रामचन्द्र पौडेलको प्रस्ताव : देउवालाई प्रधानमन्त्री छाडेकै छ, मलाई सभापति छाडिदिनोस्
अरुण बराल/लोकेन्द्र भट्ट । नेपाली काँग्रेसमा पुरानो पुस्ताका शीर्षनेताहरु दुईजना छन्, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । दुईमध्ये शेरबहादुर पटक पटक सरकार र पार्टीको नेतृत्वमा पुगिसकेका छन् भने पौडेलचाहिँ न पार्टी सभापति बन्न सकेका छन्, न त प्रधानमन्त्री नै ।
एकातर्फ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ला र देउवालाई प्रधानमन्त्री बन्न मार्गप्रशस्त होला भन्ने सम्भावना छ भने अर्कोतिर भदौमा हुने काँग्रेसको महाधिवेशनबाट पुनः शेरबहादुर देउवा नै पार्टी सभापतिमा दोहोरिने सम्भावना पनि उत्तिकै छ । आखिर देउवाको भागमा खिरैखिर, पौडेलको भागमा पिरैपिर हुन लागेको हो त ?
हामीले काँग्रेसका बरिष्ठ नेता पौडेलसँग नेपाली काँग्रेसको आसन्न महाधिवेशन, पार्टीभित्रको शक्ति सन्तुलन अनि उनले गरिरहेको तयारीबारे चासो राख्यौं । आफ्नो समूहबाट धेरैजना सभापतिका आकांक्षीहरु देखिइरहेका बेला पौडेलले उम्मदेवारी घोषणा गर्न आफूलाई आतुरी नभएको कूटनीतिक जवाफ दिए ।
त्यसो त रामचन्द्र पौडेल काँग्रेसका सादगी नेता पनि हुन् । आफूलाई वीपी कोइरालाका अनुयायी बताउने पौडेल कम्युनिस्टहरुसँगै वैचारिक संघर्षमा जोड दिन्छन् । तर, यतिबेला नेपाली काँग्रेसले माओवादी, माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्टहरुसँग गठबन्धन गरिरहेको अवस्था छ । देउवाले अघि बढाएको यो कम्युनिस्ट–काँग्रेस गठबन्धनलाई पौडेलले चाहिँ कसरी हेरिरहेका होलान् ?
यही राजनीतिक–वैचारिक प्रश्नका साथै मूलतः नेपाली काँग्रेसको महाधिवेशनमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेता पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–
राजनीतिक कुरा गर्दा तपाई संसद पुनस्र्थापना हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री बनाउँला ?
संसद त पुनस्र्थापना हुन्छ । किनभने, यो संसद विघटन गरेको प्रक्रिया नै गलत छ । सोझै देख्दाखेरि अदालतले दायाँ–वायाँ गर्ने ठाउँ नै छैन । यो प्रतिनिधिसभा जुन तरिकाले विघटन भयो, यसमा अदालतले अर्को कुरा सोच्ने र ठिकै छ भन्ने ठाउँचाहिँ मैले देख्दिनँ ।
अब वैकल्पिक प्रधानमन्त्रीको कुरामा पनि मान्छेहरुले के हुन्छ भन्ने गरेका छन्, तर १४६ जना सांसदले सशरीर गएर समर्थन गरेपछि संसदले हो नि प्रधानमन्त्री बनाउने । संसदले हो नि विकल्प दिने । संसदले नै विकल्प दिने क्षमता राख्यो भन्ने त देखियो नि । त्यसो भएको हुनाले दुईवटै फैसला पोजेटिभ होला भन्ने मलाई लाग्छ ।
प्रधानमन्त्री ओलीले त अदालतमा सेटिङ भयो भनेर आरोप लगाउन थालिसक्नुभयो नि ?
त्यस्तै आभाष पाएर पनि होला ।
अब नेकपा एमाले वीचैमा एक भयो भने देउवाजीको समर्थनमा गरिएको हस्ताक्षरलाई असर गर्छ कि गर्दैन ?
उहाँहरु फर्कने ठाउँमा हुनुहुन्न । माधवजी यस्तो अक्करमा गइसक्नुभएको छ, फर्केर आउने ठाउँ नै छैन । पर्तिरै ननिस्किई फर्केर आउने ठाउँ छैन ।
काँग्रेसले माधव नेपाललाई बोकेर एमाले फुटाउन भूमिका खेलेको हो ?
यो त परिस्थितिको संयोग हो क्या ! यो त आवश्यकता र बाध्यताको उपज हो । अहिलेको आवश्यकताको र बाध्यताको उपज हो ।
तपाईं नेपाली काँग्रेसमा वैचारिक नेताका रुपमा पनि चिनिनुहुन्छ । महाधिवेशनको मुखैमा नेपाली काँग्रेसले वामपन्थीहरुसँग गरेको गठबन्धनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
यतिखेरको जुन गठबन्धन बनेको छ, यो एक किसिमले बाध्यताको उपज पनि हो । जब सत्तामा रहनुभएको प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिजीले संविधानलाई नै मिचमाच गरेर गर्नै नमिल्ने काम गर्नुभयो । अनि सबैका लागि यो साझा एजेण्डा बनिदियो । यो लोकतन्त्र र यो संविधान निर्माणमा भूमिका रहेकाहरुको यो साझा एजेण्डाका रुपमा आफैं आइदियो ।
त्यसकारण यी पार्टीहरु यो संविधान बचाउनका लागि साझा एजेण्डामा मिलेका हुन् । कम्युनिस्टसँगको एलाइन्सलाई हाम्रो पार्टीभित्र संकोचको दृष्टिले हेर्ने साथीहरु पनि हुनुहुन्छ । बीपीले कम्युनिस्टसँग मिल्नुहुन्न, के के...भन्नुभएको थियो भन्छन् । तर, उहाँहरुले के कुरा बिर्सिनु हुन्छ भने बीपी स्वयंले पनि बनारसमा बस्दा पुष्पलालसँगसँग एउटा प्रस्ताव राख्नुभएको थियो । ‘तपाईं इकोनमिक एजेण्डा तयार गर्नुस् म पोलिटिकल एजेण्डा तयार गर्छु । मेरो पोलिटिकल एजेण्डामा तपाईं आउनुस्, तपाईंको इकोनोमिक एजेण्डामा म जान्छु । तपाईं र म मिलेर जान सकिन्छ र पञ्चयातविरुद्ध लड्न सकिन्छ’ भन्नुभएको वीपीले पटक–पटक हामीलाई सुनाउनुहुन्थ्यो । मलाई त्यसको प्रभाव छ अहिले पनि ।
म त के भन्छु भन्दा कम्युनिस्टको ‘क’ सितभन्दा अधिनायवादको ‘अ’ सित हामीलाई आपत्ति हो । हाम्रो आपत्ति ‘अ’ सितको हो । ‘क’ सित त्यस्तो आपत्ति होइन, त्यो नाम मात्रको खोल हो ।
०४६ सालमा पनि काँग्रेस र वामपन्थी मिलेका थिए, ०६२÷६३ मा पनि मिलेको देखिया । तर, अहिलेको परिस्थिति ०६२÷६३ को वा ०४६ सालको जस्तो हो र ? हामीले त संविधान बनाइसकेका छौं । काँग्रेस र बामपन्थी दलहरु संगठनका हिसाबले पनि दुई ठूला प्रतिस्पर्धी शक्ति हुन् नेपालका । अहिले वामपन्थी र काँग्रेसजस्ता प्रतिस्पर्धी विचारका शक्तिहरुवीच गठबन्धन हुनुपर्ने परिस्थिति हो र ?
०६२/६३, ०४६ साल जहिले मिलेर संयुक्त आन्दोलन गर्दा सफल पनि भएका छौं । त्यसको पहिलो लाभ पनि काँग्रेसले लिएको छ । दुईचोटि काँग्रेसकै प्रधानमन्त्री भयो । त्यो कुरालाई बेवास्ता गरेर मिल्नुहुन्थेन भन्ने कुरा जो आइरहेको छ, त्यसमा म सहमत छैन ।
अहिले कुरा के भयो भन्दा हामीले बनाएको संविधानमाथि सत्ताबाट हमला भयो । प्रधानमन्त्री र राष्ट्रपतिबाट हमला भयो । यो संविधान बचाउन हाम्रो प्रथम कर्तव्य भयो । यो संविधान बचाउनका लागि हामी एक ठाउँमा आएमा हौं ।
यो कोर्स कहिलेसम्म जानुपर्छ ? अनि कहिलेबाट प्रतिस्पर्धामा जाने ?
अब यो कोर्स राजनीतिमा इन्ट्रेस्ट कहाँ–कहाँ मिल्छ, अन्तराष्ट्रिय र राष्ट्रिय इन्ट्रेसमा कहाँ–कहाँ मिल्छ, अहिले राष्ट्रको आन्तरिक समस्यामा कति कुरामा नजिक भएर जान सक्छौं । प्रतिस्पर्धी पार्टीभित्र आफ्नो–आफ्नो प्रतिस्पर्धा हेरेर के गर्न सकिन्छ, त्यो अहिले भन्न सकिँदैन ।
चाहे कम्युनिस्ट भन्नुस्, चाहे काँग्रेस भन्नुस्, चाहे जे भन्नुस्, परिवर्तनका पक्षधर, संविधानका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र समावेशी लोकतन्त्रका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बाध्यकारी अवस्था हो ।
यो गठबन्धन आगामी चुनावसम्म पनि जान सक्छ ?
त्यो पनि हेर्नुपर्छ । केपी ओलीजीको पार्टी कुनरुपमा अगाडि आउँछ । उहाँले गर्नुभएको यो उपद्रोलाई कसरी म्यानेज गरेर आफूलाई जस्टिफाइड गर्नुहुन्छ । एमाले पनि सशक्त पार्टी हो । त्यसलाई उहाँले कसरी सम्हालेर, उहाँ कति सशक्त भएर आउँदो चुनावमा उपस्थित हुनुहुन्छ, त्यो कुराले पनि काउन्ट गर्छ ।
उसोभए, काँग्रेस र वामपन्थीको गठबन्धनका विषयमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच कुनै मतभेद छैन ?
म अलिकति कारणहरुलाई हेरेर, अहिलेको एजेण्डाको आवश्यकतालाई हेरेर तर्कसंगत रुपमा कहाँसम्म लिन सकिन्छ भन्ने सोचिरहेको छु । सभापतिजीले पनि त्यही सोचिराख्नुभएको होला । उहाँले प्रधानमन्त्री र सत्तालाई बढी महत्व दिनुभएको छ होला । तर, म व्यवस्थालाई बढी महत्व दिन्छु । बस् त्यत्ति हो ।
अहिले १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरिएको छ । देउवाजीलाई प्रधानमन्त्री बनाउने विषयमा पनि काँग्रेस एक ढिक्का नै छ ?
केपीजीको विकल्प दिने कुरामा पार्टी एक ढिक्का छ । केपी ओलीको विकल्प दिनुपर्छ भन्नेकुरामा नेपाली काँग्रेस सम्पूर्णरुपमा शतप्रतिशत छ । तर, केपीको विकल्प कस्तो किसिमले दिने भन्ने कुरामा यस्तो किसिमको भए मात्र दिने भन्ने एकथरीको होला । हैन, अर्को किसिममा पनि विकल्पै आउँछ भने अलि लचिलो भएर काँग्रेसले सोच्नुपर्छ भन्ने एकथरी साथीहरु हुनुहुन्छ । दुईथरी ‘स्ट्राटेजी’मा फरक छ । तर, मुलभूत रुपमा शेरबहादुर देउवाको उम्मेदवारी केपीको विकल्प दिने सन्दर्भमा भएकाले काँग्रेस एकमत नै छ ।
केपी ओलीले लिने कदम के हुन्छ र नेपालको भू–राजनीतिक अवस्था कस्तो छ भन्ने कुरामा पनि काँग्रेस–कम्युनिस्ष्ट गठबन्धन अगाडि जाला । हालै पाँच पूर्वप्रधानमन्त्रीहरुको वक्तव्यमा नेपालको विषयमा नेपाली नै निर्णय गर्न पाउनुपर्छ भन्ने भाषा परेपछि कूटनीतिक क्षेत्रमा तरंग सिर्जना भयो । यसबारेमा चाहिँ तपाई के भन्नुहुन्छ ?
नेपालको निर्णय नेपालीले नै गर्न पाउनुपर्छ भन्ने कुरा सामान्य वाक्यका रुपमा त्यसै मान्ने हो । पूर्वप्रधानमन्त्री भइसकेका पाँच–पाँच जना सिनियर नेताले बोल्दाखेरि कूटनीतिक परिपक्वतालाई ख्यालै गर्नुभएको होला ।
नेपालको राजनीति अप्ठ्यारो छ । दुई ढुंगाको तरुल भन्ने पनि गरिन्छ । हिजो ‘वर्ल्ड वार’को कालो बादल युरोपतिर थियो । रुस र अमेरिकाबीच थियो । आज एशिया मात्र होइन, नेपालकै आकाशमा मडारिराखेको छ । त्यसलाई पनि ध्यान राखेर हामीले सन्तुलन गुमाउनुहुँदैन । हामी फुकेर पाइला चाल्नुपर्ने आवश्यकता छ । अति नजिकका मित्रहरुका बारेमा प्रत्यक्ष र अप्रत्यक्ष अभिव्यक्तिमा संयम राखेरै बोल्नुपर्छ ।
अब नेपाली काँग्रेसको आसन्न महाधिवेशनको चर्चा गरौं । तपाईं यसपटक सभापतिको उम्मेदवार हो कि होइन ?
म अहिले उम्मेदवार हुँ भनेर घोषणा गर्ने स्टेजमा पुगेको छैन । हाम्रो पार्टीमा टीम छ । त्यसमा एउटा सहमति भएको छ, कलेक्टिभ लिडरसिप । हामी जे गर्छौं सामुहिक भावनाले काम गर्छौं । सामुहिक रुपमा सरसल्लाह गरेर अगाडि बढ्ने हाम्रो सल्लाह छ । मैले त्यसको मर्मलाई बुझेर अहिले उम्मेदवार हुँ भन्नु उचित लाग्दैन ।
काँग्रेसको नेतृत्व भनेको राष्ट्रकै नेतृत्व हो । साथीहरुसँग अन्तरक्रिया, कुराकानी र सरसल्लाह गरी एउटा निष्कर्ष निकालेर अहिलेको देश र काँग्रेसको आवश्यकता के हो, देशले कस्तो काँग्रेस खोजेको छ, राष्ट्रले कस्तो नेतृत्व चाहेको छ, राष्ट्रको नेतृत्व कसले गर्ने हो, नेपाली जनताको अपेक्षा के छ, त्यो कुरालाई पनि विश्लेषण गरौं ।
साथीहरुले आफ्नो अपेक्षालाई अगाडि सार्नु भएको छ । त्यसको सीमा कहाँ हो ? मिलनविन्दु कहाँ हो, त्यो खोजौं । एउटा मिलन विन्दुमा त पुग्नुपर्यो । पार्टीभित्रको जुन प्रवृति र कार्यशैलीसित हामी असन्तुष्ट भएर लडिरहेका छौं । एउटै एजेण्डामा उभिएकाहरुको बीचमा आपसमा विरोधाभाष त हुनुभएन नि । त्यसको समाधान कसरी गर्ने त ? कुन फर्मुलाले गर्ने ? मैले यिनै कुराहरु राखिरहेको छु । निष्पक्ष ढंगले पार्टी र राष्ट्रको आकांक्षालाई हेरौं । हामी सबैका आकांक्षा त छन् । तर, कुन पोइन्टलाई मिलन विन्दु बनाउन सक्छौं र कहाँ हामी सबै ‘एडजस्ट’ हुन सक्छौं ।
यहाँको जवाफ बढी कूटनीतिक भयो । यसको अर्थ, रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नहुन पनि सक्नुहुनेरहेछ, होइन ?
मैले साथीहरुलाई यो कुरा भनिराखेको छु । सही किसिमले यथार्थ परक विश्लेषण गरेर अगाडि बढौं । के हो यथार्थ ? यथार्थलाई साक्षात्कार गर्न त सबै तयार हुनुपर्यो नि ।
तपाईं सभापति त्याग्न पनि तयार हुनुहुन्छ ?
त्याग्ने र लिने भन्ने कुरा नै होइन । म प्रधानमन्त्री, राष्ट्रपति र सभापति हुनु भन्ने मेरो एजेण्डा होइन । राष्ट्रपति त म हुनै चाहन्नँ । किनभने मैले गिरिजाबाबुकै पालामा देशमा लोकतन्त्रको लडाईं अझै लड्न बाँकी छ, त्यो लडाईं म मैदानबाटै लड्न चाहन्छु । म राष्ट्रपतिमा गएर थन्किनेवाला छैन भनेर मैले पनि भनेको थिएँ । अहिले पनि भन्छु ।
मेरा लागि प्रधानमन्त्री र सभापति गौण कुरा हुन् । ६०–६५ वर्ष लगातार संघर्ष गरेको छु । ०१७ साल पुस १ गतेको काण्डपछि मैले लोकतन्त्रको लडाइँ त्यही विन्दुबाट सुरु गरेको हुँ । त्यो बेलासम्म म काँग्रेस र डेमोक्रसीको पक्षमा थिइनँ । काँग्रेसको विपक्षको सम्मेलनमा भाग लिन काठमाडौं आएको मान्छे हुँ म । तर, जब राजाले पुस १ गतेको काण्ड घटाए । त्यसपछि मेरो कलिलो दिमागमा जनताले चुनेका प्रतिनिधि र सरकारलाई राजाले थुने, यो त अन्याय भयो भन्ने मनमा लाग्यो । अनि लोकतन्त्रका लागि लागें । जेलनेल भोगें । कहीँ नझुकिकन ३० वर्ष लगातार लडें ।
सत्तामा बस्दा पनि म डेमोक्रेसीको सिपाही भएकाले मेरा कारणले प्रजातन्त्र बदनाम नहोस्, पार्टी बदनाम नहोस् भन्ने कुरालाई मैले महत्व दिन्छु । अहिले सत्तालाई महत्व दिने व्यक्तित्व भन्दा व्यवस्थालाई महत्व दिने व्यक्तिको खाँचो राष्ट्रलाई छ ।
यो राष्ट्रलाई एउटा वैचारिक धरातलमा उभिएर कसरी नेतृत्व गर्नुपर्छ भन्ने हो । कम्युनिस्टसँग सिद्धान्तको बहस गरौं न । कम्युनिस्टसँग लड्दा हामीले सिद्धान्तमा लड्नुपर्छ । हाम्रो पार्टीका सभापतिसँग कतिपय कुरामा सहमत छैनौं, उहाँको कार्यशैलीबाट पार्टीलाई मुक्त कसरी गर्ने भन्नका लागि के गर्दा हुन्छ, त्यो गरौं ।
तपाई त पार्टी सभापतिको हकदार पनि त हुनुहुन्छ....
म अस्ति (१३ औं महाधिवेशन) को घाइते हो । मैले चुनाव हारेको छु, मैलाई छोड, तिमीहरु कोही पनि उम्मेदवार नबन भनेको छैन । तर, साथीहरुले यथार्थ बुझ्नुहुन्छ र सल्लाहबाटै निष्कर्षमा पुग्छौं भन्नेमा म विश्वस्त छु ।
तपाईकै टिमबाट सभापतिमा दाबी गरिरहेका शशांक, शेखर, सुजाता, प्रकाशमान सिंह सबैले रामचन्द्र पौडेललाई एकचोटि काँग्रेसको नेतृत्व गर्न दिनुपर्छ भन्ने तपाईको भनाइ हो ?
मेरो भनाइ भन्दा पनि देशका अधिकांश साथीहरुको न्याय त हुनुपर्छ नि भन्ने भावना म बुझ्छु ।
यतिबेला नेपाली काँग्रेसमा पुस्ता हस्तान्तरणको बहस पनि चलेको छ । १४ औं महाधिवेशनमा दोस्रो पुस्तालाई दिनुपर्यो र १५ औंमा तेस्रो पुस्ता आउनुपर्यो भन्ने सुनिन्छ । यहाँको विचारमा यसपटक शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट दोस्रो पुस्तामा नेतृत्व सार्दा के हुन्छ ?
मेरो एउटा भनाइ के छ भने समयवद्ध काम गरौं । समयवद्ध काम गर्दै आएको भएदेखि नयाँ नेतृत्व आएको डेढ÷दुई वर्ष भइसक्थ्यो । मै सभापति भए पनि नेतृत्व बुझाउने बेला आउन लाग्थ्यो झण्डै झण्डै । तर, यहाँ त सभापति (देउवा) जी बसेको बस्यै गर्नुभयो । कार्यकाल लम्ब्याएको लम्ब्यायै गर्नुभयो । मेरो यसैमा असहमति हो ।
पदमा पुगिसकेपछि सधैं त्यस्तै । नेपाल विद्यार्थी संघ स्थापना गर्दा पहिलो कार्य समितिमा हामी थियौं । एकवर्षमै नारायणघाटमा दोस्रो महाधिवेशन गरेर हामी उहाँलाई (देउवा) लाई नेतृत्व बुझायौं । उहाँ ०३६ सालसम्म पनि नेतृत्व हस्तान्तरण नगरी बसेको बस्यै गरिदिनुभयो । त्यही पारा अहिले पनि हो कि भनेर उहाँलाई कहिलेकाहिँ मैले भन्ने गर्छु । समयमा चुनाव भइदिएको भए नेविसंघमा पनि कतिले असर पाउने थिए नि । काम गरेर देखाउन पाउथे नि । कसले कस्तो गर्दोरहेछ भनेर जनताले टेस्ट गर्न पाउनुपर्यो नि । को टेस्टेड हुने, कुन अनटेस्टेड हुने, यो पनि सवाल छ ।
पुस्ता हस्तान्तरणको कुरा अराजनीतिक हो, उमेर केही होइन । मान्छेको विचार, सम्झने शक्ति र योजना, कार्यक्रम ह्यान्डल गर्ने क्षमता भएको मान्छे युवा हो । युवा भनेको विचार हो भन्नुहुन्थ्यो वीपीले पनि । मान्छे विचारले युवा पनि हुन्छ, बुढो पनि हुन्छ । त्यसैले आजको समस्यालाई जसले प्रतिनिधित्व गर्न सक्छ, त्यही युवा हो । उमेर हेरेर यसलाई जिम्मा लगाउने, यसलाई जिम्मा लगाउने... कुरा त्यति सहज नहोला ।
कसैले कसैलाई दिने कुरा होइन । भारतमा एकाएक नरेन्द्र मोदी आए । सारा देशलाई प्रभावित पारिदिए । आडवाणीहरुले भन्नुपर्यो ‘तपाईले हाम्रो पार्टीको उद्धार गरिदिनुभयो’ भनेर ।
म पनि एउटा धुलोबाट उठेर आएको व्यक्तिलाई स्वागत गर्न पर्खेर बसेको छु भनेर मैले भन्ने गरेको छु । रुखको पुरानो पात झर्छ, नयाँ पलाउँछ । त्यसलाई कसैले इन्कार गर्न सक्दैन । तर, पुरानो पात कतिसम्म रुखमा अडिन्छ, त्यसको क्षमतामा भर पर्छ ।
त्यसोभए, एकपटक टेस्ट हुन पाउनुपर्यो भन्ने तपाईंको माग हो ?
मलाई पदै मात्र पनि होइन बाबा ! यो मुलुकको अहिलेको राजनीतिक संकट सामना गर्ने भूमिकाबाट बञ्चित हुँदा देशलाई कति नोक्सान हुन्छ, कति फाइदा हुन्छ । आचार्य रजनीशले महात्मा गान्धीलाई भने, राम्रो मान्छेले सक्रिय राजनीति छोडिदिन्छु भनेर भारतीय जनतामाथि सबैभन्दा ठूलो बेइमानी गरे । गान्धीले छोडेपछि उनीभन्दा असल मान्छे कम हुँदै गए ।
यतिबेला कर्तव्य निर्वाह गर्नु छ । कहाँ बसेर राम्रोसँग प्रभावकारी ढंगले गर्न सकिन्छ, कुन मोर्चामा को बस्ने हो मिलाएर गरौं भन्ने मेरो भनाइ हो ।
महाधिवेशन आउनै लागिसक्यो, सभापतिको उम्मेदवारबारे तपाई अझै टिममा छलफल भइरहेको छ, भन्नुहुन्छ । उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसक्नुभयो । देउवाजीले पनि सभापति दोहोर्याउँछु भनिसक्नुभयो । तपाईंहरु चाहिँ कहिले मिलाउनुहुन्छ ?
मुख्य कुरा क्रियाशील सदस्यताको छ । अहिले मेरो सबैभन्दा बढी चिन्ता पार्टीको महाधिवेशनलाई सुनिश्चित गर्ने हो । मेरो ध्यान त्यतातिर बढी केन्द्रित छ । पार्टीको महाधिवेशन पारदर्शी ढंगले होस् । पार्टीको महाधिवेशनमा हेराफेरी नहोस् । आम कार्यकर्ताको भावनाअनुरुपको नेतृत्व आओस् । कसैले कृत्रिम ढंगले नेतृत्व प्राप्त गर्ने कुरा नहोस् । क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको टुंगो लगाएर, निर्वाचन समितिलाई जिम्मा दिनुपर्ने छ ।
हिजो समायोजनको कुरा थियो । अब त्यो करिब–करिब टुंगो लागेको छ । तर, पार्टी कार्यालयले चिठी लेख्न ढिलाढाला गर्छ । आफू अनुकुलको कुरा हुँदा तुरुन्त परिपत्र जारी गर्ने र आफूलाई अलिकति मन नपरेको कुरा भए आलटाल गर्ने बानी छ । त्यस्तो कार्यशैलीसित दिक्क भएकाले मूल समस्या त्यहाँ छ भनेर त्यतातिर ध्यान लगाइरहेको छु । उम्मेदवारी खडा गरेर दगुर्नुभन्दा महाधिवेशनको पृष्ठभूमि तयार गरौं न त ।
यहाँले क्रियाशील सदस्यताको विषयमा सभापतिसँग आइतबार छलफल गर्नुभएको थियो, के भयो ?
एउटा मापदण्ड बनाएर जाउँ भन्ने हाम्रो भनाइ हो । क्रियाशील सदस्यता छानविन हुँदा एउटा मापदण्ड बनाएर मात्र छानविन होस् भन्ने एउटा कुरा छ । अर्को, ए बाबा काँग्रेसका बीचमा प्रतिस्पर्धा हुनुपर्यो । ल ठीक छ, काँग्रेसमा प्रवेश गर्नुभएको छ, उहाँहरुलाई पनि स्वागत छ । विजय गच्छदार र सुनील थापालाई स्वागत छ । हामी संकीर्णता राख्दैनौं । तर, विजय गच्छदारको नाममा अरु नै मान्छे हालेर वा सुनीलका नाममा ब्याक डोरबाट मान्छे थपेर पार्टीलाई पकड राख्ने दृष्टिकोणमा काम भइरहेको छ । अरु–अरु पनि पार्टी प्रवेश गराएर तेरोमा यति लैजा भनेर पहिला हामीले गरेका थिएनौं । पार्टीको अफिसियल ग्रुपले त्यो गर्न थालेको छ । यो तरिका भएन ।
पार्टीभित्र आउनेलाई सम्मानपूर्वक राखौं । यो कुरालाई ‘मिस युज’ नगरौं । पारदर्शी ढंगले क्रियाशील छानविन होस् भन्ने ढंगमा छलफल भयो ।
तर, आगामी नेतृत्व कसले गर्ने भन्नेमा त तपाईंहरुले ढिलाढाला गरिराख्नुभएकै देखियो नि ?
केही ढिलाढाला छैन । क्रियाशील सदस्यता सकियोस् । वडाबाट चुनाव सुरु होस् न । चुनावमा एकमत हुनुपर्यो । अहिले क्रियाशील निष्पक्ष बाँडियोस् भन्ने हामी सबैको एउटै मत छ ।
तपाईको टिममा रहेका डा. शशांक कोइराला १३ औं महाधिवेशनमा देउवासँग मिलेको देखियो । उहाँले देउवा समूहको पनि भोट लिनुभयो ....
म त्यो भन्न सक्दिनँ । होला, उहाँ वीपीको छोरा भएर, मन पराएर हाले होलान् मान्छेले ।
वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरुसँगै बैठक बसेको फोटो सार्वजनिक भएको छ । तपाईंको टीममा रहेका उहाँहरु (शशांक, प्रकाशमान, शेखरहरु) यसपालि फुत्किनुहुन्छ कि ?
आइतबार पार्टी अफिसमा बीपी र गणेशमानका छोराहरु (शशांक र प्रकाशमान) सँग एउटा प्रश्न गरेको थिएँ– हैन प्रकाशजी, शशांकजी, अहिले विमलेन्द्र निधि त्यत्रो वर्ष शेरबहादुर देउवासँग सहयात्रा गरेर शेरबहादुरकै नेतृत्वमा उपसभापति बनेर उहाँको हालीमुहाली यस्तो चलिराखेको छ ।
त्यसलाई एकैचोटि स्वाट्टै छाडेर तपाईंहरुलाई सभापति बनाउन खोज्दै आएको आउनुभएको हो ? अथवा, शेरबहादुरजीसँगको नेतृत्वमा मान्छेले भोगेको उत्पीडनमा उहाँ (निधि) पनि त्यतिकै सहभागी भएको कुरा प्रकाश र शशांकले बुझेकै छैनन् भनेर उनीहरुले मलाई सभापति मानिदिन्छन् भनेर आएको होला त त्यति बाठो मान्छे ? उनको जुन नाटकीय अभिनय छ, यसको उद्देश्य के हो भन्ने कुरा साथीहरुले बुझ्नुभएकै होला भनेर मैले भनेँ ।
भनेपछि, उहाँहरुको मिटिङ सार्वजनिक खपतका लागि मात्रै हो त ?
यो त त्यस्तै देखिएको छ । जुन कुराको सम्भावना छैन, त्यही कुरालाई देखाएर यो अभिनय देखाएर सबै काम गर्ने ? यो नक्कली र कृत्रिम कुरा हो ।
अन्तिम घडीमा विमलेन्द्र निधि र देउवाबीच सहमति जुट्छ कि उहाँहरु छुट्टाछुट्टै मैदानमा आउनुहुन्छ ? तपाईंको ब्रह्मले के भन्छ ?
त्यसलाई मैले रुलआउट गर्न सक्दिनँ । उहाँहरुको बीचमा एकता नै भएर लड्नुहुन्छ भन्ने कुरामा अहिलेसम्मको उहाँहरुको गतिविधि हेर्दा मैले त्यसलाई इन्कार गर्न सक्दिनँ ।
तपाईं आफूलाई तेह्रौं महाधिवेशनको घाइते बाघ भन्नुहुन्छ, दुबै जना (देउवा र निधि) मिलेर आउँदा पनि लड्न त तयार हुनुहुन्छ ?
पार्टीमा न्यायको लडाईं हो । काँग्रेसमा लोकतान्त्रीकरण कसरी गर्ने ? यो देशमा लोकतान्त्रिक अभ्यासको कमी छ । यत्रो परिवर्तन आयो । तर, पार्टीहरु विखण्डित भए । यत्रो विश्वास गरेर जनताले भोट दिएर कम्युनिस्टलाई पठाए, आफूले आफैंलाई धान्न सकेनन् । पार्टीभित्र यत्रा समस्या आउँदा रहेछन् । काँग्रेसभित्रै पनि कतिपय समस्या बेला–बेलामा भुल्काका रुपमा आएका छन् । लोकतान्त्रिक संस्कार र अभ्यासको कमी छ । यो समाजलाई लोकतान्त्रीकरण गर्नु आवश्यक छ । जता सत्ता त्यतै, ‘जता मल्खु त्यतै ढल्कु’को अवस्था छ ।
सेतो बाघको युग अझै पनि बाँकी छ । जंगबहादुरका पालाको युग पूरै सकिएको छैन । यो सोसाइटीलाई लोकतान्त्रीकरण गर्ने नेपाली काँग्रेसको जिम्मेवारी छ । त्यो जिम्मेवारी बोकेको पार्टीभित्र आफैंमा लोकतान्त्रीकरण गर्नुपर्ने जरुरी छ । आफू लोकतान्त्रिक नभइकन अरुलाई लोकतान्त्रीकरण गर्छु भनेर कसैले शिक्षा, उपदेश दिएर कोही मान्छ ? पहिले आफू सच्चिनुस् ।
नेपाली जनता नेतासँग किन विरक्त भएका छन् ? किनभने नेताको चालचलन उनीहरुलाई चित्त बुझेको छैन । तिमीहरु लडेर लोकतन्त्र ल्यायौ, त्यो अनुकुलको किन नभएको भन्ने जनताको गुनासो छ नि, त्यही गुनासो मेटौं भन्ने मेरो प्रयास हो ।
काँग्रेसमा पुरानो पुस्ताका तपाईं र शेरबहादुर देउवाजी हुनुहुन्छ । तपाईंहरु मिलेर काँग्रेसलाई एउटै बनाउने उपाय र सम्भावना छ कि छैन ? जस्तो– पार्टी सभापति एकजना र प्रधानमन्त्री एकजना भएर चलाऊँ भनेर देउवा र तपाईमा कुनै समझदारी बन्ने सम्भावना छ कि छैन ?
कुरा के हो भन्दा शेरबहादुरजी असाध्यै ठूलो खेलाडी हुनुहुन्छ । उहाँले तँलाई प्रधानमन्त्री बनाउछु भनेर १० चोटी कसम खाइदिनुहुन्छ । म प्रधानमन्त्री बसौंला, तँ सभापति हो न त भन्ने कुरा उहाँको मुखबाट आउलाजस्तो लाग्दैन । यहाँ सवाल त पार्टी सुधार्नु छ । यहाँ सवाल काँग्रेस करेक्सनको छ । काँग्रेसको लोकतान्त्रीकरण जरुरी छ । यही पोइन्टमा गइसकेपछि कहाँनेर कुरा मिल्छ, कसरी मिल्छ, म भन्न सक्दिनँ ।
देउवाजीले तपाई पार्टी सभापति बन्नुस्, म एकचोटि प्रधानमन्त्री बन्छु भन्नुभयो भने तपाईं तयार हुनुहुन्छ ?
अहिले उहाँलाई प्रधानमन्त्रीमा अगाडि सारेकै छ । यता (सभापति) छोडिदिए पनि भयो नि त उहाँले । उहाँ त दुईटै पद मलाई चाहिन्छ भन्नुहुन्छ भोलि पनि ।
प्रधानमन्त्री र सभापति पद बाँडेर उहाँ र मैले मिलेर मात्र मिल्ने कुरा होइन । तर, उहाँलाई एउटा कुरा भनेको छु, धेरै लोभ गरेर कहीँ पुगिँदैन । हेर्नुस्, यो नेपाल भनेको त साधु सन्तलाई पूजा गर्ने देश हो । यहाँको सबैभन्दा ठूला देउता शिवजी नांगा बाबा हुन् । गणेशमानजी सबैभन्दा ठूलो नेता । किनभने, उहाँले प्रधानमन्त्री पद नै अर्कोलाई छाडे भनेर । यहाँ त्यागले नेता बन्छ । त्यागले देउता बन्छ । भोगले देउवा बन्दैन । तपाई देउता बन्नुपर्यो भनेर मैले केन्द्रीय कार्यसमितिमा उहाँलाई भनेको थिएँ । त्यागको भावना उहाँको भित्रको कुरा हो । जीवनको उत्तरार्धमा नेपाल र नेपाली जनतामा छाप राख्छु भन्ने उहाँको घैंटोमा घाम लाग्यो भने पार्टीभित्रको राजनीतिमा व्यवस्थापन सजिलो होला ।
तर, म र शेरबहादुजी सबैथोक होइनौं नि त । कयौंको दुःख, योगदान र लगानी छ यो पार्टीमा । सबैको सहयोग, चाहना र भावना मिलेर यो पार्टीलाई नयाँ दिशामा, लोकतान्त्रिक बाटोमा अगाडि बढाउनुपर्छ ।
महाधिवेशनमा देउवा र पौडेल नमिल्दा दुबै रिङआउट हुने सम्भावना छ कि छैन ?
मैले त्यस्तो देख्दिनँ । काँग्रेसका आम कार्यकर्ता मैले पनि चिनेको छु । मैले एक ठाउँमा भनेको पनि थिएँ, वनले नचिनेको बाघ होइन, बाघले नचिनेको वन होइन । आम काँग्रेसले नचिनेका हामी होइनौं । हामीले नचिनेको आम काँग्रेस होइन । हाम्रा सारा साथीहरुको चाहना र भावना के छ भन्ने कुरा मलाई पनि थाहा छ ।
तपाईहरुले आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चाहिँ वडासमितिहरुको अधिवेशनपछि मात्रै तय गर्नुहुन्छ ? कहिलेसम्म निश्चित होला ?
अहिले मैले यसरी ठ्याक्कै यो टाइम भन्दिनँ । वडाको चुनावको लगभग त्यतैतिर । सकेसम्म छिटो देशलाई एउटा सन्देश दिने हामी कोसिस गर्छौं । हामी देशलाई एकताको सन्देश दिन सक्छौं । यो हाम्रो आवश्यकता हो । बाध्यता हो । दिन सक्दैनौं भनेदेखि हामीलाई प्रश्न जनताले गर्छन् नि ।
तपाईले सहमतिमै उम्मेदवार चयन गरिने बताउँदै गर्दा धेरै नेताहरुको भनाइ के छ भने एक जनामा सहमति जुटेन भने हामी सबैले चुनावमा जानुपर्ने परिस्थिति हुन सक्छ । त्यसपछि दोस्रो राउण्डमा पुर्याउने प्रयास हुन्छ....
साथीहरुलाई म यो मिडियाको माध्यमबाट के भन्न चाहन्छु भने सेकेन्ड राउण्डमा लैजाने यस्तो कच्चा सोच नबनाऔं । जे गर्ने हो, सुरुकै चरणमा गर्नुपर्छ । किनभने, यसले पछि अनेक विकृति ल्याउन सक्छ । सबैभन्दा ठूलो समस्या त तल अरु साथीहरुमा आउँछ । अरु साथीहरु, जो पीडित भएर बसेका छन्, तिनलाई मर्का पर्छ । ती साथीहरुको मर्का हामीले नबुझ्ने ?
सभापतिका दाबेदार विमलेन्द्र निधिले के भनिरहनुभएको छ भने पार्टीभित्रबाट सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्छ, हामी ७ जना जो दाबेदार छौं, यसमध्ये एकजनामा सहमति भयो भने ठिकै छ, हैन भने १३ औं महाधिवेशनका उम्मेदवारहरुले दोस्रो तहबाट उम्मेदवार चयन गरिदिनुपर्छ । रामचन्द्र पौडेल र शेरबहादुर देउवा मेरो प्रस्तावक र समर्थक बसिदिनुपर्छ भन्ने उहाँको अपेक्षा छ । यस सन्दर्भमा के सोचिराख्नुभएको छ ?
यो त एउटा सुमधुर कल्पना हो । यहाँभन्दा बढी त म के भनौं ।
तपाईको समूहमध्ये कोइराला परिवारबाटै शशांक, शेखर र सुजातासमेत तीनजना सभापतिका दाबेदार छन् । उनीहरुले तीनमध्ये एकजनामा सहमति जुटाइन्छ भनिरहनुभएको छ । त्यस्तो हो ?
