बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ काँग्रेसमा महाधिवेशनको सरगर्मी, कोइराला प्यानल बाजी मार्ने दाउमा

मङ्गलबार, २२ असार २०७८, ०८ : ४३
मङ्गलबार, २२ असार २०७८

बिराटनगर । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसको आन्तरिक राजनीतिमा विराटनगरले विशेष स्थान ओगट्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला हुनुको नाताले मात्रै नभई पछिल्लो समय केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइराला, सुजाता कोइराला, वीपी पुत्र डा. शशांक कोइराला लगायतका प्रभावशाली नेताहरुको गृहजिल्ला भएकाले पनि काँग्रेसको राजनीतिमा मोरङको विशेष चर्चा हुने गरेको छ ।

काँग्रेस अधिवेशनको मिति नजिकिएसँगै मोरङमा जिल्ला सभापतिका दाबेदारहरु अघि सर्न थालेका छन् ।

अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्रमा र २३ गते संघीय निर्वाचन क्षेत्रमा चुनाव हुनेछ । यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेका लागि तय गरिएको छ ।

मोरङमा नेपाली काँग्रेसका १४ हजार २५५ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् भने पुराना क्रियाशील सदस्यको संख्या १६ हजार २५५ छ । मोरङका ३० हजारभन्दा बढी काँग्रेसका क्रियाशील सदस्यले झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिका साथै जिल्ला सभापतिसहित नयाँ नेतृत्व चयनमा भूमिका निर्वाह गर्नेछन् ।

देउवा इतर प्यानलबाट आकांक्षी धेरै

मोरङमा पार्टी सभापति शेरबहादुर देउवाको गुटभन्दा पनि कोइराला गुटबाट जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन् ।

काँग्रेसको १३ औं अधिवेशनबाट मोरङको सभापतिमा देउवा गुटका मानिने डिकबहादुर लिम्बु निर्वाचित भएका थिए । उत्तरी मोरङको लेटाङ निवासी लिम्बु पछिल्लो समय डा. शेखर कोइरालासँग निकट मानिन्छन् । काँग्रेसका पुराना नेता गोपालराज भण्डारी र युवा नेता केदार कार्कीलाई पराजित गरेर जिल्ला सभापति भएका उनले देउवाको साथ लगभग छाडिसकेका छन् ।

यसपटक पनि लिम्बुले आफूलाई जिल्ला सभापतिको दाबेदारका रुपमा अगाडि सारेका छन् । २०७० मा भएको संविधानसभामा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका उनी २०७४ सालको संघीय संसदको निर्वाचनमा भने एमालेका घनश्याम खतिवडासँग पराजित भएका थिए ।

१३ औं अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका गोपालराज भण्डारी पनि आसन्न निर्वाचनमा सभापतिको दौडमा छन् । यसैगरी उनीसँगै १३ आंै अधिवेशनमा सभापति पदमा पराजित भएका केदार कार्की पनि जिल्ला सभापतिको दौडमा छन् । काँग्रेसको विद्यार्थी राजनीतिबाट उदाएका कार्की प्रदेश १ को प्रदेशसभामा नेपाली काँग्रेसका प्रमुख सचेतकसमेत हुन् ।

त्यसैगरी काँग्रेसका मोरङ जिल्ला कार्यसमितिका सचिव नागेश कोइराला पनि सभापतिका आकांक्षी बनेका छन् । राणाशासन विरोधी आन्दोलनमा समेत सहभागी भएका शम्भुप्रसाद रिजालका छोरा तथा काँग्रेसका पुराना नेता निरञ्जनप्रसाद रिजाल पनि सभापतिको दाबेदारका रुपमा चर्चामा छन् ।

जिल्ला नेतृत्वको दौडमा देखिएका लिम्बु, भण्डारी, कार्की, कोइराला र रिजाल सबै देउवा इतर प्यानलका हुन् ।

सभापति लिम्बुले सहमतिमै नेतृत्व चयनको प्रयास गरिने र छलफलबाटै उम्मेद्वारको टुङ्गो लाग्ने बताए । ‘क्रियाशील सदस्यताको टुङ्गो लागेपछि सभापतिको उम्मेदवारीको छिनोफनो लगाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘म पनि सभापतिको दौडमा छु । साथीहरुले के भन्नुहुन्छ, त्यही ढङ्गले म अगाडि बढ्छु ।’

जिल्ला सचिवसमेत रहेका नागेश कोइरालाले आफू पनि आसन्न अधिवेशनमा सभापतिको लाइनमा रहेको बताए । यद्यपि अन्तिम समयमा आफ्नो समूहबाट एकजना उम्मेदवार मात्र बन्ने उनको भनाइ छ । ‘हामी क्रियाशील सदस्यताको टुङ्गो लगाउन लागिरहेका छौं, यसपछि आफ्नो समूहमा छलफल गरेर एउटै उम्मेदवारको टुङ्गो लगाउँछौं,’ कोइरालाले भने, ‘म पनि सभापतिको लाइनमा छु ।’

मोरङ काँग्रेसको राजनीतिमा कोइराला खेमाको बर्चस्व रहेको मानिन्छ । तर, पछिल्लो समय सोही खेमामा भएको गुट–उपगुटले सो समूहलाई कमजोर बनाएको देखिन्छ । हाल केन्द्रमा शेखर कोइराला, शशांक कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि आफ्नो पक्षले जित्न सक्ने सो समूहको विश्लेषण छ ।

सोहीअनुसार संस्थापन इतर गुटहरुलाई एकतावद्ध बनाउने तयारीमा नेताहरुले दौडधुप गरिरहेका छन् । कोइराला पक्षबाट अन्तिममा डिकबहादुर लिम्बुलाई नै काँग्रेसको जिल्ला सभापतिमा एक्लो उम्मेदवार बनाउने सम्भावना रहेको काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।

‘शेखर कोइराला केन्द्रीय सभापतिमा उठ्ने चर्चा चलिरहेका बेला जिल्लामा पनि उनकै पक्षका नेतालाई सभापति बनाउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ,’ सो पक्षका एक स्थानीय नेताले रातोपाटीसँग भने, ‘त्यसका साथै महेश आचार्य, मिनेन्द्र रिजाल र शेखरबीच केन्द्रमै सहमति हुने सम्भावना भएका कारण मोरङमा उनीहरुवीच सहकार्यको सम्भावना प्रवल छ ।’

कमजोर छैन देउवाको प्यानल पनि

पार्टी सभापति शेरबहादुर देउवाको पक्ष मोरङ जिल्लामा अलि कमजोरजस्तो देखिए पनि प्रभावही चाहिँ छैन । आसन्न महाधिवेशनमा पुनः पार्टी सभापति बन्ने अभियानमा रहेका देउवाले कोइराला खेमाको गढ मानिएको मोरङलाई नजरअन्दाज गरेका छैनन् ।

देउवा पक्षबाट मोरङको जिल्ला सभापतिमा दिलीप गच्छदार र रमेशजंग रायमाझी आकांक्षी देखिएका छन् ।

गच्छदारले पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका सुनील थापा र फोरम लोकतान्त्रिकबाट काँग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि साथ र समर्थन पाउन सक्ने काँग्रेस नेताहरु बताउँछन् ।

जिल्ला सभापति पदका आकांक्षी गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । थारु एवं मधेसीको बाहुल्य रहेको मोरङमा गच्छदारलाई अगाडि सारिए कोइराला प्यानललाई भारी पर्न सक्ने आँकलन गरिएको छ ।

केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने मानिएका विराटनगरका अमृत अर्याल, विजयकुमार गच्छदार तथा सुनील थापाहरुले समर्थन गर्दा देउवा पक्ष पनि मोरङमा सशक्त ढंगले अगाडि आउन सक्ने देखिएको काँग्रेसकै स्थानीय नेताहरु बताउँछन् ।

हाल राष्ट्रियसभा सदस्य रहेका रमेशजंग रायमाझी पनि देउवा लाइनबाट जिल्ला सभापतिको दौडमा छन् । जिल्लामा देउवाको पक्षमा खरो उत्रने रायमाझी ०३६ सालदेखि काँग्रेसमा लागेका नेता हुन् ।

यीबाहेक मोरङ सभापतिको चर्चामा पूर्वसचिव मदन संग्रौला, यदु विष्ट पनि छन् । उम्मेदवारका रुपमा चर्चामा रहेका उनीहरूले  पनि चुनावी अभियानलाई तीव्रता पनि दिइरहेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप