बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

बिहीबार, २९ मङ्सिर २०७९, २२ : ०४
बिहीबार, २९ मङ्सिर २०७९

आज मिति २०७९ साल मंसिर महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. सत्ता गठबन्धनमा सत्ता बाँडफाँट

सत्ता गठबन्धनभित्र प्रदेशको शक्ति बाँडफाँटबारे छलफल भइरहेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँटबारे छलफल भइरहेको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीको लबिङमा बालुवाटार पुग्ने प्रदेश सांसदलाई गठबन्धनको हिसाब–किताब सुनाउने गरेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार कांग्रेसबाट सातै प्रदेशका मुख्यमन्त्रीका दाबेदार प्रदेश सांसदले देउवासँग भेटवार्ता गरिसकेका छन् ।

२. सरकार गठनको बाटो खुला

 

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन–२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी​ भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् ।

३. अध्यादेश विवाद

 

सर्वोच्च अदालत प्रशासनले  फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ  गरेको छ । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो ।

​नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

 

४. गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्ने बहस

 

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने टिप्पणी गरेका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए ।

 

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।

५. नयाँ पार्टीको होमवर्क

 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरु नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् । बाबुराम पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्। 

​नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।

 

​नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार र बिहीबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो। बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा समानुपातिक मत  वृद्धि भएको निष्कर्ष समेतनिकालेको प्रदेश अध्यक्ष  विमला केसीले बताइन् ।

 

६. सट्टेबाजी गिरोह

 

वानएक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ भइ काठमाडौँको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।​

७. महानगर दिवस

 

काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा  एक कार्यक्रम आयोजना गरि मनाएको छ ।

२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

८. राष्ट्र बैंकको रिपोर्ट

 

नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक अवस्थाबारे चालु आर्थिक वर्षको ४ महिनाको रिपोर्ट सार्वजनिक गरेको छ । बुधबार र्साजनिक रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति .० प्रतिशत रहेको छ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.१२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैग्री संघीय सरकारको खर्च रु.३५१ अर्ब र राजस्व परिचालन रु.२६८ अर्ब ७ करोड रहेकोछ ।  विस्तृत मुद्राप्रदाय १.० प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।

९.क्याबिन क्रूको माग पूरा

 

नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो ।

​साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ ।​

 

१०. यो पनि

 

काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो ।


नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ ।

 

पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यो पनि..

 

 


चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो । आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

​नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।

 

भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप