बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँग भिड्न झापा–५ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ?

माओवादी र कांग्रेस एकअर्कालाई अघि सार्न खोज्दै
बिहीबार, ०९ भदौ २०७९, ०७ : ४८
बिहीबार, ०९ भदौ २०७९

विभिन्न निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन घटकबीच उम्मेदवारीका लागि हानथाप हुने गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा भने फरक परिदृश्य देखिन्छ । सो क्षेत्रमा गठबन्धनका मुख्य दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारीका लागि एक अर्कालाई अघि सार्न प्रयास गरिरहेका छन् ।

सो क्षेत्रमा गठबन्धनबाट माओवादीले उम्मेदवारी दिए हुन्थ्यो भन्ने कांग्रेसको चाहना छ भने कांग्रेसबाट उम्मेदवारी दिए हुन्थ्यो भन्ने माओवादीको धारणा छ । यद्यपि, त्यहाँ चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्नेबारे राप्रपाको भूमिका निर्णायक हुने देखिन्छ । स्थानीय तहको निर्वाचनमा दलगत रुपमा खसेको मतलाई आधार मान्ने हो भने राप्रपाले पनि उम्मेदवारी दिएको अवस्थामा झापा–५ मा सत्तारुढ गठबन्धन थोरै मतान्तरले एमालेभन्दा अगाडि देखिन्छ । राप्रपा भने यहाँ तेस्रो शक्तिका रुपमा छ ।

ओलीलाई कति सहज ?

दुई पटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष ओली झापा–५ मा तुलनात्मक रुपमा अरुभन्दा बलियो उम्मेदवार हुन् । सो क्षेत्रमा एमालेको सांगठनिक अवस्था अन्य दलको तुलनामा राम्रो देखिन्छ ।

गठबन्धन एकजुट हुँदा पनि राप्रपाले साथ नदिएसम्म एमालेलाई पराजित गर्न सक्ने अवस्था नरहेका कारण सो क्षेत्रमा कांग्रेसले माओवादीतिर र माओवादीले कांग्रेसतिर उम्मेदवारीको प्रस्ताव तेर्स्याउने गरेको छ । माओवादी केन्द्रका जिल्लास्तरीय एक नेताले भने, ‘झापा–५ मा कांग्रेसले हामीलाई लडे हुन्थ्यो भनेको छ, तर हामीले प्रदेशसभातर्फ दाबी गरेका छौं, प्रतिनिधिसभातर्फ होइन ।’

कांग्रेसका जिल्लास्तरीय नेता भने २०७४ मा माओवादीले जितेको झापा–१ मा यसपटक माओवादीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई उम्मेदवारी छाड्ने भएपछि त्यसको साटो माओवादीले झापा–५ बाट उम्मेदवारी दिए हुन्थ्यो भन्ने आफूहरुको सुझाव रहेको बताउँछन् ।

माओवादीमा झापा–५ मा उम्मेदवार बन्न गगन पुरी, रञ्जीत तामाङ, सुरेन्द्र बस्नेतलगायतको नाम चर्चामा छ । पुरीले आफू केपी ओलीसँग भिड्न तयार रहेको बताएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका पुरी झण्डै ७ हजार हाराहारी मत ल्याएर तेस्रो बनेका थिए । ‘गठबन्धनले सहमति गरे ओलीकै क्षेत्रबाट चुनाव लड्ने हो,’ उनले भने ।

स्थानीय चुनावमा राप्रपालाई गठबन्धनको साथ

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले दमक नगरपालिकामा राप्रपालाई साथ दिएको थियो । गठबन्धनको सहयोगमा दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा निर्वाचित भए ।

त्यसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले राप्रपाको सहयोग पाउने अपेक्षा गरेको छ । यद्यपि, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने गठबन्धनको तुलनामा एमालेसँग निकट देखिन्छन् । उनी आफै पनि झापा–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । यद्यपि चुनावी गठबन्धनका बारेमा उनले कस्तो नीति लिन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

कांग्रेस भन्छ– हामी चुनाव लड्न डराउँदैनौँ

कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले प्रचारमा आएजस्तो चुनाव लड्न कांग्रेस नडराउने बताए । गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले कुन क्षेत्र कसले लड्ने भन्ने टुङ्गो लगाउने र सोही अनुसार उम्मेदवारी तय हुने उनको भनाइ छ ।

‘कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले माओवादीलाई झापाको १ नम्बर क्षेत्र दिने निर्णय गरेमा महामन्त्री विश्वप्रकाश शर्मा नै ओलीको क्षेत्रमा लड्ने सम्भावना हुन्छ,’ भण्डारीले भने, ‘१ नम्बर क्षेत्रमै महामन्त्रीज्यू लड्ने हुनुभयो भने ५ नम्बर क्षेत्र माओवादीको भागमा पर्ने सम्भावना छ ।’

उनले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेको पनि बताए । ‘हामी एमाले अध्यक्ष ओलीसँग चुनाव लड्न डराएको भन्ने छैन, हाम्रा थुप्रै साथीले उम्मेदवारी घोषणा गरिरहनु भएको छ,’ भण्डारीले भने, ‘म आफै सो क्षेत्रको (ख) प्रदेशमा चुनाव लड्ने भनेर लागिरहेको छु ।’

उनले ओलीको क्षेत्रका ४ वटा पालिकामध्ये ३ वटा पालिका गठबन्धनले जितेका कारण पनि एमालेसँग डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारे । काँग्रेसका केन्द्रीय सदस्य तथा हालका सांसद महेन्द्र कुमारी लिम्बुले पनि ओलीसँगै लड्ने घोषणा गरेकी छन् ।

यस्तै २०६४ सालको निर्वाचनमा केपी ओलीलाई पराजित गरेका विश्वदीप लिङ्देन पनि पुनः ओलीसँग भिड्ने भन्दै कांग्रेसबाट टिकटका लागि लविङ गरिरहेका छन् । लिङ्देन यसअघि माओवादीबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

राप्रपा निर्णायक

एउटा कार्यक्रममा सहभागी हुन विराटनगर आएका राप्रपाका नेता तथा दमक नगरपालिकाका प्रमुख राम थापालाई गठबन्धन दलका केही नेताले घेरेर प्रश्न गरे– दमकमा गठबन्धनबाट चुनाव जित्नु भयो, अब मंसिरको निर्वाचनमा कसलाई सहयोग गर्नुहुन्छ ?

थापाले प्रस्ट जवाफ दिएनन् । उनले सो प्रश्नलाई हाँसेरै टारे । तर गठबन्धन घटकका नेताहरुसँगको गोप्य छलफलमा थापाले एमालेविरुद्ध सघाउने बचन दिएको नेताहरु बताउँछन् ।

‘उहाँ (राम थापा) गठबन्धनको बलमा दमक नगरपालिकाको प्रमुखमा विजयी भएकाले पनि अबको चुनावमा गठबन्धनलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,’ माओवादी केन्द्रका नेता विरेन्द्र बस्नेतले भने ।

यद्यपि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले घोषित रुपमै एमालेसँग गठबन्धन गरेको खण्डमा थापालाई असहज हुने देखिन्छ । ओलीले आफू जित्नका लागि राप्रपालाई जिल्लामा दुई निर्वाचन क्षेत्र दिनसक्ने पनि कतिपय बताउँछन् । यस्तो अवस्थामा थापाका लागि गठबन्धनको विरुद्धमा जान पनि असजिलो र एमालेको पक्षमा लाग्न पनि अप्ठ्यारो हुने अवस्था सिर्जना हुनेछ ।

थापा राप्रपाको प्रदेश १ का सभापति हुन् । थापा र राजेन्द्र लिङ्देनबीच राम्रो सम्बन्ध नरहेको चर्चा छ ।

नगरप्रमुखमा विजयी भएसँगै बजेट तथा कार्यक्रम पारित गर्ने विषयमा नगरसभामा बहुमत रहेको नेकपा एमालेले थापालाई खुलेर असहयोग गरेको थियो । नगरप्रमुख थापालाई बजेट तथा कार्यक्रम पास गर्न नदिएर दुःख दिएकाले पनि उनले एमालेलाई चुनावमा सहयोग गर्ने ढोका बन्द भएको कतिपयको बुझाई छ ।

मतको अवस्था कस्तो ?

झापा–५ मा गत स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारको मत जोड्दा ४१ हजार ६१९ हुन्छ । यस्तै कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले २ हजार हाराहारी मत ल्याएको छ ।

एमाले अध्यक्ष ओलीलाई उक्त क्षेत्रमा राप्रपाले सघाउने अवस्था आए गठबन्धन सहजै पराजित हुन सक्छ । अर्कोतिर, राप्रपाले गठबन्धनलाई सघाएको खण्डमा एमाले पराजित हुने स्थानीय तहको अंकगणितले देखाउँछ ।

यद्यपि ओलीको क्षेत्रमा भर्खरै स्थानीय तह निर्वाचनमा गठबन्धनको भोट पाएर जितेका राप्रपाका नेता राम थापाको पकड छ । थापा र लिङ्देनबीच त्यति राम्रो सम्बन्ध छैन । त्यसैले राप्रपाको औपचारिक निर्णय र दमकका प्रमुख राम थापाको भूमिकाले पनि आसन्न निर्वाचनमा झापा–५ को नतिजालाई धेरै हदसम्म प्रभाव पार्ने देखिन्छ ।

झापा–५ मा एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७९८ छ भने गठबन्धन दलका प्रमुखहरूले पाएको मत ५५ हजार ७८८ छ । ०७४ सालको संघीय निर्वाचनमा ओलीले वाम गठबन्धनबाट ५७ हजार १३९ मत ल्याउँदा कांग्रेसका डा.खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

प्रदेश निर्वाचन क्षेत्र (क)बाट भने एमालेकै हिक्मतकुमार कार्की २४ हजार ९८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अनिल कृष्ण प्रसाईंले १८ हजार ६३६ मत ल्याएका थिए । यस्तै निर्वाचन क्षेत्र (ख)बाट पनि एमालेकै अर्जुन राई ३० हजार ९७३ मतसहित विजयी हुँदा कांग्रेसका राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत ल्याएका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप