शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ?

आइतबार, १९ भदौ २०७९, १७ : १२
आइतबार, १९ भदौ २०७९

प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका छन् । अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेदवार सिफारिस धमाधम भइरहेको जनाएको छ ।

क्षेत्र नम्बर १

मोरङको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले नेता घनश्याम खतिवडा विजयी भएका थिए भने कांग्रेसका नेता लिम्बू पराजित भएका थिए ।

लिम्बूले सो क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा भने माओवादी नेता वर्षमान पुन ‘अनन्त’लाई पराजित गरेका थिए । एमालेले भने उक्त क्षेत्रबाट खतिवडाका साथै पूर्व मन्त्री शिवमाया तुम्बाहाम्फे, राजेन्द्र पौडेल, अग्नि भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २

यता, मोरङ क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यका लागि संविधानसभा सदस्य ऋषिकेश पोखरेलको नाम सर्वसम्मतले सिफारिस गरेको छ । पोखरेलले ०७० सालको निर्वाचनमा कांग्रेस नेता आमोद प्रसाद उपाध्यायलाई पराजित गरेका थिए । ०७४ सालको निर्वाचनमा भने वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेललाई कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए । नेपाली कांग्रेसले भने उक्त क्षेत्रबाट रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट गणेश उप्रेती (सुशील)लाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ३

यस्तै नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ । नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । एमालेले भने ढकालको नाम सर्वसम्मत सिफारिस गरेको छ । शर्मा नै कांग्रेसको उम्मेदवार बनेको खण्डमा पुनः ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सो क्षेत्रबाट माओवादी केन्द्रले सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण)को नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४

यस्तै मोरङ क्षेत्र नम्बर ४ बाट एमाले नेता विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । उक्त क्षेत्रबाट यसअघि वाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए । मोदीले कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

यस पटक पनि गठबन्धन भएमा मोदी नै गठबन्धनबाट उम्मेदवार बन्ने छन् । उनको नाम माओवादीले सर्वसम्मत सिफारिस गरिसकेको छ । नेपाली कांग्रेसले भने उक्त क्षेत्रबाट नेता महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ५

यसैबीच मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल विजयी भएका थिए । मण्डलले कांग्रेस नेता अमृत अर्याललाई पराजित गरेका थिए । माओवादी केन्द्रले पुनः सो क्षेत्रमा मण्डलको उम्मेदवारी सर्वसम्मत सिफारिस गरिसकेको छ । यता, सो क्षेत्रबाट नेपाली कांग्रेसले पुनः अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ६

एमालेको निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले मोरङ ६ मा पूर्वमन्त्री लालबाबु पण्डित र प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीको नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए । कांग्रेसले भने उक्त क्षेत्रबाट डा. शेखर कोइरालासँगै डा. डिला संग्रौला, नेता रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस गरेको छ । यता, माओवादी केन्द्रले भने क्षेत्र नम्बर ६ बाट हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप