सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

लोकतन्त्रका लाभ दलले, दलमा पनि एउटा गुटले मात्रै लिएकाले हामीले समस्या भोगिरहेका छौँ

‘गरिबहरु धनी हुने दुईवटा तरिका : पार्टीमा लाग्ने वा अपराध गर्ने’ : नारायण ढकाल, लेखक/विश्लेषक
शुक्रबार, २१ फागुन २०७७, ०८ : ४२
शुक्रबार, २१ फागुन २०७७

अहिले म बढ्ता साहित्यमा छु । पहिला राजनीतिमा थिएँ । राजनीतिमा हुँदा संसदसम्म पुगेपछि यो मेरो भूगोल, मेरो प्रदेश या गण होइन, म यहाँ पर्यटक रहेछु भनेर निस्किएको हुँ ।

त्यस्तो पलायनको हिसाबकिताब थिएन । मैले जे सोचेर राजनीति गरेको थिएँ, त्योभन्दा फरक देखिएपछि म त्यताबाट निस्किएर साहित्यमा छु ।

म अलिकति अनुभवबाट आफ्नो कुरा भन्न चाहन्छु । म एउटा गाउँमा बस्छु । लोकतन्त्रपछि त्यो गाउँ सहर बनेको छ, कागेश्वरी– मनहरा– मूलपानी भन्ने ठाउँ हो त्यो । २०४६ सालभन्दा अगाडि पार्टीको सङ्गठन गरेको र एक मात्र दल बनाएका अगुवामध्ये सायद म नै अगाडि थिएँ । त्यस क्षेत्रमा कमिटी प्रणालीहरु बनाउने काम तलै बसेर मैले गरेको हुँ । त्यसबेला दल भनेपछि म  बहुत उत्साहित पनि थिएँ । २०४६ को आन्दोलनको बेलामा त्यहाँ काँग्रेस थिएन । काँग्रेसका जानकी कुइँकेल (जो बित्नुभयो)  लगायत केही होनाहार सम्मानीय व्यक्तित्व हुनुहुन्थ्यो ।  तर संयुक्त जनआन्दोलनमा दुवैको झण्डा बोकेर हामी आन्दोलनमा गएका थियौँ । बहुत खुसी लाग्थ्यो । तर अचेल म बिहान निस्कन्छु । अहिले त्यहाँ दलका मान्छेहरु देखेपछि तिनीहरुसँग नजिक नै नहोऔं, तिनीहरुको नमस्कार पनि नखाऔं, अनि कुनै वरिष्ठ मान्छे छ भने त्यसलाई नमस्कार पनि नगरौँ, त्यो मानसिकतामा छु म ।

अचेल म बिहान निस्कन्छु । अहिले त्यहाँ दलका मान्छेहरु देखेपछि तिनीहरुसँग नजिक नै नहोऔं, तिनीहरुको नमस्कार पनि नखाऔं, अनि कुनै वरिष्ठ मान्छे छ भने त्यसलाई नमस्कार पनि नगरौँ, त्यो मानसिकतामा छु म ।

त्यो परिस्थिति किन आयो भनेर कहिलेकाहीँ सोचिराख्छु । अस्ति भर्खर मैले एउटा किताब सम्झेको थिएँ, द ह्वाइट टाइगर । त्यो किताब मार्क्सवादीले लेखेको होइन, अरविन्द अडिगा भन्नेले लेखेको हो । त्यो किताबमा बलराम भलग्वाई भन्ने गरिब छ । उनले के भनेका छन् भने– सिनियर राष्ट्रपति भारत आउँदैछ । उसले उद्यमीहरुलाई भेट्दैछ । आफू पनि उद्यमी भएको वृत्तान्त उनले चिठीमा लेखेको छ, बताउँदैछ । उनले लेखेको छ : गरिबहरु धनी हुने दुईवटा तरिका छ । एउटा पार्टीमा लाग्ने मात्रै धनी हुनसक्छन् भने अर्को अपराध गर्ने धनी हुन्छन् । अपराध नगरी र पार्टीमा नलागी पनि धनी हुँदैन भन्छन् उनी।

म मेरो गाउँमा दुईथरी मान्छेलाई यसो हेर्छु–पार्टीमा लाग्ने एकथरी र अर्कोथरी गरिबहरु । गरिबहरुलाई साँझतिर भट्टीसट्टीमा भेटिन्छ । पहिले पहिले जाने गरेको हुनाले, तर सधैँ जान्न । त्यहाँ जाँदा निर्माण कार्य गर्ने मान्छे, किसान जस्ता मान्छे आउँछन् । मैले ‘जगन्नाथ माडसापको पर्खाल’ भनेर लेखेको थिए । त्यो मेरै पर्खाल हो । मेरै विरुद्ध मुर्दावाद गरिएको कृषि मजदुरको कथा लेखेको थिएँ । त्यस्ता मान्छेहरुसँग त्यहाँ भेट हुन्छ । मैले त्यो हेर्दाखेरि तपाईंले भन्नुभएजस्तो पार्टीलाई सार्वजनिक बनाउने, पार्टी उनीहरुको पनि हो कि होइन भनेर प्रश्न गर्दा मलाई त्यो कहिल्यै होइन भन्ने लाग्छ । उनीहरुले गाली पनि गर्छन्, चुनावको बेलामा भोट माग्न मात्रै आयो, त्यसपछि आएन भन्छन् फेरि अर्को चुनावमा भोट पनि दिन्छन् । कसै न कसैलाई भोट दिन्छन्, नो भोटको व्यवस्था पनि छैन, त्यो हिसाबकिताबले त्यस्तो देखिन्छ । हामीले अहिले बनाएका पार्टीहरु जमिनदेखि नै गलत छन् भन्ने मलाई लाग्छ । किनभने मैले कहिलेकाहीँ यस्तो मान्छेसँग भेट्छु– जसलाई आफ्ना छोराछोरी वा जहान परिवारलाई कसरी अस्पताल पुर्याउने भन्ने कुराको चिन्ता हुन्छ, किनभने अस्पताल असाध्यै महँगो छ अहिले ।

अर्को कुरा उनीहरु साधारण सरकारी स्कुलमा पढ्छन् । त्यो सरकारी स्कुलको पढाइ राम्रो हुँदैन । त्यसो हुँदा उनीहरु अन्त पढेको भन्दा अलि होचिएको अनुभव गरिरहेका हुन्छन् । तर त्यस्ता सरकारी स्कुलको कसरी स्तरवृद्धि गर्ने होला भन्ने कुरा पनि गरिरहेका हुन्छन् । अर्कोथरी मानिस जो पार्टीमा लागेका छन्, केही असल पनि छन् । हुन त खराब हुने वातावरण नभएर पनि असल भएका होलान् । त्यस्तो वातावरणले पनि बनाउँछन् । त्यसमा उनीहरुको दोष हुँदैन । ती मानिसलाई म के भन्छु भने तिमीहरु यसरी पार्टी नबनाऔँ । मैले अस्ति नै बनाएको पार्टी असफल भयो । इतिहासका सबै पापको सहभागी म हेरिरहेको हुन्छु । अहिले हेरिरहेको पनि छु । अहिले तिमीहरुलाई हेरेर म आतङ्कित हुन्छु । तिमीहरुको आतङ्कवादले मलाई थिच्छ । ती मान्छेहरु जो छन्, तिनीहरुका निम्ति अघि सरोकार समूह बनाऔँ । अघि सहकारिताको कुरा उठ्यो । पूर्वी भेगतिर मूलपानीको रायोको साग असाध्यै प्रख्यात छ । त्यो साग बेच्नेहरुको एउटा सरोकार समूह बनाऔँ, सामान्य स्कुल पठाउनेहरुको बनाऔँ, निको हुँदैन भन्ने थाहा हुँदाहुँदै अस्पताल जान नसकेर धामीझाँक्रीकोमा जानेहरुको सरोकार समूह बनाऔँ । ती सरोकार समूह दलको सिद्धान्तको आधारमा नबनाऔँ, पूरै बहुदलीय प्रकृतिको बनाऔँ । त्यसभित्र तिमी समाजवादी हौ भने त्यस्तो सहजकर्ताको भूमिका बनाऔं । त्यहाँबाट काम गरेको मान्छेलाई पार्टीमा पठाऔँ र त्यो पार्टीमा अध्यक्ष बनाएको मान्छेलाई फेरि त्यहीँ ल्याऔँ । त्यस्तो बनाउन सकिँदैन त भनेर त्यहाँ चाहिँ  मैले त्यस्तो कुरा गरेको छु । घनश्यामजीकै पार्टीको मान्छे हुँ तर अचेल विशेष परिस्थितिले उहाँहरुसँग यस्तो संवाद हुन सक्दैन ।

पार्टी त्यसरी बनाउने हो भने दलतन्त्र जुन भनेर भनेका छौँ यो वास्तवमा धेरै खतरनाक नै भएको छ । हुन त यसको धेरैले प्रयोग गर्नुभयो होला । तर मैले राजेन्द्र महर्जनले सम्पादन गरेको चैतन्य मिश्रले लेखेको किताबमा धेरै प्रयोग भएको पाएको छु । लोकतन्त्रका लाभ दलले मात्रै, दलमा पनि एउटा गुटले मात्रै लिएकाले समस्या देखिएको छ, त्यो हामीले भोगिरहेका छौँ ।

पार्टी त्यसरी बनाउने हो भने दलतन्त्र जुन भनेर भनेका छौँ यो वास्तवमा धेरै खतरनाक नै भएको छ । हुन त यसको धेरैले प्रयोग गर्नुभयो होला । तर मैले राजेन्द्र महर्जनले सम्पादन गरेको चैतन्य मिश्रले लेखेको किताबमा धेरै प्रयोग भएको पाएको छु । लोकतन्त्रका लाभ दलले मात्रै, दलमा पनि एउटा गुटले मात्रै लिएकाले समस्या देखिएको छ, त्यो हामीले भोगिरहेका छौँ । केपी ओलीजीले एउटा गुटमा कसैको कुरा पनि नसुनेर पद्धति र विधि त त्यहाँ पनि अर्को किसिमको स्वार्थ समूह नै छ, जसको प्रतिक्रियामा उहाँले यो गरेजस्तो लाग्छ । जनताको कुरा गर्ने अनि आफ्नो स्वार्थसिद्धि गर्ने दल बनाएका छौँ । हामीले मण्डले मण्डलेहरु पनि देख्यौं । कांग्रेसलाई म भन्दिनँ, त्यति धेरै मैले किन गाली गर्ने ? मेरो त्यो क्षेत्राधिकार–प्राधिकार पनि होइन । कम्युनिस्ट पार्टीका कार्यकर्ता हिजोको मण्डलेभन्दा पनि तल छन् । अनि अस्ति प्रधानमन्त्रीले गरेको ¥याली महापञ्चले गरेको ¥यालीभन्दा पनि निकृष्ट जस्तो मलाई लाग्दछ । यस्तो परिस्थितिमा हामी पुगेका छौँ । मैले नयाँ पार्टी चाहिन्छ भनेको छु । त्यसरी पार्टी बनाउँदा जनवादी केन्द्रीयताबाट हैन, नयाँ किसिमको जमिनबाट बनाउने हो । जसले यो हाम्रो सार्वजनिक सम्पत्ति हो, सार्वजनिक चौरमा जो पनि जान सक्छौँ, पार्टी हाम्रो हुनुपर्छ भन्ने मान्छेहरुलाई पार्टीमा लिएर आएर त्यहाँबाट प्रत्याव्हान गर्ने,  माथि आएकालाई पनि तान्न सक्ने पार्टी बनाउन सकिँदैन ? सकिन्छ भन्ने मलाई लाग्छ । यसो गर्न ३० वर्ष लाग्छ होला । त्यो त्यो ३० वर्ष त म बाच्दिनँ । अब बाँच्ने १०, १२ वर्ष होला । किनभने म ७० वर्ष हुन लागेको छु । मेरो बा ८१ वर्षमा मर्नुभयो । बाजे ८४ वर्षमा मरेको हो । यो स्थिति चाहिँ हामीले सोच्नुपर्ने हो कि ? त्यही हिसाबकिताबले सुरु गर्ने हो भने यसमा म व्यक्तिगत रूपमा तयार छु ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप