सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी किनारमा एमालेको तयारी : महाधिवेशनस्थलमै ‘सेल्फी स्पट’ (फोटो/भिडियो)

नदी किनारमा ५ सय अतिथि अट्ने भव्य मञ्च बनाइँदै
बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ०८
बिहीबार, ०२ मङ्सिर २०७८

- शम्भु दंगाल/गणेश दुलाल (चितवन)

बुधबार साँझ नारायणी नदी किनारको खुला बगरमा स्थानीयबासी अनि आन्तरिक पर्यटक घुमिरहेका थिए । कोही टिकटक बनाइरहेका थिए, कोही नारायणी नदीलाई पृष्ठभूमि पारेर विभिन्न पोजमा फोटो खिचाइरहेका थिए । लहरै गाडामा राखिएका साना फुटपाथे खाजा पसलमा खानेकुराको व्यापार व्यवसाय पनि चम्केको थियो ।​ नारायणघाटस्थित बुद्धपार्क रहेको नदी किनारको पल्लो छेउमा भने एमालेका केही नेता– कार्यकर्ताहरु घुमिरहेका थिए । अलि गहिरो परेको बगरको भागमा उनीहरुले बालुवा ल्याएर थुपारेका थिए ।

दिउँसो एमाले नेताहरु योगेश भट्टराई, सूर्य थापा लगायतका नेताहरुले सो क्षेत्रको अवलोकन गरेका थिए भने साँझ एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठ नारायणी नदी किनारमा ५ सय जना अट्ने मञ्च निर्माण गर्ने स्थानको अवलोकन गरिरहेका थिए, जहाँ बगरमा ढुंगा थुप्रिएको थियो ।

श्रेष्ठले सो ठाउँ देखाउँदै भने, ‘यो स्थानमा ५ सय जना अट्ने भव्य मञ्च बनाउँदैछौँ । आज तपाईले बगर देखेको यो ठाउँ अब फरक अवस्थामा पुगेको देख्नुहुनेछ ।’ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा चितवनको नारायणघाट स्थित नारायणी नदी किनारमा एमालेले मञ्च तथा दर्शकदीर्घा व्यवस्थापनको काम थालनी गरेको हो ।

नेकपा एमालेले आफ्नो दशौं महाधिवेशनस्थलको व्यवस्थापन तयारी थालेको छ । चितवनको नारायणघाटस्थित नारायणी नदीको किनारमा एमालेले मर्मत सम्भार गर्दै मञ्च व्यवस्थापनको कार्य थालेको हो । महाधिवेशन हुनुभन्दा ९ दिनअघिदेखि मञ्च व्यवस्थापन गर्न नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुर्ने, मञ्च निर्माणका लागि भौतिक पूर्वाधारको तयारी थालेको छ ।

बिहीबारदेखि झन्डै ५० जनाले यो क्षेत्रमा काम सुरु गर्ने एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्वसंविधानसभा सदस्य विनोद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । चितवनमा मंसिर १० देखि १२ गतेसम्म गर्न लागेको तीन दिने महाधिवेशनको पहिलो दिन ५ लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । त्यसका लागि ठूलो खुला क्षेत्रका रुपमा रहेको नारायणी नदी किनारलाई एमालेले रोजेको हो ।

अधिवेशनमा देशभरबाट १ हजार ३६ प्रतिनिधि सहभागी हुनेछन् भने अतिथिका रुपमा विभिन्न राजनीतिक दलका नेता तथा विदेशी पाहुनालाई समेत अतिथिका रुपमा बोलाइँदैछ । एमाले केन्द्रीय सदस्य श्रेष्ठले रातोपाटीसँग भने, ‘१० औं राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सफल गर्ने स्थल निर्माण गर्न हामीले मंसिर १ गतेदेखि काम सुरु गरिसकेका छौं । अहिले तपाईले देखिरहनुभएको यो एकदम भद्रगोल ठाउँ छ । यो बगरमाथि हामी भव्य, सानदार झन्डै झण्डै ५ सय जना अट्ने मञ्च बनाउँदैछौं ।’

एमाले नेता श्रेष्ठले मञ्चमा केन्द्रीय कमिटीका सदस्यहरु, स्थायी कमिटीका सदस्य र  देशबाट तथा विदेशबाट आउने अतिथिहरु बस्ने जानकारी दिए । महाधिवेशनका लागि स्वयंसेवक परिचालन कमिटीका संयोजकसमेत रहेका श्रेष्ठले भने, ‘मञ्चको अर्को भागमा ७२ जना कलाकारहरुले नेपालका सबैजसो संस्कृति झल्काउने बाजाहरुको प्रर्दशन गर्ने र   सांस्कृतिक कार्यक्रम दिन सक्नेखालको स्टेज बनाउँछौं । यो सबै हिसावले पर्फेक्ट हुन्छ ।’

नारायणी बगरमा रहेको चौरको चारैतिरका खाल्डोहरु पुर्ने, भिरालो ठाउँ सम्याउने र दर्शकलाई सहजरुपमा बस्न मिल्नेखालको बनाउने श्रेष्ठले बताए । उनले महाधिवेशनको स्टेजबारे प्रष्ट्याँदै भने, ‘गाडी गुडिरहेको नारायणी पुलमाथिबाट बसेर हेर्न चाहेमा पनि हाम्रो स्टेज देखिनेछ । नारायणी पारि गैंडाकोटबाट पनि देखिनेछ । सोहीअनुसार हामी मञ्च व्यवस्थापन गर्दैछौं ।’

मञ्च व्यवस्थापनका लागि स्काभेटर लगाएर ढुंगैढुंगा भएको बगरलाई सम्याइने र सम्भव भएसम्म दुबो रोपेर सहभागीलाई बस्न मिल्ने बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

उदघाटनमा ५ लाख सहभागी, ५ सय स्वंयसेवक

महाधिवेशनमा सहभागी हुने झन्डै ५ लाख सहभागीको व्यवस्थापना लागि मूल स्वयंसेवकका रुपमा ५ सय जना परिचालन गर्ने एमालेको योजना छ । स्वंयसेवक परिचालन कमिटीका संयोजकसमेत रहेका श्रेष्ठले रातोपाटीसँग भने, ‘मुख्य रुपमा ५ सय स्वंयसेवक भए पनि उद्घाटन सत्र व्यवस्थापनका लागि हामी ५ हजार स्वयंसेवकहरु खटाउने योजनामा छौं । सुरक्षाको हिसावले, महाधिवेशनको ब्यवस्थापन गर्न र केही समस्या परेमा  स्वयंसेवकबाट सहयोग हुनेछ । भोलिदेखि नै काम गर्नका लागि हामी स्वयंसेवक खटाउँदैछौँ ।’

महाधिवेशन स्थल व्यवस्थापनका लागि कहाँ के कुराको व्यवस्था गर्ने भनेर बुधबार अवलोकन गरेको र चिन्ह लगाउने काम सकेको बताउँदै श्रेष्ठले मञ्चका लागि चाहिने समान जुटाउने कामहरु थालेको बताए । श्रेष्ठका अनुसार पार्टीका भातृ संगठन, जनवर्गीय संगठन, मजदुर संगठन, युवा संगठन, विद्यार्थी संगठन, खेलकुद महासंघ, सम्पर्क मञ्च, अनेम संघ लगायतबाट स्वंयसेवकहरु तयार पार्ने एमालेको योजना छ ।

सेल्फी स्पटदेखि कार्यक्रमपछि चिनो छोड्नेसम्मका योजना

एमालेले महाधिवेशनस्थलमा नौलो प्रयोग गर्दैछ । महाधिवेशन स्थललाई पृष्ठभूमीमा राखेर सेल्फी खिच्नका लागि विभिन्न ठाउँमा ‘सेल्फी स्पट’ बनाइने श्रेष्ठले बताए । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘महाधिवेशनस्थलमा  ब्युटिफिकेशन र सुन्दरताका हिसाबले सेल्फी स्पटहरु बनाउँछौं । यहाँ अहिले पनि थुप्रै मान्छेहरुले सेल्फी खिचिरहेको देखिरहेका छौं, हामी यहाँ त्यस्ता धेरै सेल्फी स्पटहरु बनाउँनेछौं, ताकि महाधिवेशनमा आउनेहरुले महाधिवेशनमा आइयो र हेरियो भनेर गर्व गरुन् ।’

उनले महाधिवेशन सकेपछि नारायणी नदी किनार सफा गरेर चिटिक्क पार्ने दाबीश्रेष्ठले थपे,  ‘यो मात्र हैन कि हामीले कार्यक्रम सकेपछि पनि यो महाधिवेशनस्थलमा एउटा चिनो छोड्न चाहन्छौं । चितवनका जनताले, यहाँ घुम्न आउनेहरुले हिजो यस्तो फोहोर थियो, आज यस्तो सफा भयो भनेर एमालेलाई धन्यवाद दिउन् भन्ने हिसावले यो ठाउँलाई चिटिक्क बनाएर छोड्ने हाम्रो योजना छ ।’

एमाले नेता श्रेष्ठले नारायणी नदी पारिको जंगललाई देखाउँदै सो ठाउँमा पर्यावरणलाई जोगाउँ भन्ने एउटा नारा भएको केही चिज राख्ने योजना रहेको बताए । उनले मंसिर ९ गते बेलुकासम्म सबै काम सकेर १० गते विहान ६ बजे पार्टीको मूल व्यवस्थापन समितिलाई मञ्च हस्तान्तरण गर्ने बताए ।  

उनले भने, ‘यही योजना र लक्ष्यअनुसार हामी काम सुरु गरिरहेका छौं । विहान यहाँ केही थिएन, अहिले धेरै माटो आइसकेको छ, भोलि यहाँ खाल्डो थियो कि थिएन भन्ने थाहा नदिने हिसावले हामी काम गर्छौं, पर्सि तपाईहरुले यो बगरलाई अर्कैरुपमा देख्नुहुनेछ ।’

केन्द्रीय सदस्य श्रेष्ठले बिहीबारदेखि ५० जना स्वंयसेवकलाई महाधिवेशनस्थल व्यवस्थापनको काममा परिचालन गर्ने बताए । उनले भने, ‘यहाँ नापजाँच भएदेखि नै यसलाई चाहिने सामग्री जुटाउने काम सुरु भइसकेको छ, कोही काठ काट्दै हुनुहुन्छ, कोही दुबो रोप्नका लागि चप्परी खोज्न जानुभएको छ । यो हिसावले हामीले काम सुरुवात गरिसकेका छौं ।’

हेर्नुहोस् भिडियो :

थप तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप