शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : प्रदेश २ मा देउवा र निधिको टकरावले ‘क्लिन स्वीप’ मा चुनौती

शुक्रबार, २५ असार २०७८, १३ : ३०
शुक्रबार, २५ असार २०७८


काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लिएर केन्द्रदेखि जिल्लासम्म नेतृत्वको जोडघटाउ चलिरहेको छ । पार्टी सभापतिका लागि केन्द्रमा करिब एक दर्जन दाबेदार देखिँदा देशैभरि जिल्ला सभापतिका आकांक्षीहरु पनि हिसाब–किताबमा जुटेका छन् । उनीहरुले पार्टीमा प्रारम्भिक (क्रियाशील सदस्य) मतदातामाथि पकड राख्ने र केन्द्रीय नेतृत्वसँगको लबिङ बढाउने काम गरिरहेका छन् ।

यसैक्रममा प्रदेश २ का ८ जिल्लामा पनि सभापतिका लागि आकांक्षीहरुको दौडधुप शुरु भएको छ । १३ औं महाधिवेशनका क्रममा यो प्रदेशका आठवटै जिल्लामा शेरबहादुर देउवा पक्षले जिल्ला नेतृत्व ‘क्लिन स्वीप’ गरेको थियो । यसपालि देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् ।

अघिल्लोपटक रामचन्द्र पौडेल पक्षले तुलनात्मक रुपमा बलियो मानिएको सिरहा, बारा र रौतहटमा समेत पराजय भोगेको थियो । तर १४ औं महाधिवेशनमा प्रदेश २ का आठवटै जिल्लामा देउवा पक्षले पौडेल पक्षसँग नभई आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ ।

लामो समय देउवा पक्षमा रहेर भूमिका निर्वाह गर्दै आएका विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको दाबी गरिरहेका छन् । यस्तो अवस्थामा अर्को कुनै चमत्कारिक सहमति भएन भने देउवा पक्षले आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने आँकलन गरिएको छ ।

प्रदेश २ निधिको पकड क्षेत्र भएकाले पनि यो प्रदेशमा उनकै भूमिकाका कारण देउवा पक्ष विगतमा बलियो देखिएको थियो । तर, देउवा र निधिबीच सहकार्य हुन्छ वा दुवैले आपसमा प्रतिस्पर्धा गर्ने अवस्था आउँछ भन्ने विषयले प्रदेश २ मा काँग्रेसको आन्तरिक राजनीति पनि प्रभावित हुने देखिन्छ ।

यतिबेला प्रदेश २ का सबै जिल्ला सभापति काठमाडौंमा छन् । रातोपाटीले प्रदेश २ का आठवटै जिल्ला सभापतिसँग सम्पर्क गर्दा धनुषा बाहेकका सभापतिहरु निधि र देउवा पक्षमा विभक्त भइनसकेको पाइएको छ ।

निधिको गृहजिल्ला धनुषामा सभापति महेश शंकर गिरीले भने आफू निधिसँग रहेको रातोपाटीलाई बताए । अन्य जिल्ला सभापतिले भने निधि र देउवाको उम्मेदवारीले आफूहरुलाई अप्ठ्यारो हुनसक्ने संकेत गरे ।

महोत्तरीका सभापति महेन्द्रकुमार रायले ८ जिल्लाका सभापतिले निधि र देउवासँग छलफल गर्ने योजना बनाएको सुनाए । दुवै जनालाई मिलेर जान आफूहरुको दबाब रहने उनको भनाइ छ ।

आठ जिल्लाका आकांक्षी

 धनुषा

प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको धनुषामा यस पटक काँग्रेस महाधिवेशनको रौनक बढेको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रको सभापतिमा दाबी प्रस्तुत गरेपछि उनको गृह जिल्ला धनुषामा महाधिवेशनको रौनक बढेको देखिन्छ ।

निधिले सभापतिमा दाबी गरेसँगै केन्द्रमा आएको तरङ्ग धनुषामा स्वाभाविक रुपमा प्रवाह भएको छ ।

केन्द्रीय सदस्यद्वय आनन्दप्रसाद ढुंगाना र रामकृष्ण यादवको गृह जिल्लासमेत रहेको धनुषामा निधिको जबरजस्त पकड छ । निधि धनुषा जिल्ला कार्यसमितिका वर्तमान सभापति महेश शंकर गिरीलाई दोहोर्याउने पक्षमा रहेको बुझिएको छ ।

१३ औं जिल्ला अधिवेशनमा सर्वसम्मत सभापति चुनिएका गिरी १४ औंमा पनि सर्वसम्मत सभापतिमा दोहोरिने मुडमा देखिन्छन् ।

गिरीले सर्वसम्मत रुपमा ल्याएका उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वरप्रसाद यादव, सहसचिव नरेश यादव र कोषाध्यक्ष राजलाल महतोले अहिलेसम्म गिरीलाई चुनौती नदिएको अवस्था छ ।

यद्यपि, सन्तोष र विश्वेश्वरले सभापतिका लागि भित्रभित्रै लबिङ गरिरहेको बुझिएको छ ।

यता पौडेल पक्षबाट अहिलेसम्म सभापति हुने गरी कोही अगाडि नसरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए । १३ औं महाधिवेशनमा जस्तै धनुषामा यसपटक पनि सर्वसम्मत् रुपमा सभापति चयन हुने सम्भावना देखिन्छ ।

सप्तरी

सप्तरीमा वर्तमान सभापति दिनेश यादव सभापतिको लाइनबाट ‘रिङ आउट’ भएका छन् । दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने पार्टी विधानको व्यवस्था अनुसार यादव फेरि सभापतिमा भिड्न अयोग्य भएका हुन् ।

योसँगै सप्तरीमा काँग्रेसले अब नयाँ नेतृत्व पाउने छ । जसका लागि देउवा टीमबाट जिल्ला सचिव शत्रुधनप्रसाद यादव, क्षेत्रीय सभापति रामप्रसाद मण्डल र नेतृ निर्मलादेवी यादवलाई प्रवल दाबेदारका रुपमा हेरिएको छ ।

यस्तै १३ औं जिल्ला अधिवेशनमा पौडेल टीमबाट सभापतिका प्रत्यासी रामदेव साह यसपटक फेरि उठ्ने तयारीमा देखिन्छन् ।

नेताहरु रामकुमार यादव, बद्रीनारायण यादव र नारायण चौधरीले पनि जिल्ला नेतृत्वका लागि आन्तरिक लबिङ गरिरहेको अवस्था छ ।

महोत्तरी

महोत्तरीमा दुई दशक बढी नेपाली काँग्रेसको नेतृत्व गरेका महेन्द्रकुमार राय जिल्ला राजनीतिबाट बाहिरिँदै छन् । पार्टी विधानका उल्लेखित व्यवस्था अनुसार रायको बहिर्गमन पक्का भएसँग महोत्तरीमा नयाँ नेतृत्वको चर्चा सुरु भएको छ ।

सभापति रायको विकल्पमा देउवा समूहबाट सचिव सन्दीप नारायण पाठक, नेता सुशील यादवले सभापतिमा आकांक्षा देखाएका छन् ।

यस्तै पौडेल पक्षबाट बजरङ्गी नेपाली र नागेश्वर यादवलाई सभापतिको दाबेदारका रुपमा हेरिएको छ ।

सर्लाही

सर्लाहीमा जिल्ला अधिवेशनको सरगर्मी बढिसकेको छ । नेताहरुले जिल्ला कार्यकर्ता र आफूनिकट केन्द्रीय नेतृत्वसँग सभापतिका लागि लबिङ गरिरहेका छन् ।

देउवा समूहबाट वर्तमान सभापति नागेन्द्रकुमार राय दोहोरिने रणनीति बुनिरहेका छन् । सिटौला निकट सुरेन्द्र सिंहलाई नागेन्द्रले जिल्ला उपसभापति बनाएका छन् भने सिंहले नागेन्द्रलाई साथ दिरहेको अवस्था छ ।

यस्तै पौडेल टीमबाट नागेन्द्रसँग पराजित लक्ष्मण रायले पनि आफूलाई जिल्ला सभापतिको दाबेदारी गरेका छन् । अहिलेसम्म सर्लाहीमा नागेन्द्र र लक्ष्मणबाहेक सभापतिका रुपमा अन्य चर्चामा छैनन् ।

रौतहट

रौतहटमा विगतमा भन्दा १४ औं महाधिवेशनको रौनक र परिस्थिति केही फरक छ । जिल्लाका प्रभावशाील नेता मानिएका मोहम्मद अफताब आलम ज्यान मुद्दाको अभियोगमा कारगारमा छन् ।

जिल्लाको पार्टी राजनीतिलाई आफ्नै सेरोफेरो घुमाउँदै आएका आलम जेलमा हुनु र वर्तमान जिल्ला सभापति कृष्णप्रसाद यादव ‘रिङ आउट’ भएका कारण रौतहट काँग्रेसमा १४ औं जिल्ला अधिवेशन नयाँ परिस्थितिका बीच हुने भएको हो ।

रौतहटमा दशकौंदेखि आलम परिवारको इसारामा काँग्रेस राजनीति घुमिरहेको थियो । लामो समय आफताम आलम आफैले रौतहटको पार्टी नेतृत्व सम्हालेका थिए ।

आफू केन्द्रीय राजनीतिमा आएपछि आलमले पौडेल टीमबाट भाइ शेख महताव आलमलाई सभापति बनाउन खोजेका थिए । तर १४ औं अधिवेशनमा देउवा पक्षका कृष्णप्रसाद यादवलाई आलमले रोक्न सकेनन् । महताव आलम पनि जेलमै रहेका कारण यसपटक जिल्ला अधिवेशनमा आलम परिवारको प्रभाव रहनेछैन ।

जिल्ला सभापतिका लागि प्रदेश सांसदको उम्मेदवार सुनील यादव, मेयरको उम्मेदवार सुनिल यादव, पार्टी सचिव हृदयनाराण यादव, क्षेत्रीय सभापति रामसनेही यादव, शेखवकिल, रामचन्द्र गिरीको नाम चर्चामा छ ।

सुनीलद्यव देउवा टीममा दाबेदार हुन् भने हृदयनाराण, रामसनेही, शेखवकिल र रामचन्द्र गिरी भने पौडेल समूहबाट सभापतिको उम्मेदवार हुन प्रयास गरिरहेका छन् ।

बारा

दुईवटा उपमहानगरपालिका र ४ वटा निर्वाचन क्षेत्र भएको बारा जिल्लामा काँग्रेस सभापतिका लागि रस्साकस्सी सुरु भएको छ ।

केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र फर्मुल्लाह मन्सुरको गृह जिल्ला बारामा जिल्ला तहका नेताहरु नेतृत्वको दौडमा लागिसकेका छन् ।

देउवा टीमबाट वर्तमान सभापति जयचन्द्र चौरसिया र पूर्व सभापति राजेशचन्द्र यादवबीच उम्मेदवार हुन रस्साकस्सी छ ।

यस्तै पौडेल टीमबाट नेता रमानन्द यादव, पूर्व सभापति लालबाबुसिंह र पूर्व पार्टी सचिव रामअयोध्या यादवले सभापतिका लागि लबिङ गरिराखेका छन् ।

सिरहा

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव र नेता प्रदीप गिरीको गृह जिल्ला सिरहामा जिल्ला अधिवेशनको रौनक बढेको छ ।

देउवा पक्षीय वर्तमान जिल्ला सभापति रामचन्द्र यादव दोहोरिने रणनीतिमा छन् । उनले आफू त्यसको तयारीमा रहेको रातोपाटीलाई बताए ।

देउवा पक्षबाट रामचन्द्रसहित रामसुन्दर चौधरी, उपसभापति विष्णु गुप्ता, सचिव उपेन्द्र यादव, सहसचिव प्रवेश पोखरेल, विश्वनाथ मण्डल पनि सभापति हुने लाइनमा छन् ।

तर अहिलेसम्म १३ औं अधिवेशनका प्रत्यासी चौधरी बाहेकले दाबी प्रस्तुत गरिसकेको अवस्था छैन ।

यस्तै पौडेल टीमबाट गत अधिवेशनका प्रत्यासी नरेश यादव, नेताहरु अम्बर बाबु, अमिर यादव लगायतको पनि सभापतिमा दाबी छ । वर्तमान जिल्ला सभापति देउवा पक्षको भए पनि पौडेल समूह सिरहामा तुलनात्मक बलियो मानिन्छ ।

पर्सा

प्रदेश २ मा एकमात्र महानगरपालिका भएको पर्सामा काँग्रेस नेतृत्वका लागि नेताहरुले आन्तरिक रणनीतिमा व्यस्त देखिएका छन् । सभापतिका आकांक्षीहरुले कार्यकर्ताको सहयोग र केन्द्रीय नेतृत्वसँग आर्शिवाद खोजिरहेको पाइन्छ । १३ औं महाधिवेशनताका देउवा प्यानलबाट पर्सा सभापति बनेका अजयकुमार द्विवेदीलाई अझै एक कार्यकाल दोहोरिने सुविधा छ ।

काँग्रेस विभाजन हुँदा देउवा नेतृत्वको काँग्रेस (प्रजातान्त्रिक)का जिल्ला सभापति बनेका द्विवेदी १३ औं जिल्ला अधिवेशनबाट काँग्रेसको सभापति बनेका थिए । उनी फेरि पनि सभापति बन्ने रणनीतिमै रहेको बुझिएको छ ।

द्विवेदीको विकल्पमा १३ औं अधिवेशनका प्रत्यासी जनार्दन क्षेत्रीले तयारी थालेका छन् । १३ औं अधिवेशनमा देउवा टीमबाट द्विवेदी र क्षेत्रीबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपसभापति प्रकाश उपाध्याय, सचिव श्याम कट्टेल लगायतका नेताहरु पनि सभापतिका लागि लबिङ गरिरहेका छन् । पर्सामा यसपटक पनि ‘देउवा भर्सेस देउवा’ हुने परिस्थिति देखिन्छ । पर्सामा पौडेल पक्षको उपस्थिति कमजोर छ ।

यद्यपि निधि र देउवा केन्द्रीय सभापतिमा आमनेसामने हुने परिस्थितिले प्रदेश २ का जिल्लामा नयाँ समीकरण बन्ने सम्भावना पनि देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप