रक नै जिन्दगी
उनको जन्मथलो भारतको नयाँ दिल्ली हो तर कर्मथलो नेपाल बन्यो । धेरै नेपालीहरू उज्ज्वल भविष्यको खोजीमा भारत भाँसिन्छन्, तर उनको चित्तको नरम पत्रमा नेपालले यसरी राज गरेको थियो कि उनले यसलाई आफूबाट अलग्याउनै सकेनन् । विषम परिस्थितिसँग पौँठेजोरी खेलेरै भए पनि नेपाली साङ्गीतिक आकाशमा कसैगरी झुल्किने एउटा आशा बोके । गीतको लहरोमा झुन्डिँदै पिङ खेल्न चाहे । त्यही आशा र दृढ सङ्कल्प काँधमा बोकेर उनी विगत १० वर्षदेखि निरन्तर रूपमा साङ्गीतिक यात्रामै छन् ।
जीवनको आरोह अवरोहमा धेरै हन्डर र ठक्कर खाए तर पनि सङ्गीतबाट टाढा बस्नै सकेनन्, रगतमै भएको सङ्गीतलाई आखिर उनले कसरी छान्न सक्थे । प्रयास त पक्कै गरे तर सफल हुन सकेनन् । भनिन्छ नि, ‘देयर इज अल इन द जिन’, हो नसा नसामा सङ्गीत सञ्चारित भएका उनी हुन् अभिषेक शंकर मिश्रा । उनलाई धेरैले एएसएम भनेर पनि चिन्छन् । निकै राम्रो ‘सेन्स अफ ह्युमर’ र धाराप्रवाह बोल्न सक्ने क्षमता भएका उनै अभिषेकले रातोपाटीसँग आफ्नो विगत, वर्तमान र भविष्यका योजनाबारे चर्चा परिचर्चा गरेका छन् । अभिषेकको ब्यान्ड एएसएमले आउँदो मार्च २१ मा आफ्नो पहिलो एल्बम ‘एएसएम वान’ पनि सार्वजनिक गर्दैछ ।
नेपाल आउनु बुवाको सबैभन्दा उत्कृष्ट निर्णय :
अभिषेकको जन्म सन् १९८७ मार्च २३ मा भएको हो । जीवनको सुरुवाती ६ वर्ष उनको नयाँ दिल्लीमा नै बित्यो । सन् १९९३ नोभेम्बर २ मा उनको स–परिवार नेपाल बसाइँ सरेको हो । त्यतिबेला नेपालमा गार्मेन्ट उद्योग निकै राम्रोसँग फस्टाइरहेको थियो । उनका बुवाको विशाल बजारको माथिल्लो तल्लामा गार्मेन्ट पसल थियो । त्यतिबेला उनको बुवाले नेपाल आउने जुन निर्णय गरे त्यसलाई बुवाको सबैभन्दा उत्कृष्ट निर्णय भएको उनी ठान्छन् ।
जन्माउने आमाभन्दा हुर्काउने आमा ठूलो :
नेपाल आएको सुरुको एक वर्ष उनलाई निकै गाह्रो भएको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘सुरुमा गाह्रो भयो, भाषा बुझिँदैनथ्यो । ‘श्रीमान् गम्भीर’ भनेको के हो, त्यो पनि थाहा थिएन ।’
तर बच्चाहरूको क्षमता अद्भूत हुन्छ, नेपाल आएको एक वर्षपछि नै उनी प्रस्ट नेपाली बोल्न थालिसकेका थिए । सबैसँग घुलमिल हुन थालिसकेका थिए । त्यतिबेला उनलाई के थाहा को नेवार, को बाहुन, को क्षत्री ? त्यस्तै अरू बच्चालाई पनि के थाहा, को नेपाली, को भारतीय ? बाल मस्तिष्कले कसैबीच पनि भिन्नता देखेन तसर्थ उनले विभिन्न पारिवारिक पृष्ठभूमिमा हुर्कने मौका पाए । ‘त्यतिबेला फोन थिएन, स्कुलबाट घर फर्कियो, ब्याग फाल्यो, कुद्याे, साइकल लिएर खेल्न गयो । धेरै रमाइलो हुन्थ्यो,’ उनले बाल्यकाल स्मरण गर्दै भने ।
भारतबाट आएलगत्तै उनको परिवार ताहाचल बस्यो । त्यहाँ सन् १९९३ देखि २००० सम्म बिताएको पल उनको अविष्मरणीय पलमध्येको एक हो । उनी भन्छन्, ‘ताहाचल मेरो पहिलो घर थियो । म अहिले पनि ताहाचलबाट पास हुँदा एकछिन भए पनि रोकिएर त्यो घर हेर्छु । घर दुरुस्तै छ । चाइनिज इँटाले बनाएको घर । त्यहाँ सात वर्षसम्म बिताएको त्यो समय मेरा लागि अहिलेसम्म पनि प्रिय छ, म कहिले पनि बिर्सन सक्दिनँ ।’
उनी नेपालमा नै यति रत्तिए कि उनलाई कहिल्यै पनि भारतको याद आएन । त्यतिबेला आफू एउटा देशको मात्रै होइन भन्ने भान हुन्थ्यो । यसबारे उनले भने, ‘मैले सधैँ के सोचेँ भने मेरा दुई आमा छन् । एउटी आमा जसले मलाई जन्माइन् र अर्की आमा जसले मलाई ग्रहण गरिन्– नेपाल ।’ कृष्णको कथा सुनाउँदै उनले आफूलाई जन्माउने आमाभन्दा हुर्काउने, बढाउने र आफूलाई ग्रहण गर्ने आमा ठूलो लाग्ने गरेको बताए ।
शनिबारको २ बजेको फिल्म, निलो आकाश, आफू बसेको स्थानबाट देखिने हरियो नागार्जुन डाँडा । बाल्यकाल सम्झँदा यी कुरा उनको दिमागमा झट्ट आइहाल्छन् ।
यदि कसैले उनलाई तिम्रो घर कहाँ छ भनेर सोधे उनी काठमाडौँ भन्छन् । उनी भन्छन्, ‘होम इज ह्वेयर यु फिल लाइक होम’ ।
६ पुस्ता सङ्गीतमाः
तपाईंको त ६ पुस्ता सङ्गीतमा है ? मेरो प्रश्नको जवाफमा उनले भने, ‘म त यस्ता कुराहरू ‘फर ग्रान्टेड’ लिन्छु । मलाई के थाहा र ? म त यो परिवारमा जन्मिएको न हुँ । मलाई के मतलब र ६ पुस्ता भनेर ।’
उनी ३, ४ वर्षका थिए होलान्, आमालाई एउटा लय सुनाए । आमाले छक्क पर्दै भनिन्, ‘यो त राग यमन हो । तिमीलाई कसरी थाहा भयो ?’ खासमा उनको हजुरबुवाले उनी ३, ४ वर्षको हुँदा दिनको ६ घण्टासम्म सितारमा अभ्यास गरेको देखेका थिए । उनले सुन्थे– पहिला जब हजुरबुवा जवान हुनुहुन्थ्यो, उहाँले दिनको १३ घण्टासम्म निदाइएला कि भन्ने डरले साँच्चै नै टुप्पी कसेर सितार प्राक्टिस गर्नुहुन्थ्यो ।
उनले यस्ता कुराहरू सुन्दै र हेर्दै हुर्किए । तसर्थ खासै वास्ता गरेनन् । ‘अरूले उहाँहरूलाई सङ्गीतकारको रूपमा हेर्थे त मेरा लागि त उहाँहरू बाबा, काका हुनुहुन्थ्यो । मेरो ठूलो बुवा (दिल्ली युनिभर्सिटी) डीयूको एचओडी हुनुभयो २७ वर्षसम्म । डाक्टर पिएचडी गरिसकेको तर मेरो उहाँ त एउटा ठूलो बुवा हुनुहुन्थ्यो,’ उनले भने ।
‘तपाईंको अगाडि जे हुन्छ, त्यो कुरा तपाईंलाई खासै नौलो लाग्दैन । मलाई मान्छेहरूले के भन्ने गर्छन् भने तैंले त शास्त्रीय सङ्गीत त खत्रै सिकेको होलास् नि ? तर म भन्छु, ‘छैन’ । घरमा बजिरहेको हुन्थ्यो । त्यसकारण जुन कुरा तपाईंको अगाडि हुन्छ त्यो तपाईंलाई वास्ता लाग्दैन । किनभने यो तपाईंको रगतमा नै हुन्छ,’ उनले निस्फिक्री भने ।
उनको बुवातिर मात्रै नभई आमातिरको चार पुस्ता पनि सङ्गीतमा नै लागेको अभिषेकले बताए । उनका मामाघरका हजुरबुवा पण्डित सियाराम तिवारीलाई त्यतिबेला ‘ध्रुपदमा किङ अफ इन्डिया’ भनिन्थ्यो ।
नजिकको तीर्थ हेलाः
उनको घरमा धेरैजसो शास्त्रीय सङ्गीत बजिरहेको हुन्थ्यो तर उनको ध्यान कहाँ त्यसमा जान्थ्यो र ? उनी उदित नारायणलाई सुन्थे । ब्याक स्ट्रिट ब्वइज सुन्थे । नजिकको तीर्थ हेला भन्छन् नि, उनलाई ठ्याक्कै त्यस्तै भयो ।
उनका हजुरबुवाले उनलाई १० वर्षको हुँदा ‘केही त गर्, केही त बजा’ भनेर ‘बेबी सितार’ पनि ल्याइदिएका थिए । उनले नबजाएका होइनन्, बजाए पनि तर त्यसलाई महसुस नै गर्न सकेनन् तसर्थ बजाउन छोडे । आफ्नो त्यतिबेलाको व्यवहारले हजुरबुवालाई नराम्रो महसुस भएको हुनसक्ने उनी अहिले ठान्छन् ।
त्यसपछि उनी १३ वर्षको हुँदा उनले बुवालाई भने, ‘मलाई गितार चाहियो ।’ सायद बुवाले छोरोको आकर्षण र लगाव केमा थियो बुझिसकेका थिए तसर्थ भने, ‘यदि तिमीलाई त्यस्तै बजाउन मन लागेको छ भने ठीक छ, म ल्याइदिन्छु ।’
त्यतिबेला बुवाले ल्याइदिएको गितारलाई उनले संसारकै खराब गितारको संज्ञा दिएका छन् । खराब यसकारण त्यसको स्ट्रिङ्ग र फ्रेटब्रोड असाध्यै माथि उठेको थियो । राम्रो गितार कस्तो हुन्छ उनको बुवालाई थाहा थिएन, तसर्थ जे भेटे त्यो ल्याए । डी कर्डबाट सीमा जान उनलाई १० मिनेट लाग्थ्यो । गितार बजाउँदा बजाउँदै उनका औँलाहरू काला हुन्थे, निलो हुन्थे, हरियो हुन्थे । यसबारे उनी भन्छन्, ‘यो सङ्गीतमा हुर्कनुको रमाइलो पक्ष पनि हो । यसरी बजाउँदा दुखाइ चाहिँ महसुस हुँदैन के । युवावस्थाको जुन रगत हुन्छ नि त्यो निकै शक्तिशाली हुन्छ । यसलाई त म निकालेरै छोड्छु भन्ने जुनुन् हुन्छ ।’
सुरुमा उनलाई गितारबारे साथीहरूले जे सिकाए, त्यही पछ्याए । तर पछि आफै सिकेर हिन्दी फिल्मका ट्युनहरू निकाल्थे । उनले गितारसम्बन्धी पछि औपचारिक शिक्षा त लिए तर उनलाई लाग्छ ‘म्युजिक सुड बी इन्स्टिङ्क्ट’ । त्यो आफूमा भएको उनी सगर्व स्वीकार्छन् ।
उनका आमाबुवाले उनलाई शास्त्रीय सङ्गीतमा ढाल्ने प्रयास त गरे तर दबाब भने दिएनन् । यसमा उनी आफ्ना अभिभावकप्रति अत्यधिक कृतज्ञ छन् ।
जिन्दगीले भन्यो, ‘तिमीलाई सङ्गीत गर्ने सुविधा छैन’
हुन त उनको साङ्गीतिक यात्रा सन् २००६ देखि नै सुरु भएको हो । उनले स्कुलमा हुँदादेखि नै बजाउँथे । ठट्यौली पारामा उनले भने, ‘गितार बजाएर र गीत गाएर मैले केटी पनि फकाएको छु । मैले त्यतिबेला राम्रोसँग उपयोग गरेको क्षमता हो यो ।’
तर जब आधारभूत आवश्यकता परिपूर्तिमा समस्या हुन्छ, मानसिक आवश्यकता पूरा गर्ने सोच गौण हुन्छ । अभिषेकका लागि मानसिक आवश्यकता भनेको सङ्गीत हो । तर उनको परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्दै थियो । उनको बुवाले गार्मेन्टको व्यवसाय छोडिसकेका थिए तसर्थ उनले घरको स्थिति बुझिहाले । यसबारे बुवासँगको छलफलपछि उनले दृढ निश्चय गरे, ‘ओके, अब म काम गर्छु ।’
काम गर्ने निश्चय त गरे तर यसका लागि सङ्गीतलाई पूर्ण रूपमा त्याग्ने सोच बनाए । अभिषेकले जसलाई जीवन यात्राको सहयात्री बनाउने कल्पेका थिए, त्यसको घाँटी थिचेर अघि बढ्न १७, १८ वर्षको ठिटोलाई कम सकस भएन ।
‘मैले जुन गितार किनेको थिएँ नि त्यो मैले साथीलाई दिएँ । त्यसपछि मैले सङ्गीत नै सुन्न छोडिदिएँ । त्यतिबेला सङ्गीत सुन्दा निकै पीडा हुन्थ्यो । ‘आई एम डन विद द म्युजिक’ भनेर साथीलाई गितार दिएँ,’ विगत सम्झँदा पनि उनको मन अमिलो हुन्छ ।
त्यतिबेला उनले सङ्गीतमा अब उप्रान्त कहिल्यै नलाग्ने सोच बनाए । सोच्थे, ‘अब म ह्यान्डिक्राफ्ट गर्छु, यति कमाएर यसो गर्छु ।’
‘जिन्दगीले नै मलाई के भन्थ्यो भने तिमीसँग सङ्गीत गर्ने सुविधा नै छैन । ‘यु ह्याभ टु सर्भाइभ फर्स्ट, यु ह्याभ टु पे द बिल फर्स्ट’ । त्यतिबेला निकै गाह्रो महसुस हुन्थ्यो ।’
अभिषेकले पुल्चोक इन्जिनियरिङ कलेजमा सिट पाउँदासमेत पैसा नभएका कारण पढ्न पाएनन् । उनले त्यतिबेला आफ्नो दिमागलाई आफ्नो इच्छाबारे सोच्नै दिएनन् । ‘यदि मैले सोचेँ भने यसले पीडा मात्रै दिन्थ्यो भन्ने मलाई थाहा थियो,’ उनले भने ।
तर उनी ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्नेमा विश्वास राख्छन् । केही नराम्रो भइहाले पनि त्यसलाई राम्रो बनाउन कसरत गर्नुपर्छ जस्तो उनलाई लाग्छ । उनले १८ वर्षदेखि २३ वर्षसम्म निर्यात व्यवसाय गरे । त्यतिबेला भोगेका समस्या उनी जीवनको अभूतपूर्व अनुभव बताउँछन् । ‘मेरा सबै साथीहरू कलेज गइरहेका थिए, पार्टी गरिरहेका थिए, मस्ती गरिरहेका थिए । धन्य, पहिले अहिलेको जस्तो फेसबुक थिएन, नभए त म डिप्रेस्ड भइसक्थेँ,’ हाँसोको फोहोरासहित उनले भने ।
मरेपछि के भनेर याद गर्लान् ?
व्यवसाय त फस्टाइरहेकै थियो तर व्यवसायप्रति उनको जाँगर फस्टाउन सकेन । व्यवसाय गरेर जति आम्दानी हुन्थ्यो त्यसले उनको बिल त तिरिदिन्थ्यो तर सङ्गीतको तृष्णा मेट्न सकेन । सन् २००९–२०१० तिर २३ वर्षको उमेरमा उनी घोत्लिन थाले, ‘मेरो मृत्युपछि मानिसहरूले मलाई के भनेर याद गर्लान् ?’
त्यही एउटा प्रश्नको खोजीमा उनले पुनः सङ्गीतमा नै लाग्ने निर्णय गरे । त्यो निर्णय लिनुमा लोडसेडिङको निकै ठूलो हात भएको उनी बताउँछन् । लोडसेडिङ ? आश्चर्य मिश्रित मेरो प्रश्नको जवाफमा उनले भने, ‘हो, लोडसेडिङका कारण म पुनः सङ्गीततिर आएँ । १६ घण्टा लोडसेडिङ हुन्थ्यो नि त्यतिबेला ।’
खासमा भएको के रहेछ भने, उनको स्कुलको साथीलाई डीभी परेको थियो । सपरिवार अमेरिका जानेबेला उनले आफ्नो गितार अभिषेकलाई दिए । अभिषेकले उक्त गितार लिने तर नबजाउने सर्तमा स्वीकार गरे । त्यसपछि लोडसेडिङ हुन थाल्यो । उनले भने, ‘ल्यापटप थोत्रे खालको थियो । एक घण्टामा नै चार्ज सकिन्थ्यो । त्यतिबेला गर्ने कुरा खासै थिएनन् ।’
देश लोडसेङिको अन्धकारले आक्रान्त बनिरहेका बेला उनलाई भने सङ्गीतको उज्यालोले बिस्तारै आकर्षित गरिरहेको थियो । त्यसपछि साथीले दिएको उक्त गितार अलिअलि गरी बजाउन सुरु गरे । त्यतिबेला उनी अनामनगरमा बस्न थालिसकेका थिए । डिग्री निकाल्नुपर्यो भनेर ‘डिस्टेन्स लर्निङ कोर्स’ पनि गरिरहेका थिए । असाइनमेन्ट गर्न सङ्गीत सुन्न थाले । उनीसँग पुरानो सिडी वाकम्यान थियो । पहिल्यै किनेका केही सिडी थिए त्यो सुन्न थाले । ‘पहिलो पटक मैले सिडीमा राम्रो गरी सुनेको भनेको लेड जेप्लिनलाई हो । त्यसमा तिखो र हाई पिचको आवाज सुनेर म दङ्ग परेँ । यसरी पनि गाउन सकिन्छ है भन्ने भयो,’ उनले भने ।
आफूले पुनः गितार बजाउन थालेपछि लेड जेप्लिनले झैँ हाई पिचमा गाउन प्रयास गरे ।
त्यसपछि आयो ‘कामकाजी’:
उनका युनिस महर्जन नामका साथी छन् । उनले अभिषेकलाई आफ्नोमा ज्याम गर्न सधैँ निम्तो दिन्थे । प्रसन्न बज्राचार्य ड्रममा थिए । युनिसले अभिषेकलाई भोकल गर्न भने । त्यतिबेला उनीहरूले ब्लुजमा ज्याम गरे । ज्याम गर्ने बेला युनिसले ल्यापटप खोलेर वेब क्याम अन गरेका थिए । तसर्थ अडियो र भिडियो दुवै रेकर्ड भइरहेको थियो । त्यसको १० दिनपछि युनिसले उनलाई उनको भाइको पसलमा बोलाए । उनी गए । त्यहाँ युनिसले उनलाई ल्यापटप खोलेर भिडियो देखाए । उनले पहिलो पटक आफ्नो आवाज सुनिरहेका थिए । युनिसले त्यसपछि अभिषेकलाई भने, ‘तिमीले गीत गाएनौ भने त यो दुनियाँले नै तिम्रो आवाज मिस गर्नेछ’ । त्यसपछि अभिषेकले भने, ‘ह्वाट डु यु वान्ट मी टु डु ? साथीहरूसँग छलफल गरेर केही गरौँ न त’ । उनले सन् २०१२ म बिस्तारै गार्मेन्टको व्यवसाय छोड्नुमा र सङ्गीतमा लाग्नुमा युनेस महर्जन मुख्य कारण भएको अभिषेक बताउँछन् । युनेसबिना उनी अहिले यहाँ हुनै नसक्ने उनी ठहर गर्छन् ।
त्यसपछि उनीहरूले ब्यान्ड नै बनाएर अघि बढ्ने निधो गरे । ब्यान्डको नाम राखे कामकाजी । आफ्नो पहिलो प्रस्तुति आफूलाई निकै राम्रोसँग याद भएको उनी बताउँछन् ।
‘वसन्तपुरमा रक्टोभर भन्ने कन्सर्टको आयोजना भएको थियो । पूर्वनिर्धारित तालिका अनुसार १ बजे स्टेज चढ्नुपर्ने, ४ बजेसम्म अत्तोपत्तो छैन । न फोन आउँछ, न केही जानकारी नै । अब प्रस्तुति हुँदैन होला भन्ने ठानेर ज्याठामा हामी मोमो खाएर बसिरहेका थियौँ । ५ बजे फोन आयो भनियो, ‘भाइ, तिमीहरूको नेक्स्ट छ है ।’ त्यसपछि टोली तुफान दौडियौँ । दौडँदै गर्दा युनेसले सगुन चाहिन्छ है भनेर रोयल स्ट्याग किने । म त्यतिबेला रक्सी पनि खाँदिनथेँ,’ उनले भने ।
उनको पहिलो सो त्यसमाथि पनि चार सय दर्शक । डरले मुटु त घाँटीसम्मै पुगिसकेको थियो । घाँटी सुकिसक्यो । पानी माग्दा चिसो पानी दिइयो । गायकलाई कन्सर्ट अघि चिसो पानी ? त्यसपछि उनले रोयल स्ट्याग खोले, दुई घुटमा आधा बोतल सकाएँ । त्यसपछिको प्रस्तुति त निकै बबाल भएको उनी बताउँछन् ।
त्यसपछि स्पिरिट एक्स भन्ने ब्यान्ड बन्यो । ब्यान्डका सदस्य थिए गौरव जोशी, निकेश जोशी र उनी । ब्यान्डले ब्लुज मात्रै बजाउने र गाउने गर्दथ्यो । स्पिरिट एक्सले पनि निकै चाँडै एल्बम बनाउने योजना बुनेको छ ।
एएसएमः
एएसएम उनको नामको पहिलो अक्षर हो । उनले एकोस्टिक गितार लिएर सोलो प्रस्तुति दिँदै आइरहेका थिए । उनी एउटै मात्र यस्तो व्यक्ति थिए, जसले एकोस्टिक गितार बजाउँदै गीत गाउने गर्दथे । पेडल केही थिएनन् । प्लग, प्ले, तीन घण्टा मज्जाले चिच्याउने, मज्जाले गाउने । त्यतिबेला धेरैले उनलाई ‘तिम्रो ब्यान्ड खोई’ भनेर सोध्थे । उनलाई लाग्यो ‘ए, ब्यान्ड त चाहिने रहेछ ।’
राम्रा प्लेयरले मात्रै राम्रो ब्यान्ड बनाउने कुरामा उनी खासै विश्वास राख्दैनन् । जो व्यक्तिसँग केमेस्ट्री र फ्रिक्वेन्सी मिल्छ उनीहरूले नै उत्कृष्ट सङ्गीत दिने कुरामा उनी विश्वस्त छन् ।
सन् २०१८ जनवरी १८ मा उनीहरूले पहिलो पटक ज्याम गरेका थिए । पहिलो ज्याममा नै साउन्ड सुन्ने बित्तिकै उनले बुझिहाले ‘यही हो मैले खोजेको’ । उनले भने, ‘बेसिस्टलाई मैले केही पनि भनेको छैन, उसले आफैँ बजाइरहेको छ, ड्रमरले पनि आफैँ गरिरहेको छ ।’ आफूले ब्यान्डमा यस्ता मिहिनेती सदस्य पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् अभिषेक । एएसएम चार सदस्ययुक्त ब्यान्ड । भोकल र गितारमा अभिषेक छन्, लिड गितारमा सायिद शाक्य, निकेश मानन्धर ड्रम र क्याहनमा छन् भने साइमन उप्रेती बेस र भोकलमा छन् ।
अभिषेक एएसएमबाहेक लियो एरिजमार्फत् इलेक्ट्रोनिक रक प्रोजेक्ट गर्छन् । यसमा उनीसँगै विवेक तामाङ छन् । लियो एरिजको एउटा एल्बम छ । एउटै गीतको एउटा पूरा एल्बम छ ।
साथै उनले टम्बलविड इङ्कका गितारिस्ट तथा श्री ३ ब्यान्डका भोकलिस्ट तथा गितारिस्ट सरद श्रेष्ठसँग मिलेर टु गन स्लिङ्गर्समार्फत् समेत प्रस्तुति दिइरहेका छन् । सरद श्रेष्ठको प्रशंसा गर्दै उनले भने, ‘सरद दाइ क्रिएटिभ इनर्जीको बबल हुनुहुन्छ । मेरो र उहाँको फ्रिक्वेन्सी ठ्याक्कै कनेक्ट हुन्छ । बस्यो कि गीत निस्कन्छ ।’
एएसएम वानः
एएसएमले आफ्नो पहिलो एल्बम ‘एएसएम वान’ २१ मार्चमा सार्वजनिक गर्दैछन् । आफ्नो पहिलो एल्बममा १२ वटा ट्र्याक हुने र यो पूर्ण रूपमा डिटिजल हुने उनले बताए । एल्बमको साइड ‘ए’ मा सबै सफ्ट गीतहरू छन् । राग देशमा गीतहरू छन् । साइड ‘बी’मा रक एन्ड रोल गीतहरू छन् । एल्बम लञ्च भएपछि एएसएम नेपाल डट कममा गएर कोड टाइप गरे यी सबै गीत तपाईंको मोबाइलमै आउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका प्रभावशाली बलर टिम साउथीको सन्न्यास घोषणा
-
कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
-
कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने
-
सामुदायिक समाजवाद भनेको के हो ?
-
लोक सेवा आयोगको सहयोगमा त्रिविका उपप्राध्यापक पदको लिखित परीक्षा हुँदै
-
दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टको नाममा आयो सरकारी सूचना