शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उनले माया मार्नै सकेनन्...

शनिबार, २८ भदौ २०७६, १२ : २२
शनिबार, २८ भदौ २०७६

फिरोज स्याङ्देन – एउटा यस्तो नाम, जसलाई कुनै परिचयको खाँचो छैन ।  नेपाली सांगितीक क्षेत्रका एक अग्रणी व्यक्तित्व, एक चम्किला नक्षत्र । जसको नाम सुन्नासाथ मन मस्तिष्कले भनिहाल्छ, ‘परेलीमा लुकाइराख न’ । 

नेपाली गीत संगीतका पारखी सायदै कोही होलान् जसले उनी आबद्ध ब्यान्डलाई सुनेका छैनन् । एउटा यस्तो ब्यान्ड जसले नेपाली संगीतलाई ‘रिडिफाइन’ गर्‍यो । सबैलाई यसले आफ्नो संगीतको जादुले निथ्रुक्क भिजाएको छ । निकै लामो इतिहास बोकेको ब्यान्ड, १९७४ एडीका संस्थापक र मुख्य गायकमध्येका एक फिरोज, १९७४ एडीका ‘भेटरन’ हुन् ।

तिनै फिरोज ११ वर्षपछि आफ्नै ‘घर’ फर्किएका छन् । एउटा यस्तो घर जुन उनको ‘सर्वस्व’ हो । जुन बिना उनी आफू ‘केही पनि होइनन्’ भन्छन्, जसलाई उनले असाध्यै ‘मिस’ गरेका थिए, जहाँ फर्कन पाउँदा उनको मन पुलकित छ, यसैयसै फुरुङ्ग छन्, जीवनको नयाँ अध्याय सुरु भएको महसुस गरेका छन्, घरका अन्य चार सदस्य बेसिस्ट निराकर याकथुम्बा, ड्रमर एवं गायक एड्रियन प्रधान, गितारिस्ट मनोज कुमार केसी र पर्कसनिष्ट संजय श्रेष्ठसँग मिलेर केही नयाँ गर्ने उत्कट चाहना बोकेका छन् ।

निकै साधारण, मिजासिला, हँसिला र जीवनको पचासौँ वसन्तमा पनि जवान देखिने रसिला फिरोजसँगको संवाद बाल्यकालदेखि सुरु भयो ।

बाल्यकालः

उनी दार्जिलिङमा जन्मेका हुन् । बेलायती शासनकालमा दार्जिलिङमा चिया कमान खोलियो । त्यहाँको टकभर टि स्टेटमा उनले जीवनको सुनौलो पल अर्थात् बाल्यकाल बिताए । बुवा खर्के स्याङ्देन र आमा नर्बदा स्याङ्देन दुबै चिया कमानका मजदुर । त्यसकारण चिया कमानकै स्कूलमा पढे । शहरका विद्यालयसम्म पहुँच दुई कारणले हुन सकेन – एउटा त आर्थिक कारणले अर्को दुरीका हिसाबले पनि टाढा ।  

‘शहरतिरको स्कूल गएर पढ्न गाह्रो हुन्थ्यो । टाढा पनि त्यसमाथि आर्थिक रुपमा पनि गाह्रो । शहरतिर गएर अंग्रेजी माध्यमको विद्यालय पढाउन सक्ने क्षमता हाम्रो परिवारमा खासै थिएन । कमानतिरको लेबरको छोराछोरी त हो नि हामी त । मेरो आमाबुवा दुबैजना चिया बगानको कामदार,’ उनले भने ।

दार्जिलिङको हावापानी नै संगीतमय छ । त्यसैले होला, विद्यालय पढ्दै गर्दा उनी संगीतमा रमाउन थालिसकेका थिए । कतै टाढा गीत बज्दा पनि उनका कान टाठा भइहाल्थे । विद्यालयका कार्यक्रमहरुमा भाग लिन थालिसकेका थिए ।

संगीतमा लाग्न केले प्रेरित ?

उति बेलाको समय र वर्तमान समयमा उनी आकाश पातालको फरक देख्छन् । उनले भने, ‘ हाम्रो पालामा अहिलेको बच्चाहरुलाई जस्तो ‘तिमीलाई के चाहिन्छ, तिमी के बन्छौँ ?’ भनेर आमाबुवाहरुले सोध्ने चलन नै थिएन के ।’

उनी आफ्नै तरिकाले अघि बढे । जता मन लागेको छ त्यतै गए, जे मन लागेको छ त्यही गरे । उनको यस्तो चालामाला देखेर आमाबुवाले गालीसमेत गर्ने गरेको  उनले बताए । उनी भन्छन्, ‘उहाँहरुले हकार्ने पनि गर्नुहुन्थ्यो । बजाइरहेको छ, लखरलखर हिँडिरहेको छ, त्यो देखेर गाली गर्नुहुन्थ्यो । तर अप्रत्यक्ष रुपमा सपोर्ट पनि गरिरहनुभएको हुन्थ्यो । यताउती जान पैसा चाहिन्थ्यो, सामानहरु किन्दा यसो पैसा पनि दिने गर्नुहुन्थ्यो ।’ रगत पसिना बगाएर कमाएको दुईचार पैसा छोरालाई संगीत सिक्न र सांगीतिक उपकरण किन्नका लागि दिनु भनेको चानचुने समर्थन होइन । यसका लागि उनका आमा–बुवाले आफ्ना अथाहा रहर र आवश्यकताको कैयन् बली दिएका थिए, सायद ।

संगीतमै लाग्ने निर्णयः

सुरुवाती दिनमा उनका जिज्ञासु औँलाहरु रहर बोकेर गीतारका तारमाथि दौडने गर्थे । क्यासेटसमेत नभएको त्यो युगमा संगीतप्रति कस्तो जिज्ञासा थियो ? कसरी सिक्नुहुन्थ्यो ? मेरो प्रश्नमा उनले भने, ‘गाउँमा जबजब विवाह, ब्रतबन्धको भोजभतेर हुन्थ्यो, तब भिनाइल रेकर्डमा हिन्दी, नेपाली गीतहरु बज्थे ठूल्ठूलो आवाजमा, टाढासम्म सुन्नेगरी । त्यतिबेला सुनेको गीतहरुबाटै सिक्ने हो । साथै, अरुबेला रेडियो नेपालबाट जुन गीतहरु बज्थे त्यसबाट पनि सिक्थेँ ।’

उनी टाढाबाट बजिरहेको गीत निकै ध्यान दिएर सुन्थे । त्यसलाई दिमागमा राख्थे र कुनै नोटेशन बिना नै गीतार वा हार्मोनियममा उतार्ने गर्दथे । उनले भने, ‘म्युजिकल नोटेसेन हुँदै नहुँदा पनि हामीले गीतहरु हुबहु उठाउने गर्दथ्यौँ ।’

संगीत सिक्दाको अर्को रोचक घटनालाई स्मरण गर्दै उनले भने, ‘मसँग भिनाइल रेकर्ड हुन्थ्यो तर बजाउने ठाउँ भने थिएन । त्यसपछि बजारतिर गयो, भिनाइल रेकर्ड बज्ने पसल खोज्दै छिर्‍यो । एकछिन बजाइदिनुहोस् न भन्यो । बजाइदिन्थे, सुन्यो । कहिलेकाँही एकपटक सुनेकोले पुग्दैनथ्यो, पुनः बजाइदिन आग्रह गर्थेँ, झिँजो मानेरै भएपनि बजाउन चाँही बजाइदिन्थे । त्यो सुन्यो, कानले क्याचअप गरिरह्यो र घर आएर गीतारमा प्राक्टिस गर्थें ।’ सायद संगीत प्रतिको लगावले नै उनलाई यतिसम्म गर्न बाध्य बनायो ।

संगीत सिक्ने अठोटः

संगीतप्रतिको प्यासन उनको यति बढ्दै गएको थियो कि उनी दिनप्रतिदिन संगीतमा नै डुब्न चाहन्थे, यसमै हराउन चाहन्थे, यसैमा विज्ञता हासिल गर्न चाहन्थे । संगीतको दुनियाँ उनलाई रोमाञ्चक लाग्थ्यो, जिज्ञासाले भरिपूर्ण लाग्थ्यो ।  । त्यसैले अब संगीत व्यवस्थित तरिकाले सिक्नैपर्ने अठोट गर्न थाले ।

उनले भने, ‘बम्बईतिर कसरी बजाएको होला ? रेडियो नेपालमा बजाएको कसरी होला ? संगीतलाई कसरी चाहिँ मज्जाले अरेन्ज गरेको होला भनेर जिज्ञासु हुन्थेँ ।’

त्यसपछि उनको दिमागले निर्क्यौल गर्‍यो, अब संगीत व्यवस्थित तरिकाले सिक्नै पर्छ । यति निश्चित गरेपछि उनी दार्जिलिङ शहर छिरे त्यहाँ जीवन प्रधानसँग नोटेशनको सुरुवाती कक्षा लिए । यो सन् १९८० को कुरा हो, सन् १९८५ सम्म उनले निरन्तर कक्षा लिए ।


काठमाडौँ आउने निर्णय किन ?

दार्जिलिङका पवन गोले उत्कृष्ट गायक हुन् । फिरोज पनि उनीबाट निकै प्रभावित छन् । पवनको गाउने शैली टिप्न उनलाई अहिलेसम्म पनि हम्मेहम्मे पर्ने उनी बताउँछन् । पवनले काठमाडौँमा आएर दुईवटा गीत रेकर्ड गरेर दार्जिलिङ फर्किएका थिए । उनको ‘हावासँगै बगुँ भन्छु’ र ‘मैले भुल्न खोजेँ’ गीत रेडियो नेपालमा पनि बज्न थाल्यो ।

‘ओह माइ गड !’ दार्जिलिङको मान्छेको गीत रेडियो नेपालमा बज्न थाल्यो । हामी त असाध्यै चकित पर्‍यौँ ।’ आखिर चकित नपरुन् पनि कसरी ? त्यतिबेला दीप श्रेष्ठ, नारायण गोपालजस्ता दिग्गजहरुको गीत रेडियो नेपालमा बज्थे । रेडियो नेपाल नाम सुन्दा मात्रै पनि उनलाई विशेष महसुस हुन्थ्यो । यो ठाउँ कस्तो होला भनेर कल्पना गर्ने गर्थे । दिमागमा रेडियो नेपालको एउटा चित्र नै कोरेका थिए । 

आफू पनि त्यहाँ पुगेर केही गर्ने हुटहुटी उनमा पलायो । यसको लागि त ‘आइ ह्याभ टु गो टु काठमाडौँ’ भन्ने उनलाई लाग्यो । काठमाडौँमा भएका काकाको सहयोगमा उनी सन् १९९० तिर काठमाडौँ छिरे ।

अनि बन्यो १९७४ एडी

काठमाडौँ आएपछि उनको संघर्षका दिनहरु शुरु भए । उनले विभिन्न स्कूलमा पढाउने र संगीतको कक्षा दिन थाले । यसै क्रममा दार्जिलिङ्कै अर्का चर्चित एवं उत्कृष्ट कम्पोजर दिव्य खालिङको सहयोगमा सन् १९९१ ताका उनी ज्ञानोदय बाल बाटिका नामको स्कूलसँग परिचित भए । ज्ञानोदयका कार्यकारी निर्देशक हुन् निराकर याक्थुम्बा । त्यहाँ यी दुईको भेट भइहाल्यो । संगीतमा दुवैको रुचि थियो, सामिप्यता नबढ्ने कुरै भएन ।

‘उहाँपनि म्युजिकमा इन्ट्रेस्टेड, म पनि त्यस्तै । सधैँ ज्याम अप गरिरहन्थ्यौँ, कक्षा सिद्धिएपछि पनि उहाँको घरमै गएर ज्याम अप गर्दागर्दै ब्यान्ड नै निकालेर अघि बढ्ने हो कि भन्ने छलफल हुन थाल्यो । पारिवारिक भेटघाटमा बजाउँदै गर्दा सन् १९९४ मा ब्यान्ड फर्म भयो ।’

सुरुमा फिरोज, निराकर, भानु ए., प्याट्रिक विल्सन, नवाङ गरी पाँचजना मिलेर  ब्यान्डको स्थापना । ‘चारपाँच जना मिलेरै ‘टाङ्टाङ् टुङ्टुङ्’ गर्दथ्यौं । तर सुरुवातमा एल्बम निकाल्ने गरी नै अघि बढ्छौँ भनेर सोचेका थिएनौं,’ उनले भने ।

सुरुमा उनीहरु अंग्रेजी कभर गीतहरु मात्र गर्थे । त्यतिबेला चलन पनि त्यस्तै थियो, होटलमा गिगहरु गर्ने । ‘हामीले त्यतिबेला अंग्रेजी गीतलाई मात्र प्राथमिता दिन्थ्यौँ । खाली कभर गर्‍यो, अर्काले बजाएको गीतहरु घोटीघोटी सिक्यो, अनि बजायो,’ त्यतिबेलाको ट्रेन्डबारे उनले जानकारी दिए ।

तर पछि उनीहरुलाई ‘यो त हाम्रो होइन’ भन्ने महसुस हुनथाल्यो । र ‘ह्वाई नट वि युज द सेम ट्यालेन्ट इन नेपाली म्युजिक सिनारियो,’ भनेर सोच्न थाले । त्यसै क्रममा उनीहरुले ‘मायालुले’ बोलको पहिलो गीत रेकर्ड गराए ।

ब्यान्डको नाम १९७४ एडी नै किन ?

१९७४ एडी, हार्ड रक म्युजिक जनरबाट प्रभावित ब्यान्ड हो । वेस्टर्न हार्ड रक म्युजिकका साथै नेपाली लोक र आधुनिक संगीतका साथै नारायण गोपाल, दीप श्रेष्ठ, ओम विक्रम बिष्ट, गोपाल योञ्जनजस्ता दिग्गजहरुबाट यो ब्यान्ड आफू प्रभावित भएको फिरोजको बुझाइ छ ।

उनले भने, ‘यता वेस्टर्नमा डिप पर्पल, लेड जेप्लिन, बिटल्स, एरिक क्ल्याप्टन, इगल्स, लेनड स्केनर्डले असाध्यै राम्रो बजाउने । ६०–७० को दशकमा पनि असाध्यै उत्कृष्ट बजाउने । उनीहरुबाट पनि हामी निकै प्रभावित थियौँ । ओहो, यो गर्न पाए हुन्थ्यो, त्यो गर्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । त्यताको र यताको फ्युजन गर्नुपर्छ भन्ने हिसाबले संगीतलाई करियरको रुपमा अगाडि बढाउँदै लग्यौँ ।’

१९७४ एडी नै नाम राख्नुको पछाडि के कारण छ भन्ने मेरो प्रश्नको जवाफमा उनले भने, ‘७० को दशकमा नेपाललगायत संसारका जुनसुकै कुनामा गीत रकेर्ड गर्दा सबै संगीतकार एकैठाउँ बसेर, के–के सामग्री चाहिन्छ, त्यो सबै अगाडि राखेर एक टेकमा रेकर्ड गर्ने गर्दथे । त्यतिबेला यति माझिएर बजाउनु पर्दथ्यो कि कसैले पनि बिगार्न पाउँथेनन् । एकजनाले बिगारे सबैले सुरुदेखि बजाउनु पर्दथ्यो । त्यसको लागि त ‘यु ह्याभ टु बी भेरी केयरफूल, भेरी फोकस्ड एण्ड भेरी डेडिकेटेड र अल्वेज इन प्राक्टिस ।’ गाउनेले पनि एक टेकमा गाउनुपर्यो । बजाउनेले पनि एकै टेकमा ।’

‘अहिले पो ट्र्याक बाइ ट्र्याक छ । एउटा सानो पिस गर्न पनि २५ पल्ट रगटेर बजाउँछन् । हो कि होइन ?’ उनले सोधेको यो प्रश्न पंक्तिकारलाई मात्रै नभई सायद सबै युवापुस्ताका लागि हो । 

असाधारण क्षमताका लागि ब्यान्डले ७० देखि ८० सम्मका संगीतकारहरुप्रति नमन स्वरुप ब्यान्डले नाम नै १९७४ एडी राखेको फिरोजले बताए । ‘ह्वाई नट ७५, ७६ त ?’ मेरो अर्को प्रश्नमा उनले भने, ‘७० को दशकको बीचतीर वेस्टर्न र इस्टर्न दुबैतिर म्युजिक अलि मेकानिकल हुँदै गयो क्या फेरि । किबोर्ड सिन्थेसाइजरहरु आउन थाले । अनि त्यसले सजिलो बनाइदियो । बेस पनि त्यहीँ बाट । ड्रम पनि ‘टाङ् टाङ् टाङ् टाङ्’ पनि त्यहीँ बाट । मादल पनि ‘तुङ् तुङ् तुङ्’ गरेर किबोर्डबाटै गर्न थाल्यो । नेपालमा मादलको घारीमा आएर किबोर्डबाटै मादल बजाउन थालियो । बेसिस्ट पनि नचाहिने भयो । किबोर्ड बाटै ‘ढिङ ट्याँक ढिङ्ढिङ ट्याँक’ गरेर बजाउन थाल्यो । त्यही भएर १९७४ नै राखेको हो क्या ! ७५–७६ पछिबाट चाहिँ संगीत मेकानिकल हुँदै गयो ।’

ब्यान्डका सुरुवाती दिनः

ब्यान्डका सुरुवाती दिनमा उनलाई न त कमाउनुपर्छ भन्ने ध्याउन्न थियो । न म यति कमाएर यस्तो गर्छु भन्ने केही सोच नै । दिमागमा मात्र एउटा कुरा थियो – ‘म्युजिक’ । स्टुडियो जानु छ, रेकर्डिङ छ भने काम कुरो सबै गोली मार्‍यो अनि स्टुडियोमा गयो । बरु के–के चाहिन्छ, खाजा, खाना सबै पोको पार्‍यो, लग्यो, मज्जाले रेकर्ड गर्यो बिहानदेखि बेलुकासम्म । ती दिन सम्झँदै उनले भने, ‘अब ती दिन ब्यूँताउँछु भनेर जति मेहनत गरेपनि सकिँदैन । अहिले सबैजना व्यस्त छौं । ती मिठा पलहरु उनलाई सधैँ याद आइरहन्छन्  । त्यो एउटा यस्तो पल थियो जसमा दुःख पनि सुख थियो, विभिन्न अभावमा बीच पनि हामी सम्पन्न थियौँ । ती क्षण अब सायद फर्केर आउँदैनन् ।’

आफैले जन्माएको ब्यान्ड छोड्नुको कारणः

ब्यान्ड छोड्नुको मुख्य कारण उनी आर्थिक पाटो नै बताउँछन् । ‘अलिकति पारिवारिक समस्या पनि हुनथाल्यो । पहिला त जे गरेपनि हुन्थ्यो खासै केहीको पनि प्रेसर थिएन । तर पछि परिवार भयो, बच्चाहरु पनि भयो, अनि समस्या सुरु हुनथाल्यो । त्यसपछि चाँही आर्थिक रुपमा पनि सबल हुनुपर्छ भन्ने लाग्यो ।’

ब्यान्डले पहिलो अमेरिका भ्रमण सन् २००२ मा गरेको थियो । उक्त भ्रमणकै बेला अमेरिकामा आफ्नो राम्रै स्थान बनाउन सफल भएको उनले बताए । आर्थिक समस्या बढ्दै गएपछि उनले उक्त स्थानलाई प्रयोग गर्नेबाहेक अर्को विकल्प सोच्न सकेनन् ।

उनले सन् २००८ मा नै ब्यान्डलाई आधिकारिक रुपमा नै अमेरिका जाने योजना बनाइरहेको जानकारी दिइसकेका थिए । होला नहोला तर अमेरिकामा नै बस्ने निर्णयसहित कोसिस गरिरहेको छु भनेर सबैलाई जानकारी दिएका थिए । यसमा ब्यान्डका सदस्यले सहयोग गर्नुपर्‍यो पनि भनेका थिए । योजना अनुरुप काम बन्यो र उनी सन् २००९ मा अमेरिका हानिए ।

तर अमेरिकामा आफूले सोचेजस्तो भएको खण्डमा आउने जाने क्रम चलिहाल्छ र त्यति नै बेला ब्यान्डसँग मिलेर काम गरिहाल्ने भनेर पनि सोचेका थिए । उनी अमेरिका गएको चार वर्षपछि सन् २०१३ मा नेपाल आएर दुईवटा ठूला कन्सर्ट गरे । त्यसपछि ब्यान्डका अन्य सदस्य अमेरिका जाँदा उनले जोइन गरे । अष्ट्रेलियाको कन्सर्टमा पनि उनी गए । 

तर उनीहरुको ठ्याक्कै सम्पर्क टुटेको चाँही सन् २०१६ तिर हो । लगभग दुई वर्ष जति उनीहरुको पूर्ण रुपमा सम्पर्कविच्छेद भयो । उनले भने, ‘यतिबेला कुराहरु गर्न अलि अप्ठेरो जस्तो भयो । म यहाँ बिदामा आउँदा पनि ‘के छ यार ?’ भनेर सोध्न पनि अप्ठेरो लाग्यो । किनभने ग्याप भइसकेको थियो । के भनेर कुरा गर्ने यार ! कुन सन्दर्भमा कुरा गर्ने भन्ने हुन्थ्यो ।’

१९७४ एडीको यादः

सन् २०१६ मा फिरोज र एड्रियन प्रधान पुनः एकजुट भएर ‘द ओरिजिनल डुओ’ को रुपमा आफ्नो प्रस्तुती दिन थाले । उनीहरुले सन् २०१६ मा अमेरिकाको पाँच वटा स्टेट र सन् २०१७–१८ मा नेपाल, बेलायत, अष्ट्रेलियामा भ्रमण गरे । साथै उनीहरुले ‘ल है’ नामको एल्बम पनि सार्वजनिक गरे ।

ओरिजिनल डुओको रुपमा प्रस्तुती दिइरहँदा र एल्बम निकाल्दा पुरानो ब्यान्ड निकै मिस भएको उनले बताए । उनले भने, ‘हामीले ब्यान्डमा हुँदा वान बाइ बान बसेर अत्यधिक प्राक्टिस गरेर गीतहरु रेकर्ड गर्दथ्यौँ । पछि हामीले आफ्नो मात्रै कम्पोजिसनमा रेकर्ड गराउँदा नमज्जा लाग्यो । त्यहाँ फूल ब्यान्ड हुँदैनथ्यो नि त, एक–एक जनालाई बजाइदिन आग्रह गर्दा खेरी त्यो फिलिङ नै पुग्दैनथ्यो  । त्यो कनेक्सन नै पाउन सकिएन ।’

‘छुट्टिएपछि सँगै प्रस्तुती दिन नपाउँदा, अरु भाइहरुसँग टाइअप गरेर बजाउनुपर्दा फिल हुन्थ्यो । स्टेजमा गाउँदै गर्दा ह्वेर इज मनोज, ह्वेर इज संजय, ह्वेर इज निराकर भनेर दर्शकहरुले सोध्नुहुन्थ्यो । हामीलाई त सबैले व्यक्तिगत रुपमा चिन्नुहुन्छ नि त । त्यतिबेला नमज्जा लाग्थ्यो । ए, यस्तो हुने रैछ । जे नै गरेपनि ओरिजिनल मान्छेकै खोजी हुने रैछ भन्ने लाग्थ्यो ।’

तर जति माया टाढा त्यति हुन्छ गाढा । उनी ब्यान्डसँग भौतिक रुपमा टाढा थिए, तर ब्यान्डको क्रियाकलाप सधैं नियालिरहेका हुन्थे । न्यू लाइन अपसँगको पछिल्लो एल्बम ‘हजार सपना’ को ‘सानीको रिसाउने बानी भो’ बोलको गीत उनैले अमेरिकाबाट पठाएका हुन् । उनले भने, ‘मै नभएपनि म तपाईंहरुलाई यसरी सहयोग गर्न सक्छु भनेको थिएँ । तर म भइदिएको भए, म यो गीतलाई यसरी गाउँथे भनेर फिल चाँही पक्कै पनि हुन्थ्यो । हामीले यो गीतलाई नयाँ एल्बममा  रिडुइङ गर्दैछौँ ।’

पुनर्मिलनः

ओरिजिनल डुओको रुपमा यात्रा गर्दा एड्रियन र उनीबीच, ‘ब्यान्ड चाँही असाध्यै धेरै मिस हुन्छ, ब्यान्ड र केटाहरुको निकै माया लाग्छ त्यसकारण ‘लेट्स टाइ अप टुगेदर’ भनेर कुरा हुन्थ्यो ।’

पुनर्मिलन तत्काल हुने कुरा थिएन । सुरुमा त उनीहरुले आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने निधो गरे । ‘यो तत्काल सिद्धाइहालौँ, लन्ठ्याड लुन्ठुङ पाराले सक्काइहालौँ त्यसपछि लेट्स डु टुगेदर, लेट्स जोइन टुगेदर भनेर हामीले निर्णय गर्यौँ ।’

त्यसपछि उनले एड्रियनलाई ‘ह्वाई डन्ट यु गो एण्ड टक् टु निराकार’ भनेर सल्लाह दिए । निराकार ब्यान्डका मुख्य व्यक्ति भएकोले उनैलाई भेटेर कुरा गर्दा उचित हुने उनीहरुले ठाने । पहिलो चरणमा एड्रियन र निराकार मात्र बसेर कुराकानी भयो । सायद दुवै पक्षलाई त्यही फिल थियो, सहमति पनि भइहाल्यो । तर पुनर्मिलनका लागि केही सम्झौता पनि भए ।

सँगै गर्ने तर नयाँ तरिकाले होइन, पुरानै तरिकाले । ब्यान्डले जसरी पर्फम गर्दथ्यो त्यसरी नै गर्ने सम्झौता भयो । एड्रियनले ड्रममै बसेर भोकल गर्ने  । संजय न्यू लाइन अपमा ड्रममा थिए, अहिले पर्कसनमा नै सिफ्ट भएका छन् । यसो गरेर, उनीहरुले १९७४ एडीको पुरानै साउन्ड दिने प्रयास गरिरहेका छन् ।

सबैजना इच्छुक भएरै आफूहरुबीचको पुनर्मिलन सफल भएको उनी बताउँछन् । उनले भने, ‘भेटौँ न भन्दा दुवै पक्षमा एउटा सकारात्मकता देखियो । नत्र त भेट्न मन नभएको भए, किन भेट्ने भनिन्थ्यो होला । पहिलो भेटमा नै कुरा मिल्यो अनि त्यसपछि ड्याङ्गै आधिकारिक रुपमा घोषणा गर्ने निर्णय गर्‍यौं ।’

फिरोजका १९७४ एडीलाई सर्वस्व ठान्छन् । आफू व्यक्तिगत रुपमा कोही पनि नभएको उनी बताउँछन् । ब्यान्डमा नलागेको भए अमेरिकाको भिसासमेत पाउने नपाउनेमा अनिश्चितता भएको उनी बताउँछन् । अहिले उनी जे छन्, त्यसमा ब्यान्डको मुख्य भूमिका रहेको उनको ठम्याइ छ ।

ब्यान्डमा भित्रिएपछिः

ब्यान्डमा भित्रिएपछि उनी निकै पुलकित छन् । नोभेम्बरसम्ममा नेपाल टुर सिद्धाएर उनी पुनः अमेरिका जानेछन् । तर आफ्नो आउने जाने क्रम चलिरहने उनी बताउँछन् । देश विदेशमा ब्यान्डका थुप्रै कार्यक्रम निश्चित भइसकेकाले ब्यान्डसँग निरन्तर सम्पर्कमा रहनुपर्ने उनले बताए । उनी ब्यान्डका सदस्यसँग मिलेर आफूमाथि जे जति सृजना थुप्रिएर बसेका छन् त्यो सबै छताछुल्ला पार्न आतुर छन् ।

ब्यान्डका भावी योजनाः

१९७४ एडीलाई कुरेर बस्ने प्रशंसकका लागि ब्यान्डले ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स ‘एलओडी’मा सेप्टेम्बर २१ तारिख अर्थात् असोज ४ गते एउटा कन्सर्टको आयोजना गर्दैछ । यसका साथै  ब्यान्डले नोभेम्बर ८ (कात्तिक २२) मा नयाँ एल्बम निकाल्ने जानकारी फिरोजले दिएका छन् । एल्बम रिलिज भएको भोलिपल्ट अर्थात् ९ नोभेम्बर (कात्तिक २३) मा सर्वसाधारणका लागि कीर्तिपुरको क्रिकेट ग्राउन्डमा कन्सर्टको आयोजना गरिने पनि उनले बताए ।

उनले आफ्ना प्रशंसक सबैलाई त्यहाँ नै भेट्ने बताएका छन् । उनले भनेका छन्, ‘लेट्स ह्याभ अ गुड टाइम । १९७४ एडीको रियुनियनमा हामीले कस्तो प्रकारको लाइन अप मिलाएका छौँ, कस्तो मेहनत गरेका छौं त्यो हेरिदिनुहोस् भन्न चाहन्छु । भेटौँ, रमाइलो गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप