बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा भारत फ्याक्टर : देउवालाई गाह्रो पर्ने संकेत

चीनले पनि काँग्रेसमा चासो दिन थालेको विश्लेषकको दाबी
बिहीबार, १७ असार २०७८, २१ : १६
बिहीबार, १७ असार २०७८

नेपाली काँग्रेसको महाधिवेशनमा भू–राजनीतिक चलखेल सधैँ चर्चामा रहने गरेको छ । १४औँ महाधिवेशनको सरगर्मी बढेसँग यसपटक पनि भूराजनीतिक प्रभावको चर्चा सतहमा आएको छ ।

१३ औँ महाधिवेशनका बेला दक्षिणको छिमेकी भारतले शेरबहादुर देउवाप्रति नरम नीति लिएको गुनासो अर्का नेता रामचन्द्र पौडेलले आफू निकटस्थसँग गर्दै आएका छन् । तर, यसपटक भारतले तेस्रो विकल्प खोजिरहेको काँग्रेसभित्र चर्चा छ ।

१३ औँ महाधिवेशनमा आफूलाई भारतको असहयोग रहेको पौडेलको बुझाइ छ । १४ औँमा पनि भारतको सद्भाव पाउनेमा पौडेललाई खासै विश्वास छैन । पौडेलको सिद्धान्तनिष्ठतासँग भारतको स्वार्थ बाझिने र उसले चाहेको काम नहुने बुझेरै अन्य पात्रप्रति सदभाव देखाउने उसले संकेत देखाएको पौडेलका नेताहरुको बुझाइ छ ।

तर, १३ औँ महाधिवेशनमा जस्तो देउवालाई पनि सजिलो छैन । पछिल्लो समय देउवाले भारतसँगको सम्बन्ध सुधार्ने प्रयत्न गरे पनि त्यो सम्भव भएको छैन । बरु  देउवाका  पछिल्ला अभिव्यक्ति र वक्तव्यले भारतसँगको दुरी बढाउँदै लगेको देखिन्छ । १३ औं महाधिवेशनमा भारतको सदभाव जुटाइदिने काँग्रेसकै नेताहरुले यतिबेला देउवालाई सभापतिमा नदोहोरिन दबाव दिइरहेका छन् । देउवाले विश्राम लिनुपर्ने उनीहरुको मत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दीमा सक्रियरुपमा जोडिएका देउवा र पौडेलको विकल्प खोज्न भूराजनीतिक चलखेल हुन थालेको काँग्रेसवृत्तमा चर्चा छ ।

 


काँग्रेसमा १३ औँ महाधिवेशनका प्रतिस्पर्धी वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि चुनावी मैदान उत्रिने बताइसकेका छन् । उनीहरुको काउन्टरमा विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ पनि सभापतिमा दाबी गरेका छन् ।

यसमा पनि नेतात्रय विमलेन्द्र, शशांक र प्रकाशमानबीच मोर्चा बनाउने प्रयास जारी छ । र, उनीहरूको यो प्रयासलाई काँग्रेसभित्र भू–राजनीतिक दृष्टिकोणबाट समेत विश्लेषण गर्न थालिएको छ । यसको पृष्ठभूमिमा काँग्रेस सभापति देउवासहित पाँचजना पूर्वप्रधानमन्त्रीद्वारा वैदेशिक हस्तक्षेपबारे आएको विज्ञप्तिलाई पनि जोडेर विश्लेषण हुन थालेको छ ।

नेपालको राष्ट्रिय तथा पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएको छिमेकी भारतले काँग्रेस महाधिवेशनलाई पनि नजिकबाट नियालेको बुझ्न गाह्रो छैन । कम्युनिस्ट पार्टीमा विभाजन आएपछि वर्तमान र भविश्यको निर्णायक मोडमा उभिएको काँग्रेसमा आफू अनुकुलको पात्र स्थापित गराउने भारतको चाहना देखिन्छ ।

पछिल्ला वर्ष सभापति देउवासँग भारतको सम्बन्ध चिसिँदो क्रममा रहेको कतै लुकेको छैन ।

अन्तर्राष्ट्रिय क्षेत्रका अध्येतासमेत रहेका काँग्रेसका एक नेताका अनुसार १४ औँ महाधिवेशन देउवाका लागि अप्ठ्यारो–अरप्ठ्यारो नै छ । अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणमा समानता नहुँदाहुँदै पनि शेरबहादुरले माओवादी केन्द्र, एमालेको माधव नेपाल खेमा, बाबुराम भट्टराई–उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चासँग मोर्चाबन्दी गर्नुभयो,’ ती नेताले भने, ‘पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यले शेरबहादुरजीलाई अप्ठ्यारो हुन सक्छ ।’

१४औँ महाधिवेशनमा देउवालाई रोक्न भारतले निधिलाई ‘ब्याक सपोर्ट’ दिएको ती नेताको बुझाइ छ । त्यहीअनुसार नयाँ समीकरणको खोजीको भइरहेको काँग्रेस नेताहरूले बताउन थालेका छन् । भारतले विमलेन्द्र निधिका साथै कोइरालाका छोरा र भतिजालाई पनि साथ लिन खोजेको ती नेताले सुनाए ।

सरकारको नेतृत्व लिने अवस्थामा रहेको काँग्रेसको महाधिवेशनलाई चासोका साथ हेर्नु स्वाभाविक भएको काँग्रेस नेताहरूको तर्क छ । सरकारका सन्दर्भमा पार्टी सभापति नै हाबी हुने भएकाले पनि नयाँ नेतृत्वबारे चासो र चलखेल रहने धेरैको बुझाइ छ ।

नेपाली काँग्रेसका नेता डा. नारायण खड्का पनि यसलाई स्वीकार्छन् । शक्तिराष्ट्रहरूले आफू अनुकुलको नेतृत्व खोज्न सक्ने खड्काले रातोपाटीलाई बताए ।

यद्यपि उनीहरूले काँग्रेसभित्र एउटा व्यक्तिलाई मात्र नबोक्ने उनको बुझाइ छ । ‘किनभने, शक्तिराष्ट्रले उपयोगितामा खेल्ने हो । उनीहरूले रोक्दा रोक्दै भोलि शेरबहादुरजी आउनुभयो भने अप्ठ्यारो पर्छ । धेरै नकारात्मक जान सक्दैन । तर, उनीहरूको छनौटको मान्छेलाई अगाडि सारिदिन सक्छन्,’ खड्का भन्छन् ।

काँग्रेसलाई नजिकबाट नियाल्दै आएका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार काँग्रेस महाधिवेशको समीकरण फेरबदलमा शक्ति राष्ट्रले केही न केही रोल खेल्छ ।

‘पहिला–पहिला पनि खेलिरहेको देखिन्थ्यो । अहिले पनि केही न केही रोल त खेल्ला,’ आचार्यले भने । उनका अनुसार उनीहरूले काँग्रेसभित्र आफू अनुकूलको सभापति र टिम खोज्नेबारे स्टेप नै चालिए पनि अप्रत्यक्षरुपमा भन्छन् ।

‘अहिले पनि त्यो प्रशस्त देखा परेको छ । जसले नयाँ समीकरणको जन्म गराउँदा अन्यथा मान्नु पर्दैन,’ उनी भन्छन् ।

काँग्रेस महाधिवेशनबाट आफ्नो स्वार्थ सिद्ध गर्ने नेतृत्व आउँछ कि आउँदैन भनेर विदेशीहरूको गहिरो चासो रहेको पनि आचार्यको भनाइ छ । ‘काँग्रेसभित्र विभिन्न लिडरसिप छन्, विभिन्न पृष्ठभूमिबाट आएका पनि छन्, यसबाट उनीहरूको स्वार्थ सिद्ध हुन्छ कि हुँदैन, त्यो पनि हेरिरहेका हुन्छन्,’ आचार्य भन्छन् ।

भारतका वरिष्ठ पत्रकारहरूले काँग्रेसको भावी नेतृत्वमा को पुग्ला भनी जिज्ञासु भएर आफूसँग प्रश्न गरेको उनले सुनाए । आचार्यले भने, ‘भावी नेतृत्वलाई लिएर अन्तर्राष्ट्रिय समुदायबीच निकै चासो छ । उत्तर, दक्षिण र समुद्रपारिबाट विगतमा कहिल्यै पनि यस्तै मैले देखेको थिइनँ ।’

अन्तर्राष्ट्रिय समुदायमा अन्ततः नेपालमा संस्थागत शक्ति भनेको नेपाली काँग्रेस नै हो भन्ने बुझाइ देखिएको उनले बताए । ‘काँग्रेसको महाधिवेशनमा भूराजनीतिक कनेक्सन केही न केही जोडिन्छ । कम्युनिस्ट विभाजनपछि काँग्रेसभित्र शक्ति राष्ट्रकोचासो बढेर आएको छ । अलिकति स्थापित पार्टी काँग्रेस नै रहेछ भन्ने भयो,’ आचार्य भन्छन् ।

उनका अनुसार नेपालका छिमेकी (भारत–चीन) तथा अन्तर्राष्ट्रिय समुदायमा युरोपियन युनियन र अमेरिकाले नै भू–राजनीति निर्धारण गर्ने हो । ‘चीनले उनीहरू (कम्युनिस्ट) सँग सोसल जस्टिस र कम्युनिस्ट भाइचाराका नाममा धेरै आशा गरेको थियो । त्यसैले पनि कम्युनिस्टको एकतापछि चीनले बढी महत्त्व दिएको थियो । तर, अहिले सबै कम्युनिस्ट पार्टीसँग छोडिदिएको छ,’ आचार्यले भने । उनको बुझाइमा राजनीतिक र व्यावहारिक रूपमा यो इङ्गेजमेन्ट धेरै लामो जाँदैन भनेर भारतले काँग्रेस महाधिवेशनबाट आउने नेतृत्वप्रति चासो राखिरहेको छ ।

‘कम्युनिस्ट पार्टीको एउटा हाँगो (केपी ओली खेमा) नै भारतको पिछलग्गुजस्तो भएको आरोप लागिरहेको छ,’ आचार्य भन्छन्, ‘भारतले ओलीलाई विभिन्न स्वार्थमा सपोर्ट पनि गरिरहेकै देखिन्छ । तर, पनि राजनीतिक र व्यवहारिकरूपमा यो इङ्गेजमेन्ट धेरै लामो जाँदैन भनेर भारतले काँग्रेसप्रति चासो राखिरहेको छ ।’

यता कम्युनिस्टबाट हार खाएका चाइनिज पनि काँग्रेससँग इङ्गेज हुन थालेको आचार्यको भनाइ छ । ‘कयौँ चाइनिज डेलिगेट्सहरू काँग्रेस नेताहरूसँग नभेटी जान्थे । कम्युनिस्टको विभाजनपछि भेट्न थाले । फरेन्स पोलिसी त्यस्तै हुन्छ,’ उनले भने ।

नेपाली राजनीतिमा भित्री खेलाडीहरू भारत र चीन मात्र नरहेको आचार्यले बताए । उनले भने, ‘युरोपियन युनियन नेपालमा सबैभन्दा पुरानो खेलाडी हो । किनभने नेपालमा सबैभन्दा पहिले राजदूतावास खुलेको बेलायतको हो । अमेरिकाले पनि आफ्नो अनुकुलको मान्छे  खोज्छ नै । काँग्रेस महाधिवेशनमा यी सबै फ्याक्टर जोडिन्छ ।’

कम्युनिस्टको विभाजन र प्रधानमन्त्री केपी शर्मा ओलीका उपयोगिता सकिनुले पनि भारतले काँग्रेसको महाधिवेशनमा गहिरो नजर राखेको पाइन्छ ।

‘अहिलेका लागि खड्गप्रसाद फस्ट बेस्ट थियो । अब खड्गप्रसादको उपयोगिता सकिन्छ भनेर अब सेकेन्ड बेस्टको खोजी हुन्छ होला,’ काँग्रेस नेता खड्का भन्छन् ‘पूरै शून्यतामा शक्तिराष्ट्रलाई खेल्न गाह्रो हुन्छ । त्यसैले कुनै पार्टी कुनै पार्टीको नेतातिर आँखा लगाइरहेको हुन्छ ।’

वैदेशिक मामिलाका जानकार दिनेश भट्टराई पनि काँग्रेस महाधिवेशनमा विदेशीहरूको चासो र चलखेल यता उति हुने बताउँछन् । तर, पार्टीभित्रकै उम्मेदवार विदेशीले निश्चित गर्ने काम भए त्यो दुर्भाग्य हुने उनको भनाइ छ ।

‘पार्टीको आन्तरिक विषयमा विदेशीले चलखेल गर्दा राम्रो हुँदैन । काँग्रेसले कसलाई सभापति बनाउने, के गर्ने भन्ने कुरा यसको नितान्त आन्तरिक कुरा हो । बाहिर–भित्रको सद्भाव हुनु राम्रो हो,’ उनी भन्छन् ।

काँग्रेस पार्टीको सभापति यही हुनुपर्छ भन्नेर बाहिरकाले ‘डिक्टेड’ गर्ने कुरा मान्य हुन नसक्ने भट्टराईको तर्क छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप