बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड उदयपुर : क्षेत्र नम्बर १ मा गठबन्धनबाट परराष्ट्रमन्त्री खड्का एक्लो दाबेदार

क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच हानथाप
बिहीबार, १६ भदौ २०७९, २० : ५५
बिहीबार, १६ भदौ २०७९

प्रतिनिधिसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको दाबेदारी मजबुत देखिए पनि क्षेत्र नम्बर २ मा भने गठबन्धनलाई सिट बाँडफाँटमा सकस हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको दबदबाका बीच उदयपुर निर्वाचन क्षेत्र १ बाट कांग्रेस नेता खड्का विजयी भए । खड्का हाल परराष्ट्र मन्त्री छन् । सो क्षेत्रमा कांग्रेसभित्र उनको विकल्पमा कसैले दाबी गरेको छैन । गठबन्धनभित्र पनि उनको विकल्पमा कुनै दलले दाबी गरेका छैनन् ।

सो क्षेत्रमा यस पटक एमालेका नेता बिमल कार्कीले उम्मेदवारी दिने चर्चा छ । अघिल्लो पटक वाम गठबन्धनबाट खड्कालाई टक्कर दिन एमालेले मन्जुकुमारी चौधरीलाई अगाडि सारेको थियो । अहिले पनि उनै चौधरीलाई अगाडि सार्ने हो कि भन्नेबारे समेत एमालेमा छलफल भइरहेको बताइन्छ ।

सो क्षेत्रमा नेकपा एमालेबाट प्रदेशसभामा विजयी भएका बिमल कार्की यस पटक खड्कालाई पछार्ने दाउमा छन् । ‘मलाई पार्टीले टिकट दिएको खण्डमा यस पटक नारायण खड्कालाई जित्छु,’ कार्कीले भने, ‘जिल्लामा आउँदा राजदुत मात्रै लिएर आउने खड्कालाई यहाँ विकास गर्न नसकेको आरोप छ ।’

प्रदेश १ प्रदेशसभामा सशक्त रुपमा प्रस्तुत हुने कार्की बौद्धिक नेता मानिन्छन् । यद्यपि ०६४ साल यता अपराजित खड्कासँग प्रतिस्पर्धामा उत्रिन कार्कीलाई आफ्नै पार्टीबाट टिकट पाउन चुनौती देखिन्छ । कार्कीका अनुसार एमालेले सो क्षेत्रमा मन्जुकुमारी चौधरीलाई नै दोहो¥याउने सम्भावना पनि छ । तर खड्कासँगको प्रतिस्पर्धामा चौधरी उपयुक्त नहुने उनको विश्लेषण छ ।

प्रदेश १ प्रदेशसभामा आफूले निर्वाह गरेको भूमिकाले युवाहरु आफूप्रति आकर्षित रहेको उनको दाबी छ । ‘मैले खड्काले भन्दा बढी विकास निर्माणको योजना जिल्लामा ल्याएको छु, जनताका हरेक दुःखका कुरा संसदमा सशक्त बोलेको छु,’ कार्की भन्छन्, ‘नारायण खड्का भने उदयपुरका जनताको विषयलाई लिएर एक पटक बोलेको थाहा छैन, पटकपटक मन्त्री हुँदा पनि जनताको मुहारमा खुसी ल्याउने काम भएको छैन ।’

नेकपा माओवादी केन्द्रले पनि उक्त क्षेत्रमा गठबन्धनबाट खड्का नै उम्मेदवार बन्छन् भन्ने मानसिकतामा देखिन्छ । यद्यपि सो पार्टीभित्र पनि उम्मेदवारका आकांक्षी भने छन् । उदयपुर क्षेत्र नम्बर १ कांग्रेसलाई दिएर क्षेत्र नम्बर २ आफ्नो भागमा पार्ने रणनीतिमा माओवादी केन्द्र देखिएको छ ।

तर, २ नम्बर क्षेत्रकै कांग्रेस नेता भोजराज खतिवडालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिन्छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नारायण बहादुर कार्की उम्मेदवार बनेका थिए । विप्लव माओवादीले निर्वाचन प्रचारको क्रममा बम पड्काउँदा उनी घाइते भएका थिए । माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद नारायण बहादुर बुर्जा मगरले यस पटक उदयपुरमा माओवादी र कांग्रेसबीच आधाआधा भागबण्डा हुनुपर्ने बताए । ‘१ नम्बरमा माओवादीले दाबी गर्दैन, २ नम्बर पनि कांग्रेसले दाबी गर्न पाउँदैन,’ मगर भन्छन्, ‘प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमध्ये माओवादीले २ वटा पाउनुपर्छ ।’

आफू पनि संघीय निर्वाचन क्षेत्र २ को उम्मेदवार बन्ने बताउँदै मगर आफूले टिकट पाए जितेर देखाउने पनि दाबी गर्छन् । सो क्षेत्रबाट २०७४ सालमा माओवादीका केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’ विजयी बनेका थिए । राई पनि स्वाभाविक रुपमा सांसद बन्ने दौडमा छन् ।

हालसम्म उदयपुरको क्षेत्र नम्बर १ मा कांग्रेसबाट खड्कासँगै विदुर बस्नेत, प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीको पनि दाबी छ । अन्तिममा कार्की प्रदेशसभामा उठ्न तयार हुने स्रोतको दाबी छ । बस्नेत भने कोइराला पक्षका भएका कारण व्यवस्थापनमा समस्या निम्तिन सक्ने स्रोत बताउँछ ।

यता, २ नम्बर क्षेत्रमा कांग्रेसबाट नारायण बहादुर कार्की, रामकुमार खत्री लगायतको नाम चर्चामा छ । १ नम्बर क्षेत्रमा खड्कालाई सर्वसम्मत बनाउन सोही क्षेत्रमा विदुर बस्नेतलाई पनि ल्याउने हो कि भन्ने चर्चा रहेको उक्त स्रोत बताउँछ ।

यता, नेकपा एमालेबाट निर्वाचन क्षेत्र नम्बर २ मा अमर रायमाझी, शैलेश लामा लगायतको सम्भावना छ भने क्षेत्र नम्बर १ मा हालका प्रदेश १ सांसद बिमल कार्की, नेताहरु मन्जुकुमारी चौधरी र कल्याण रोक्कालगायतले आकांक्षा राखेका छन् । शम्भु पोखरेल, धनपति आचार्यलगायत भने प्रदेशसभा निर्वाचनमा उठ्ने चर्चा छ ।

यस्तै माओवादी केन्द्रबाट भने निर्वाचन क्षेत्र १ मा राजन किराँती, कमल भट्टराई, बिमल किराँतीको चर्चा छ भने २ नम्बर क्षेत्रमा हालका संघीय सांसद सुरेशकुमार राई, प्रदेश सांसद नारायण बहादुर बुर्जा मगरको चर्चा छ । मगरलाई प्रदेशसभामै पठाएर राईलाई सर्वसम्मत बनाउने प्रयासमा माओवादी रहेको स्रोतको भनाइ छ ।

यता सोही निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सचिव जगन्नाथ खतिवडाले पनि निर्वाचन लड्ने बताएका छन् । ‘म यस पटक निर्वाचन लड्छु,’ खतिवडा भन्छन्, ‘गठबन्धनका साथीहरुसँग पनि त्यही हिसाबले छलफल भइरहेको छ, उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

खतिवडा र माओवादी नेता सुरशकुमार राई ‘हिमाल’को सम्बन्ध भने त्यति सुमुधुर नरहेको बताइन्छ । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडालाई ब्याक गर्दै राईलाई वाम गठबन्धनको उम्मेदवार बनाइएको थियो । त्यही बेलादेखि राईसँग खतिवडाको सम्बन्ध राम्रो हुन नसकेको बताइन्छ । यसकारण पनि यस पटक उदयपुर २ नम्बर क्षेत्रमा नेकपा एकीकृत समाजवादीबाट खतिवडालाई उठाउने कि सुरेशकुमार राईलाई उठाउने भन्ने निर्णय गर्न सत्ता गठबन्धनका लागि निकै सकस पर्ने देखिन्छ ।

स्थानीय निर्वाचन २०७९ को परिणाम

उदयपुरमा वडागत मतका आधारमा भन्ने हो भने नेकपा एमाले ठूलो दल हो । तर, सत्ता गठबन्धन बनेको खण्डमा एमालेलाई ठुलै चुनौती हुने देखिन्छ । वडागत मतमा उदयपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेको २१ हजार ६५२, कांग्रेसको २० हजार ७५७, माओवादी केन्द्रको ८ हजार १७९, जसपाको २ हजार ४२९, नेकपा एकीकृत समाजवादीको १ हजार ९९४ र राप्रपाको १ हजार ६३३ मत छ ।

सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी मिलेको खण्डमा गठबन्धनको पक्षमा ३३ हजार ३५९ मत पुग्ने देखिन्छ । यस्तै नेकपा एमालेको २१ हजार ६५२ मतमा राप्रपाको मतसमेत मिसाउँदा पनि २३ हजार २८५ मतमात्रै पुग्ने देखिन्छ ।

यस्तै उदयपुरकै निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको १८ हजार ५७३ मत छ । नेपाली कांग्रेसको ११ हजार ३४४, माओवादी केन्द्रको ८ हजार २०२, नेकपा एकीकृत समाजवादीको ३ हजार ४२७ र जसपाको १ हजार ४३४ मत छ । सत्ता गठबन्धनको मत जोड्दा यो क्षेत्रमा २४ हजार ४०७ मत पुग्छ भने एमाले र राप्रपाको मत जोड्दा २१ हजार ४४१ मात्र पुग्छ ।

स्थानीय तह निर्वाचन नेपाली कांग्रेस उदयपुरका चार वटा नगरपालिकामध्ये ३ वटामा विजयी भएको छ । यस्तै एमाले एउटामा विजयी भएको छ । ४ वटा गाउँपालिकामध्ये ३ वटामा माओवादी केन्द्र विजयी हुँदा नेकपा एकीकृत समाजवादीले पनि एउटा पालिकामा जित हात पारेको छ । यस्तै ७५ वटा वडा रहेको उदयपुरमा एमालेले ३०, नेपाली कांग्रेसले २५, माओवादीले १३, नेकपा एकीकृत समाजवादीले २, जसपाले १ र स्वतन्त्रले ४ वडामा जित हासिल गरेका छन् ।

२०७४ सालको निर्वाचन परिणाम

२०७४ सालको निर्वाचनमा उदयपुरको निर्वाचन क्षेत्र १ बाट हालका परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा.नारायण खड्काले ३३ हजार १४२ मतका साथ वाम गठबन्धनबाट उम्मेदवार एमालेकी नेतृ मन्जुकुमारी चौधरीलाई पराजित गरेका थिए । चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट भने वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता सुरेशकुमार राई (हिमाल)ले २२ हजार ५५१ मत ल्याएर कांग्रेसका नारायण बहादुर कार्कीलाई पराजित गर्न सफल भए । कार्कीले त्यसबेला १५ हजार ४५५ मत ल्याएका थिए ।

यस्तै निर्वाचन क्षेत्र १ प्रदेश (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नेता बिमल कार्कीले १७ हजार ५०१ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका विदुर बस्नेतले १५ हजार ८४४ मत ल्याउन सफल भएका थिए ।

सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश (ख)मा भने नेपाली कांग्रेसका हिमाल कार्की १६ हजार ७९२ मतका साथ विजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नेता रामबहादुर थापामगरले १५ हजार १९४ मत पाएका थिए ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क)मा भने स्वतन्त्र उम्मेदवार नारायण बहादुर मगर ९ हजार ८७० मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज थापा मगरले ५ हजार ९३४ मात्र मत ल्याएका थिए । निर्वाचन जितेपछि नारायण बहादुर मगर भने माओवादीमा प्रवेश गरेका छन् ।

यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश (ख)मा भने वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी नेतृ कला घलेले १३ हजार ४५९ मत ल्याएर विजयी बन्दा कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९७६ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप