ब्यान्डको नियति : चर्चामा ‘फ्रन्टम्यान’, ओझेलमा अन्य
हिट्स नेपाल प्रालिले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न १६ वटा विधामा नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय अनुहारहरुलाई पुरस्कृत गर्यो ।
हिरो २३औँ हिट्स एफएम म्युजिक अवार्डमा सविन राई एन्ड द फ्यारो ब्यान्डले तीन विधामा अवार्ड हात पार्यो ।
सविन राई एन्ड द फ्यारोको ‘धन्यवाद’ नामक एल्बमले सर्वोत्कृष्ट समूह गायन, सर्वोत्कृष्ट रक गायन र सर्वोत्कृष्ट पप रक सङ्गीत सिर्जना विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको हो ।
तीनवटै अवार्ड थाप्न सविन राई आफ्ना ब्यान्डका अन्य पाँचजना सदस्यसहित मञ्चमा उक्लिए । त्यहाँ ब्यान्डका ६ जना सदस्यको उपस्थिति अपरिहार्य थियो किनभने अवार्ड एउटा सिङ्गो ब्यान्डले पाएको थियो ।
ब्यान्ड भन्ने बित्तिकै एउटा समूहलाई चित्रित गर्छ । एउटा ब्यान्डमा प्रत्येक सदस्यको भिन्न जिम्मेवारी हुन्छन् । त्यो जिम्मेवारी वहन गर्न प्रत्येकले आफ्नो रगत पसिना बगाएका हुन्छन् । ब्यान्डलाई उचित स्थानमा पुर्याउन सबैले आ–आफ्नो स्तरमा दिनरात नभनी मिहिनेत गरेका हुन्छन् । त्यसकारण ब्यान्डको कुरा आउँदा कुनै पनि सदस्यले आफूलाई पाखा गरेको सहन सक्दैनन् ।
यहाँ यस्तै भएको छ । सन्दर्भ, माथि उल्लेखित हिट्स एफएम म्युजिक अवार्डको कार्यक्रम । एउटा पत्रिकाले उक्त अवार्ड कार्यक्रमको समाचार सम्प्रेषणका लागि हेडलाइन लेख्यो ‘सविन राई र ब्यान्डले तीनवटा अवार्ड जित्यो’ । हुन त तीनवटा विधामा ह्याट्रिक त सविन राई एन्ड फ्यारो ब्यान्डले हानेको थियो । तर हेडलाइनमा ब्यान्डका फ्रन्टम्यानको नाम मात्र उल्लेख गरियो । यो प्रचलन कुनै नौलो होइन । सायद पत्रकारले पनि त्यही पुरानै शैली अपनाए ।
कुनै कार्यक्रम गर्न, गीत निकाल्न, म्युजिक भिडियो सार्वजनिक गर्न ब्यान्डका प्रत्येक सदस्यको त्यति नै समय, मिहिनेत, अभ्यास, लगनशीलता, धैर्यता खर्च भएका हुन्छन् जति ब्यान्डका फ्रन्टम्यानको हुन्छ । तर बिडम्बना के छ भने यहाँ चर्चा गायकको मात्रै हुन्छ । गायकको लागि त यो परिपाटी ठिकै होला तर अन्य सदस्यका लागि के यो जायज हो त ? पक्कै पनि होइन ।
कतिले यो परिपाटीलाई ‘अब यस्तै त छ’ भनेर चित्त बुझाउने गर्छन् । अहिलेसम्म त यो विषयमा खासै कसैले आवाज उठाएको पनि देखिएको छैन । तर मूलधारको पत्रिकाले नै आफूलाई बेवास्ता गरेको कुरा सविन राई एन्ड फ्यारो ब्यान्डका सदस्यलाई चित्त बुझेन, त्यसैले यसबारे मुख फोरेका छन् ।
तस्विर : फेसबुक
ब्यान्डले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो असन्तुष्टि पोखेका छन् ।
‘हामीले खासमा यसो गर्न चाहेका थिएनौँ तर साङ्गीतिक क्षेत्रमा यसबारे आवाज उठाउनुपर्छ भन्ने ठानेर यति लामो पोस्ट लेख्दै छौँ,’ पोस्टको सुरुमा भनिएको छ ।
‘हामीलाई लाग्छ यो विषयमा कुरा उठाउनै पर्छ । हाम्रा लागि मात्रै होइन, सङ्गीतकर्ममा लागेका सम्पूर्णका लागि । हामीले सविन राई एन्ड फ्यारोलाई विगत चार वर्षदेखि सामूहिक रूपमा प्रतिविम्बित गर्दै आएका छौँ । हामीमध्ये कसैको त सविन दाइसँग १० वर्ष लामो सहकार्य छ । हामी समूह हौँ र एउटा ब्यान्ड हौँ,’ उक्त पोस्टमा भनिएको छ ।
‘ठूला मिडिया आउटलेट÷पत्रिकाले आफ्नो लेखको हेडलाइनमा ब्यान्डको पूरा नाम नलेखी ‘द ब्यान्ड’ मात्र लेखेको देख्दा निकै पीडा भएको छ । यसले सङ्गीतकर्मीलाई निरुत्साहित गर्छ र हामीले यत्ति धेरै मिहिनेत गर्दा पनि हामीलाई कम महत्त्व दिइएको महसुस हुन्छ ।’
‘हामी नयाँ ब्यान्ड हौँ, सबै दर्शकले हामीलाई चिन्नु हुन्न र यो जायज पनि हो तर एक पत्रकार भएको नाताले हामीलाई के लाग्छ भने केही आर्टिकल लेख्नुअघि रिसर्च गर्नु तपाईंको दायित्व हो । जब पाठकले यस्तो आर्टिकल पढ्नुहुन्छ तब उहाँहरुले पनि ब्यान्डलाई क्रेडिट दिन बिर्सनु हुन्छ । यसो हुँदा हामीले ब्यान्डलाई जुन स्थानमा पुर्याउन मिहिनेत गरेका छौँ, त्यो सबै खेर जान्छ,’ ब्यान्डले आफ्नो असन्तुष्टि यसरी पोख्यो ।
‘गीतमा सविन राई एक्लैले मिहिनेत गर्ने होइन, यसमा अनिगिन्ती व्यक्तिको संलग्नता हुन्छ । यद्यपि, फ्यारोले ब्याकग्राउन्डमा मात्रै काम गरेको होइन, सामूहिक रूपमा प्रोजेक्टका लागि सबैको उत्तिकै योगदान हुन्छ,’ ब्यान्डले भनेको छ । ‘सबैको आआफ्नै जिम्मेवारी हुन्छन् । यदि तपाईं अनुसन्धान गर्न चाहनुहुन्न, राम्रो र सही आर्टिकल लेख्न चाहनुहुन्न भने हाम्रो बारे कृपया केही पनि नलेखिदिनुहोस् । तपाईंले यहाँ ‘सविन राई एन्ड द ब्यान्ड’ भनेर लेखिदिँदा यसले ती सबै परिश्रमी सङ्गीतकर्मीलाई तिरस्कार गरेको छ । हामीले केही उद्देश्य राखेर नै ब्यान्डको नाम सविन राई एन्ड द फ्यारो राखेका हौँ । यस्तो चाहिँ भएन है ।’
यस्तो परिपाटी टम्बलविड इङ्क ब्यान्डका गितारिस्ट तथा श्री ३ ब्यान्डका फ्रन्टम्यान एवं गितारिस्ट शरद श्रेष्ठलाई पनि ठीक लाग्दैन । एउटा ब्यान्डमा भएपछि फ्रन्टम्यानको जति चर्चा हुन्छ, त्यो चर्चा अन्य सदस्यको पनि हुनुपर्ने उनको मान्यता छ । यसबारे शरद श्रेष्ठले भने, ‘यस्तो परिपाटी गलत हो । त्यो सफलता सविन एक्लैको होइन । यो टिमवर्क हो । ब्यान्डको नाम त मेन्सन हुनैपर्छ नि । ब्यान्डमा सबैको मिहिनेत उत्तिकै हुन्छ । गल्ती त भएकै हो ।’
‘ब्याकअप ब्यान्ड लिएर हिँड्ने गायकहरुका लागि यो लागू नहुन पनि सक्छ तर ब्यान्डकै रूपमा मिहिनेत गरिरहेकाहरुको कुरा गर्दा भने गायकको मात्रै होइन, अन्य सदस्यको पनि नाम त आउनै पर्छ नि,’ उनले भने ।
आफ्नो टम्बलविड इङ्क ब्यान्ड स्थापना भएको सुरुवाती समयमा पोखरामा एउटा कार्यक्रम आयोजना हुँदा आयोजकले ब्यान्डको नाम अगाडि शरद श्रेष्ठ राखेको घटना उनले रातोपाटीसँग साझा गरे ।
यो परिपाटी परिवर्तन गर्नका लागि मिडियाले पनि ब्यान्डलाई बलियो समर्थन गर्नुपर्ने श्रेष्ठको धारणा छ । ‘मिडियाले सही जानकारी दिए मात्रै सर्वसाधारण सचेत हुने हो ।’
यद्यपि शरद यो पारिपाटीका अपवाद हुन् । उनी जुन ब्यान्डमा आबद्ध भए, फ्रन्टम्यानभन्दा उनी नै बढी चर्चित भए । यसो त श्री ३ ब्यान्डमा उनी फ्रन्टम्यान नै हुन् ।
यस्तै, नेपाली म्युजिक इन्डस्ट्रीका जिप्सी ज्याज पायोनियर हरि महर्जनले यो परिपाटीमा बिस्तारै परिवर्तन आइरहेको बताएका छन् । ‘पहिला मानिसहरु गीत मात्र सुन्ने गर्दथे । त्यसैले गायकहरु चर्चित भए । तर अहिले दर्शक श्रोताको केमा रुचि छ, उहाँहरु आफैले सम्बन्धित व्यक्तिलाई फलो गर्ने गर्नुहुन्छ । ब्यान्डका अन्य सदस्यहरु ओझेलमा परेको कुरालाई नकार्न सकिन्नँ तर यसमा बिस्तारै परिवर्तन आइरहेको छ ।’
यस्तो परिपाटी परिवर्तन गर्नका लागि ब्यान्ड आफै पनि लामो समयसम्म प्रतिबद्ध हुनुपर्ने महर्जनको धारणा छ । ‘कुनै ब्यान्ड अथवा प्रोजेक्टलाई लामो समयसम्म अघि बढाउन सफल भएको खण्डमा दर्शक श्रोताले ब्यान्डका सबै सदस्यलाई चिन्नु हुन्छ । यसको लागि धैर्य गर्नुपर्छ । म आफैलाई पनि यसका लागि धेरै समय लाग्यो ।’
तर ब्यान्डमा भइसकेपछि एकजनाले यति पायो, मैले पनि त्यति नै पाउनुपर्छ भनेर सोच्नु गलत भएको महर्जन ठान्छन् । ब्यान्डमा भएपछि भीडले कुन गीत÷सङ्गीत कति सुन्यो भन्ने कुरालाई आधार बनाएर आफ्नो सफलताको मापन गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै ब्यान्ड १९७४ एडीका पर्कसनिस्ट संजय श्रेष्ठले भने यो परिपाटी नेपालमा मात्रै नभई संसारको जुनसुकै कुनामा पनि यस्तै भएको बताए । ‘ब्यान्डको स्वर भोकलिस्ट हुन् त्यसैले पनि उनीहरु अन्य सदस्यभन्दा चर्चित त भइहाल्छन् ।’ यसलाई उनले स्वाभाविक रूपमा लिएका छन् ।
तर पत्रकारहरुले कुनै आर्टिकल वा समाचार लेख्दा आधिकारिक नाम नै लेख्नुपर्ने संजयको धारणा छ । सविन राईको ब्यान्डको नाम ‘सविन राई एन्ड द फ्यारो’ हो । यो कुरा त एउटा सङ्गीत पत्रकारलाई त थाहा हुनुपर्छ नि । यो हेलचेक्र्याइँ हो । यो लेख लेख्ने व्यक्तिले गायकलाई मात्र नभई यसमा संलग्न सबैलाई क्रेडिट दिनुपर्छ ।’
यस्तै, द स्याडोज नेपालका फ्रन्टम्यान स्वप्निल शर्माले ब्यान्डका अन्य सदस्य पनि फ्रन्टम्यान जत्तिकै चर्चित हुन लायक भएको बताउँछन् । उनले भने, ‘धेरैजसो ब्यान्डमा गायकलाई नै मुख्य व्यक्तिका रूपमा लिइन्छ तर यस्ता ब्यान्ड पनि छन्, जसमा अन्य सदस्यले पनि मुख्य भूमिका निर्वाह गरिरहेका छन् ।’
यसका लागि उनले नेपालकै अल्बाट्रस र अन्डरसाइड ब्यान्डको उदाहरण दिएका छन् । ‘यदि तपाईंले निकै ध्यान दिएर सुन्नुहुन्छ भने नेपालको ब्यान्डको अवस्थाबारे थाहा पाउन सक्नुहुन्छ । गायक पक्कै पनि ब्यान्डका एक्ला चर्चित व्यक्ति होइनन् । यहाँ उदाहरण दिएर कुरा गरौँ । अल्बाट्रस जस्तो ब्यान्डले आफ्ना प्रत्येक सदस्यलाई त्यत्तिकै महत्त्व दिएको छ । अन्डरसाइडकै कुरा गरौँ, उनीहरुको पनि प्रत्येक सदस्यबीच निकै घनिष्ठ सम्बन्ध छ ।’
यसका साथै स्वप्निलले आफ्नो ब्यान्ड ‘द स्याडोज नेपाल’बारे कुरा गर्दै भनेका छन्, ‘हामी एउटा ब्यान्डका रूपमा पछिल्लो २५ वर्षदेखि निरन्तर काम गर्दै आएका छौँ । ब्यान्डका सदस्यमा केही परिवर्तन भए, गायक नै परिवर्तन पनि भएको छ । त्यसकारण यहाँ गायकको मात्र कुरा होइन सिङ्गो ब्यान्डको कुरा हो ।’
‘यसमा कुनै शंका छैन, लिरिक्स जसले गाउँछ, उसलाई दर्शकले याद गरिरहेका हुन्छन्,’ एउटा गीत बनाउनलाई प्रत्येक सदस्यको उत्तिकै सहभागिता हुने भएकाले गायकलाई मात्रै महत्त्व दिनु नहुने स्वप्निलको धारणा छ । ‘तर मिडिया, सर्वसाधारण र श्रोतले गायकको नाम लिएर पूरा ब्यान्डको परिचय दिन खोज्नु निकै अचम्म, अनुचित र पूर्वाग्रह हो ।’
यसमा मिडियाले निकै सावधानी अपनाउनुपर्ने स्वप्निलले बताएका छन् । यसका लागि स्वप्निलले बुँदागत रूपमा केही कुराहरु त्याग्नुपर्ने बताएका छन् ।
१. अन्तर्वार्तामा गायकलाई मात्रै बोलाउनु
२. गायकको मात्रै प्रशंसा गर्नु
३. नाम भन्दा वा लेख्दा गल्ती गर्नु, जस्तै हाम्रो ब्यान्डलाई पनि स्याडोज मात्रै भनिन्छ । हामी द स्याडोज नेपाल हौँ ।
४. र स्वप्निल शर्मा द स्याडोज नेपाल होइन, हामी पाँच सदस्य भएको एउटा ब्यान्ड हौँ ।
यस्तै कर्मा ब्यान्डका गिटारिस्ट बासुदेव श्रेष्ठले पनि परिपाटी त्यस्तै भए पनि अब यसमा परिवर्तन हुनुपर्ने बताएका छन् । ‘साधारण व्यक्तिले गीत सुन्दा, म्युजिक भिडियो हेर्दा गायकलाई मात्र हेर्ने गर्छन् । तर सङ्गीतमा जो गम्भीर हुनुहुन्छ उहाँहरुले सबैलाई याद गरिरहनुभएको हुन्छ ।’
ब्यान्डमा आफ्नो पनि उत्तिकै भूमिका हुँदा आफू पछाडि बस्नुपर्दा, कतै जाँदा आफ्नो परिचय दिनुपर्दा चाहिँ वासुदेव श्रेष्ठको मन खिन्न हुन्छ रे । यति भनिसक्दा उनले यसमा पनि आफ्नो बानी परिसकेको स्पष्ट पारे ।
ब्यान्डका अन्य सदस्यलाई पनि उत्तिकै चर्चित बनाउनमा मिडियाको महत्त्वपूर्ण हात भएको बासुदेव ठान्छन् । ‘यसमा मिडियाको ठूलो भूमिका हुन्छ । ब्यान्डका अन्य सदस्यलाई पनि उहाँहरुले बिर्सनु भएन । उहाँहरुले आफ्नो तर्फबाट केही गरे त दर्शकले थाहा पाउने हो, चिन्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका प्रभावशाली बलर टिम साउथीको सन्न्यास घोषणा
-
कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
-
कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने
-
सामुदायिक समाजवाद भनेको के हो ?
-
लोक सेवा आयोगको सहयोगमा त्रिविका उपप्राध्यापक पदको लिखित परीक्षा हुँदै
-
दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टको नाममा आयो सरकारी सूचना