बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा काँग्रेस अधिवेशनको रौनक : कुन जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

देउवा पक्ष बलियो, तर आपसी प्रतिस्पर्धामा पौडेल पक्षलाई फाइदा पुग्न सक्ने
मङ्गलबार, २२ असार २०७८, ०८ : १७
मङ्गलबार, २२ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४ औं महाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिराख्दा उता जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरु भएको छ ।

काँग्रेसमा अब वडा तहका अधिवेशनहरु सुरु हुन २० दिन मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ  भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ ।

 


 

यससँगै, काँग्रेसमा केन्द्र र जिल्ला अधिवेशनको चर्चा र चासो बढेको छ । खासगरी पहिलोपटक बन्न लागेका प्रदेश कमिटीहरुमा जिल्ला सभापतिबाट रिङआउट भएका र केन्द्रीय पदाधिकारीमा ‘हाइट’ नपुगेका नेताहरुको नजर परेको देखिन्छ । यसका लागि स्थानीय कार्यकर्ता सँगसँगै केन्द्रमा पनि नेतृत्वसँगको लबिङलाई जिल्ला नेताहरुले तीव्र बनाउन थालेका छन् ।

 


 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको चहल–पहल

सुदूरपश्चिम प्रदेशमा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि पर्छ । १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेताहरु निर्वाचित भएका थिए । सुदूरपश्चिमको दार्चुला बाहेक सबै जिल्लामा देउवाको जबरजस्त उपस्थिति छ ।

यद्यपि १३ औं महाधिवेशनमा गृहजिल्ला डडेल्धुरामा देउवालाई आफ्ना पूर्वसहयोगी कर्णबहादुर मल्लले चुनौती दिएका थिए । बैतडी जिल्ला सभापतिमा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बाजी मारेको थियो ।

कतिपय जिल्लामा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकको टकरावले पनि देउवा टीममा समस्या खडा गरेको थियो । यसपटक पनि अधिकांश जिल्लामा ‘देउवा भर्सेस देउवा’कै अवस्था छ ।

कैलाली

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा काँग्रेसको जिल्ला सभापति को आउँछ भनेर चासोका साथ हेरिएको छ । जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला सभापतिका आकांक्षीको सूची लामो छ ।

जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।

अब कैलालीमा नयाँ सभापति आउने पक्का छ । त्यसका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ ।

देउवा टीममा बम, भट्ट, रावल, चौधरी, बडुवाल र शाहको दाबी छ भने पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ ।

सभापति पदका आकांक्षी धेरै देखिए पनि देउवा टीममा बडुवाल र रावललाई प्रबल दाबेदारका रुपमा देखिएको छ । कैलालीमा देउवा टीममा अन्तरविरोध देखिएकाले पौडेल पक्षको साथ लिएर ‘देउवा भर्सेस देउवा’ हुने अनुमान गरिएको छ ।

कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको दोस्रो धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी शुरु भइसकेको छ ।

वर्तमान सभापति हरि बोहोराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । यस्तै, बहादुरसिंह थापा पनि अगाडि आएको अवस्था छ । गत अधिवेशनमा पराजित बनेका गोपाल गुरुङको नाम पनि चर्चामा छ ।

कञ्चनपुरमा देउवा टीमभित्रै केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकका प्रतिनिधिबीच प्रतिस्पर्धा हुने गरेको छ । लेखक निकट बोहोरा र साउदसँग नजिक बोगटी र थापाबीच नै प्रतिस्पर्धाको सम्भावना बढी छ ।

यस्तै, पौैडेल पक्षीय नेता गुरुङले पनि लेखक र साउदको लडाइँमा फाइदा उठाउन चाहेका छन् । यद्यपि लेखक र साउदले आफू निकटलाई जिल्ला सभापति जिताउन पौडेल पक्षका नेता देवानसिंह विष्टसँग आन्तरिक छलफल अघि बढाएको देखिन्छ ।

डडेल्धुरा

सुदूरपश्चिमा सबैभन्दा बढी चुनावी रौनक सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ । डडेलधुरामा देउवा भर्सेस वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लको अवस्था छ । तर, देउवाले रोक्न खोज्दा खोज्दै दुई कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका मल्ललाई पार्टी विधानले अब सभापति हुने सुविधा दिएको छैन । मल्ल रिङआउट भएसँगै डडेल्धुरामा अब नयाँ नेतृत्व आउने पक्का छ ।

शेरबहादुर देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेको अवस्था छ । देउवा टीमबाट सभापतिका आकांक्षी रघुवर भट्ट र गोविन्द बोहोराले साउदलाई समर्थन गरिसकेका छन् भने नवलबहादुर मल्लको दाबी पनि कायमै छ ।

देउवाले काठमाडौंबाटै भीमबहादुर साउदलाई सभापतिको उम्मेवारका रुपमा जिल्ला पठाइसकेकाले मल्ल ‘ब्याक’ हुने सम्भावना बढेको छ । उता, देउवाका उम्मेद्वार भीमबहादुर साउदसँग कर्ण मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ ।

डोटी

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी रहेको डोटीमा जिल्ला सभापति हुन नेताहरुले आन्तरिक रणनीति बनाउन थालेका छन् ।

वर्तमान सभापति प्रदीप देउवा आफैं दोहोरिने योजनामा छन् । यस्तै नेताहरु सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सबै सभापति देउवा टीमका सभापतिका आकांक्षी हुन् ।

डोटीमा पौडेल पक्षको उपस्थिति नगन्य छ । १३ औं महाधिवेशनमा डोटीबाट पौडेल पक्षका एकजना मात्रै प्रतिनिधि आएका थिए ।

डोटीमा ‘देउवा भर्सेस देउवा’ हुने अवस्था छ । सभापतिका मुख्य दाबेदार वर्तामान सभापति देउवा र शिखर नगरपालिका मेयर जोशीबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

अछाम

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्ये दुईवटा निर्वाचन क्षेत्र भएको अछाममा आधा दर्जनले सभापति हुने आकांक्षा देखाएका छन् ।

देउवा टीमबाट वर्तमान सभापति भरतकुमार स्वारले दोहोरिन खोजेका छन् । यस्तै, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्काका साथै नेता गणेशबहादुर विष्टले पनि सभापतिका लागि लबिङ बढाएका छन् । केन्द्रमा शेरबहादुर देउवालाई नेता मान्ने उनीहरु जिल्लामा आ– आफ्नो कसरतमा छन् ।

देउवा खेमा दुई भागमा विभाजित हुने अवस्थामा पौडेल पक्ष निकट निवर्तमान प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टको टोली मिल्ने आँकलन गरिएको छ ।

पौडेल पक्षबाट आजका दिनसम्म कोही पनि उम्मेदवारका रुपमा अगाडि आएको अवस्था छैन । यद्यपि बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाललाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ । पौडेल पक्षले उनीहरु मध्येबाट एकजनालाई  अगाडि सार्ने सम्भावना देखिन्छ ।

बाजुरा

सुदूरपश्चिम प्रदेशको पिछडिएको जिल्ला बाजुरामा पनि काँग्रेस अधिवेशनको रौनक सुरु भइसकेको छ । पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रोपटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् ।

अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित रामसिंह रावल र महासमिति सदस्य प्रेमबहादुर शाहीले पनि सभापतिका लागि कार्यकर्तासँगको सम्पर्क र केन्द्रीय नेतृत्वसँगको लबिङ तीव्र पारेका छन् ।

देउवा टिमबाट पण्डित र शाही तथा पौडेल टिमबाट मनबहादुर र रामसिंहबीच जिल्ला सभापतिको उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ ।

बैतडी

नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिएसँगै बैतडीमा पनि जिल्ला सभापतिका दाबेदारहरु आन्तरिक योजना बुन्न लागिपरेका छन् ।

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन् । यस्तै, पूर्वसभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् ।

वर्तमान सभापति थापा र उपसभापति चन्द्र पौडेल टिमबाट चुनावी मैदानमा उत्रिन खोजिरहेको अवस्था छ भने देउवा टिमबाट भट्ट र विष्टले सभापतिको लबिङ गरिरहेका छन् । यसमध्ये पनि पौडेल टीमबाट चन्द्र र देउवा खेमाबाट पुराना नेता भट्टबीच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।

दार्चुला

सुदूरपश्चिमा पौडेल पक्षको सबैभन्दा बलियो उपस्थिति रहेको दार्चुलामा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षीय केन्द्रीय सदस्य दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा देउवा पक्ष केही कमजोर छ ।

वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।

पौडेल पक्षबाट वर्तमान सभापति बोहोरा, उसभापति धामी, सचिव विष्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेद्वारका रुपमा हेरिएको छ ।

बझाङ

बझाङमा सभापति देउवा पक्षको उपस्थिति बलियो देखिन्छ । त्यहीअनुसार सभापतिका आकांक्षी पनि देउवा टिममै बढी छन् ।

सभापतिको उम्मेदवारमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति (काँग्रेस प्रजातान्त्रिक) चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र नेता जगत जोशीको नाम चर्चामा छ ।

यस्तै गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी खडगबहादुर बोहोरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् ।

बोहोरा गत जिल्ला अधिवेशनमा पहिलो चरणमा प्रथम भए पनि दोस्रो चरणमा पराजित भएका थिए । सभापतिका प्रत्यासी भण्डारी तेस्रो भएका थिए ।

पौडेल पक्षबाट पूर्वसभापति सत्यराज भण्डारी र पूर्वसांसद चन्दा जोशीलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप