बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्री बन्न लबिङ तीव्र, राप्रपा र जसपा कुर्दै प्रचण्ड–ओली

मङ्गलबार, १२ पुस २०७९, २० : ४६
मङ्गलबार, १२ पुस २०७९

आज २०७९ पुस १२ गते म‌ंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

राप्रपा र जसपाको निर्णय कुर्दै प्रचण्ड–ओली

नयाँ राजनीतिक समीकरणमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अब शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रको बैठकमार्फत शक्ति सन्तुलनसहितको भागबण्डामार्फत सरकार विस्तारदेखि प्रदेश सरकार गठनको गृहकार्यमा दलका शीर्ष नेताहरू केन्द्रित हुने भएका छन् ।

सन्दीप लामिछाने प्रकरण 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो । 

संसद्‍को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । 

देउवाले बिहीबार बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने रातोपाटीलाई बताए । उनले भने, ‘पर्सी बालुवाटार छाड्छौं । धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेशन हुन्छ ।’ 

मन्त्रीले हेरे मन्त्री क्वाटरको घर

मन्त्री क्वाटरमा बस्नका लागि ५ मन्त्रीले आफू बस्ने घर छनौट गरेका छन् । ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि उनीहरूले घर छानेर सर्ने तयारी गरेका हुन् ।  

मन्त्री बन्ने लबिङ

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापति समेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले मन्त्री बनाउन लबिङ थालेका हुन् । 

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् । 

सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले  बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ । 

बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो ।

दोस्रो दिनपनि नेप्से वृद्धि

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनभए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप