शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा देउवा भर्सेस पौडेल : कुन जिल्लामा कस्तो छ शक्ति ?

बिहीबार, २४ असार २०७८, १२ : ५५
बिहीबार, २४ असार २०७८

यतिबेला केन्द्रमा जस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । पार्टीको जिल्ला सभापति कसले हत्याउने भन्ने होडबाजी पार्टीभित्र सुरु भएको छ ।

कुल १० जिल्ला रहेको कर्णाली प्रदेशमा विस्तारै जिल्ला अधिवेशनको माहौल शुरु भएको छ । सुनसान बनेका जिल्ला सदरमुकामहरूमा काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत बाक्लिँदैछ ।

अन्य प्रदेश जस्तै कर्णालीमा पनि केन्द्रमा जस्तै शेरबहादुर देउवा (संस्थापन) र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीचमा नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो अधिवेशनमा रामचन्द्र  पौडेल पक्षले यस प्रदेशका १० जिल्लामध्ये अधिकांश जिल्लामा वर्चश्व कायम गरेको थियो । आउने अधिवेशनमा पनि अधिकांश जिल्लाहरुमा पौडेलपक्षले नै वर्चश्व कायम गर्न सक्ने सो समूहका नेताहरुको दाबी छ ।

यद्यपि, आपसी तालमेलपछि परिणाम कस्तो आउँछ, त्यो भने हेर्न बाँकी नै छ । देउवा र पौडेल दुबै समूहबाट जिल्ला सभापतिका लागि आकाँक्षा राख्ने नेताहरु मैदान जुटिसकेका छन् ।

कर्णालीका १० जिल्लामध्ये कर्णालीका हिमाली जिल्ला हुम्ला बाहेकका अन्य जिल्लाहरुमा पौडेल पक्ष बलियो रहेको काँग्रेस नेताहरु बताउँछन् । सल्यानमा दुबै पक्ष कडा प्रतिस्पर्धामा उत्रिएका छन् । हुम्लामा भने काँग्रेस नेता जीवनबहादुर शाहीको गृहजिल्ला भएकाले संस्थापन पक्ष बलियो देखिन्छ ।

नेपाली काँग्रेसमा अब वडा तहको अधिवेशन सुरु हुन तीन साता मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ  भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । भदौ १६–१९ गते १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ ।

 

कर्णालीका १० जिल्लामा सभापतिका दाबेदार

 

सुर्खेत  

प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा काँग्रेस महाधिवेशनको चुनावी माहोल तातेको छ । सुर्खेतमा पार्टी सभापतिका लागि काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ । थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन पक्षधर हुन् । जिल्लामा दुबै पक्ष उत्तिकै बलिया छन् ।

वहालवाला पार्टी सभापति कमलराज रेग्मीले दोस्रो पटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् । उनी थानी प्यानलका हुन् । खड्का प्यानलबाट सभापतिमा आकाँक्षीहरुको सूची लामै छ । मुख्य गरी यज्ञबहादुर बुढा क्षेत्रीको उम्मेदवारीको सम्भावना छ । उनी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री पनि हुन् ।

यस्तै कालिप्रसाद शाक्य, टोपबहादुर रावत, स्याम भारती, गोविन्द कोइराला लगायतका नेताहरुले सभापतिमा आकाँक्षा राखेको देखिन्छ ।

संस्थापन पक्षका नेता तप्तबहादुर विष्टको निधन भएकाले बिष्टको समूह खड्काको समुहमा अटाएको छ । त्यो हिसाबले खड्काको प्यानलले सभापति जित्न सक्ने दाबी गरिएको  छ । तर, खड्का पक्षमा आकाँक्षी भएकाले थानी प्यानलको पनि जित्ने सम्भावना उत्तिकै छ ।

दैलेख

दैलेखमा एउटै क्षेत्रका दुई नेताहरु भिड्ने देखिन्छ । फरक गुटबाट एउटै क्षेत्रका दुई नेताको कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

पार्टी सभापतिका लागि संस्थापन खेमाबाट एक्ला उम्मेदवार घनश्याम भण्डारीको नाम चर्चामा छ भने पौडेल खेमाबाट तीनजनाको नाम चर्चामा छ ।

पौडेल खेमाबाट वहालवाला पार्टी सचिव भुपेन्द्रबहादुर शाही, मणिराम रेग्मी, गणेश उपाध्यायको चर्चा छ । पौडेल पक्षका भुपेन्द्र शाही र संस्थापन पक्षका घनश्याम भण्डारी दैलेख क्षेत्र नं.–२ नेता हुन् ।

भण्डारी सो क्षेत्रका क्षेत्रीय सभापति र दुल्लु नगरपालिकाका मेयर पदमा छन् । शाही जिल्ला पार्टी सचिव हुन् । उनी पूर्वपत्रकार समेत हुन् ।

समीकरण हेर्दा पौडेल पक्षका शाहीको सम्भावना पनि बलियो नै देखिन्छ । दुबैजना एउटै क्षेत्रका नेता र फरक खेमाबाट उम्मेदवार लड्ने भएकाले पनि दुईजनाको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । 

अहिलेसम्म पार्टी सभापतिको सिट क्षेत्र नं १ का नेताहरुको भागमा परेको थियो भने आसन्न निर्वाचनमा सभापति दुई नम्बरतिर धकेलिन सक्ने सम्भावना रहेको एक नेताले बताए । तथापि, शाही र भण्डारीबीच प्रतिस्पर्धा हुँदा अन्य उम्मेदवारले पनि बाजी मार्न सक्ने सम्भावना उत्तिकै छ ।

हालका सभापति कृष्णकुमार बीसी पौडेल निकट नेता हुन् । उनले दुई कार्यकाल पार्टी सञ्चालन गरिसकेका छन् ।

हुम्ला

पूर्वपर्यटनमन्त्री तथा काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पनि अधिवेशनको सरगर्मी बढेको छ ।

यसअघि लगातार संस्थापन पक्षको हातमा परेको पार्टी सभापतिको सिट पुनः सोही पक्षकै हातमा पर्न सक्ने सम्भावना बढी छ ।

जीवनबहादुर शाहीको हुम्ला जिल्लामा राम्रो छाप भएकाले पनि धेरैको आँकलन संस्थापन पक्ष नै अगाडि आउनेतर्फ छ । हालका पार्टी सभापति जयपति रोकायाको दुई कार्यकाल सकिएको छ ।

सभापति पदका लागि देउवा पक्षबाट हालका पार्टी सचिव मोहनविक्रम सिंह, पदमबहादुर लामा, कर्ण रावल लगायतका नेताहरुको नाम चर्चामा छ । यस्तै पौडेल प्यानलबाट थानबहादुर रोकाया, मंगलबहादुर शाही लगाएतका नेताहरुले आकाँक्षा देखाइरहेका छन् ।

मंगलबहादुर शाही यसअघि दुईपटक पार्टी सभापतिका लागि लडेर पराजित भएका थिए, भने रोकाया प्रदेश सभामा पराजित नेता हुन् ।

देउवा पक्षका कर्ण रावल खार्पुनाथ गाउँपालिकाका अध्यक्ष हुन भने पदम लामा सिमकोट गाउँपालिकाका अध्यक्ष तथा पूर्वकार्यवाहक सभापति समेत हुन् । यसअघिका दुईवटा महाधिवेशनमा हुम्लामा पौडेल पक्ष शून्यमा छ ।

कालिकोट

कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दाबेदारी रहनेछ । यस्तै हिक्मत बिष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा छ ।

कालिबहादुर सहकारी र विष्टको समर्थनमा दमन शाही नै सभापतिको उम्मेदवार हुने सम्भावना छ । हिक्मत विष्ट स्वास्थ्यका कारण सभापतिमा उम्मेदवार दर्ता गर्न सक्ने अवस्थामा छैनन् ।

पौडेल पक्षबाट शंकर उपाध्याय सभापतिका लागि कस्सिएका छन् । उनी तिलागुफा नगरपालिकामा काँग्रेसको चौथो संगठन हुँदा ५३ मतले मेयरमा पराजित नेता हुन् ।

यस्तै पौडेल खेमाबाटै अम्बबहादुर शाहीको पनि दाबेदारी छ भने वर्तमान पार्टी सभापति हर्षबहादुर बमले पनि पुन ः सभापतिमा आकाँक्षा राखेका छन् । खासमा हर्ष बमलाई सिटौला निकट नेताका रुपमा चिनिन्छ । यद्यपि उनले अहिले पौडेल प्यानलसँग झुकाव राखेको देखिन्छ ।

कालिकोटमा पौडेल पक्षका युवा नेता भुपेन्द्रजङ शाहीको पनि राम्रो छाप छ । त्यसैले सभापतिका लागि पौडेलपक्ष र संस्थापन पक्षको कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

डोल्पा

डोल्पामा हालका सभापति अंगतकुमार बुढाले सभापतिका लागि फेरी पनि आकाँक्षा राखेका छन् ।  उनी पौडेल पक्षका नेता हुन् । डोल्पामा संस्थापन पक्षभन्दा पौडेल पक्ष बलियो  देखिन्छ ।

पौडेल पक्षबाट वहालवाला सभापति, जयस उपाध्याय र दिलबहादुर विष्टको नाम चर्चामा छ । यद्यपि, यो पक्ष एक आपसमा सहकार्य गरेर वर्तमान पार्टी सभापतिलाई नै अगाडि सार्ने  मोडमा छ ।

देउवा पक्षबाट देवकुमारी हमाल, गौरीशंकर उपाध्याय, टंकप्रसाद उपाध्याय लगायतका नेताहरुले सभापतिका लागि आकाँक्षा देखाएका छन् ।

जुम्ला

जुम्लामा पार्टी सभापतिका लागि अहिलेसम्म तीनजनाको नाम सतहमा छ । हालका पार्टी सभापति जीतबहादुर शाहीले पनि दोहोरिने संकेत गरेका छन् ।

उनी पौडेल पक्षका नेता हुन् । यस्तै संस्थापन पक्षबाट हालका पार्टी सचिव कर्णबहादुर शाहीको नाम चर्चामा छ भने सोही पक्षबाट नै कान्तिका सेजुवालको पनि उम्मेदवारी रहने सम्भावना देखिएको छ । सेजुवाल चन्दनाथ नगरपालिकाका मेयर हुन् ।

जुम्लामा काँग्रेसको राजनीतिमा तीनैजना अब्बल नेताका रुपमा चिनिएका छन् भने तीनैजना सभापतिका लागि योग्य व्यक्तिसमेत हुन् ।

पौडेलपक्षका शाहीले एक कार्यकाल पूरा गरेका छन् भने त्यसअघि कार्यवाहक सभापति समेत हुन् । पूर्वसभापति मानव सेजुवालको  जहाज दुर्घटना भएपछि पनि शाहीले नै तीन बर्ष सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनले अहिले पूर्ण कार्यकाल चलाए ।

रुकुम पश्चिम

रुकुम पश्चिममा पौडेल निकट बहालवाला सभापति प्रेमप्रकाश ओलीलाई नै पुन : दोहो¥याउने कि भन्ने ‘लबिङ’ भइरहेको नेताहरु बताउँछन् । संस्थापन पक्षबाट भने २०७२ सालमा पराजित भएका कृष्णबहादुर रोकायालाई अगाडि सार्ने देखिएको छ । यस्तै मानबहादुर नेपालीको नाम पनि सभापतिका लागि चर्चामा छ ।

जाजरकोट

जाजरकोटमा पनि काँग्रेस अधिवशेनको माहोल तात्तिएको छ । यहाँ संस्थापन पक्षभन्दा पौडेलपक्ष बलियो छ । यद्यपि, पछिल्लो समय देउवा पक्षका नेता राजीव विक्रम शाहको प्रभाव पर्न सक्ने देखिएको छ । यसअघि पौडेल पक्षमा उभिएका धेरैजसो जिल्लातहका नेताहरुको शाहतर्फ झुकाव देखिएको छ ।

जाजरकोटमा बहालवाला सभापति दीपकजङ्क शाहले पुनः सभापतिका लागि आकाँक्षा राखेका छन् । शाह पौडेलपक्ष नजिक मानिन्छन् । 

सोही पक्षबाट सनककुमार कार्कीको नाम पनि चर्चामा छ । यद्यपि उनी यही पक्षबाट भन्ने कुरा प्रष्ट छैन । त्यस्तै, पौडेल निकट मानिएका  सर्वराज रावतको पनि उम्मेदवारी रहने सम्भावना छ । उनी पौडेल पक्षका मानिए पनि पछिल्लो समय संस्थापनतिर झुकेका छन् । यस्तै पौडेलपक्ष मानिएका मुक्तिप्रसाद आचार्यको नाम पनि चर्चामा नै छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका महेन्द्रबहादुर शाह पनि सहमतिमा अघि नबढेको खण्डमा सभापतिको दाबी गर्ने पक्षमा छन् । सकेसम्म जिल्लातहमा सहमतिमै अघि बढ्ने जाजरकोटमा नेता कार्यकर्ताहरुको भनाइ छ ।

राजीव विक्रम शाहले केन्द्रीय सदस्यका लागि दावी गरिरहेका छन् । त्यसैले पनि शाहले जिल्लातहमा समन्वयनकारी भुमिका निर्वाह गर्नुपर्ने जिल्लातहका नेताहरुको भनाइ छ ।

 मुगु

हिमाली जिल्ला मुगुमा पनि सांगठानिक रुपमा पौडेलपक्ष नै बलियो देखिन्छ । यहाँ पनि बहालवाला सभापति खड्गबहादुर शाहीले पुनः दोहोरिने संकेत गरेका छन् ।

पौडेलपक्षबाट नै खगेन्द्रबहादुर मल्ल, हरिजङ्ग शाहीले पनि सभापतिका लागि आकाँक्षा देखाएका छन् । संस्थापन पक्षबाट  ऐनबहादुर शाही  र पदमबहादुर रावलको नाम चर्चामा छ । यस्तै बहालवाला सभापतिसँग यसअघि पराजित भएका पदमबहादुर रावलको पनि उम्मेदवारी पर्ने देखिन्छ ।

पौडेल पक्षका हरिजङ्ग शाही छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हुन् भने संस्थापन पक्षका शाही पूर्वपार्टी सभापति हुन् ।

सल्यान

सल्यानमा हाल सभापति गणेश चन्द छन् । उनी पौडेल खेमाका हुन् । यस जिल्लामा एउटै गुटका दुईजना दुईपक्षमा विभाजित भएर चुनावी मैदानमा उत्रिँदैछन् । दुबै देउवा पक्षधर मानिएका नेताहरु केन्द्रीय तहका नेताहरुको समर्थनमा विभाजित भएका हुन् ।

देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट सभापतिको चुनावी मैदानमा होमिने पक्कापक्की छ । पौडेल पक्षको समर्थनमा देउवा खेमाकै धु्रव पुरी चुनाव मैदानमा उत्रिँदै छन् । अन्य आकाँक्षी धेरै पनि मुख्य गरी पुरी र विष्टबीच कडा प्रतिपस्र्धा हुने नेता कार्यकर्ताको भनाइ छ ।

केशबहादुर विष्ट जिल्ला समन्वय समितिका सभापति समेत हुन् । उनले गाउँ तहसम्म अभियान सुरु गरिसकेका छन् । धु्रव पुरीले पनि आजभन्दा ६ महिनाअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सभापतिका अन्य आकाँक्षीहरुमा पूर्वसचिव एकराज डाँगी, महासमिति सदस्य मानबहादु डाँगी र पूर्वसचिव महेश मल्ल लगायत छन् ।तथापि मुख्य प्रतिस्पर्धा भने पुरी र विष्टबीच हुने नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप