मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका प्रमुख समाचार

मङ्गलबार, १५ कात्तिक २०७९, २१ : ५८
मङ्गलबार, १५ कात्तिक २०७९

 

आज २०७९ कात्तिक १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

सन्दीप लामिछानेको थुनछेक बहस  बुधबार

क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । 

तोसिमालाई राहत

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो । मेडिकल काउन्सिलको सदस्य रहेकी डा.तोसिमा कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

घोषणापत्रमा आर्थिक विकासका एजेन्डा

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएका छन् । अबको राजनीति विकास केन्द्रित हुने बताइरहेका दलहरूले सो विषयलाई घोषणापत्रमा पनि सामेल गरेका छन् ।

काठमाडौं– ८ को चुनावी चर्चा

आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्‍कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।

गुल्मी–१ मा २०६४ सालदेखिका प्रतिस्पर्धी

गुल्मी क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी पुरानै प्रतिस्पर्धी हुन् । २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका ​ज्ञवाली नेकपा एमालेको उपमहासचिव तथा पटक पटक मन्त्री भएका नेता हुन् भने भण्डारी नेपाली कांग्रेसको महाअधिवेशन उपसभापतिमा उम्मेदवार थिए ।

एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । 

कुन दलको घोषणापत्र कस्तो ?

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

नेप्सेमा हाफ सेन्चुरी क्रस

लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो ।  समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत (२.९९ प्रतिशत) ले बढेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको छ ।

महिला स्वयंसेविकाले भोट हाल्न सिकाउने 

निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म जिल्ला र वडास्तरमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम गर्न लागिएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।


एकैदिन ९ स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्ध परेका उजुरीका आधारमा आज एकैदिन नौ वटा स्पष्टीकरण सोधेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप