बलियो पुँजीले जसरी पनि प्रवेश गरेपछि पार्टीभित्र भाँडभैलो सुरु भइहाल्छ
पुँजीवादी व्यवस्थालाई जस्ता नेता चाहिन्छन् त्यस्तै नेता अहिले हाम्रोमा छन् । पुँजीवाद अनुकूलका दलहरू निर्माण भएका छन् । आधारभूत रूपमा यो युग पुँजीवाद अनुकूलको युग हो । यद्यपि यसमा थोरै थोरै प्वाल देखिएका छन् ।
दल व्यवस्था स्वयंमा दोषी छ ? जवाफ दुुई कोणबाट आउँछ । पुँजीवादी व्यवस्था चाहनेका लागि अहिलेको दलतन्त्रमा समस्या छैन र यो प्रश्न आवश्यक छैन भन्ने म ठान्छु ।
समाजवाद चाहनेका लागि मात्रै यो प्रश्न सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्छ । आजका दलहरूले र नेताहरूले जस्तो व्यवहार गर्छन्, दलहरूमा लोकतन्त्रलाई जसरी निषेध गरिएको छ, त्यो एउटा व्यक्तिको निजी महत्त्वाकाङ्क्षा, उसको बायोलोजी वा व्यक्तिगत मनोविज्ञानमा खोज्ने हो कि अहिलेको पुँजीवादले निर्माण गरेको सामाजिक–आर्थिक व्यवस्थाको आधारमा खोज्ने हो ? यसबारे अहिले सोच्नुपर्छ । मेरो बुझाइमा, अहिलेका दलहरूको व्यवहार पुँजीवाद अनुकूलकै छ अर्थात् पुँजीवादमा दलहरूले जस्तो व्यवहार गर्छन्, हाम्रा नेताहरूले त्यही गरिरहेका छन् ।

पुँजीको प्रक्रियालाई रोक्न सक्ने क्षमता हामीमा छ कि छैन भन्ने नै मुख्य प्रश्न हो । पुँजीपति, व्यापारीबाट पैसा नलिई, त्यसको सहायताबिना चुनाव जित्ने त परको कुरा, एउटा पार्टी कार्यालयसम्म स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने पनि अहिलेको प्रश्न हो ।
‘पुँजीवाद र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्’ भन्ने आलोचनात्मक चेतको सिद्धान्त छ । पुँजीवादले जहिल्यै पनि प्रजातन्त्रलाई निषेध गर्छ । त्यसले जहिले पनि आफ्ना निर्णयहरू, क्रियाकलापहरू काला–कोठरीमा, पर्दापछाडि गर्छ भन्ने तर्क आलोचनात्मक चेतको सिद्धान्तले गर्छ । पुँजीवाद अनैतिक भएकाले यसले सार्वजनिक मामिला बनाएर आफ्ना व्यवहार गर्नै सक्दैन । यही कुरासँग जोडेर वर्तमान दलतन्त्रबारे उत्तर खोजियो भने केही स्पष्ट कुरा आउँछ भन्ने मलाई लाग्छ ।
अब हामीले खोज्ने वैकल्पिक समाजवाद कस्तो हुन्छ ? यो भने महत्त्वपूर्ण छ । भोलि नभएर अहिलेको हाम्रो ऐतिहासिक दायित्व खोज्नुपर्ने आवश्यकता म देख्छु । भोलि साम्यवाद आउँछ वा आउँदैन भनेर धेरै सोच्दा आजको भूमिकाबाट च्युत भइने र बढी कल्पनामा रमाइने रहेछ । समाजवादी, बाम, क्रान्तिकारी वा अन्य जेसुकै नाम दिए पनि समाजवादतर्फको यात्रा गर्ने पार्टी बनाउने हो भने त्यस पार्टीभित्र पुँजीको प्रवेशलाई रोक्ने प्रयत्न नै हाम्रो पहिलो दायित्व हुन आउँछ । यद्यपि यो प्रयत्न मात्रै हो, सुनिश्चितता केही पनि छैन । पुँजी यति बलियो छ कि झ्यालबाट, भेन्टिलेसनबाट छिर्के हानेर यो प्रवेश गरिहाल्छ र पार्टीभित्र भाँडभैलो सुरु भइहाल्छ ।
यद्यपि मैले वस्तुगत स्थितिको व्याख्या गरेको हुँ । निराशावादी कुरा गरेको होइन । पुँजीको प्रक्रियालाई रोक्न सक्ने क्षमता हामीमा छ कि छैन भन्ने नै मुख्य प्रश्न हो । पुँजीपति, व्यापारीबाट पैसा नलिई, त्यसको सहायताबिना चुनाव जित्ने त परको कुरा, एउटा पार्टी कार्यालयसम्म स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने पनि अहिलेको प्रश्न हो । अहिले दलभित्र पुँजीवाद कति प्रवेश गरेको छ भन्ने कुराको उत्कृष्ट उदाहरण त अमेरिका नै हो । त्यहाँ प्रसिद्ध भनाइ नै छ– अमेरिकामा एउटै पार्टी छ र त्यही पार्टीको दुइटा खेमा छ । त्यो पार्टीको नाम बिजनेस पार्टी हो तथा खेमाहरूको नाम डेमोक्रेटिक र रिपब्लिकन हो ।’
भनाइको अर्थ पुँजीले त्यहाँ यति नग्न किसिमले प्रवेश गरेको छ कि रिपब्लिकन वा डमोक्रेटिक पार्टीको पहिलो एजेण्डा नै फन्ड रेजिङ (रकम संकलन) हुन्छ र ती पार्टीका उम्मेदवारको पहिलो आधार नै त्यही हुन्छ । हाम्रोमा त्यो अवस्थामा पुगिसकेको छैन पनि होला । पुँजीवादले त्यो तहमा प्रवेश गर्छ । तर चाँडै त्यो तहको प्रवेश हाम्रोमा हुनेछ, भारतमा त्यही हुँदैछ । संसारभरि पुँजीवादी व्यवस्था अनियन्त्रित (अनरेगुलेटेड) छ, त्यहाँभित्र पुँजीको यो तहको हस्तक्षेप छ । त्यसैले दोषपूर्ण दलतन्त्रमा रुपान्तरणको सवालको कुरा गर्दा आजको पुँजीवाद अति बलियो रहेको सन्दर्भमा पुँजीपति वा व्यापारीको सहाराबिना नै चल्न सक्ने सङ्गठन हामीले निर्माण गर्नसक्छौं ?

फेरि पनि म अमेरिकाकै उदाहरण दिन्छु– जहाँ, बर्नी स्यान्डर्सले पुँजीपतिको हस्तक्षेपबिना नै चुनावी अभियान चलाउन सकिन्छ भन्ने उदाहरण देखाए । समाजवाद भनेकै हौवा भएको देशमा उनले समाजवादलाई कुन हदसम्म लोकप्रिय बनाए भन्ने हिसाबै छैन । मैले भने जस्तै उनले समाजवादी त हुनु परेन । बर्नीले औसत ३० डलरभन्दा बढी कसैले योगदान नगरेरै राम्रै रकम सङ्कलन गरे । कुनै एक व्यापारीले उनलाई ३ सय डलर दिएको पनि उनले फर्काइदिए ।
त्यसैले अहिलेको सन्दर्भमा हामीले गर्नुपर्ने पहिलो कदम– हामी के पुँजीपति र व्यापारीको आर्थिक सहायताबिना कुनै पार्टी, सङ्गठन वा नेटवर्क निर्माण गर्न सक्छौँ, जहाँ पुँजीपतिको पुँजी प्रवेश गर्ने छैन वा ऊ हावी हुने छैन ?
त्यस्तो गर्न सकिन्छ भने दोषपूर्ण दलतन्त्रबाट रुपान्तरण भएर समाजवादोन्मुख उत्तर खोज्न सकिन्छ । आजको अवस्थामा त्यस्तो गर्न सकिँदैन भने यो प्रश्नको आजै समाजवादोन्मुख उत्तर खोज्न सकिँदैन । यसो भन्दा मैले निराशावादी कुरा गरेको होइन । मेरो ऐतिहासिक भौतिकवादी दृष्टिकोणले मलाई यही ठाउँमा पुर्याउँछ । त्यसैले हिजोको त्यस्तो त्यागी नेता आज पुँजीकै पुच्छर–प्रतिनिधि भएर खुलमखुला हिँडेको छ सन्दर्भमा आजका पार्टीका नेताको व्यवहारलाई अध्ययन गरौँ । अहिलेलाई यति भन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


