहरु निर्माणका लागि जुटेका छौं । महाधिवेशन हुने स्थानको स्थलगत अनुगमन एवं आयोजकसँगको नियमित समन्वय गर्दै प्रहरीले आन्तरिक तयारी थालेको छ ।’

आफूले सुरक्षा योजना बनाइसकेको तर पूर्णता दिन बाँकी रहेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले एमालेका ५ लाख नेता कार्यकर्ता र आम नागरिकको सुरक्षा एवं ट्राफिक व्यवस्थापनका लागि एक हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारीसहित काम गरिरहेको जानकारी दिए ।  

जिल्लामा रहेका सुरक्षाकर्मी मात्र प्रर्याप्त नहुने भएकाले मातहतका कार्यालयबाट माग गर्नुपर्ने अवस्था रहेको प्रहरी उपरीक्षक अधिकारी बताउँछन् ।

प्रहरीलाई महाधिवेशन अवधिमा कार्यक्रममा लक्षित गरेर आएका सवारी र नियमित चल्ने आम सर्वसाधारणका सवारीको व्यवस्थापन गर्नका लागि आवश्यक योजना तयार परिसकेको उनले बताए । चितवन पूर्व र पश्चिमबाट आवत–जावत गर्ने केन्द्र भएकाले महाधिवेशन अवधिमा त्यसको व्यवस्थापन अन्यबेलामा जस्तो सामान्य नहुने भए पनि व्यवस्थापमा सक्दो प्रयास रहने उनी बताउँछन् ।

महाधिवेशनमा आएमा सवारीहरुको पार्किङ क्षेत्रहरु निर्धारण गरी आवश्यक तयारी सम्पन्न भइसकेका कारण व्यवस्थापनमा समस्या नहुने प्रहरी उनले बताए । एमालेको महाधिवेशनलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानका खुल्ला चौरहरुलाई प्रयोग गरेर पार्किङ क्षेत्रको रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

कार्यालयले पारस बसपार्क, आँपटारी नजिक रहेको खुल्ला मैदान, प्रहरी तालिम केन्द्र क्षेत्रको खुल्ला स्थान, नारायणी कला मन्दिर क्षेत्र लगायतका स्थानमा पार्किङस्थल निर्माण गर्ने तयारी गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप