केन्द्रीय संस्करण
संगीत

रक एण्ड रोलमा ‘क्रान्ति’ ल्याउने ‘इन्जिनियर’

person explore access_timeमाघ ११, २०७६ chat_bubble_outline0

घरको कान्छो छोरो । १२ वर्षको उमेरमा आमा गुमाए । त्यससँगै गुम्यो सच्चा साथी, संरक्षक र सुख–दुःख बिसाउने काख । आमाको इहलिला समाप्त भएपनि चार दाजु र दिदीको संरक्षण र स्नेहमा हुर्किंदै गए । तर २२ वर्षको उमेरमा उनका ‘लाइफलाइन’ मध्येका एक अर्थात् उनका एकजना दाइको देहावसान भयो । उनीमाथि आकाश खस्यो । तर उनीमाथिको बज्रपात यतिमा मात्रै सिमित भएन ।  त्यसपछि प्रत्येक १० वर्षको अन्तरालमा दिदी र अर्को दाइले पनि यो संसारलाई अलविदा भने ।

निकै छोटो आयु बोकेर धर्तीमा पर्दापण गरेका उनका दाइ दिदीको मृत्यु भएपछि उनको जीवनप्रतिको दृष्टिकोण नै फेरियो । र, उनको जीवनप्रतिको त्यहि परिवर्तित दृष्टिकोणले नै उनलाई नेपाली संगीत जगतमा लेजेन्ड (महापुरुष) को रुपमा उभ्याउन सघाएको छ – निकै शानका साथ, शीर्ष स्थानमा छन् ।

हुन त उनको कद नै अग्लो छ । ६ फिट । धेरै युवतीले आफ्नो सपनाको राजकुमारलाई ‘टल, डार्क, ह्यान्डसम’ को रुपमा चित्रित गरेका हुन्छन् । यदि ‘टल, डार्क, ह्यान्डसम’ को कुनै नाम हुँदो हो त उनी त्यही व्यक्ति हुन् । उत्कृष्ट संगीतका सर्जकलाई एउटै नामले परिभाषित गर्ने उनी हुन् रबिन एण्ड द न्यू रेभुलुशनका फ्रन्टम्यान – रबिन तामाङ । 

जन्मे–हुर्के विदेशमा तर मन थियो नेपाली

सन् १९६३ मा ५७ वर्ष अघि उनी सिंगापुरमा जन्मिए । बुवा बेलायती सैनिक थिए । दुई वर्षको सम्झौता हुन्थ्यो । हरेक दुई वर्षमा भिन्न बेलायती उपनिवेश जानुपर्दथ्यो । त्यसैकारण उनको बाल्यकाल कहिले सिंगापुर, कहिले हङ्गकङ्ग, कहिले ब्रुनाई त कहिले बेलायत गरेरै बित्यो ।

बाल्यकालमा आफू निकै चकचके र बदमास भएको उनी बताउँछन् । यसका साथै उनी खेलकुदमा पनि निकै रुची राख्थे, सक्रिय पनि थिए । किक बक्सिङ, फुटबल सबै खेल्थे ।

सिंगापुरमा स्कूलमा पढ्दै गर्दा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलजस्ता रक ब्यान्डहरुको गीत सुन्न थालिसकेका थिए । घरको माहौल पनि संगीतमय थियो । उनीलगायत पाँचजना दाजुभाइ, दिदी बहिनी संगीतका पारखी नै थिए । सबैजना घरमा भेला भएर ज्याम अप गर्दथे । स्कूल पढ्दै गर्दा नै ती फुच्चे रबिन संगीतप्रति आकर्षित भइसकेका थिए । संगीतप्रतिको उनको लगाव दिन दुगुना रात चौगुनाको दरले बढ्दै थियो । त्यसैले स्कूले जीवनमा नै ‘एफ ट्रुप’ नामको पहिलो ब्यान्ड खोले । यसै ब्यान्डमार्फत् उनले स्कूलमा आफ्नो प्रस्तुती दिन्थे ।

रबिनले हाई स्कूल भने हङ्गकङ्गबाट गरे । त्यतिबेला हङ्गकङ्ग बेलायती उपनिवेशअन्तर्गत पर्दथ्यो । त्यसलगत्तै उनी ब्रुनाई गए । त्यहाँबाट विश्वविद्यालय अध्ययनका लागि क्यानडा उडे । क्यानडामा युनिभर्सिटी अफ टोरोन्टोबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे । इन्जिनियरिङ ? अचम्म हुँदै सोधिएको मेरो प्रश्नको जवाफमा उनले भने, ‘म अहिलेको भन्दा निकै फरक जेनेरेशनमा हुर्किएँ । त्यतिबेलाको चलन के थियो भने आमाबुवाले आफ्नो सन्तानलाई कि त डाक्टर, कि पाइलट, कि नर्स अथवा इन्जिनियर बनाउन चाहन्थे । मेरा दाजु र दिदीहरु पनि कोही डाक्टर, कोही  पाइलट त कोही नर्स हुनुहुन्थ्यो ।’

त्यसैले इन्जिनियरिङमा स्नातकोत्तर गरे । इन्जिनियरिङ पेसामा पनि लागे तर काममा उनी कहिल्यै रमाउन सकेनन् । छोटो समयमा नै थाहा पाइहाले – इन्जिनियरिङ उनको रुचीको विषय नै होइन रहेछ ।

त्यसपछि उनले रष्टुरेन्ट खोले, ब्यान्ड सुरु गरे, आफ्नै रेष्टुरेन्टमा आफ्नै ब्यान्डमार्फत् प्रस्तुती दिन थाले । यसरी उनले हाँस्दै, खेल्दै र संगीत सिक्दै क्यानडामा आफ्नो १७ वर्ष बिताए । त्यतिबेलासम्म उनको जीवनकालको ३५ औँ वसन्त पार भइसकेको थियो ।


उनको चित्तको अन्तरमा २२ वर्ष अघि आशाको एउटा जुनकिरी पिलपिल बत्ती बालेर नेपालसम्म आइपुग्यो । जसको प्रकाशले नेपाली संगीतको रक एण्ड रोल जनरा अहिले जगमगाइरहेको छ ।


‘आइडेन्टिटी क्राइसिस’

बुवाको बेलायती सैनिकको जागिर नै त्यस्तै, नेपालमा रबिनले विरलै समय व्यतित गर्न पाए । तसर्थ उनलाई न त नेपालको इतिहासबारे थाहा थियो, न चालचलन, रितिथिती, संस्कृति न त भूगोल नै । तर उनको जीवनमा एउटा यस्तो मोड आयो जब उनलाई आफ्नो ‘जरा’ थाहा पाउन मन लाग्यो, आफ्नै माटोसँग परिचित हुने उत्कट चाहना जाग्यो । अल्पायुमै दाइ, दिदी गुमाएपछि पनि उनलाई विदेशमा ‘आइडेन्टिटी क्राइसिस’ हुन थाल्यो । ‘म एक्लै क्यानडामा थिएँ, परिवारमा बाँकी भएका सदस्य पनि विभिन्न देशमा छरपस्ट । म जन्मे विदेशमा, हुर्केँ विदेशमा । तर जतिसुकै वेस्टर्न सोसाइटीमा रुझे, भिजेपनि मन चाहिँ जहिले पनि नेपाली नै हुँदो रहेछ । तर मन नेपाली मात्रै भएर पुग्दैन । के हो भनेर खोज्दै पनि जानुपर्छ । त्यसकारण म यहाँ आइपुगेँ ।’

आफ्नो परिचय खोज्ने लालचले उनलाई नेपालसम्म डोहोर्‍यायो । यो सन् १९९६ को कुरा हो । सुरुमा उनी तीन महिनाका लागि नेपाल आएका थिए । समय छोटो थियो तर उनको मन मस्तिष्कले सोचिसकेको थियो, ‘ओहो, नेपालबाहेक संसारको कुनै पनि देश मेरा लागि उपयुक्त हुनै सक्दैन, यहाँबाहेक म अन्त कतै रमाउनै सक्दिनँ ।’ त्यसपछि नै क्यानडाको सबै झिटी–गुन्टा बोकेर सधैंका लागि नेपाल फर्किए ।  


संगीत जीवनको अभिन्न अंगः

रबिन संगीतलाई आफ्नो पेशा बनाउन चाहन्थे । उनको मानस्पटलमा एउटै मात्र सपना सजिएको थियो, संगीतकर्मी बन्ने । कतिले आफूलाई मन नपरेको काम गरेर जीवन नै बिताउने गरेको कुराले उनलाई बिझाउँछ । मन रमाउन नसकेको पेशालाई उनले आफूबाट पन्छाउन सके । तर उनका दाइ र दिदीहरुले पन्छाउन सकेनन् । उनी भन्छन्, ‘मेरा तीनजना दाइ दिदीको मृत्यु हुँदा उनीहरु जवान थिए । हुन त कोही डाक्टर भए, कोही पाइलट त कोही नर्स थिए । तर मलाई लाग्छ उनीहरु जीवनमा केही अर्कै कुरा गर्न चाहन्थे । खासमा उनीहरुको भित्री मनमा संगीतकर्मी हुने ठूलो रहर थियो । तर उनीहरुले त्यसो गर्न सकेनन् ।’

त्यसपछि नै उनले के निचोड निकाले भने ‘जीवन त क्षणिक हो, यो नश्वर छ’ त्यसैले भोलि केही हुन अगावै आफ्नो सपना साकार पार्ने । आफ्नो दिल जे कुरामा बसेको छ, त्यसलाई कुनै पनि हालत बहन गर्ने उनले निश्चय गरे । आफ्नो ‘जुनून’लाई मूर्त रुप दिने कुरामा उनले दृढ सङ्कल्प लिए ।

उनको चित्तको अन्तरमा २२ वर्ष अघि आशाको एउटा जुनकिरी पिलपिल बत्ती बालेर नेपालसम्म आइपुग्यो । जसको प्रकाशले नेपाली संगीतको रक एण्ड रोल जनरा अहिले जगमगाइरहेको छ ।


संगीतलाई नै व्यवसाय बनाउँछु भन्नेहरुको चुनौती कति थिए कति । कसरी गर्ने होला भनेर उनी घोत्लिन थाले । अन्तिममा उनले क्यानडाकै स्टाइल अनुसरण गर्ने निधो गरे । नेपाल फर्किएको एक वर्षपछि ठमेलमा ‘ब्याम्बो क्लब’ नामको रेष्टुरेन्ट खोले । उक्त रेष्टुरेन्ट १४ वर्षसम्म चलाए । त्यतिबेला उनले रबिन एण्ड लुजः मार्फत् रेष्टुरेन्टमा प्रस्तुती दिन्थे, हप्ताको दुई पटक । त्यहाँ ‘ओरिजनल म्युजिक’ मात्र बजाउन पाइन्थ्यो । उनको त्यही रेष्टुरेन्टमा अल्बाट्रस, मङ्की टेम्पल, कब वेब, मुक्ति शाक्यले प्रस्तुती दिन थाले ।


‘प्रयास त गरौं न, गन्तव्य निश्चित नभएपनि एकपटक गरी हेरौँ न भनेर सोचेँ । भाग्यवश, २२ वर्ष पुगिसक्यो म अहिलेसम्म यो क्षेत्रमा निरन्तर टिकिरहेको छु,’ गर्विलो आवाज बोकेका रबिनले भने ।  

यदि जीवन इतर ‘टाढाको देश’ बाट आफन्तले के गरिरहेका छन् भनेर चिहाउन मिल्दो हो त रबिनका आमा तथा दाइ–दिदीको छाती गौरवले कति फुल्दो हो । आफ्नो मनको कुनामा विभिन्न जिम्मेवारीले दबाएको सपनालाई कान्छो भाइले साकार पारेको देख्दा  परको लोकमा भएका दाइ–दिदीले कति आशिर्वाद दिँदा हुन् । 

ठमेलमा रेष्टुरेन्ट खोले, मौलिक संगीत मात्रै बजाएः

सन् १९९६ मा उनी नेपाल फर्कंदा संगीतको स्कोप बल्ल सुरु हुँदै थियो । त्यतिबेला ‘रक एण्ड रोल’ संगीत गर्ने खासै कोही पनि थिएनन् । आफ्नो सपना पछ्याउन यसलाई उनले उचित समय ठाने ।

२२ वर्ष अघि नेपालमा संगीतको स्कोप खासै थिएन । उनले भने, ‘ब्यान्डको कुरा गर्नुपर्दा कब वेब, एक्स ब्यान्ड, नमस्ते थिए । १९७४ एडी पनि भर्खरै सुरु भएको थियो । मेनस्ट्रिम रक एण्ड रोलमा ४–५ वटा ब्यान्ड मात्रै थिए ।’

संगीतलाई नै व्यवसाय बनाउँछु भन्नेहरुको चुनौती कति थिए कति । कसरी गर्ने होला भनेर उनी घोत्लिन थाले । अन्तिममा उनले क्यानडाकै स्टाइल अनुसरण गर्ने निधो गरे । नेपाल फर्किएको एक वर्षपछि ठमेलमा ‘ब्याम्बो क्लब’ नामको रेष्टुरेन्ट खोले । उक्त रेष्टुरेन्ट १४ वर्षसम्म चलाए । त्यतिबेला उनले रबिन एण्ड लुजः मार्फत् रेष्टुरेन्टमा प्रस्तुती दिन्थे, हप्ताको दुई पटक । त्यहाँ ‘ओरिजनल म्युजिक’ मात्र बजाउन पाइन्थ्यो । उनको त्यही रेष्टुरेन्टमा अल्बाट्रस, मङ्की टेम्पल, कब वेब, मुक्ति शाक्यले प्रस्तुती दिन थाले । ‘मौलिक संगीतको कुरा गर्ने हो भने ती सबै ब्यान्डले त्यही रेष्टुरेन्टबाट आफ्नो करियर सुरु गरे । अहिले ती ब्यान्डहरु नेपालकै शीर्ष ब्यान्डमध्येमा  पर्दा मलाई औधी खुसी लाग्छ,’ उनको मुहारमा आनन्दी हाँसोको खहरे उर्लियो ।  

रबिन एण्ड द न्यू रेभुलुसनः

सन् २००६ मा रबिनले रबिन एण्ड द न्यू रेभुलुशन नाम दिएर ब्यान्ड खोले । त्यसअघि उनी चार वर्षसम्म रबिन एण्ड लुजः मा आबद्ध थिए । 

नेपाल आएपछि उनी पोखरा गए, त्यहाँ एम्सटरड्याम भन्ने रेष्टुरेन्ट थियो । जहाँ उनको लुजः ब्यान्डसँग भेट भयो । ब्यान्डमा थिए जवान तर निकै क्षमतावान् सदस्य । सुनिथ, रिजु, प्रज्जवल र शरद । त्यसपछि उनले सोधिहाले, ‘तिमीहरु ओरिजिनल म्युजिक गर्न इच्छुक छौ ? म गायक र गीत लेखक हुँ, मेरा केही आफ्नै संगीत र गीतहरु छन् ।’

उनीहरु रबिनको कुरामा असहमत हुन सकेनन् किनभने सबैको उद्देश्य एकै थियो । निकै उत्साहित थिए, निरन्तर अभ्यास गरे । एक वर्षभित्र ‘नेपाल’ नामको एल्बम निकाले । एल्बम सुपरहिट भयो ।

लुजः सँगको चार वर्षको सहकार्य रह्यो । काम गर्ने क्रममा उनले निकै क्षमतावान् तथा राम्रा संगीतकर्मी भेटे । उनले सोच्न थाले ‘लेट मी वर्क विद द बेस्ट अफ द बेस्ट’, ‘लेट मी चेक द बेस्ट म्युजिसियन अफ नेपाल एण्ड वर्क विद देम ।’ त्यसैको आधारमा फोन हान्न थाले । दिपेश सिंह, राजेश खड्गी (उनी अहिले अमेरिकामा छन्), प्रबिन दास श्रेष्ठ (उनी अहिले ब्यान्डमा पुनः आबद्ध छन्, बेस बजाउँछन्)  । त्यतिबेला रबिन हरि महर्जन र निखिलसँग काम गर्न चाहन्थे तर हरि नेपथ्यसँग आबद्ध भएकोले उनले सहकार्य गर्न पाएनन् ।

लुजः बाट रबिन २००५ मा छुट्टिएको एक वर्षपछि नै अर्को ब्यान्ड बनाइहाले रबिन एण्ड द न्यू रेभुलुशन ।  ब्यान्डले नयाँ एल्बम निकाल्यो ‘केटाकेटी’ त्यसले पनि चर्चाको शिखर चुम्यो ।


ब्यान्डको नाममा रेभुलुसन अर्थात् क्रान्ति किन जोड्नुभयो ? मेरो अर्को प्रश्नको जवाफ दिन उनले त्यतिबेलाको नेपालको स्थिती सम्झिए । सन् २००५ ताका नेपालमा गृहयुद्ध चलिरहेको थियो । उनी भन्छन्, ‘सरकार र विद्रोही पक्षले दुबैले उक्त युद्ध नेपालकै लागि गरिएको बताइरहेका थिए । तर वास्तवमा नेपाल राम्रो बनाउने नाममा आफ्नै दाजुभाइको हत्या भइरहेको थियो । यसका लागि त केही गर्नुपर्छ सोचेँ । केही नयाँ क्रान्ति गरौं भन्ने सोचेँ ।’


रबिन एण्द द न्यू रेभुलुसन अहिले २०२० सम्म आइपुगेको छ । यो निकै लामो समयदेखि अघि बढिरहेको छ । बीचमा केही संगीतकर्मी आए, बजाए र बाहिरिए पनि । आफ्नो ब्यान्डको परिचय दिँदै रबिन भन्छन्, ‘रबिन एण्द द न्यू रेभुलुसन इज बेसिकल्ली अ रिभोल्भिङ डोर फर द बेस्ट म्युजिसियन इन नेपाल ।’ रबिन ब्यान्डका अन्य संगीतकर्मीबिना आफ्नो गीतलाई जनतामाझ पुर्‍याउन निकै गाह्रो हुने सोच्छन् । त्यसकारण उनी भन्छन्, ‘ आई सराउन्ड माइसेल्फ विद द बेस्ट म्युजिसियन अफ नेपाल’ ।

हतियार होइन, संगीत चलाउने निर्णयः

ब्यान्डको नाममा रेभुलुसन अर्थात् क्रान्ति किन जोड्नुभयो ? मेरो अर्को प्रश्नको जवाफ दिन उनले त्यतिबेलाको नेपालको स्थिती सम्झिए । सन् २००५ ताका नेपालमा गृहयुद्ध चलिरहेको थियो । उनी भन्छन्, ‘सरकार र विद्रोही पक्षले दुबैले उक्त युद्ध नेपालकै लागि गरिएको बताइरहेका थिए । तर वास्तवमा नेपाल राम्रो बनाउने नाममा आफ्नै दाजुभाइको हत्या भइरहेको थियो । यसका लागि त केही गर्नुपर्छ सोचेँ । केही नयाँ क्रान्ति गरौं भन्ने सोचेँ ।’

उनीसँग भएको एउटै हतियार भनेको संगीत नै थियो उनले त्यहि चलाउने निर्णय गरे । ब्यान्डको नामबाटै क्रान्ति सुरु गर्ने उनले सोचे र नाम जुराए – रबिन एण्ड द न्यू रेभुलुशन ।

भिडियो

के साँच्चै नै क्रान्ति आयो त ? मेरो खुल्दुलीलाई रक एण्ड रोलका जानिफकारले यसरी मेटे, ‘हो, मैले क्रान्ति ल्याएँ । अहिले हेर्नु न संगीतको स्थिती । कस्ता ब्यान्ड छन्, कति राम्रा ब्यान्ड आइरहेका छन् ।’

‘कति ब्यान्डले त विदेश गएर पनि खेल्छन् । हामीले चाँही एउटा स्यान्डर्ड मेन्टेन गर्‍यौं । एउटा व्यावसायिक ब्यान्डले के गर्छ भनेर हामीले सिकायौं । हामीलाई हेरेर ‘अरे म पनि त गर्न सक्छु’ भनेर धेरैले आँट गरे, कोही सफल भए कोही हुन सकेनन् त्यो आफ्नै ठाउँमा छ ।’

नेपाली संगीत क्षेत्रमा रक एण्ड रोलको इतिहास खडा गर्नुमा आफू, आफ्नो ब्यान्डलगायत पुराना ब्यान्डको निकै ठूलो हात भएको उनलाई लाग्छ । उनी भन्छन्, ‘बिकज वि क्रिएटेड अ म्युजिकल रेभुलुसन ।’

‘अहिले मानिसहरुले आफ्नो विचार संगीतमार्फत् व्यक्त गर्न पाउँछन् । पहिला यस्तो पाइँदैन थियो नि । अहिले मानिसहरु संगीत गरेरै मज्जाले जीवनयापन गर्न सक्छन् यो पनि एक प्रकारको क्रान्ति नै हो नि,’ उनले आफ्नो संगीतले गरेको क्रान्तिको परिभाषा यसरी दिए ।

सुरुवाती संघर्षः

संगीतमा लाग्दाका सुरुवाती क्षण निकै संघर्षपूर्ण भएको उनी सम्झन्छन् । त्यतिबेला म्युजिक इन्डष्ट्रि नै नभएको उनी बताउँछन् । ‘जब म यहाँ आएँ, मभन्दा अघि चार पाँच वटा ब्यान्ड थियो । हामीले म्युजिक इन्डष्ट्री क्रिएट गरेका हौँ । त्यतिबेला प्रशंसकहरु पनि रक एण्ड रोल सुन्न निकै भोका थिए,’ उनले भने ।

‘मैले त आफूलाई चाहिने सामानहरु क्यानडाबाट नै ल्याएको थिएँ । मेरा साथीहरु धेरैजसो विदेशमा नै छन्, उनीहरुलाई पैसा पठाएर चाहिने सामग्री मगाएको थिएँ,’ उनले सुरुवाती अवस्थाबारे जानकारी दिए ।


रबिनलाई अहिलेसम्म तीनवटा पुस्ताले सुनिसकेको छ । तर यति पर आइसक्दा पनि आफ्नो दर्शकमा केही पनि परिवर्तन नभएको उनी ठान्छन् । १६ देखि २५ वर्ष समूहका युवापुस्ता उनका अडियन्स हुन् । रबिन एण्ड लुजालाई सुन्ने पहिलो जेनेरेशनहरुको त विवाह भएर बच्चा पनि भइसक्यो । अझ कतिको सन्तानले पनि उनलाई सुनिरहेका छन् । यसमा उनले आफूलाई निकै भाग्यमानी ठान्छन् ।


‘कुनै सामान नहुँदा अर्को ब्यान्डसँग माग्ने चलन थियो । सबै सामान साटासाट हुन्थे तर फिर्ता आउँदा स्पिकरको के हुँदैनथ्यो, कतिको नट हुन्थेनन् । गितारको पिकअप हुन्थेन । तनाव नै हुन्थ्यो नि,’ हाँसोको फोहोरासहित उनले भने ।

मेरा अडियन्स १६ देखि २५ वर्ष समूहका युवापुस्ताः

रबिनलाई अहिलेसम्म तीनवटा पुस्ताले सुनिसकेको छ । तर यति पर आइसक्दा पनि आफ्नो दर्शकमा केही पनि परिवर्तन नभएको उनी ठान्छन् । १६ देखि २५ वर्ष समूहका युवापुस्ता उनका अडियन्स हुन् । रबिन एण्ड लुजालाई सुन्ने पहिलो जेनेरेशनहरुको त विवाह भएर बच्चा पनि भइसक्यो । अझ कतिको सन्तानले पनि उनलाई सुनिरहेका छन् । यसमा उनले आफूलाई निकै भाग्यमानी ठान्छन् ।

६ वर्षपछि आयो मुग्लानः

उनको मुग्लान एल्बमले विदेशमा काम गरिरहेका नेपाली कामदारको अवस्था चित्रित गर्दछ । यसबारे विस्तृत जानकारी दिँदै उनी भन्छन्, ‘विदेशमा काम गरिरहेका नेपाली कामदारले निकै गाह्रो गरी समय व्यतित गरिरहनुभएको छ । फेसबुक स्क्रोल गर्‍यो, कतिजनाको शव बाकसमा ल्याएको देख्छौं । कतिजनाले आफूलाई उद्धार गर्नुपर्‍यो भनेर हार गुहार गरिरहेको देख्न सकिन्छ, तर यति हुँदाहुँदै पनि हाम्रो मुलुकको अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्स प्रवाहलाई मान्ने गरिन्छ । तर हरेक वर्ष सातदेखि ८ सय नेपाली कामदारको मृत्यु हुन्छ,’ उनले भने ।

‘उनीहरुका लागि हामीले केही गर्नैपर्छ क्या । किनभने उनीहरु नेपाली युवा हुन् । हाम्रा प्रशंसकहरु सबैजना विदेशी कामदार भएर गइसक्नुभयो । र मलाई लाग्छ यो ठूलो अन्याय हो । त्यसलाई हाइलाइटमा ल्याउनका लागि मैले मुग्लान गरेको हुँ,’ उनले कुराको पोयो तन्काए ।

ब्यान्डले यसअघि तीनवटा एल्बम निकालिसकेको छ । केटाकेटी, १३ हजार र हाम्रो देश ।

अभिनयको यात्राः

उनी आफ्नो जीवन नै अभिनय ठान्छन् । ‘एक्टिङ इज सिचुएशन इन लाइफ,’ उनले अभिनयलाई यसरी अर्थ्याए ।

‘मेरो जहिले पनि नेगेटिभ भूमिका हुन्छ, मैले पहिला क्लबहरु चलाउने गर्थें, त्यसकारण मलाई सबै दुर्व्यवहारबारे थाहा छ । मैले ती सबै देखेको छु, मैले त्यो जीवन बाँचेको पनि छु । अभिनय मेरो लागि जीवन भोगाइ हो । अभिनयमा मनोभाव मिसाउन सकियो भने त्यो झन् उत्कृष्ट हुन्छ । भाग्यवश, अहिलेसम्म काम पाइरहेको छु त्यसकारण मैले केही राम्रो गरेको हुनुपर्छ भन्ने लाग्छ,’ अभिनयप्रति उनको धारणा यस्तो छ ।

अहिले उनी एमेजन प्राइमसँग पनि काम गरिरहेका छन् । उनले एउटा सिरिज गरिरहेका छन् । यसबारे विस्तृत जानकारी दिँदै उनले भने, ‘उक्त सिरिजको नाम सायद हिन्दीमा हुन्छ होला, त्यसको अंग्रेजी नाम चाहिँ ‘द लास्ट आवर’ हो ।’ पहिलो सिजनको सुटिङ समाप्त भइसक्यो जुन एमेजन प्राइममा अप्रिलतीर प्रसारण हुन्छ । दोस्रो सिजन सेप्टेम्बरबाट सुरु हुने उनले जानकारी दिए ।


संगीतकर्ममा लाग्न चाहनेहरुलाई उनी एउटै मात्र सल्लाह दिन चाहन्छन् – ‘अभ्यास, अभ्यास, अभ्यास ।’ उनी भन्छन्, ‘आजकाल त जो पनि ‘वान डे वान्डर’ हुनसक्छन् । तर निरन्तरताका लागि र आफूले गरिरहेको कुरामा पोख्त हुन तपाईंले अत्यधिक अभ्यास गर्नैपर्छ ।’


छड्के फिल्ममार्फत् डेब्यू गरेका उनले अहिलेसम्म १६ वटा फिल्ममा काम गरिसकेका छन् । उनी संगीत कर्म र अभिनय एउटै पाटो ठान्छन् । तर संगीत उनको ‘पर्सनल इन्साइट’ भएकोले अलि गम्भीर भएको बताउँछन् ।  फिल्मको अफर लगातार आइरहेको र भविष्यमा पनि अभिनय गर्ने सोचमा भएको उनी बताउँछन् । उनी फिल्म नहुँदा गीत गर्छन्, गीत नहुँदा फिल्म, ती दुबै नभए विभिन्न रियालिटी शो पनि गर्छन् । जीवनको ६० औँ वसन्तमा टेक्नै लागेका उनी जोसिला छन्, बाहिरबाट हेर्दा कडा छन् तर भित्र नरम छन् र ह्यान्डसम हङ्कका पर्याय हुन् ।

प्रशंसक मेरा प्रेरणाः

जीवनमा निरन्तर रुपमा अघि बढ्न आफूलाई प्रशंसकले नै प्रेरणा दिने गरेको उनी बताउँछन् । किनभने उनका अनुसार प्रशंसकले उनीबाट धेरै कुरा आशा राख्छन् ।  उनी भन्छन्, ‘मैले उहाँहरुलाई धेरै कुरा सिकाउनु पनि छ । मैले उहाँहरुबाट धेरै कुरा सिक्नु पनि छ । त्यसैले मलाई अघि बढिरहन उत्प्रेरणा दिन्छ । मेरा धेरैजसो प्रशंसकहरुले मेरो ब्यान्ड र रबिन तामाङबाट केही उत्कृष्ट खोजिरहनुभएको हुन्छ । यदि उहाँहरु मैले जे गरिरहेको छु त्यसमा खुसी हुनुहुन्छ भने म पनि उहाँहरुलाई हेरेर निकै खुसी हुन्छु । यसमार्फत् मैलै पैसा पनि त कमाइरहेको छु नि होइन ।’

संगीतकर्ममा लाग्न चाहनेहरुलाईः

संगीतकर्ममा लाग्न चाहनेहरुलाई उनी एउटै मात्र सल्लाह दिन चाहन्छन् – ‘अभ्यास, अभ्यास, अभ्यास ।’ उनी भन्छन्, ‘आजकाल त जो पनि ‘वान डे वान्डर’ हुनसक्छन् । तर निरन्तरताका लागि र आफूले गरिरहेको कुरामा पोख्त हुन तपाईंले अत्यधिक अभ्यास गर्नैपर्छ ।’

उनी संगीतकर्मी हुन चाहनेहरुलाई संगीत सिक्न, गितार सिक्न, ड्रमिङ सिक्न सल्लाह दिन्छन् । आफूले जे गरिरहेको छ त्यसमा पोख्त हुन पनि उनी सल्लाह दिन्छन् ।  उनी अहिले पनि संगीत सिकिरहेको र यो जीवनभरी समाप्त नहुने प्रक्रिया ठान्छन् । यसलाई कहिले पनि समाप्त नहुने प्रक्रियाको संज्ञा दिन्छन् ।

तस्विर : कृष्ण खड्का/फेसबुक

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.