यो पनि वास्तविकतामा आधारित छैन । मैले पनि कोइरालामध्येकै तीनजनासँग संगत गरिराख्या छुृ । छलफल भइ नै राख्या छ । त्यस्तो सोचमा विश्वस्त नै उहाँहरु भएको मैले मान्दिनँ । उहाँहरु पनि यो काँग्रेसमा कस–कसको लगानी छ, अहिलेको समस्या पनि उहाँहरुले बुझ्नुभएको छ नि त । अहिले जुन पकडमा पार्टी फसिराख्या छ, त्यसबाट कसरी मुक्त गर्ने भन्ने चिन्ता त उहाँहरुलाई पनि छ नि । पहिलो चिन्ता त यो पकडबाट मुक्त गराउने कुरामा उहाँहरुले पनि सोच्नुभएकै छ ।
तपाईले मण्डीखाटारमा सुजाता कोइराला र कृष्णप्रसाद सिटौलासँग लञ्च मिटिङ गर्नु भएछ, के–के कुराकानी भयो ?
मलाई खाना खान बोलाउनुभएको थियो । अरु को–कोलाई बोलाउनुभएको थियो, मलाई थाहा थिएन । त्यहाँ सिटौलाजी पनि हुनुहुन्थ्यो । हामी बस्यौं । एकछिन कुरा गर्यौंं । पार्टीको हिजोको घटनाका बारेमा छलफल भयो । महाधिवेशन स्वच्छ ढंगले कसरी सम्पन्न गर्ने भन्नेबारेमै छलफल बढी केन्द्रित रह्यो ।
तपाईंहरुबीचको लञ्च मिटिङलाई १४ औं महाधिवेशनमा सिटौलाजीलाई पनि सँगै मिलाएर लैजाने प्रयत्न हो भनेर बुझ्दा हुन्छ ?
त्यही प्रयत्नका लागि भनेर मैले कोशिस गरेको होइन । मेरो प्रस्ताव होइन । त्यो छलफल मेरो आयोजना पनि होइन । आयोजना सुजाताजीको हो । सुजाताजीको सतप्रयास भनौं न । उहाँको ईच्छा, चाहना र कामना पार्टीका साथीहरुमा एउटा समझदारी भए राम्रो हुन्थ्यो भन्ने आशयका कुरा उहाँले गर्नु भएको थियो । मिलेर जानुपर्छ भन्नेखालको ।
यसबारेमा तपाईं र सिटौलाबीच के कुराकानी भयो ?
– धेरै केही नभनौं । प्राइभेट कुरा ।
आफ्नो टिमबाट एकजना मात्रै उम्मेदवार बनाउने तपाईको प्रयत्न त रहने नै भयो । तर, तपाईको टिमबाट दुईजना उम्मेदवार खडा हुने परिस्थिति भयो भने रामचन्द्र पौडेल चुनावी मैदानमा देखिनुहुन्छ कि ‘ब्याक’ हुनुहुन्छ ?
मैले देशभरिका साथीहरुसँग विस्तार–विस्तार सम्पर्क पनि गरिराखेको छु । साथीहरुको चाहना, भावना के छ । उहाँहरुले तल बसेर कसरी हेरिरहनुभएको छ, यसको पनि अध्ययन गरिराखेको छु ।
यही टिमबाट दुईजना सभापतिका उम्मेदवार हुँदाखेरि तपाईलाई पनि देख्न सकिन्छ भनेर बुझ्दा हुन्छ ?
चुनाव लड्ने उम्मेदवारले आफ्नोतर्फबाट विश्लेषण गरेर लड्ने हो । यस्तो–यस्तो परिस्थितिमा मेरो आवश्यकता छ र मेरो सम्भावना छ भनेर आफूले विश्लेषण गर्ने हो ।
यहाँले अघि भन्न्नुभयो, हामी उम्मेद्वारका रुपमा अगाडि आउनका लागि क्रियाशील सदस्यताको विषयलाई कुरिराखेका छौं । अस्ति, पत्रकारसँगको अन्तरक्रियामा सभापति देउवाले भन्दैहुनुहुन्थ्यो, मैलेचाहिँ उम्मदेवारी दिइसकें, रामचन्द्रजीले उम्मेदवारी दिनुभयो कि भएन, उहाँलाई पनि सोध्नोस् भन्नुभएको थियो । उहाँले तपाईको उम्मेदवारी खोजिराखेको स्थिति छ नि ?
हैन, मलाई हतार र आतुरी केही पनि छैन । महाधिवेशन अझै परै छ ।
देउवाको उम्मेदवारी घोषणाले रामचन्द्र पौडेललाई केही राहत भएको भन्ने सुनिन्छ, त्यस्तो विश्लेषण भएको हो ?
खै, मलाई त्यस्तो लाग्दैन । शेरबहादुरजीको उम्मेदवारी हुँदाखेरि अलिकति साथीहरु जो हौसिएर उत्साहित हुनुहुन्थ्यो, त्यसमा थोरै थोरै संयमित हुनुभएको छ । शेरबहादुरजी जे भए पनि ठूलै खेलाडी हो । प्रधानमन्त्री चारचोटि भैसक्या मान्छे हो । यो पार्टी छाडेर गएर अर्को पार्टी खोलेर पनि फेरि यता आएर सभापति बन्ने सामथ्र्य राख्या मान्छे हो । त्यसकारण उहाँको उपस्थितिले गर्दा साथीहरु अलि संयमितचाहिँ हुनुपर्छ ।
देउवा प्रधानमन्त्री बनेर महाधिवेशनमा आउँदा तपाईहरुलाई थप थ्रेट त होला नि ?
मचाहिँ जीवनभर सत्तासँग लडेको मान्छे हो । राजाको सत्तासँग पनि निर्धक्कसँग लडेको हो । पछि आएर ज्ञानेन्द्रको सत्तासँग पनि निर्धक्कसँग लडेको हो । कम्युनिस्टको सत्तासँग पनि लडेको हो । त्यसकारण म सत्तासित डराउने मान्छे होइन । यो लोकतन्त्र संस्थागत गर्नलाई हामी सत्तासँगै लडेका मान्छे हौं । हाम्रो यो संघर्षले लोकतन्त्र अझ परिस्कृत हुन्छ र अझ खारिन्छ भन्ने मलाई लाग्छ ।