शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा निरन्तर चुनाव लड्दै आएकाहरू नै फेरि उम्मेदवार बन्ने तरखरमा

सोमबार, २० भदौ २०७९, ०६ : ३५
सोमबार, २० भदौ २०७९

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि पार्टीहरूको तल्लो कमिटीबाट धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।

दलहरूले उम्मेदवार सिफारिस गरिरहँदा कयौँ नेता यस्ता छन्, जो बारम्बार उम्मेदवार बन्ने अवसर पाएका छन् । यहाँसम्म कि कतिपय नेता ०४८ साल यता विभिन्न निर्वाचनमा उम्मेदवार भएर पनि अझै चुनावी मैदानमै उत्रिने तरखर गरिरहेका पाइन्छन् ।

नेकपा एमालेका नेता गुरु बरालले हालसम्म ५ पटक टिकट पाउँदा एक पटक जितेका छन् । तर, पनि फेरि उनै बराल मोरङ क्षेत्र नम्बर ६ (क)बाट प्रदेश सांसदको उम्मेदवारमा सिफारिसमा परेका छन् ।

२०५१ सालको मध्यावधि निर्वाचनदेखि चुनाव लड्न सुरु गरेका उनी उक्त निर्वाचनमा विजयी बने । त्यसयता २०५६, २०६४, २०७० मा पनि उनले टिकट पाए तर, जित्न सकेनन् । एमाले पार्टीमा लामो इतिहास भएका बरालले २०७८ सालमा भएको राष्ट्रिय सभा सदस्यको टिकट पाएर पनि पराजित बने । बरालले जित्ने समयमा टिकट नपाउने र हार्ने अवस्थामा टिकट पाउने गरेको चर्चा छ ।

​आसन्न निर्वाचनमा सत्ता गठबन्धनको दबदबा हुने चर्चा चलिरहेको बेला एक्लै लड्ने तयारी गरेको एमालेबाट उनले प्रदेशमा टिकट पाउने सम्भावना छ । उनले टिकट पाएर जितेको खण्डमा मुख्यमन्त्री बन्ने सम्भावना पनि छ । तर, हारेमा भने उनको जीवनमा हारको अर्को रेकर्ड बन्नेछ ।

एमालेबाट लगातार जसो चुनाव लड्ने र जित्नेमा पर्छन् लालबाबु पण्डित । पण्डितले २०४८ सालदेखि चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । उनी ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट पराजित बने । तर, ०५६ सालको निर्वाचनमा भने उनले सोही क्षेत्रबाट जिते । ०६४ सालको निर्वाचनमा चुनाव नलडेका उनी समानुपातिक सांसद बने । त्यसपछि उनले २०७४ सालको निर्वाचनमा पुनः उम्मेदवार बनेर विजयी बने । नेकपा एमालेको क्षेत्रीय समितिले पण्डितलाई यस पटक पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

पण्डित र बरालजस्तै कांग्रेसबाट निरन्तर टिकट पाएर अवसर लिने अर्का पात्र हुन् महेश आचार्य । महेश आचार्य २०५६ सालदेखि अहिलेसम्म मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दै आएका छन् । उनले ०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन लडेका छन् । ३० औं वर्षदेखि निरन्तर एउटै क्षेत्रबाट एकै जना व्यक्ति चुनाव लड्दा त्यहाँ कांग्रेसका युवा नेता गुरुराज घिमिरेजस्ता थुप्रै नेताहरु रमिते बन्नु परेको छ । निरन्तर चुनाव लडिरहेका उनी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनसँग पराजित बने पनि अघिल्ला तीन निर्वाचनमा विजयी भएका थिए । राजनीतिमा लागेदेखि सत्ता र सरकारमा निरन्तर रहिरहेका आचार्य २०७४ सालको निर्वाचनपछि भने त्यति चर्चामा छैनन् ।

​२० वर्षयता अर्थात् २०६४ साल यता निरन्तर निर्वाचन लड्नेहरूको ताँती झनै लामो छ । नयाँ शक्तिको रूपमा जनयुद्धबाट उदाएको राजनीतिक पार्टी माओवादीका नेता शिवकुमार मण्डल मोरङको क्षेत्र नम्बर ५ बाट लगातार प्रतिस्पर्धा गरेर विजयी बनिरहेका छन् । यस्तै कांग्रेसका डिगबहादुर लिम्बू, एमालेका घनश्याम खतिवडा, ऋषिकेश पोखरेल, माओवादी केन्द्रका गणेश उप्रेती (सुशील) पनि निरन्तर चुनाव लड्नेमा पर्छन् । लिम्बू, खतिवडा र पोखरेलले सांसदको स्वाद चाखे पनि अहिलेसम्म उप्रेतीले त्यो अवसर पाउन सकेका छैनन् । यस पटक पनि उनी निर्वाचनमा क्षेत्र नम्बर २ को (क)बाट गठबन्धनको उम्मेदवार बन्ने तयारीमा छन् ।

यस्तै एमाले नेता विनोद ढकाल पनि इच्छा गर्दा टिकट पाउने नेता हुन् । उनले ०६४ सालको उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट टिकट पाए पनि पराजित बनेका थिए । त्यस्तै उनले ०७४ सालमा विराटनगर महानगरपालिकाको प्रमुखमा टिकट पाएर पनि पराजित बने । यस पटक उनी मोरङको क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

यस्तै ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेर संसद्को स्वाद चाखेका माओवादी नेता अमनलाल मोदी ०७४ सालमा भने विजयी बनेका थिए । उनी यस पटक पनि मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दैछन् ।

कांग्रेस नेता अमृत अर्याल पनि ०६४ साल यताका हरेक निर्वाचनमा उम्मेदवार बनेका छन् । उनी २०७० सालको दोस्रो संविधानसभामा विजयी बनेका थिए भने पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले उनलाई पराजित गरेका थिए ।

यस्तै ०६४ सालयता निरन्तर चुनाव लड्ने नेता हुन् कांग्रेस नेता डा. शेखर कोइराला । मोरङको क्षेत्र नम्बर ६ बाट ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजय गच्छदारसँग पराजित कोइराला ०६५ सालको उपनिर्वाचनमा भने विजयी बनेका थिए । यस्तै २०७० सालको दोस्रो संविधानसभामा पुनः गच्छदारसँग पराजित बनेका कोइराला २०७४ सालको आम निर्वाचनमा भने लालबाबु पण्डितसँग पराजित बनेका थिए । उनै कोइराला यस पटक पुनः मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप