बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी नेता राम कार्की उम्मेदवार बन्ने हल्लाले तरङ्ग

म जन्मिएको ठाउँमा मेरो चर्चा हुनु स्वाभाविक : कार्की
मङ्गलबार, १४ भदौ २०७९, ११ : १८
मङ्गलबार, १४ भदौ २०७९

प्रतिनिधिसभा अन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की अर्थात् राम कार्की (पार्थ) यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ । कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो । सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छोड्नुपर्ने दबाब छ ।

यही दबाबका बीच राम कार्की (पार्थ) उनी जन्मिएको जिल्ला ओखलढुंगा जाने चर्चा चुलिएको हो । कार्की खोखलढुंगा चिसंखुगढीको दियालेमा जन्मिएका हुन् ।

२०७४ सालको निर्वाचनमा कार्कीले वाम गठबन्धनको बलमा शर्मालाई पराजित गरेका थिए । बौद्धिक र मार्क्सवादी चिन्तकसमेत रहेका कार्कीले कांग्रेसका प्रखर वक्ता शर्मालाई झण्डै ३ हजार मतअन्तरले हराएका थिए । ‘म जन्मिएको ठाउँमा मेरो चर्चा हुनु स्वाभाविक हो,’ झापामा रहेका कार्कीले भने, ‘तर, म झापाकै साथीहरुसँग, यहाँका मतदातासँगै छलफल गरिरहेको छु ।’

उनले आफूलाई झापा–१ का ३६ हजार मतदाताले मत दिएर जिताएका कारण झापा छोडेर कता जितिन्छ, त्यतै जानु त्यति नैतिक नहुने पनि बताए । ‘जता चुनाव जितिन्छ, त्यतै जानु नैतिक हुँदैन, मलाई जसले भोट दिएर जिताएका हुन्, मेरो दायित्व उनीहरूप्रति नै बढी हुन्छ,’ कार्कीले भने । उनले आफू कहाँबाट लड्ने भन्ने विषयमा नेतृत्वलाई जानकारी दिएको पनि बताएका छन् ।

यता ओखलढुंगामा भने राम कार्की जाने हल्लाले बजार तातेको स्थानीय बताउँछन् । ‘कांग्रेस, एमाले र माओवादीकै नेता तथा कार्यकर्तामा पनि राम कार्कीको चर्चा हुने गरेको छ,’ स्थानीय सञ्चारकर्मी मनोज भट्टराई बताउँछन् ।

कांग्रेसमा रामहरि कति भारी ?

कांग्रेसको वर्चश्व रहेको ओखलढुंगाका कांग्रेस नेताहरु टिकट लिने दौडधुपमा लागिसकेका छन् । जिल्लाका सभापति तेजेन्द्र खनालका अनुसार भदौ १८ गते हुने कांग्रेसको बैठकले उम्मेदवार सिफारिस गर्नेछ । ‘१८ गतेको बैठकमा हामी छलफल गर्छौं र आकांक्षीको नाम सिफारिस गर्छौं,’ खनालले भने, ‘निर्णय माथिबाटै हुन्छ ।’

संघीय निर्वाचनका लागि पार्टीबाट केन्द्रीय सदस्यहरु रामहरि खतिवडा, प्रदीप सुनुवार तथा नेताहरू खिला दाहाल, गोमा केसी, जिल्ला सभापति खनालको पनि दाबी रहेको बताइएको छ । यस्तै प्रदेशसभा निर्वाचनमा भने कांग्रेसबाट रुद्र अधिकारी, कुमार लुइँटेल र बाला अधिकारीलगायतको आकांक्षा छ ।

यता, नेकपा एमालेबाट भने वर्तमान सांसद तथा पार्टीका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले संघीय संसदमा उम्मेदवारी दिनेगरी लविङ गरिरहेको बुझिएको छ ।

सुनुवारलाई १० बुँदे पक्षधर रहेको र पार्टीको शक्ति सन्तुलन प्रतिकुल हुने कतिपयले बताउँछन् । एमालेका अन्य नेताहरु नानीबाबु बुढाथोकी, तीर्थ सुवेदीलगायतले प्रदेशसभामा लड्ने तयारी गरेको बताइएको छ ।

यस्तै गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाइसके पनि जिल्लाको तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका नेताहरु पनि टिकट लिन तँछाड मछाड गरिरहेका छन् ।

माओवादी स्रोतले दिएको जानकारी अनुसार जिल्लामा संघीय संसदमा राम कार्की (पार्थ)को नाम चर्चामा छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र (क)मा रामकुमार कार्की (नविन)ले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख)मा पार्टीका केन्द्रीय सदस्य बाबुराम गौतम, प्रदेश सांसद मोहन खड्का, केन्द्रीय सदस्य चम्पा कार्की (आशा), विनोद सुनुवार, खड्ग योगी (अनिल), सुदिप कटुवाल र मुकुन्द कार्कीलगायतले दाबी गरेका छन् । खड्का हाल प्रदेश १ का अर्थ समितिका सभापति हुन् । पूर्व शिक्षकसमेत रहेका उनी प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट यसअघि विजयी बनेका थिए ।

यता नेकपा एकीकृत समाजवादीका तर्फबाट भने केन्द्रमा संघीय संसदमा र प्रदेशसभामा उठ्न चाहनेहरुको नाम नै सिफारिस गरिसकेको छ । सो पार्टीका केन्द्रीय सदस्य नेत्र भट्टराईका अनुसार संघमा आफूसहित पूर्व सांसद मेखबहादुर खड्काको नाम सिफारिस भएको हो ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा नेताहरु राजन खत्री, शारदा निरौला र संजीव राई तथा प्रदेश (ख)मा कमल खड्का, यमचन्द्र कटुवाल, पूर्णकुमारी बुढाथोकीको नाम सिफारिस गरेको भट्टराईले बताए । उनका अनुसार समानुपातिकका लागि भने अम्बिकाप्रसाद भट्टराईको नाम सिफारिस भएको छ ।

यता जनता समाजवादी पार्टीले पनि आफ्ना नेता नेत्रबहादुर नेम्वाङ, जुद्ध ढाक्रे र धिरेन्द्र रुम्दालीलाई अगाडि सारेको छ । जसपाले पनि आफ्नो पार्टीले एउटा निर्वाचन क्षेत्र पाउनु पर्नेमा जोड दिएको छ ।

चार पार्टीको हानथाप

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कांग्रेसले संघमा एउटा र प्रदेशमा एउटा आफूले पाउने बताउँदै आएको छ । कांग्रेसका सभापति खनालले एउटा प्रदेश निर्वाचन क्षेत्र गठबन्धनभित्रको अर्को दललाई दिने बताए । ‘कांग्रेसले संघ र एउटा प्रदेशको निर्वाचन क्षेत्र लिन्छ,’ खनालले भने, ‘नभए हाम्रो पार्टीमै व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

यता, माओवादी केन्द्रले पनि कांग्रेसले संघ लिए दुवै प्रदेश निर्वाचन क्षेत्र गठबन्धनका अन्य घटकलाई छोड्नुपर्ने बताएको छ । ‘सबै कांग्रेसले राख्छु भनेर भएन, सिट बाँडफाँट त माथिबाटै होला, तर यही भनिरहने हो भने समस्या हुन्छ,’ माओवादी नेता मोहन खड्काले भने । यता, जसपाले पनि जिल्लामा एउटा पालिका जितेको कारण आफूले पनि एउटा निर्वाचन क्षेत्र पाउनु पर्ने दाबी गरिरहेको छ ।

नेकपा एकीकृत समाजवादीले पनि कुनै पनि निर्वाचन क्षेत्र आफूहरुले नपाएको खण्डमा गठबन्धनलाई सहयोग गर्न नसक्ने बताएको छ । नेकपा एकीकृत समाजवादीका नेता भट्टराईले आफ्नो पार्टीले गठबन्धन हुँदा संघ वा प्रदेशमध्ये एउटामा पाउनुपर्ने दाबी गरे । ‘हामीलाई कुनै न कुनै एउटा सिट भएन भने अरुलाई सहयोग गर्न सक्दैनौं,’ भट्टराईले भने ।

स्थानीय निर्वाचनमा कांग्रेसको दबदबा

स्थानीय तहको निर्वाचन २०७९ अनुसार ओखलढुंगामा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको छ । ७५ वटै वडाध्यक्षको मत जोड्दा नेपाली कांग्रेसले ३२ हजार २८८ मत ल्याएको छ भने नेकपा एमालेले २९ हजार ५९१, माओवादी केन्द्रले ६ हजार ९१६, जसपाले २ हजार १०४, नेकपा एकीकृत समाजवादीले ५१२ र राप्रपाले १४६ मत ल्याएको छ ।

गठबन्धन मिलेको खण्डमा उक्त जिल्लामा निर्वाचन जित्न एमालेलाई निकै कठिन हुने देखिन्छ । गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा मिल्दा ४१ हजार ८२९ मत हुन्छ भने एमालेले राप्रपासँग मिलेको खण्डमा पनि २९ हजार ७३७ मत मात्रै पुग्ने देखिन्छ ।

जितका आधारमा भन्ने हो भने पनि ७५ वडा रहेको ओखलढुंगामा नेपाली कांग्रेस एक्लैले ४५ वडा जितेको छ । यस्तै नेकपा एमालेले २०, नेकपा माओवादी केन्द्रले ८ र जसपाले २ वडा जितेका छन् ।

८ वडा पालिका रहेको ओखलढुंगामा नेपाली कांग्रेसले एक नगरपालिकासहित चार पालिका जितेको छ । यस्तै नेकपा एमालेले एक, माओवादीले एक, जनता समाजवादी पार्टीले एक र स्वतन्त्र उम्मेदवार एक पालिकामा विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलहरुले आंशिक पालिकामा तालमेल गरेका थिए ।

२०७४ सालमा कसको अवस्था के थियो ?

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता यज्ञराज सुनुवारले ३२ हजार ५८० मत ल्याएर कांग्रेसका रामहरि खतिवडालाई पराजित गरेका थिए । त्यसबेला खतिवडाले २७ हजार ३२७ मत ल्याएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा वाम गठबन्धनबाट नेकपा एमालेका अम्बिरबाबु गुरुङले १८ हजार ९०८ मत ल्याएर विजयी बन्दा कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत पाएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख)मा पनि बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मोहनकुमार खड्काले १५ हजार ४८५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवारले १३ हजार ७११ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप