आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटार छाड्न भाडाको घर खोज्दै देउवा

मङ्गलबार, १२ पुस २०७९, ०६ : ००
मङ्गलबार, १२ पुस २०७९

निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् । 

 बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाडिने रातोपाटीलाई जानकारी दिए । 

‘बूढानीलकण्ठको घरमा अहिले रिनोभेसनको काम  भइरहेको छ । नयाँ घर खोज्ने काम भइरहेको छ । एक दुई वटा घरहरु हेरिएको छ । आज फाइनल गर्न सकियो भने बल्ल कहिले सर्ने भन्न सकिन्छ’, परियारले रातोपाटीसँग भने, ‘समयमा सर्नका लागि घर नपाउँदा बालुवाटार छाड्न ढिलो हुने देखियो ।’

मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै उनले सो अवधिमा देउवा भाडाको घरमा बस्ने जानकारी दिए । ‘भनेजस्तो घर भेटिएको छैन । पार्किङदेखि सेक्युरिटीसम्म बस्ने सबै चाहियो’, उनले भने, ‘आज घर कम्फर्म गर्न सकियो भने एक दुई दिनमा सर्न सकिन्छ कि भन्ने हो ।’

निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गरेको थियो । जसका कारण अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो । सत्तामै निरन्तर रहने विश्वासका साथ देउवाले बूढानीलकण्ठको घर मर्मत गर्न लगाएको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप