सत्तामा रविको ‘इन्ट्री’ले साझेदार दलका ‘सिनियर’लाई मन्त्री बन्न सकस
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी सहितका दल मिलेर सरकार गठन हुँदा पुराना दलका ‘सिनियर’ नेतालाई मन्त्री बन्न सकस हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका कारण खासगरी माओवादी केन्द्र र एमालेका सिनियर नेताहरू मन्त्रीको हैसियतमा सरकारमा सामेल हुन अप्ठ्यारो देखिएको हो ।
मन्त्रिपरिषद् गठनका क्रममा एमालेले पहिलो चरणमा पठाएका चार जनामध्ये विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ मन्त्री नियुक्त भएका छन् । उनीबाहेक अन्य तीन जना पार्टीभित्र सरकारमा अनुभवी होइनन् । ज्वाला साह, दामोदर भण्डारी र राजेन्द्र कुमार राईलाई एमालेले मन्त्री बनाएको छ । तीमध्ये ज्वाला यसअघि केपी ओली नेतृत्वको सरकारमा केही दिन मन्त्री भएकी थिइन् । अन्य दुई भने सरकारमा नयाँ अनुहार हुन् ।
एमालेभित्र मन्त्री बन्नका लागि पूर्वमन्त्रीहरु आकाङ्क्षी रहे पनि मन्त्रिपरिषद्मा रवि लामिछानेको ‘जुनियर’ भएर बस्न नैतिक रूपमा कठिनाइ भएको एक पूर्वमन्त्रीले बताए । एमालेमा यसअघि मन्त्री भइसकेकामा कृष्ण गोपाल श्रेष्ठ, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विस्ट, भीम आचार्य, टोपबहादुर रायमाझी, बसन्त नेम्वाङ लगायत छन् । उनीहरूमध्ये अहिले सरकारमा सामेल हुने हो भने वरीयतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेभन्दा तल बस्नुपर्ने हुन्छ ।
उता, माओवादी केन्द्रमा पनि वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतका नेताहरू यसअघि मन्त्री भइसकेका छन् । उनीहरुमध्येबाट फेरि मन्त्री बन्न नैतिक सङ्कट सिर्जना हुने देखिएको छ ।
सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि सरकारमा जाने सवालमा यस्तै नैतिक सङ्कट देखिएपछि सरकार बाहिरै बस्ने मत प्रकट भइरहेको छ । राप्रपामा पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरू यसअघि नै पटक पटक मन्त्री भइसकेका छन् । यीमध्ये कसैले पनि रवि लामिछानेको वरीयताभन्दा तल रहेर सरकारमा सामेल हुन इच्छा जनाएका छैनन् ।
सत्तारुढ गठबन्धनभित्र एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलबाट ‘सिनियर’ नेता तथा यसअघि मन्त्री भइसकेकाहरूले वरीयतालाई आधार मानेर मन्त्री हुन अस्वीकार गरेमा मन्त्रिपरिषद्मा नयाँ अनुहारले प्राथमिकता पाउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी