शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लालबाबु राउतको मन्तव्यप्रति भारत पनि बेखुश !

शुक्रबार, ११ जेठ २०७५, १४ : ५६
शुक्रबार, ११ जेठ २०७५

काठमाडौँ –वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएका मन्तव्यको विवाद अझै सेलाएको छैन ।

मुख्यमन्त्री राउतले संविधानप्रति असन्तुष्टि जनाउँदै त्यसका लागि सङ्घर्ष जारी राखेको मन्तव्य भारतीय प्रधानमन्त्री मोदीका अगाडि राखेका थिए । ‘मुख्यमन्त्री राउतले यस्तो मन्तव्य दिँदा मोदीलाई अप्ठ्यारो लागिरहेको थियो ।’ दूतावास स्रोतको दावी छ । 

भारतीय दूतावासका एक कर्मचारीले भने, ‘प्रधानमन्त्री मोदी जनकपुर भ्रमण गरेर मधेसीलाई साथ दिन आउनुभएको थियो, मधेससँगको सम्बन्ध विस्तार गर्न आउनुभएको थियो । मधेसलाई केन्द्रसँग जोड्न आउनुभएको थियो । तर, मुख्यमन्त्रीजीले यस्तो मन्तव्य दिएकि मोदीको पनि आलोचना हुन थाल्यो । यसले नमज्जा लागेको छ ।’

यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले मधेसको नाम नै लिएर राज्यमा समावेशी प्रतिनिधित्वको कुरा उठाएका थिए । त्यतिबेला पनि मोदीको यति आलोचना भएको थिएन, जति आलोचना अहिले भइरहेको छ । 

संसदमा प्रधानमन्त्री ओली : जनकपुरमा मुख्यमन्त्रीले कुटनीतिक मर्यादा उल्लंघन गरे

ती कर्मचारीले भने, ‘प्रधानमन्त्री मोदीले मन्तव्य दिइसकेपछि मात्र मुख्यमन्त्रीजी (लालबाबु) लाई मन्तव्यका लागि भनिएको थियो तर आयोजकबाट विशेष अनुरोध आएपछि मोदीभन्दा पहिले मुख्यमन्त्रीले मन्तव्य दिनुभयो, जो विवादमा आयो ।’

प्रधानमन्त्री मोदी आफ्नो मन्तव्य दिइसकेपछि धन्यवाद ज्ञापन मात्र दिने जिम्मेवारी मुख्यमन्त्रीको थियो । त्यसमा कुनै राजनीतिक कुरा वा अन्य केही भन्ने तयारी थिएन । तर मादीले मन्तव्य दिइसकेपछि मुख्यमन्त्रीको मन्तव्य सुन्न कोही पनि बस्दैन भनेर उनको मन्तव्यलाई अगाडि सारिएको थियो । 

प्रधानमन्त्री मोदी मन्तव्य दिइसकेपछि मञ्चमा बस्ने कार्यक्रम थिएन । मन्तव्य सक्ने वित्तिकै मञ्च पछाडि तयार पारेको भेटघाट कक्षमा गए ।  

दूतावासका तिनै कर्मचारीले भने, ‘हामीले अभिनन्दन कार्यक्रमको हरेक गतिविधिलाई अध्ययन गरेका थियौं, कसले के बोल्नले, अभिनन्दनपत्रमा के लेखिएको छ, त्यो हेर्ने कसैले लिखित मन्तव्य दिन्छ भने त्यो हेर्ने जस्ता कार्य गरेका थियौं तर राउतले लिखित मन्तव्य दिनुहुन्छ भने कसैले चाल पाएको थिएन । उनले मौखिक रूपमा छोटो धन्यवाद ज्ञापन दिने सबैको बुझाइ थियो । दूतावासले पनि त्यतातिर त्यति ध्यान दिएन । जब लिखित भाषण दिन थाले अनि भारतका सबै कर्मचारी अचम्ममा परे तर त्यतिबेला खोसेर लिने पनि कुरा थिएन ।’

मोदीको भ्रमणमा जनकपुर पुगेका दूतावासका ती अधिकारी भनछन्, ‘भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाला, नेपालका लागि भारतीय राजदूत मन्जिम्भसिंह पुरीलगायत व्यक्तिहरूले मञ्च पछाडि राउतका भाषणमाथि टिप्पणी गरेका थिए ।’

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

नेपाल मामिलाका जानकार एवम् इन्डिया फाउन्डेसनमा कार्यरत डा. निहार नायक भन्छन्, ‘मुख्यमन्त्री राउतले बोलेका कुरा नेपालको विल्कुल आन्तरिक मामला हो, यसमा भारतले कुनै प्रकारको टीकाटिप्पणी गर्नुहुँदैन जस्तो लाग्छ । यहाँ दिल्लीमा त्यस प्रकारको कुनै टीकाटिप्पणी छैन ।’

‘मुख्यमन्त्री राउतले राखेका मन्तव्यसँग भारतको कुनै लेनादेना छैन’ उनले भने । 

राउतले राखेको मन्तव्य उनको आफ्नो ठाउँमा ठीक होला, त्यसै विषयलाई टीकाटिप्पणीको विषय बनाउन नहँुने डा. निहार बताउँछन् । 

भारतीय प्रधानमन्त्री मोदीले राजपा नेपाल र फोरम नेपालका नेताहरूलाई हायात होटलमा छुट्टा छुट्टै भेट्दा मुख्यमन्त्री राउतको विषयमा सीधै कुरा नउठाए पनि साङ्केतिक रूपमा त्यस कुरालाई रुचाएका थिएनन् ।

प्रधानमन्त्री मोदीले सानातिना कुरामा नअल्झेर केन्द्रमा पोलिटिकल स्ट्याबलिटी (राजनीतिक स्थिरता) र प्रदेशमा पोल्टिकल युनिटी (राजनीतिक एकता) बनाउन सुझाव दिएका थिए । अर्थात आफ्नो शक्ति निर्माण गर्न उनले सुझाव दिएका थिए । 

केन्द्रीय सरकारसँग मिलेर काम गर्न पनि सुझाव दिएका थिए । शक्तिशाली भएपछि आफै अधिकार प्राप्त हुन्छ भन्ने मोदीको सुझाव थियो ।

पहिलेदेखि आशङ्का

जनकपुरमा भएको अभिनन्दन कार्यक्रमलाई कुनै कुनै रूपमा बिथोल्ने वा होहल्ला गर्ने गराउने अनुमान भारतीय दूतावासले पहिलादेखि नै गर्दै आएको थियो ।

यरोपियन युनियनमार्फत केही न केही हर्कत हुन्छ भनी दूतावासले अनुमान गरिसकेको थियो । त्यही कारणले सुरक्षा अवस्था कडा पारिएको थियो । त्यस अवस्थामा पनि सिके राउतका कार्यकर्ताहरू कार्यक्रमभित्र गएर झण्डा र ब्यानर देखाउन सफल भएको अभिनन्दन कार्यक्रमलाई व्यवस्थित बनाउने कार्यमा खटिएका एक कर्मचारीले बताए ।

दूतावासको बुझाइअनुसार कार्यक्रम विथोल्ने नै योजना थियो । नेपालका लागि युरोपियन युनियनका राजदूत रेन्सजे टिरिन्कले मे १० तारिख अर्थात मोदी आउनुभन्दा एक दिन अगाडि उनले आफ्नो ट्विटरमा एउटा फोटो राखेर विरोध गरेकी थिइन् ।

उनले त्यही दिन आफ्नो ट्विटरबाट त्यो फोटो हटाएर आफ्नो ट्विटर ह्याक भएको जनाएकी थिइन् । त्यति बेलासम्ममा ६९५ जनाले लाइक र ७४५ जनाले कमेन्टस् गरिसकेका थिए ।

त्यसबाट भारत निकै सचेत भएको थियो । 

सिके राउतको कनेक्सन युरोपियन युनियनसँग रहेको कुरा यसअघि पनि चर्चामा आइसकेको छ । युरोपियन युनियनले सिके राउतलाई संरक्षण दिएको समाचारहरू पनि प्रकाशनमा आइरहेका थिए । ती सबै समाचारलाई अध्ययन गरी भारतले कार्यक्रम विथोलिनेसम्मको आशङ्का गरिएको थियो र विथोल्ने प्रयास भयो पनि । 

कार्यक्रम सञ्चालन भइरहकै अवस्थामा झण्डा र ब्यानर देखाउने काम भयो भने नारा लगाउँदा एकछिन भाग दौड पनि भएको थियो ।

यो कारणले पनि भारत खुशी नभएको हो ।   

थप समाचार

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतको टसल : के होला ‘साइड इफेक्ट’ ?

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतबीच अन्तरद्वन्द्वका यस्ता छन् १० शृङ्खला

‘मुख्यमन्त्रीको विदेश भ्रमण रोकेर सरकारले गल्ती गर्यो’

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नुको कारण खोज्ने प्रदेश सरकारको तयारी

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोक्ने अपेक्षित थियो : मुख्यमन्त्रीका सल्लाहकार

२ नम्वर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमणमाथि केन्द्र सरकारको रोक

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप