केन्द्रीय संस्करण
संगीत

ह्या, यिनीहरु गाइने त हुन् नि...

चिया पसलमा जन्मेको सपना – ‘कुटुम्ब’

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

ब्यान्डका बाँसुरीवादक रुबिनकुमार श्रेष्ठसँगको कुराकानीपश्चात् बुधबार दिउँसो झम्सिखेलस्थित मोक्षमा साढे एक बजे भेट्ने निश्चित भयो । शनिबार आयोजना हुन लागेको १९७४ एडीको कन्सर्टमा ब्यान्डले पनि लगभग तीनवटा गीतमा ‘कोल्याबोरेशन’ गर्दै छ । त्यसैका लागि कुटुम्ब ब्यान्ड र १९७४ एडीका सबैजना एउटै कोठामा बसेर जोडतोडका साथ अभ्यास गरिरहेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा कुटुम्ब ब्यान्डको विशिष्ट पहिचान, योगदान र स्थान छ । नेपाली मौलिक बाजागाजालाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने अभियान थाप्लोमा बोकेर अघि बढिरहेको कुटुम्बको यहाँसम्मको यात्रा सहज भने थिएन । यहाँसम्म आइपुग्न ब्यान्डले कैयन समस्या झेलेको छ । थाप्लोमा तारे भीर बज्रँदा पनि कहिल्यै नआत्तिएको र आफ्नो अभियानबाट बिमुख नभएको यो ब्यान्डबारे जानकारी बटुल्न रातोपाटीका हामी उत्साहित थियौँ ।

हामी पुगिसकेको जानकारी फोनमार्फत् दिइसकेकी थिएँ । आधा घण्टाको समय लाग्ने खबर आयो । त्यसको लगभग पाँच मिनेटपछि मोक्षकै प्राङ्गणमा रहेको कर्मा कफीमा बसिरहेका हामीमाझ हँसिलो मुहार लिएर एक व्यक्तिले हात मिलाउन अघि बढ्दै भने, ‘हेल्लो, म अरुण गरुङ, कुटुम्बको ब्यान्ड म्यानेजर ।’

उनीसँग अनौपचारिक कुराकानी चल्यो । त्यसै क्रममा उनले ब्यान्डका कुरा खोतल्न थाले । ‘ब्यान्ड कसरी स्थापना भयो ?’ भन्ने प्रश्नको जवाफ आफूहरुले धेरैपटक थुप्रैलाई दिइसकेकोले अब त यसको जवाफ उनले रेकर्ड नै गर्न चाहेको बताए । ‘कसैले यो प्रश्न सोधिहाले (देब्रे हातले टेप रेकर्डको झैँ आकार दिँदै दायाँ हातको चोर औँलाले थिचेको जस्तै देखाएर) ‘ठ्याक्कै टेप रेकर्ड अन गर्ने अनि, ल सुन्नहोस्’ भन्नुपर्ला,’ उनले ठट्यौली पारामा भने । उनले सायद हामीले चाँही यो प्रश्न नसोधोस् भनेर सूचक दिएका थिए ।

अरुणको यो ठट्टाको सिलसिला लगभग एक घण्टाको कुराकानीको दौरान चलि नै रह्यो । अरुणसँग कुराकानीको क्रम चलिरहेकै बेला ब्यान्डका अन्य सदस्य पनि आइपुगे ।

हामीलाई ब्यान्ड कसरी स्थापना भयो त्यो जान्नु थियो त्यसकारण अरुणले अघि नै यो प्रश्न नसोध्न संकेत दिएता पनि ब्यान्डका संस्थापक सदस्यमध्ये एक पभित महर्जन, जो पर्कसन बजाउँछन्, लाई ब्यान्ड स्थापना  कसरी भयो ? भनेर पहिलो प्रश्न सोध्यौँ ।

चिया पसलमा फुरेको ‘आइडिया’

कुरा सन् २००२ तिरको हो । पभितको प्लस टु भर्खरै सिद्धिएको थियो । उनको विशालबजार र रञ्जनाको बीचको गल्लीमा ‘आरती स्विट्स’ नामको एउटा पसल थियो, जहाँ चिया पिउन ठूलो जमात जम्मा हुन्थे । कम्तीमा पनि ३० जना पसलमा भइरहने । तीमध्ये धेरैजसो पभितका कलेजका र टोलका साथी हुन्थे । कति पसलमा निरन्तर आइरहने भएकाले साथी भएका थिए । त्यतिबेला उनले  संगीतकर्मीदेखि हरेक क्षेत्रका व्यक्तिसँग संगत गर्ने मौका पाए, नौजवानहरु विशेषगरी । केही नयाँ गर्ने जोश जाँगर उत्कर्षमा भएका नौजवान । छलफलकै क्रममा उनीलगायत केही साथीले इभेन्ट कम्पनी खोल्ने निर्क्यौल निकाले । त्यसमा सातजनाको सहमती भयो । आफूलाई पनि रमाइलो हुने र अरुलाई पनि मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कम्पनी खोल्ने निर्णय गरिएको पभितले बताए ।

‘त्यो समयमा इन्टरनेट भन्ने थिएन, फोन पनि खासै चलनचल्तीमा थिएन । मनोरञ्जनका खासै त्यति विकल्प नभएको समय थियो त्यो, त्यसैले हामीले यसलाई मनोरञ्जनको गतिलो विकल्पको रुपमा हेर्‍यौँ,’ पभितले भने । इभेन्ट कम्पनीमार्फत् उनीहरुले पाटन संग्रहालयभित्र शुक्रबार नामको सिरिज सुरु गरे । युनेस्कोद्वारा  विश्व सम्पदा सूची घोषित पाटन संग्रहालयमा अरु विधाका भन्दा ‘इन्स्ट्रुमेन्टल (वाद्यवादन मात्र भएको) शो’ मात्र शोभनीय हुन्थे । त्यसकारण उनीहरुले ‘इन्स्ट्रूमेन्टल आर्टिस्ट’ लाई प्रस्तुती दिन लगाए । उनीहरुको काम भने टिकट बेच्ने, पोस्टर टाँस्नेलगायतका हुन्थे ।

पभितले यो ब्यान्डको नाम निकै हतारमा जुराएका हुन् । त्यतिबेला उनको मुखबाट ठ्याक्कै एउटा शब्दावली निस्किएको थियो ‘वशुधैव कुटुम्बकम’ । यो शब्द धेरैपटक मैले पनि सुनेकी थिएँ । परिभाषा के रहेछ ? गुगल गरेँ, जसमा यो शब्दलाई ‘धर्ती नै परिवार हो’ भनेर परिभाषित गरिएको छ । पछि उनीहरु सबैले लामो नाम नराखेर कुटुम्बमात्र राख्ने निर्णय गरेको पभितले बताए ।

‘त्यतिबेला इन्स्ट्रूमेन्टल आर्टिस्ट भन्यो तर धेरैजसोले ‘इन्डियन क्लासिकल’ बजाउने गर्थे । उहाँहरुलाई नेपाली बाजा बजाइदिन आग्रह गर्दथ्यौँ, निकै गाह्रो गरेर एक–दुईवटा लोकधुन चाहीँ बजाइदिने गर्नुहुन्थ्यो,’ पभितले भने ।

त्यस्ता लोकधुनमा त्यतिबेला दर्शकहरु खुबै रमाएको पभितले बुझे । । तर उक्त सिरिजको दुई वर्ष बितिसक्दा पनि नेपाली मौलिक बाजामा आफ्नै धुन बजाउने कुनै पनि ब्यान्ड आएनन् । त्यसपछि उनीहरु आफैँले ‘हामी आफैँ नै गरौँ न त’ भनेर सन् २००४ को मे ८ तारिखमा ब्यान्डको नाम जुराएर पाटन म्युजियमभित्रै आफ्नो पहिलो प्रस्तुती दिए ।

वशुधैव कुटुम्बकमः

पभितले यो ब्यान्डको नाम निकै हतारमा जुराएका हुन् । त्यतिबेला उनको मुखबाट ठ्याक्कै एउटा शब्दावली निस्किएको थियो ‘वशुधैव कुटुम्बकम’ । यो शब्द धेरैपटक मैले पनि सुनेकी थिएँ । परिभाषा के रहेछ ? गुगल गरेँ, जसमा यो शब्दलाई ‘धर्ती नै परिवार हो’ भनेर परिभाषित गरिएको छ । पछि उनीहरु सबैले लामो नाम नराखेर कुटुम्बमात्र राख्ने निर्णय गरेको पभितले बताए ।

साथी सर्कल– सबैभन्दा ठूलो गहनाः

ब्यान्डका सबैभन्दा नयाँ सदस्य किरण नेपाली हुन्, जो ब्यान्डका सारंगीवादक हुन् । तर उनी नै ब्यान्डमा भित्रिएको ११ वर्ष बितिसक्यो । उनी अघि अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, रुबिन कुमार श्रेष्ठ, सिद्धार्थ महर्जनले ब्यान्डलाई अघि बढाइरहेका थिए । सुरुमा ब्यान्डमा सातजना सदस्य थिए । दुईजना बाँसुरीवादकमध्ये एकजना विदेश गएको पभितले बताए ।

त्यतिबेलाको साथी सर्कललाई पभित आफ्नो गहना ठान्छन् । उनले भने, ‘त्यतिबेला हाम्रो गहना भनेको नै साथीहरुको सर्कल थियो के । कसैले केही गर्‍यो भने सबैले समर्थन गर्ने भावना हुन्थ्यो नि त ।’ आफ्नो पहिलो कार्यक्रमको टिकटको मूल्य डेढ सय रुपैयाँ राखेर  सबै साथीहरुलाई नै बेचेको उनले बताए । उक्त कार्यक्रममा २ देखि ३ सय युवा साथीहरु आफ्नो शो हेर्न आएको उनले स्मरण गरे । डिस्को जाने, रक बजाउने साथीहरुले पनि आफ्नो ब्यान्डको पहिलो प्रस्तुती मन पराएको र उनीहरुले नै ब्यान्डको प्रस्तुतीलाई निकै भिन्न र यसलाई अघि बढाउनुपर्ने सल्लाह दिएपछि आफूहरुको आत्मबल बढेको उनले बताए । उनले भने, ‘साथीहरुको प्रतिक्रिया र सल्लाहलाई आत्मसाथ गरेर त्यसको दुई महिनाभित्र पाटन म्युजियममा हामीले चारवटा कार्यक्रम गर्‍यौँ ।’

उनीहरु लगभग चार वर्षसम्म यही काम अघि बढाउन तल्लीन भए ।

टेक्निकल्ली फिनिसिङ साउन्ड कस्तो आउँथ्यो, कसैलाई थाहा थिएनः

सुरुमा त ब्यान्डले यति लामो यात्रा तय गर्ला भनेर सोचेका पनि थिएनन् । पभितले भने, ‘सुरुमा कस्तो हुँदो रहेछ त ? गरी हेरौँ न त, भनेर हामीले एक्सपेरिमेन्ट गरेका थियौँ ।’

उनीहरुले बजाउने मौलिक बाजाको आवाज स्पिकरमा कस्तो आउँछ भनेर कसैलाई पनि थाहा थिएन । पभितले भने, ‘तुङ्गनालाई भित्ताबाट झिकेर सारङ्गीजस्तै ट्युन गरेर पहिलो पटक जब स्टुडियोमा बजाइयो, त्यो साउन्ड सुनेर हामी सबै असाध्यै मख्ख परेका थियौँ ।’

पहिलो शो गरेपछि चाँही उनीहरुलाई शृङ्खलाबद्ध रुपमा एकपछि अर्को कार्यक्रमका लागि निम्तो आइरह्यो । भलै त्यो पैसा आउने शो थिएनन् । ब्यान्डले थुप्रै फन्डरेजिङ कार्यक्रमलाई सहयोग गर्नुका साथै आफैँले पनि थुप्रै फन्डरेजिङ कार्यक्रमको आयोजनासमेत गरेको छ ।

‘नेपाली लोकभाखालाई कसरी अगाडि बढाउने भनेर हामीमाझ चुनौती चाँही थियो । नेपाली बाजालाई लाइमलाइटमा कसरी ल्याउने त ? त्यो पनि चुनौती थियो,’ उनले भने ।

जसरी रक आर्टिस्ट, कन्सर्टहरुले राम्रो प्लेटफर्म पाउँछन्, त्यसरी नै  बाजा बजाउनेहरुका लागि पनि त्यस्तो प्लेटफर्म कसरी सृजना गर्ने भनेर उनीहरु पछिल्लो १० वर्षदेखि लागिपरेका छन् ।

सम्भावना नभएको क्षेत्रः

सुरुसुरुमा उनीहरुलाई बजाउन निकै गाह्रो भयो । पढे लेखेकाहरुलाई बुझाउन पनि निकै गाह्रो हुन्थ्यो । सांगीतिक क्षेत्रमै आबद्ध भएकाहरुले पनि यसलाई सम्भावना नभएको क्षेत्र भन्ने गरेको पभित सम्झन्छन् । ‘यस्ता संगीत कि त होटलमा बज्थे, कि त कुटनीतिक क्षेत्रमा मात्र बज्थे । नेपालको इतिहासमा इन्स्ट्रुमेन्टल ब्यान्डलाई टिकट बेचेर शो गराउने  हामी पहिलो ब्यान्ड हौँ । त्यसकारण इतिहासमै नभएको कुरा गर्न हामीलाई कति गाह्रो भयो होला ?,’ उनले प्रश्न गरे ।

मानिसहरुले नबुझ्ने, सम्भावना नभएको क्षेत्र भनेर हतोत्साहित गरिदिने त्यसमाथि राजनीतिक अस्थिरताको चेपुवामा, सुरुवाती दिन उनीहरुका लागि कष्टकर थिए । पभितले भने, ‘त्यस्तो बिघ्न गाह्रो खेपिसकेका हामी अहिले जतिसुकै ठूलो समस्यामा पनि आत्तिदैनौँ ।’

‘हुन त नेपालभरी नै बाजा बजाउनेहरुलाई ‘दमाई’ नै भनिन्छ । तर त्यतिबेला यदि सबैले वाहवाही गरेको भए यहाँसम्म आइपुगिँदैनथ्यो होला,’ पभितले हाँस्दै भने । अहिले त्यो प्रतिक्रियालाई उनीहरुले सकारात्मक तरिकाले नै हेरेका छन् ।

यस्तो कार्यक्रममा रमाइलो हुन्छ र ?

उनीहरुको सबैभन्दा ठूलो समस्या भनेको दर्शकले नबुझिदिनु हो । ‘धेरैले ‘इन्स्ट्रुमेन्टल पनि हुन्छ र ? त्यस्तो कार्यक्रम पनि हुन्छ र ? रमाइलो हुन्छ र ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो किनभने यो पूर्ण रुपमा नयाँ अवधारणा थियो,’ पभितले भने ।

तर मानिसहरुले यस्तै प्रतिक्रियामा पनि उनीहरुलाई रमाइलो लाग्थ्यो किनभने उनीहरुको कार्यक्रम पछि मानिसहरुको सोचाई र अवधारणा परिवर्तन भएको जो सुन्न पाउँथे ।

उनीहरुले काठमाडौँमा धेरै प्रस्तुती दिए । त्यसपछि गाउँगाउँमा गएर बजाउनुपर्ने आवश्यक ठाने र त्यतैतिर लागे । पभितले भने, ‘यो बाजा धेरैजसो गाउँतिर नै बजाइने गरिन्छ । हामीले उनीहरुकै ठाउँमा गएर उनीहरुकै बाजा बजाएर देखाउँदा उनीहरुको मनमा जुन प्रकारको आत्मविश्वास वृद्धि भएको (यो त हाम्रै बाजा हो, हामीले पनि यस्तै गर्न सक्छौँ, ल यसरी गरौँ भनेर जुन नयाँ सोच आउँथ्यो) देखेर चाँही हामीलाई खुब रमाइलो लाग्थ्यो ।’

‘ह्या... यिनीहरु गाइने त हुन् नि’:

ठमेलमा एउटा कार्यक्रममा बजाउन जाँदा आफूहरुमाथि गरिएको प्रतिक्रिया पभित कहिले पनि बिर्सदैनन् । उनले भने, ‘हामी ठमेलमा एउटा फन्डरेजिङ कार्यक्रममा बजाउन जाँदा हामीलाई ‘ह्या....यिनीहरु गाइने त हुन् नि,’ भनिएको थियो । बाजा बजाउनेहरुलाई जुन प्रकारको हेय दृष्टिकोणले हेरिन्थ्यो त्यो निकै पीडादायी थियो । ’

‘हुन त नेपालभरी नै बाजा बजाउनेहरुलाई ‘दमाई’ नै भनिन्छ । तर त्यतिबेला यदि सबैले वाहवाही गरेको भए यहाँसम्म आइपुगिँदैनथ्यो होला,’ पभितले हाँस्दै भने । अहिले त्यो प्रतिक्रियालाई उनीहरुले सकारात्मक तरिकाले नै हेरेका छन् ।

‘मानिसहरुमा यस्तो अवधारणा कसरी विकास भयो त ? सारङ्गी बजाउनेहरु जहिले पनि कुना च्यापेर विरहका गीतमात्र गाउँछन् भन्ने सोच मानिसहरुमा थियो । र यसरी गीत गाउनेहरु धेरै पीडित हुन्छन् र कुनामा नै बसेर गाउनुपर्छ भन्ने अवधारणा विकसित भयो । तर एक दुई जनाले त्यो संगीत बजाएर अर्को चरणमा पुर्‍याएपछि, यसरी पनि बज्दो रहेछ है भन्ने कुराहरु आयो । किरण आएदेखि सारङ्गीलाई स्ट्यान्डमा राखेर बजाएपछि सारंगी बजाउने सबैजनाको हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । पछिल्लो १० वर्षमा कति धेरै सारङ्गी बजाउनेहरु आउनुभएको छ । नन गन्धर्वबाटै कतिले सारङ्गी बजाउने भएका छन्, ’ पभित भन्छन् ।

यु नेभर नो ह्वाट्स गन ह्यापनः

अहिलेसम्मको यो यात्रालाई ब्यान्डले एक प्रकारको ‘एड्भेन्चर’ को रुपमा हेरेको छ । यसलाई अर्थ्याउँदै पभित भन्छन्, ‘एड्भेन्चर भनेको चाँही, यु नेभर नो ह्वाट्स गन ह्यापन । आफ्नो गन्तव्य के हो पनि थाहा हुँदैन । तर त्यहाँ पुगिसकेपछि पनि एक प्रकारको रमाइलो हुन्छ । त्यो चुनौती त यहाँसम्म आइपुग्दा पनि छ नै ।’

संगीत उनीहरुको रुचीको विषय थियो । ब्यान्डका सदस्यको ब्यान्डबाहेक अन्य क्षेत्रमा पनि काम थियो त्यसैले पनि उनीहरुलाई आर्थिक रुपमा ब्यान्डलाई अघि बढाउन गाह्रो भएन ।

वेस्टर्न ब्याकग्राउन्ड भएकोले सोचाइको परिधि फराकिलोः

सुरुवाती अवस्थामा ब्यान्डका सबै सदस्य सिक्ने क्रममा नै थिए । त्यसकारण उनीहरुका लागि सबैकुरा नौला थिए । पभितले किरणलाई इंगित गर्दै भने, ‘उनले चाँही सारंगी बजाउनु अघि गितार बजाउँथे । कुटुम्बमा आउँदा उनलाई सारंगी अलिअलि मात्र बजाउन आउँथ्यो । त्यस्तो रिफाइन चाँही थिएन ।’

किरणमात्रै होइनन्, ब्यान्डका धेरैजसोको कथा उनीजस्तै छ । उनीहरुमध्ये कसैको पनि मेजर इन्स्ट्रुमेन्ट नेपाली बाजा थिएन । पभितले भने, ‘म व्यावसायिक रुपमा किबोर्ड बजाउँथे । तुङ्गना बजाउने साथीहरु गितार बजाएर गीत गाउँथे । सबैको वेस्टर्न ब्याकग्राउन्ड नै थियो । त्यही कुरालाई हामीले एक्सप्लोर गर्दै गयौँ ।’

किरणले भने, ‘सारंगी बजाउँछु भनेर कहिले पनि सोचेको थिइनँ । बुवाले बजाइरहेको देख्थेँ । एकदिन अचानक बजाएँ र आफैँले सिकेँ पनि । पभित दाइ पनि पहिला किबोर्ड बजाइरहेको मान्छे, ब्यान्डमा मादल बजाउनुहुन्छ । हामीलाई स्वाद भिन्न लाग्यो र मिठो पनि । मैले सारङ्गी बजाउँछु, रुबिनले बासुरी, पभित दाइले धिमे र पर्कसनहरु बजाउनुहुन्छ, राजु दाइले पर्कसन, सिद्धार्थले मेटल पर्कसन, अरुण दाइले तुङ्गना बजाउनुहुन्छ । राम्रो कुरा के हो भने हामी वेस्टर्न म्युजिकबाट आयौँ । त्यसपछि हामीले फोक इन्स्ट्रुमेन्टहरु एक्सप्लोर गर्न थाल्यौँ त्यसैले गर्दा हाम्रो सोचाइको परिधी फराकिलो भएको हो ।’

यदि पहिले देखि नै त्यहि धार समातेर आएको भए, सायद आफूहरुले परिवर्तनको चाहना नराख्ने किरणको अनुमान छ । ‘पहिला जस्तो थियो त्यही हुनुपर्छ भनेर ढिपी पनि कस्थ्यौँ होला । तर हामी एउटा म्युजिकको ब्याकग्राउन्डबाट आयौँ र अर्को म्युजिकमा छिर्यौँ, अब चाँही केही एक्सप्लोर गरौँ, केही खोजौँ भन्ने भयो । त्यसैले पनि हामीले धेरै एक्सपेरिमेन्टहरु गर्यौँ । त्यसरी नै हामी अगाडि बढेका हौँ,’ किरणले निकै अत्मविश्वासी लवजमा फरर भने । 


कोक स्टुडियोको योजना, कुटुम्बले परिवर्तन गरिदियोः

कोक स्ट्डियो पाकिस्तानका लागि कसरी चाँजोपाँजो मिल्यो ? हाम्रो अर्को प्रश्न थियो । यसका लागि कोक स्टुडियोले नै सम्पर्क गरेको बासुरीबादक रुबिनले बताए । यसबारे थप विवरण दिँदै ब्यान्डका म्यानेजर अरुणले भने, ‘ कोेक स्टुडियोले नेपालबाट घण्टी (बेल्सहरु) रेकर्ड गर्ने भनेर गुगल सर्च गरेछ । कुटुम्बले नेपाली इन्स्ट्रुमेन्ट बजाउँछ भनेर गुगलमै देखेछन् ।  कतिले कुटुम्ब ‘माइट बी द राइट ब्यान्ड’ भनेर सिफारिस पनि गरेछन् । बेल्सहरु र यहाँको मौलिक धुन खोज्दा उनीहरुलाई बाँसुरी र सिद्धार्थले बजाउने बेल्सको इफेक्ट मन परेछ, त्यसपछि उनीहरुले एउटा ट्र्याक नै रेकर्ड गरौँ भनेर प्रस्ताव पठाए ।’

‘उनीहरुको योजना अर्कै थियो तर यहाँ आएर कुटुम्बलाई भेटेपछि उनीहरुको सोच परिवर्तन भयो,’ अरुणले मिठो मुस्कानसहित जानकारी दिए ।

सुरुवाती अवस्थामा ब्यान्डका सबै सदस्य सिक्ने क्रममा नै थिए । त्यसकारण उनीहरुका लागि सबैकुरा नौला थिए । पभितले किरणलाई इंगित गर्दै भने, ‘उनले चाँही सारंगी बजाउनु अघि गितार बजाउँथे । कुटुम्बमा आउँदा उनलाई सारंगी अलिअलि मात्र बजाउन आउँथ्यो । त्यस्तो रिफाइन चाँही थिएन ।’

अरुणको भनाइमा थप्दै रुबिनले भने, ‘उनीहरुले एउटा प्लेन ट्र्याक पठाए, जसमा साधारण बिटहरु मात्र थिए । यो नेपालमा नै रेकर्ड र सुट भएको हो । ट्र्याक थियो, हेडफोन लगाएर ट्र्याकमा म्युजिक सुन्दै बजाएका थियौँ । पछि चाँही उनीहरुले म्यासअप गरेका हुन् । त्यतिबेलासम्म कसले गाउँछ भनेर पनि थाहा थिएन । कस्तो आउँछ भन्ने पनि थाहा थिएन । आइसकेपछि चाँही ‘ए यस्तो राम्रो आएछ है’ भन्ने चाँही भयो ।’

यसबारे पभित भन्छन्, ‘यी बाजाहरु पहिलेदेखि नै राम्रा थिए । तर नेपालीहरुले यसलाई राम्रो भनेर मूल्यांकन गरेका थिएनन् । जब विदेशीले राम्रो भने तब नेपालीले पनि ‘ए राम्रो पो हुँदो रहेछ है’ भनेर प्रतिक्रिया दिन थाले । जब कुटुम्बले कोक स्टुडियोमा बजाउने मौका पायो मानिसहरुमा ‘ए हाम्रो बाजा पनि त्यहाँ पुग्यो है’ भनेर एक प्रकारको गर्व त थियो नै, यस्ता बाजा बजाएपछि अन्तर्राष्ट्रिय ख्याती कमाइन्छ भन्ने धारणा पनि विकसित भएको छ ।’

पभितको भनाइमा अरुणले पुनः थप्छन्, ‘यतिमात्र होइन, प्लेइंग फर चेन्ज नामक फाउन्डेशनमा कति धेरै नेपाली बाजा बजेका छन् । र अहिले ग्लोबलाइजेशनको समयमा कोल्याबोरेशनको काम धेरै हुन्छ । बिस्तारै विदेशी मार्केट पनि नयाँ संगीत, नयाँ साउन्डको खोजीमा जुट्न थालिसक्यो के । हामीले नै धेरै अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिसक्यौँ । जसका कारण नेपाली साउन्ड बिस्तारै अन्तरराष्ट्रिय बजारमा फैलिरहेको छ । यति हुँदा हुँदै पनि त्यस्ता थुप्रै परिचित प्रोजेक्ट हुन्छन् जसले नेपाली संगीतलाई धेरै नै बुस्ट गरिरहेको छ ।’

कम्पनी रजिस्टर्ड ब्यान्ड हौँ, सरकारलाई कर तिर्छौँः

पभितले आफूहरु पहिले देखि नै देउसी खेलेको झैँ पैसा बाँड्दै नहिँड्ने बताए । उनले भने, ‘हामी आएको पैसा जति सबै जम्मा गरेर राख्छौँ । अहिलेसम्म हामी सबै मासिक तलबमा नै छौँ । सबैजना बराबर छौँ । सम्भवतः हामी यस्तो पहिलो ब्यान्ड हौँ जो कम्पनी रजिस्टर्ड ब्यान्ड हो । हामी सरकारलाई कर पनि तिर्छौं ।’

पैसाका लागि ब्यान्डलाई भार दिएका छैनौँः

पभितले ब्यान्डले स्थापना गरेको सुरुवाती पाँच वर्षसम्म पैसा नै नबाँडेको बताए ।  त्यतिबेला आफूहरुको अन्य काम पनि भएको उनले बताए । उनले भने, ‘कसैले पढाउनुहुन्छ, कतिको आफ्नो फ्यामिली बिजनेस छ । अहिले पनि हामीले पैसाका लागि ब्यान्डलाई बोझ दिएका छैनौँ । आजकाल एउटा मात्र काम गरेर पुग्दैन, दुई तीनवटा त गर्नै पर्छ । ’

अहिले ब्यान्डका सदस्य सबैको आफ्नो समयलाई कसरी विभाजन गरेर ब्यान्डलाई दिने भन्नेमा केन्द्रित भएको पभितले बताए । उनले भने

एक अर्काको कमी औँल्याउन छोड्यौँः

ब्यान्डभित्र ‘इगो क्ल्यासेज’ कसरी म्यानेज गर्नुहुन्छ ? हाम्रो अर्को प्रश्नमा म्यानेजरले भने, ‘यो कुरा चाँही मैले म्यानेज गर्ने होइन, यो एक अर्कालाई बुझ्ने कुरा हो । अहिले १५ वर्ष भइसक्यो, यो लामो यात्रामा हामीले एक अर्कालाई राम्रोसँग बुझिसक्यौँ ।’

यसैमा पभितले थपे, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने कसैको पनि कमजोरीलाई हामीले औँल्याउन छोड्यौँ । हामीले सधैँ एकअर्काको बलियो पक्षलाई मात्रै ध्यान दियौँ । हामीले सबैको बलियो पक्ष चिनिसकेका छौँ । ’

नेपाली बाजालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने मुख्य उद्देश्यः

ब्यान्डका म्यानेजर भर्खरै फिनल्याण्डमा आयोजित वर्ल्ड म्युजिक एक्सपोमा भाग लिएका फर्केका छन् । यो ब्यान्डको ठूलो उपलब्धिमध्येको एक भएको पभितको भनाई छ । उनले भने, ‘ संसारभरीका संगीतकर्मीहरुसहित तीन हजारको उपस्थिती भएको  उक्त म्युजिक एक्सपोमा नेपालजस्तो विकाशशील देशले प्रतिनिधित्व गर्न पाउनु नै बिग डील हो ।’

पभितले थपे, ‘अन्तर्राष्ट्रिय स्तरमा पेनिट्रेट गर्न निकै गाह्रो छ । हाम्रो म्यानेजर त्यहाँ गएर आए । यसको सबै खर्च हामी आफैले गरेका हौँ । तर हामीले आफ्नो खल्तीबाट पनि जोडेका होइनौँ  शो गरेर, टिकट बेचेर, क्राउड फन्डिङ गरेर ५–६ लाख पैसा जम्मा गरेका हौँ । यसो गरेर हामीले आफूले आफैलाई परीक्षण पनि गरेका हौँ । अहिले अब फर्केर आएपछि चाँही यसरी पनि काम गर्न सकिन्छ है भन्ने आत्मविश्वास पलायो ।’

‘हामी नेपालीहरु अरुले गर्देला अनि गरौँला भन्ने सोच हुन्छ । जहिले पनि सरकारलाई दोष दिने, केही दिएन भन्छौँ । हुन त हामीले सरकार, पर्यटन बोर्डलाई पनि धेरै अप्रोच गरेका थियौँ । सबैले हुन्छ त भने तर हामी उनीहरुले गर्छन् नै भनेर ढुक्क भएर बसेनौँ ।  हामीसँग सीप छ । त्यही सीप बेच्यौँ ।’

पभितले नेपाली वाद्यवादकलाई अन्तरराष्ट्रिय स्तरमा कसरी चिनाउने र प्रस्तुत गर्ने भनेर आफूहरु सधैँ चिन्तनशील भएको बताएका छन् ।

यसका लागि आफूहरुले नेटवर्किङको पनि काम गरिरहेको उनले बताए । आफूहरुले बजाउने मात्रै होइन, सिकेको कुरालाई पनि अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्याउन सकिन्छ भनेर नेटवर्किङ विकसित गरिरहेको उनले बताएका छन् ।

एकले थुके सुकी धेरैले थुके नदीः

आफूजस्तै नेपाली बाजागाजा बजाउने देख्दा कस्तो महसुस हुन्छ ? यो प्रश्नको जवाफमा पभितले भने, ‘एक समयमा आएर हामीले सोचेको पनि त्यही हो । हामीलाई फलो गर्ने, यसरी बजाउनेहरु पनि आउन् भन्ने हाम्रो चाहना थियो । हामीले पनि कसैलाई देखेर–सुनेर नै सिकेका हौँ नि त ।’

कुटुम्बको अस्तित्व सबैले बुझ्न थालेकोमा पभितलाई खुसी लाग्छ ।  ‘‘एकले थुके सुकी धेरैले थुके नदी’ भनेझैँ यो क्षेत्रमा धेरैले काम गरे, यो पनि कुनै न कुनै दिन परिवर्तन भएरै छोड्छ,’ पभितले आत्मविश्वासका साथ भने ।

हामीले पनि यो क्षेत्रमा हाम्रो इच्छा पूरा गरेका हौँ । हामीलाई त नेपाली बाजा मनपर्यो र हामीलाई झैँ अरुलाई पनि नसुनेसम्म मन पर्दैन भनेर यसलाई सुनाउनुपर्छ भनेर हामी लागिपरेका छौँ ।

आफूले अहिले गरिरहेको कामलाई अरुले पछि गएर कसरी हेरिदेओस् भन्ने लाग्छ ? यो प्रश्नको उत्तर पभितले तेन्जिङ नोर्गेको उदाहरण दिएर अर्थ्याए । ‘

‘तेन्जिङ नोर्गेले म हिमाल चढेर प्रथम हुनेछु, संसारले मलाई वाहवाह भन्ला भन्ने इखले त हिमाल चढेका थिएनन् होला । उनले सायद यो हिमाल कसरी चढ्ने भनेर विभिन्न मेहनत र अनुसन्धान गरे होलान् । उनले हिमाल चढिसकेपछि मात्रै मानिसहरुले अड्रेस गरेका हुन् नि त । हामीले पनि यो क्षेत्रमा हाम्रो इच्छा पूरा गरेका हौँ । हामीलाई त नेपाली बाजा मनपर्यो र हामीलाई झैँ अरुलाई पनि नसुनेसम्म मन पर्दैन भनेर यसलाई सुनाउनुपर्छ भनेर हामी लागिपरेका छौँ,’ उनले भने ।

नेपालीले नेपाली बाजा, नेपाली संगीत मनपराउन् भनेर आफ्नो भित्री इच्छा भएको उनले बताए । आफ्नो कामलाई कसरी हेरिन्छ त्यो दर्शकको सोचमा निर्भर हुने पभितले बताए । उनका अनुसार मानिसपिच्छे सोच परिवर्तन हुन्छ ।

मानिसहरुको प्रतिक्रिया सुनेर राम्रै काम गरेजस्तो रुबिनलाई लाग्छ । आफूले जे काम गरिरहेको छ, त्यसमा पूर्ण सन्तुष्ट भएको राजु महर्जन पनि बताउँछ । यी दुईको कुरामा ब्यान्डका अन्य सदस्यले सहमती जनाउँदै आ–आफ्ना चित्तमा आनन्दी हाँसोको फूल फुलाउँदै कुराकानीलाई बिट मारे ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...