आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झापा क्षेत्र नम्बर ३ मा सिटौला भर्सेस लिङ्देन : दुबै नेता थर्कमान !

स्थानीय आवश्यकता अनुसार तालमेल हुने एमालेको दाबी
शुक्रबार, ०३ भदौ २०७९, ११ : ४६
शुक्रबार, ०३ भदौ २०७९

२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँटको टुङ्गो लगाउनु हो । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोही अनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ । झापा क्षेत्र नम्बर ३ मा सिटौलाका लागि विगतदेखि नै त्यति सहज देखिँदैन । 

३१ वर्षदेखि निरन्तर लड्दै सिटौला

२०४८ सालदेखि निर्वाचन लड्न सुरु गरेका सिटौलाले एक पटक हार्ने र एक पटक जित्ने गरेका छन् । ‘हाम्रो नेताले लगातार जितेको इतिहास छैन,’ काँग्रेस झापाका सभापति देउमान थेबेले भने, ‘अघिल्लो पटक हार्नुभएको छ, यो पटक जित्ने योग परेको छ ।’

थेबेले भनेजस्तै सिटौला ०४८ सालमा एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित बनेका थिए । द्रोणाचार्यको निधन भएपछि २०५० सालमा भएको उपनिर्वाचन उनै सिटौला विजयी भए । त्यसबेला एमालेका लीला उदासीलाई सिटौलाले पराजित गरेका थिए । यस्तै पुनः ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेकै पुष्प पोखरेलसँग पराजित बनेका सिटौला ०५६ सालको निर्वाचनमा भने विजयी बने ।

​त्यसपछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार पूर्ण प्रसाद राजवंशीसँग पराजित भएका सिटौला २०७० सालको दोस्रो संविधानसभामा विजयी भए । उनले माओवादीकै धर्मशीला चापागाईंलाई पराजित गरेका थिए । ०७४ सालको निर्वाचनमा भने उनी पराजित भए ।

आसन्न निर्वाचनमा सिटौला उम्मेदवार बन्ने करिब निश्चित छ । ‘हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने कृष्ण सिटौलाज्यू नै हो,’ थेबेले भने, ‘काँग्रेसबाट अर्को विकल्प छैन, यसबारे मैले केही भनिरहनु परेन ।’

माओवादीले सिटौलाई सहयोग गर्ने, एमालेले लिङ्देनलाई

माओवादी केन्द्रका झापा संयोजक राजु आचार्य पनि गठबन्धन भएको खण्डमा आफूहरुको संघमा दाबी नरहने बताउँछन् । ‘हामीले प्रदेशको निर्वाचन क्षेत्र माग गर्ने हो, संघमा हाम्रो दाबी रहँदैन,’ आचार्यले भने, ‘गठबन्धन नबनेको खण्डमा मात्रै हामीले सोच्ने कुरा आउँछ ।’

यता, नेकपा एमालेले भने दुर्गा प्रसाईलाई अगाडि सारिरहेको छ । विगतमा माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने प्रसाईँ नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र बनेका छन् । प्रसाई आफ्ना लागि ओलीले टिकट दिने बताउँदै आएका छन् ।

ओलीले सोही क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा पनि प्रसाईंका लागि भोट मागेका थिए । तर, सत्तारुढ गठबन्धन एकजुट भएको अवस्थामा झापामा ओलीलाई आफ्नै क्षेत्रमा जित्न चुनौती बढ्ने देखिन्छ । त्यसैले आफ्नो जित सुनिश्चित गर्न ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापा–३ मा सहयोग गर्ने र बदलामा आफ्नो क्षेत्रमा राप्रपाको समर्थन जुटाउने योजना बनाएका छन् ।

‘झापा–३ मा राप्रपाका अध्यक्ष लिङ्देनलाई सघाउने ओलीको तयारी देखिन्छ, यो आफ्नो क्षेत्र सुरक्षित गर्ने प्रयास हो,’ माओवादी नेता आचार्यले भने, ‘अहिले दुर्गा प्रसाईलाई अगाडि सार्नु खासै नबुझिने कुरा होइन ।’ प्रसाई विर्तामोडको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् ।

ओलीले झापामा बिहीबार आयोजित एक कार्यक्रममा कमजोरहरुले मात्र गठबन्धन गर्ने बताए । उनले आफूहरु एक्लै भिड्न तयार रहेको आशय व्यक्त गरे । ‘कमजोरहरु गठबन्धन गर्दैछन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो गठबन्धन,’ उनले भने ।

सोही कार्यक्रममा प्रसाईले भने एमालेले प्रत्यक्ष र समानुपातिक दुवै स्थानमा सूर्यमा मत हाल्न पाउनुपर्ने भन्दै भाषण गरेका थिए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य हिक्मतकुमार कार्कीले उम्मेदवारीबारे अहिले टुङ्गो नलागेको बताए । ‘हामी आउँदो भदौभित्र सबै उम्मेदवारको टुङ्गो लगाउँछौं,’ कार्कीले भने, ‘एमाले एक्लै लड्दा पनि क्षेत्र नम्बर ३ मा हरि राजवंशी, बसन्त बानिया, दुर्गा प्रसाई, जीवन श्रेष्ठ र चन्द्र श्रेष्ठलगायतको नाम आएको छ, गठबन्धन हुने अवस्था आयो भने जो पनि हुनसक्छ ।’

कार्कीले झापामा स्थानीय आवश्यकताका आधारमा जुनसुकै दलसँग पनि तालमेल हुनसक्ने बताए । ‘हामी देशैभरि एउटै घोषणापत्र बनाएर लड्दैनौं,’ कार्कीले भने, ‘स्थानीय सापेक्षतामा तालमेल जुनसुकै दलसँग पनि हुनसक्छ ।’ झापा–३ मा राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्षले छोडेको भनेर हल्ला आएको भए पनि आधिकारिक जानकारी नभएको कार्कीले बताए । ‘हामीलाई मिडियाबाट आएको कुराभन्दा बाहिर आधिकारिक पार्टीको च्यानलबाट तालमेलको कुरा आएको छैन,’ कार्कीले भने, ‘आज कै भेटघाटमा पनि पार्टी अध्यक्षज्यूले यसबारे केही भन्नुभएन ।’

यता, राप्रपाका झापा अध्यक्ष केशव ओझाले जुनसुकै दलसँग पनि तालमेल गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई रहेको हुनाले सोही अनुसार झापाको विषयमा पनि छलफल हुने बताए । दलहरु एक्लाएक्लै लड्दा आफूहरु स्पष्ट ढङ्गले जित हासिल गर्ने अवस्थामा रहेको दाबी गर्दै उनले सत्तारुढ दलबीच गठबन्धन भएको खण्डमा राप्रपा एमालेसँग नमिले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेको बताए ।

‘हामी एमालेसँग तालमेल नगरे पनि एक्लै प्रतिस्पर्धा गर्न सक्छौं,’ ओझाले भने, ‘तर, देश गठबन्धन संस्कृतिमा गइसकेको कारणले हामी पनि त्यही अनुसार गठबन्धन होला भन्ने मनसायका साथ बसिरहेका छौं ।’ उनले ०७४ सालमा जस्तो एउटा सिटका लागिमात्रै गठबन्धन नहुने पनि बताए । ‘देशैभरि कति सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषय आउला, विगतमा जस्तो एउटामात्रै सिटमा गठबन्धन नहोला,’ उनले भने, ‘झापामा पनि गठबन्धन गर्दा कुन कुन संघीय निर्वाचन क्षेत्र र कुन प्रदेश निर्वाचन क्षेत्रमा कति पाउने भन्ने विषय स्पष्ट हुनुपर्छ ।’ दुबै पक्षले जे जस्तो दाबी गरेपनि सिटौला र लिङ्देन चुनावी वैशाखीको खोजीमा देखिन्छन् । 

स्थानीय तह निर्वाचनको मत परिणाम

स्थानीय तह निर्वाचन २०७९ को परिणाम अनुसार सो क्षेत्रमा नेपाली कांग्रेस बलियो छ । २८ वटा वडामध्ये कांग्रेस एक्लै १६ वडामा विजयी भएको छ । यस्तै राप्रपाले ५, एमालेले ४, माओवादीले २ र १ वडा स्वतन्त्रले जितेका छन् ।

वडागत मत परिणाम अनुसार झापा ३ नम्बर क्षेत्रमा एमालेको मत २१ हजार ८५ छ । कांग्रेसको भने २५ हजार ९४९ मत छ । यस्तै राप्रपाको २१ हजार १५९, माओवादी केन्द्रको ६ हजार ६८८ मत छ । जनता समाजवादीको ५३७ र नेकपा एकीकृत समाजवादीको १२ मत छ ।

यो मतका आधारमा भन्ने हो भने राप्रपा र एमालेबीच गठबन्धन भए सिटौलालाई भारी हुने देखिन्छ । राप्रपा र एमाले मिल्दा सो क्षेत्रमा ४२ हजार २४४ मत हुन्छ भने अन्य सत्तापक्षका दल मिल्दा जम्मा ३३ हजार १८६ मतमात्रै हुन्छ । संघीय निर्वाचनमा पनि यही मत कायम रहे सिटौलाले गठबन्धनको मत जोगाउँदै राप्रपा र एमालेका असन्तुष्ट भोट लिनका लागि ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।

झापा क्षेत्र नम्बर ३ मा पार्टीहरूको वडागत मतको विवरण

दल भर्सेस कांग्रेस थियो

२०७४ सालको निर्वाचनमा झापामा वाम गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मिसिएको थियो । देशैभरिमा सबैभन्दा राम्रो जनमत रहेको राप्रपाले झापाको क्षेत्र नम्बर ३ मा वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादीको समर्थनमा राजेन्द्र लिङ्देनलाई उठाएको थियो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै लिङ्देन विजयी बनेका थिए । त्यसबेला लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत पाएका थिए ।

प्रदेशसभामा पनि क्षेत्र नम्बर ३ (क) मा तीन दलीय गठबन्धन एमाले, माओवादी र राप्रपाको तर्फबाट उम्मेदवार बनेका एमालेका बसन्तकुमार बानिया २२ हजार ५३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले १७ हजार ५ मत ल्याएका थिए ।

यस्तै प्रदेशसभाको क्षेत्र नम्बर ३ (ख) मा भने तीन दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादीका पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भागिरथ कुमार पोद्धारले १४ हजार ७३५ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप