शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

कांग्रेस नेताको व्यवस्थापन मुख्य चुनौती
बुधबार, ०८ भदौ २०७९, ०७ : ०४
बुधबार, ०८ भदौ २०७९

आफ्नै पार्टीभित्रको विवादका कारण टिकट वितरणमा समस्या झेलिरहेको नेपाली कांग्रेसका लागि मोरङमा गठबन्धन भित्रका दललाई रिझाएर आफ्नै नेताको व्यवस्थापन गर्नुपर्ने अर्को समस्या देखिएको छ ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि टिकटको दाबी विरोध गर्दै नेपाली कांग्रेसका नेताहरु माथिल्लो तहका नेताको ढोका ढक्ढक्याइरहेका छन् । इतर पक्षका नेता शेखर कोइराला पक्षको पकड रहेको मोरङमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु पनि टिकटको दौडमा छन् ।

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा ठुलो रस्साकस्सी देखिए पनि प्रदेशसभामा भने त्यति ठुलो समस्या देखिएको छैन । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले तय गरेको सिट बाँडफाँटको मापदण्डले पनि मोरङमा कांग्रेसका प्रभावशाली दुई नेताको व्यवस्थापनमा सकस देखिन्छ ।

सत्ता गठबन्धनले ०७४ सालमा जुन क्षेत्रमा जसले जितेको हो त्यो क्षेत्रमा त्यही दललाई उम्मेदवारी दिने मापदण्ड तय गरेको बताइन्छ । यही विषयले खासगरी मोरङको क्षेत्र नम्बर ४ बाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कांग्रेस नेता महेश आचार्य र क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दै आएका नेता अमृत अर्याललाई संकटमा धकेलेको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसकै अर्का नेता गुरु घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले अब आफूले उम्मेदवारी पाउनुपर्ने बताउँदै आएका छन् । कांग्रेस स्रोतले दिएको जानकारी अनुसार आचार्यलाई समानुपातिक कोटामा राख्ने र घिमिरेलाई मुख्यमन्त्रीको तयारी गर्न भन्दै प्रदेशसभामा उठाउने तयारी भएको छ । प्रदेशसभामा उठ्ने विषयमा भने घिमिरेले ठोस जवाफ नदिएको नेताहरुको भनाइ छ । प्रदेशसभामा उठे पनि घिमिरेका लागि मुख्यमन्त्री बन्ने विषय सहज नभएको कतिपय बताउँछन् ।

आचार्यले भने आफू ३० वर्षदेखि त्यही क्षेत्रबाट लडिरहेको बताउँदै यस पटक पनि नछोड्ने दाबी गरेको बताइन्छ । आचार्यले २०५६, २०६४, २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । तर, वाम गठबन्धनका कारण २०७४ सालको निर्वाचनमा भने उनी पराजित भए । उनलाई माओवादी केन्द्रका अमनलाल मोदीले पराजित गरेका थिए ।

यस्तै क्षेत्र नम्बर ५ मा उठ्ने तयारी गरिरहेका अर्याललाई पनि प्रदेशसभामा उठाउन नेताहरुले पहल गरिरहेका छन् । ‘उहाँलाई प्रदेशसभामा उठाउने हो, बरु मुख्यमन्त्रीको सुनिश्चितता गर्नुपरे गरिन्छ,’ गठबन्धन दलकै एक प्रभावशाली नेताले भने । अर्याल देउवा निकट भएर लामो समयदेखि काम गरिरहेका कारण उनी मुख्यमन्त्री बन्ने सम्भावना पनि छ । अर्याल पनि २०६४ र २०७४ सालको निर्वाचनमा पराजित बनेका थिए भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने विजयी बनेका थिए । ०७४ सालको निर्वाचनमा भने वाम गठबन्धनका उम्मेदवार माओवादी नेता शिवकुमार मण्डलले अर्याललाई पराजित गरेका थिए ।

गठबन्धन मिलाउन कांग्रेसमा सकस

मोरङमा सोही मापदण्ड लागू भएको खण्डमा क्षेत्र नम्बर ४ र ५ तथा प्रदेशसभाको क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर ४ (क) स्वतः माओवादी केन्द्रले पाउने छ । संघमा २ निर्वाचन क्षेत्र र प्रदेशमा अन्य ४ सिट माओवादी केन्द्रले दाबी गर्ने बताएको छ । एक माओवादी नेताका अनुसार मोरङको क्षेत्र नम्बर २ (क), क्षेत्र नम्बर ३ (क) र क्षेत्र नम्बर ६ (क) थप पाउने सम्भावना छ । त्यसका लागि लविङ गरिरहेको उनले बताए ।

यता, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले पनि संघमा मोरङबाट एक सिट पाउनु पर्ने दाबी गर्दै आएको स्रोतले बतायो ।

मापदण्ड अनुसार नेकपा एकीकृत समाजवादीले मोरङ क्षेत्र नम्बर १ (ख) स्वतः पाउने देखिन्छ । उक्त क्षेत्रमा सो पार्टीका नेता उपेन्द्र घिमिरे निःशर्त उम्मेदवार बन्ने निश्चित जस्तै छ । त्यसबाहेक प्रदेशमा अन्य २ सिटमा दाबी गरेको सो पार्टी निकट स्रोतले बतायो ।

यस्तै २०७४ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ५ (क)मा विजयी भएको जनता समाजवादी पार्टीले सोही सिट पाउनेछ । सो क्षेत्रबाहेक पनि दाबी गर्ने उसको तयारी रहेको बुझिन्छ ।

कांग्रेस भने ०७४ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर २, उक्त क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र (क), क्षेत्र नम्बर ३ को (ख), क्षेत्र नम्बर ६ को (क) र (ख) मा विजयी बनेको थियो । गठबन्धन दलका एक नेताका अनुसार कांग्रेसले संघमा ६ मध्ये ४ र प्रदेशमा १२ मध्ये ६ वटा सिट पाउने सम्भावना छ ।

हालसम्म कांग्रेसले क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बू, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई टिकट दिने सम्भावना धेरै छ । माओवादी केन्द्रले भने पुनः मोरङ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डललाई उम्मेदवार बनाउने पक्काजस्तै छ ।

यद्यपि सबै पार्टीका जिल्लास्तरका नेता संघ र प्रदेशको टिकट बाँडफाँट केन्द्रबाटै हुने भएपछि आफूहरु रमितेजस्तै बनेको बताउँछन् । माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले माथिबाटै टुङ्ग्याउने विषय भएकोले सिट बाँडफाँटबारे केही नबोल्ने बताए । ‘यो विषय हाम्रो पहुँचमा छैन, नेताहरुलाई सल्लाह र सुझाव दिने हो,’ उनले भने, ‘माथिबाटै टुङ्गो लाग्ने कुरामा धेरै मिडियाबाजी गर्नु आवश्यक छैन ।’

यता, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले पनि यो विषय माथिकै भएको बताए । ‘अहिले नै यो विषयमा केही भन्न सक्ने अवस्था छैन,’ उनले भने ।

२०७९ को स्थानीय निर्वाचनमा आएको पार्टीहरुको वडागत मत परिणाम

मोरङ १

एमाले ३२,३६६

कांग्रेस ३१,४१३

माओवादी ६,५८३

राप्रपा २,८९०

नेकपा एकीकृत समाजवादी १,०९३

जसपा ४९४

मोरङ २

एमाले ३१,३३०

कांग्रेस २८,६१७

माओवादी ७,२७१

जसपा ५

राप्रपा २,०६९

लोसपा ५६६

नेकपा एकीकृत समाजवादी १८०

मोरङ ३

एमाले ३७,४१०

कांग्रेस ३६,९१६

माओवादी ७,३७३

राप्रपा २,१२१

एस १,८५५

जसपा ४६३

मोरङ ४

एमाले २५,७३०

कांग्रेस २१,८९४

माओवादी ९,९९०

राप्रपा ४६७४

जसपा ३११२

नेकपा एकीकृत समाजवादी १,२५५

मोरङ ५

कांग्रेस १९,४९८

एमाले १५,६८०

जसपा १३,२४९

माओवादी ११,६२८

राप्रपा १,८८७

लोसपा ७५२

नेकपा एकीकृत समाजवादी ६०८

मोरङ ६

कांग्रेस २७,०८६

एमाले २४,५५६

माओवादी ४,९९६

जसपा ३,९३९

राप्रपा ३,११५

नेकपा एकीकृत समाजवादी २,३५५

लोसपा ८९५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप