केन्द्रीय संस्करण
विजेताको कथा

‘एक दिन पनि टिकेन पदक जितेको खुसी’

साग खेल्दा खेलाडीहरुको जागिरै गुम्यो, तर सरकारले पुरस्कार दिनै ‘बिर्सियो’

person explore access_timeपुस २, २०७६ chat_bubble_outline3

भनिन्छ नि, बालबालिकाका लागि घर नै पहिलो विद्यालय हो । हो, उनको पहिलो विद्यालय अर्थात् उनको घरले नै उनलाई आज यो स्थान, प्रसिद्धि र सफलता हासिल गर्ने मार्गमा डोर्‍यायो ।  ललितपुरकी रैथाने । पारिवारिक पृष्ठभूमि थियो खेलकुदमय । घरमा थिए ६ दिदीबहिनी । तीमध्येकी काइँली छोरी निकै लजालु । कसैलाई केही भन्नुपरे ढोकाको पछाडि बसेर वा केही कुराको छेको लागेर मुख फोर्थिन् । उनी अघिका माहिली र साहिँली दिदी भने फुटबल खेल्थे । दिदीहरुको प्रभाव उनीमाथि नपर्ने कुरै भएन । उनी हुर्कंदै गइन् तर लजालु स्वभाव भने हुर्कन पाएन तसर्थ विलिन भयो । बिस्तारै ‘टम ब्वाई’जस्तो स्वभाव उनीभित्र जागृत भइरहेको थियो । घरका दिदीहरु मात्रै नभई ठूली आमा र फुपूका छोराहरु पनि फुटबल खेल्थे । तसर्थ उनलाई पनि फुटबल खेलले आकर्षित ग‍र्‍यो । १० वर्षको कलिलो उमेरदेखि नै  उनका गोडा बल हान्न पाउँदा खुसी हुन्थे । खुसी त उनी फुटबल खेल्न पाउँदा हुन्थिन् तर अहिले उनले जुन टोलीको कप्तानी दायित्व सम्हालिरहेकी छिन् त्यो फुटबलको नभई बास्केटबलको हो । राष्ट्रिय महिला बास्केटबल टोलीकी निकै स्मार्ट र इन्टेलिजेन्ट कप्तान सदिना श्रेष्ठले रातोपाटीसँग आफ्नो खेल जीवनका आरोह अवरोह साझा गरिन्  ।

चित्त दुखेर फुटबल खेल्न छोडिन्

उनकी माहिली दिदी सरिला श्रेष्ठ महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी तथा एन्फाकी महिला सेक्रेटरी हुन् । दिदीले फुटबल खेलेको देखेर उनी पनि फुटबलप्रति आकर्षित भइन् । कक्षा ८ मा हुँदा १० वर्षको उमेरमा  एन्फाको ‘वुमन्स सेलेक्सन’मा उनले पनि प्रतिस्पर्धा गरिन् । त्यतिबेला राम्रै भयो । फुटबलका थुप्रै खेलमा पनि भाग लिइन् । त्यसै वर्ष उनी अन्डर १६ को नर्वेको सेलेक्सनमा पनि उनी पुगिन् । तर अन्तिम प्रतिस्पर्धासम्मै पुगेर पनि छनौट हुन सकिनन् । उनलाई साह्रै चित्त दुख्यो । दिदीसँग मन दुखेको कुरा साझा गरिन् र मनमनै सोचिन् ‘अब म फुटबल खेल्दिनँ ।’

‘त्यतिबेला अलिकति चित्त दुखेको भएर मैले फुटबल खेल्न छोडिदिएँ,’ त्यतिबेला दुखेको चित्तमा उनी अहिले हाँस्छिन् ।

दिदीहरुको अत्यधिक समर्थनः

परिवारको साथ र समर्थनले गर्दा नै आफू भलिबलमा लाग्न प्रेरित भएको सदिना बताउँछिन् । उनको परिवारमा खेलकुदका लागि समर्थन गर्ने परिपाटी दिदीको पालादेखि नै विकास भएको उनी बताउँछिन् ।

उनकी माहिली दिदी स्कुलमा भलिबल, फुटबल, कराँते खेल्थिन् । स्कुल छुट्टी भएपछि उनकी जेठी दिदीले माहिली दिदीको ब्याग बोकेर ‘बहिनी खेलिरहेकी छे’ भनेर कुरेरै बस्ने गरेको सदिना सम्झिन्थिन् । 

‘धेरै नै हेल्प गर्ने, प्रेरित गर्ने गर्नुहुन्थ्यो । त्यसैले हामी सानोले पनि त्यही अनुसार सिक्दै गएको हुनसक्छ । त्यसैले दिदीहरुले गरेर नै खेलकुदमा लागेको भन्दा फरक पर्दैन । उहाँहरुको समर्थनले गर्दा नै यहाँसम्म पुग्न सफल भएँ । म त मेरा दिदीहरुलाई एकदमै मान्छु,’ उज्यालिएको अनुहारसहित उनले भनिन् ।

इच्छाले तान्योः

उनी रिब्स स्कुलमा पढेकी हुन् । त्यसताका रिब्स स्कुलले बास्केटबलमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको थियो । विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा रिब्स स्कुलको नाम सुन्नेबित्तिकै धेरै स्कुल डराउँथे । उनका लागि रिब्स स्कुल बास्कटेबलका लागि उर्वर थलो थियो । त्यहाँबाटै उनले बास्केटबलको ‘ड्रिब्लिङ’ सुरु गरिन् । जसलाई उनले अहिले आफ्नो करियर बनाएकी त्यसको जरो रिब्स स्कुलबाटै झाँगिन सुरु भयो । त्यसकारण उनलाई आफ्नो स्कुलको असाध्यै माया लाग्छ । यसका लागि उनी स्कुलप्रति निकै कृतज्ञ पनि छिन् ।

स्कुलमा सबैले खलेको देखेर उनी बिस्तारै बास्केटबलतर्फ तानिइन् । खेलकुदमा उनी आफ्नो इच्छाले होमिइन् । कतिले उनलाई खेलकुद क्षेत्र करियर नै स्थापित गर्ने क्षेत्र नभएको भनेर धेरैथरी सुनाए पनि । तर त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो । बास्केटबल उनको ‘प्यासन’ भइसकेको थियो ।

‘जसले जेसुकै गरोस् वा नगरोस्, म खेल्छु नै भनेर दृढ सङ्कल्प गरिसकेकी थिएँ,’ उनले भनिन् । जीवनको कुनै मोडमा भविष्यका लागि केही गर्नुपर्छ भनेर सोचिन्, त्यतिबेला पनि उनले बास्केटबललाई आफूबाट अलग्याउन सकिनन् तसर्थ बास्केटबलमै आफ्नो भविष्य सोचिन् । यसका लागि बास्केटबल कोचिङको लाइसेन्स, स्पोर्टस् साइन्स, स्पोर्टस् मेडिसिन, इन्टरनेसनल कोर्स सिद्धाइसकिन् ।

सन् २०११ मा श्रीलङ्कामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो, त्यसमा उनी पनि थिइन् । उक्त घटना स्मरण गर्दै उनी भन्छिन्, ‘त्यो चाहिँ ‘थ्री अन थ्री’ को गेम हो । फर्स्ट सिनियर वुमन्स बास्केटबल पार्टिसिपेट गरेको पहिलो अन्तर्राष्ट्रिय खेल नै त्यही थियो ।’

उक्त खेलको एक वर्षपछि चीनको खेलमा उनले कप्तानी पाएकी हुन् । उनका अनुसार कप्तानी पाउनु भनेको त्यति सजिलो छैन । आफ्नो क्षमता, ज्येष्ठता, अनुशासनको आधारमा आफूलाई समूहको कप्तान बनाइएको हुनसक्ने उनले अनुमान गरिन् ।

कप्तान हुनु गर्वको कुराः

राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तान हुन पाउँदा आफूलाई निकै गर्व लागेको उनी बताउँछिन् । तर सिक्काका दुई पाटा हुन्छन् भनेझैँ कहिलेकाहीँ आफूले नगरेको गल्ती पनि आफ्नै टाउकोमा आइलाग्दा, यो भएन त्यो भएन भनेर असन्तोषका शब्दहरु सुनिरहनुपर्दा चाहिँ उनलाई कहिलेकाहीँ ‘ह्या, होस्’ जस्तो लाग्छ । तर त्यो मनोवेग क्षणिक मात्रै हो । कप्तान हुन पाउनु उनका लागि सुखद् अनुभव हो । यसमा उनी निकै खुसी भएको बताउँछिन् ।

अविस्मरणीय क्षणः

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर आफूहरुले धेरै खेल खेलिसकेको सदिना बताउँछिन् । खेल खेल्दाका स्मरणीय पलबारे जान्न खोज्दा उनले ग्रिसमा खेलेको खेल सम्झिइन् । ‘सन् २०१२ मा चीनको खेलपछि हामी ग्रिस गएका थियौँ । विश्व च्याम्पियनसीप खेल्न खासै नेपालले अवसर पाउँदैन नि त । वाइल्डकार्डबाट साउथ एसियाबाट नेपाल र श्रीलङ्काले मौका पाएका थियौँ । तर, श्रीलङ्काले भाग लिएन,’ उनले थपिन्, ‘हामीले भने फ्रान्ससँग खेल्यौँ, चेक रिपब्लिक, हङ्गेरी, ग्रीससँग पनि खेल्यौँ, त्यो मेरो लागि अविस्मरणीय क्षण थियो । हामीले जित्न नसक्दा पनि, त्यो भनेको हाम्रो लागि राम्रो एक्सपोजर थियो । त्यस्तो मौका सधैँ आउँछ भन्ने छैन । सधैँ वाइल्ड कार्डमा हामी नै पर्छौं भन्ने पनि त छैन । त्यो खेल्न पाउँदा एकदमै खुसी लागेको थियो ।’ त्यतिबेला हार्दा पनि खुसी–खुसी हारेको जस्तो भान भएको उनले बताइन् । ‘हामीले गुड एक्सपोजर पायौँ, खेल पनि राम्रै खेल्यौँ । नराम्रोसँग पनि हारेनौँ । थ्री अन थ्री हो, २१ मा इन्ड हुने गेम हो, त्यसमा चाहिँ हामीले ६–७ हान्यौँ । ग्रिस, चेक रिपब्लिक, फ्रान्सजस्तो देशसँग प्रतिस्पर्धामा त्यति हान्नु भनेको हाम्रो लागि निकै ठूलो कुरा हो,’ उनले आफ्नो यादको लहरो अँठ्याउँदै भनिन् । 

बास्केटबलका आदर्शः

उनलाई नेपाली बास्केटबल टोलीका सदिश प्रधान र आफ्नै पूर्वकप्तान विपिन महर्जन निकै मनपर्छ । साथै उनकै टोलीकी सदस्य अनुषा मल्लको खेल उनलाई साह्रै चित्त बुझ्छ । ‘एउटा टिम मेटको रूपमा, एउटा बहिनीको रूपमा । यत्रो वर्ष सँगै खेलेको हिसाबले मलाई उनको गेम निकै मनपर्छ,’ उनले साथीको तारिफ गर्दै भनिन् ।

अन्तर्राष्ट्रिय स्तरमा उनलाई मनपर्ने खेलाडी भनेको लेबरन जेम्स हुन् । ‘लेबरन जेम्स मलाई निकै पहिलादेखि नै मनपर्दथ्यो र अहिले पनि मनपर्छ,’ मनै हर्ने मुस्कानसहित उनले भनिन् ।

राष्ट्रिय खेलाडीले कहाँ गएर खेल्ने ?

राष्ट्रिय खेलाडीका समस्या के–कस्ता छन्, यसबारे जान्न मन भयो । यसको जवाफ दिँदा सदिनामा थोरै असन्तोष र आक्रोशको भाव देखिन्थ्यो । उनका अनुसार राष्ट्रिय समूह अथवा राष्ट्रिय खेलाडीले खेल्ने ठाउँ नै पाइरहेका छैनन् ।

‘ब्याचलर लेभलको गेम भनौँ वा कुनै क्लबले आयोजना गरेको खेलमा ‘राष्ट्रिय खेलाडीलाई प्रवेश छैन’ भनिन्छ,’ यस्तो गर्न नहुने उनको तर्क छ ।

‘राष्ट्रिय खेलाडीले कहाँ गएर खेल्ने भन्ने कुरा नै थाहा छैन के मलाई,’ असन्तोषका भाव उनले यसरी पोखिन् ।

‘‘नेसनल प्लेयर नट अलाउड’ भनेपछि हामीले वर्षमा एउटा, राष्ट्रले आयोजना गरेको खेलमा मात्रै खेल्न पाउने भयौँ नि । वर्षभरी त्यो एउटा खेललाई कुरेर बस्ने कुरा पनि त हुँदैन,’ उनले कुराको चुरो निकालिन् ।

‘ल ठीक छ, राष्ट्रिय खेलाडीले गर्दा अरूले जित्दैनन् भन्ने हो भने अरू राष्ट्रिय खेलाडीलाई विभाजन गरिदिनु नि । १२ जना छ वा १६ जना छ वा २० जना नै छ भने दुई तीनजनालाई एउटा टिममा हालिदिए त सबै टिम बराबरीमा आउँछ,’ उनको कप्तानी दिमागले यसको हल निकाल्यो ।

आफूहरु प्रायजसो तालिममै व्यस्त रहने तर खेल खेल्न नपाउँदा यसको कुनै अर्थ नहुने उनी बताउँछिन् । ‘खेल्न नै नपाएको खण्डमा जति नै तालिम गरे पनि त्यसको के फाइदा भयो र ?’ उनले प्रतिप्रश्न गरिन् ।

दक्षिण एसियाली खेलकुद (साग)को अनुभवः

सुरुमा सागको आयोजना हुन लागेको छ भन्ने खबरले नै उनलाई उत्साहित बनाएको थियो । तर अन्तिम अवस्थासम्म पनि रङ्गशाला जुन स्थितिमा थियो, त्यसमा उनीलगायत थुप्रै खेलाडी सशङ्कित थिए । तर जसरी भए पनि खेल त सुरु भयो, त्यसमाथि पनि महिला बास्केटबलको प्रवेश पहिलो पटक थियो । हुन त २०१६ मा गुवाहिटीमा खेल्न जाँदा इन्ट्री भइसकेको थियो तर त्यहाँ भारतीय बास्केटबलको दुईवटा सङ्घबीचको झगडा भएकाले खेलको आयोजना भएन । त्यहाँसम्म गएर पनि खेल्न नपाउँदा उनलाई कम्ती दुःख लागेन त्यसका लागि कति महिना मिहिनेत गरेका थिए, साढे एक महिना त बैङ्ककमा तालिम गरेका थिए ।

यस पटकको दक्षिण एसियाली खेलकुदका लागि पनि उनीहरुले सात महिनाको क्याम्प गरे । धरानमा मात्रै दुई महिना बसे । त्यसपछि काठमाडौँमा आएर खेल्दा, त्यसमाथि पदक बिजेता हुन पाउनुलाई उनी अहिलेसम्मकै ठूलो प्राप्तिको संज्ञा दिन्छिन् ।

पदक विजेता हुने निश्चितः

आफूहरु पदक विजेता हुने कुरामा उनी सागका खेलअघि नै निश्चित थिइन् । यस्तो आत्मविश्वास कसरी पलायो ? यसबारे जवाफ दिँदै उनले भनिन्, ‘हामीले बीचमा भुटान, माल्दिभ्सजस्ता देशसँग फ्रेन्डली म्याच खेलिसकेका थियौँ । त्यतिबेला हामीले खेलेको हिसाबले मेडलिस्ट हुन्छौँ भनेर पक्का थियौँ । कुन चाहिँ पदक भनेर ठ्याक्कै भने भन्न सकिनँ ।’ अन्ततः उनको नेतृत्वमा टोलीले पहिलो प्रयासमा नै सागमा रजत पदक नै हात पार्यो ।

‘भारत एउटै देश जससँग मलाई पनि डर लागिरहेको थियो,  त्यसमा नै  गएर चुक्न पुग्यौँ । उनीहरुसँग जित हासिल गर्न हामीले अलि धेरै मिहिनेत गर्नुपर्छ । साबामा हामी श्रीलङ्कासँग हारेका थियौँ अहिले माल्दिभ्सले श्रीलङ्कालाई जित्यो र हामीले माल्दिभ्सलाई जित्यौँ, त्यो भनेको हामीले श्रीलङ्कालाई जिते बराबर नै हो,’ प्रफुल्ल मुद्रामा उनले भनिन् । 

सेमीफाइनल नै फाइनल जस्तोः

सागमा सेमी फाइनलको खेल निकै प्रतिस्पर्धी भएको सदिना बताउँछिन् । सेमी फाइनल खेल खेल्नुअघि आफ्नो दिमागमा चलेको कुरा उनले हामीमाझ पोख्दै भनिन्, ‘हाम्रो मनमा चाहिँ श्रीलङ्कालाई माल्दिभ्सले हरायो भन्ने थियो । माल्दिभ्सलाई त हामीले एकदमै डिफरेन्समा हराएका थियौँ पहिला । तर श्रीलङ्कालाई माल्दिभ्सले हरायो भन्दा माल्दिभ्ससँग सेमी फाइनल त्यति सजिलो छैन, हामीले त्यति सहज भएर हेर्न मिल्दैन भनेर सोचेका थियौँ ।’

फस्र्ट क्वार्टरदेखि नै आफूहरुले राम्रो स्कोर गरेको, त्यसमाथि आफूहरुको खेल पनि निकै राम्रो भएको उनले बताइन् । यति हुँदाहुँदै पनि आफूहरु उक्त खेलमा निकै आत्तिएको उनले बताइन् । ‘त्यो खेल निकै टफ थियो । भित्र जाँदा त कहिलेकाहीँ त ‘लस्ट’ (हराएको जस्तै) नै हुने के । के भइरहेको छ, केही थाहा नै नभएकोजस्तो । जितेपछि चाहिँ त्यो हाम्रो फाइनल जस्तो लागेको थियो ।’

‘भारत भनेको त पावर हाउस नै हो । फाइनलमा निकै डर लागेको थियो, र पनि त्यति सजिलै जित्न नदिने भनेर खेल्यौँ । तर हार्दा पनि त्यस्तो चित्त दुखेको छैन । किनभने उनीहरु फिजिक वाइज, लेभल नै निकै राम्रो छ । त्यसका लागि चाहिँ हामीले निकै मिहिनेत गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

एक दिन पनि टिकेन पदक जितेको खुसी

साग समापन भएको भोलिपल्ट नै खेलाडीहरुका लागि सरकारले आकर्षक प्याकेज घोषणा गर्ने खबर आयो । पुरस्कार घोषणा गर्ने भनेर सबै खेलाडीलाई प्रधानमन्त्री कार्यालय बोलाइएको थियो । आफूहरुले पनि पुरस्कार पाउने कुरामा सदिना र उनका समकक्षीहरु निश्चित थिए र एकदमै खुसी पनि । उनीहरुले कतै सुनेका पनि थिए ‘यसपालि त सरकारले ठूलै प्याकेज दिँदै छ है’ तसर्थ मनमा खुसी र तनमा ऊर्जा लिएर प्रधानमन्त्री कार्यालय पुगँे ।

उपहारको घोषणा गर्दा स्वर्ण पदक जित्नेलाई ९ लाख, दुईवटा पदक जित्नेलाई ११ लाख, रजत पदक बिजेतालाई ६ लाख, कास्य पदक जित्नेलाई तीन लाख दिने भनियो । यो घोषणामा पनि उनीहरु दङ्गदास थिए । तर जब त्यो उपहार इन्डिभिजुअलका लागि हो भनियो तब उनीहरुको उत्साह केही खस्कियो । सोचे, ‘त्यसो भए त टिम गेमलाई त पुरस्कारको राशि त घट्ने भो ।’

त्यसपछि टिम गेमको स्वर्ण पदक बिजेतालाई पाँच लाख दिने भनियो । ‘त्यसपछि केही पनि भनिएन, रजत कहाँ छ, कास्य कहाँ छ, थाहा नै छैन ।’ त्यसपछि त्यहाँ उपस्थित धेरै खेलाडीको चित्त दुख्यो ।

‘पुरस्कार घोषणा अघि हामी सबै टिम निकै खुसी भएका थियौँ । एक खेलाडीको रूपमा हामीले पनि निकै मिहिनेत गरेका थियौँ, छौँ । मैले इन्डिभिजुएल प्लेयरले कम मिहिनेत गरेको र हामीले धेरै गरेको भन्दिनँ । तर, उनीहरुले जति मिहिनेत हामीले पनि गरेका छौँ । त्यसकारण किन पुरस्कार वितरणमा बराबरी गरिएन भनेर सोध्न चाहन्छु,’ उनले मलिनो अनुहार लगाउँदै प्रश्न गरिन् ।

‘टिम गेमको गोल्ड मेडलिस्टका लागि पुरस्कारको घोषणा गरेपछि त रजत र कास्य पनि छ भनेर सोच्नुपर्‍यो नि । हामीलाई पनि आशा लाग्छ नि । पैसा पाउने कुरा होइन तर हामीले त्यत्रो दुःख गरेपछि प्रेरित गर्नका लागि केही न केही त गर्न पर्‍यो नि,’ उनले कडा भएर भनिन् । 

सरकारले गर्ने यस्तै ‘सौतेनी’ व्यवहारका कारण नै खेलाडीहरु विदेश भासिन बाध्य भएको उनी निष्कर्ष निकाल्छिन् । ‘केही पाउँछ भनेर सबैले सोचिरहेका हुन्छन् नि । केही नपाउँदा नै ‘अब त जाने नै हो’ भनेर बाहिर जाने त हुन् नि । मलाई अरु गेमबारे थाहा छैन तर बास्केटबलमा हामी प्रत्येक खेलाडीले मोटिभेसनको पार्ट चाहिँ जिरो नै पायौँ के,’ आक्रोशित भावमा उनले भनिन् ।

हुन पनि पदक त सबैले दुःख गरेरै पाएका हुन् । पदक आफ्नो पोल्टोमा पार्न अर्को पक्षसँग खेलाडीले ‘फाइट’ गरेकै हुन् । त्यसको उचित मूल्याङ्कन नहुँदा सदिना साँच्चै नै आक्रोशित छिन् र यो जायज पनि छ ।  आक्रोशका बीच पनि आफूहरुको मूल्याङ्कन सही ढङ्गले हुनेमा आशावादी छिन् । निराशाबीच पनि उनले आशा मारेकी छैनन् । सायद त्यही भएर त उनी राष्ट्रिय टोलीकी कप्तान छिन् ।

सुधार गर्नुपर्ने क्षेत्रः

बास्केटबल खेलमा सुधार गर्नुपर्ने मुख्य कुरा भनेको सदिनालाई पूर्वाधार नै लाग्छ  । उनका अनुसार पूर्वाधारले नै धेरै कुरा प्रभावित पारिरहेको हुन्छ । ‘खेलाडीहरुका लागि खेल्ने ठाउँ नै छैन भने उनीहरुले कहाँ गएर पर्फम गर्ने हो, मलाई थाहा छैन,’ उनले भनिन् ।

‘साउथ एसियन गेम्सकै कुरा गर्नुपर्दा हाम्रो आफ्नै कोर्ट, रङ्गलामा अरू देशले झैँ हामी गेम भएकै दिन मात्रै खेल्न गएका हौँ । हाम्रो एक पटक पनि इन्डोर तालिम भएन । हामीले दुई महिना धरानमा तालिम गर्‍यौँ । त्यसपछि सेनाको कोर्ट दिनुभयो, त्यहाँ खेल्यौँ । त्यसपछि खेल सुरु भएपछि सीधै रङ्गशालामा नै हो,’ कुराको पोयो तन्काउँदै उनले भनिन् ।

सबैभन्दा चित्त नबुझ्ने कुरा भनेको त बास्केटबलको स्तोरन्नतिका लागि  कसैले पनि मुख नफोर्दा हो भन्ने लाग्छ । ‘हामीले जतिखेर पनि भाषणमा फुटबलका लागि स्टेडियम बनाइदिने, भलिबलका लागि स्टेडियम बनाइदिने भन्ने सुन्छौँ तर बास्केटबलका लागि कहिले कुरा गर्ने ?’ उनी आफ्नो क्षेत्रको पनि तत्काल विकास होस् भन्ने चाहन्छिन् ।

‘हामी के सधैँ अरूकै कोर्टमा खेल्ने हो त ? हाम्रो लागि पनि केही गरियोस् न । बास्केटबलले पनि यसपालि त राम्रो गर्यो । फर्स्ट गेम इन्ट्रीमा नै यस्तो गर्नु भनेको त धेरै राम्रो हो नि, होइन त ?,’ उनी हामीमार्फत् आफ्नो कुरा सुनिश्चित गर्न चाहिन्छन् ।

कसरी बाँच्ने खेलाडीहरु ?

खेलाडीले क्याम्प हुन्जेल प्रत्येक दिनको हिसाबले भत्ता पाउँछन् । खेल हुँदा पनि त्यसै गरी भत्ता नै पाउने हो । तर त्यसपछि केही पनि छैन । ‘त्यसपछि म मेरो स्कुलको काम गर्छु,’ उनले भनिन् ।

सबै खेलाडीहरुले आफ्नो आधारभूत आवश्यकता परिपूर्तिका लागि अरू काम वा व्यवसायमा नै निर्भर हुनुपर्छ । कतिपय जागिरे खेलाडीको साग कै कारण नै जागिर गुमिसक्यो । सागका लागि पाँच महिनाको क्याम्प भयो । पाँच महिना छुट्टी दिने संस्था त विरलै हुन्छन् ।

‘कुनै पनि संस्थाले आफूलाई घाटा हुने गरी कर्मचारी राख्दैन नि त । पाँच महिना छुट्टी दिनु भनेको उनीहरुले पनि त घाटा खाइरहेको छ नि । त्यो भनेको त हाम्रा लागि त घाटा नै हो नि । खेलाडी भएपछि के पाउँछौ त ? तपाईंहरु आफै भन्नु न । जागिर पनि छैन । भत्ता आउने भनेको गेम खेलुन्जेल मात्रै हो । त्यसपछि त केही छैन,’ उनले लेग्रो तान्दै भनिन् ।

भविष्यमा बास्केटबल कोचिङ गर्छु

उनले बास्केटबलबाहेक अरू केही पनि सोचेकै छैनन् । अवकाश पाएपछि आफूले  कोचिङ नै गर्ने उनले बताइन् । कोचिङका लागि उनी पूर्ण रूपमा तयार छिन् । जर्मनी गएर लाइसेन्स पनि लिइसकेकी छिन् । यो हासिल गर्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

यति अग्ली अनि राम्री हुनुहुन्छ, कहिले सुन्दरी प्रतियोगितामा जाने सोच आएन भन्ने मेरो अर्को प्रश्नमा उनले सन् २००८ मा मिस टिनमा प्रतिस्पर्धा गरेको सुनाइन् । उनले लजाउँदै भनिन्, ‘म सन् २००८ मा मिस टिनमा गएकी थिएँ । मैले मिस टिन बेस्ट पर्सनालिटी पनि पाएकी थिएँ ।’

उनलाई पहिला अफरहरु आउँथे र अहिले पनि आउँछ । उनी समय समयमा फोटोसुटहरु गरिरहेकै हुन्छन् तर त्यसपछि प्रतिस्पर्धामा नै जाने सोच नआएको उनले बताइन् ।

Special Thanks : HotMug Barista, Norkhang Complex, Jawalakhel Lalitpur

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 24, 2019, 5:26 a.m. Devendra lal Shrestha
    You are paving the path. One day when you'll look back and see lot many others are following, then that will be your biggest reward. Keep walking, our love and support is always with you
  2.  0 Reply
  3. Dec. 18, 2019, 8:09 p.m. gobinda shrestha
    आज यो स्थान, प्रसिद्धि र सफलता हासिल गर्ने मार्गमा नेपाललाई देख्नु भनेको यस्तै सदिना श्रेष्ठ जस्तै , जल परी गौरिका सिंह र सबै बिजेताहरुले र खेलाडी सबैको होस्टे हैंसेले नेपालले दोश्रो स्थान प्राप्त गर्न सकेको छ , यो अति नै खुसीको र गर्व गर्नु पर्ने बेला हो | खेल जगतले खेललाई मात्र र खेलाडीलाई मात्र चिनाउने होइन देशलाई चिनाउछ अनि ति देशहरु संग हाम्रो देशको सदभाव , माया , गासिन पुग्छ अनि राजनीतिमा पनि न्यानो आयाम थपिन पुग्छ | एक घरमा ३ भाइ छोराहरु छन् त्यसमा एउटाले गोल्ड मेडल पाएछ , अर्कोले दोस्रो अनि क्रमश तेस्रो , उनीहरुको यौटा साथि पनि रहेछ उसले केहि पनि पाएनछ भने मेडल्वालालाइ मात्र पुरस्कार दियो भने मेडल नपाउने त हिस्स हुने भयो , मनोबल गिर्ने भयो उसको मनोबल उठाउन र खेल जगतलाई अगाडी बढाउन सरकार वा सबै तिर बाट खेलाडीहरुलाई आर्थिक रुपले खिन्न बनाउनु हुन्न सान्तवना स्वरुप हौसला बढ्ने बाटो प्रदान गर्नु पर्छ , जसले जिते पनि सबै खेलाडीहरुको भूमिका उत्तिकै रहन्छ , नेपालमा खेल खेलेर मात्र खेलाडीहरुलाई बाच्न गाह्रो छ , बाच्नै मुस्किल भएपछी प्रगति कसरि हुन्छ ? यी कुराहरुलाई मनन गरि प्रधान मंत्री ज्यू बाट सबैलाई काख गरियोस , जित्नेलाई काख र हार्नेलाई पाख नगरुँ हौसला बढाउने र आर्को पटक प्रथम स्थान हात पार्ने गरि गर्ने बाटो पनि बनाइ दिउँ ,,खेलाडीहरुको आँखामा आँसु छचल्कि रहेको छ खस्न नदिउँ येही छ कामना !प्रधान मन्त्रीज्यूको सुस्वास्थ्यको लागि पनि शुभकामना !
  4.  0 Reply
  5. Dec. 18, 2019, 9:47 a.m. Kalavati Paudel
    सदिनाको कुरा एकदम ठिक हो । मेहनत सबैको हुन्छ । उनीहरूलाइ प्रोत्साहन गर्नुको साटो ह्युमेलेट गरिएको छ । महिला भलिबल टिम पनि पनि निकै उत्कृष्ट थियो । उनीहरूको गेम निकै गर्व गर्न लायक थियो । फाइनलमा भारतलाइ ५ राउण्डसम्म लैजान बाध्य पारेको हो । लगभग जित्यो भनेको गेम दुर्भाग्यबस हार्न पुग्यो र हामी पनि रून मन लाग्यो । त्यति उच्च मनोवल, लगन र मेहनतका साथ उपबिजेता भएको महिला भलिबल टिमलाइ केहि गरिएन । एकजनालाइ व्यक्तिलाइ ५९ लाखसम्म दिने, पूरै लगनका साथ भिडेको उपबिजेताका टिमलाइ १ रूपैयां पनि नदिने । यो अचाक्ली नै हो ।
  6.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.