सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

बिहीबार, ०२ भदौ २०७९, २२ : २८
बिहीबार, ०२ भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको २ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

१. नागरिकता विधेयक पास

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक–२०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहीबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस् भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो ।

​२. पश्चिम सेती अघि बढाउन सम्झौता

पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत परियोजना निर्माण सम्भाव्यता अध्ययनका लागि नेपालले भारतसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको छ । बिहीवार परियोजनाको विकास र लगानीको खाका तयार पार्न लगानी बोर्ड र भारतको एनएसपी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

​३. एमसीसीको पुसमा टेन्डर

बहुचर्चित एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा हुने भएको छ । बिहीबार एमसीसी परियोजना अगाडि बढाउने नेपाली संस्था एमसीए नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो ।

​४. बैंकको स्कीमले बीमालाई तनाव

निक्षेप तान्न होडबाजी गर्दै बैंकहरुले विभिन्न प्रकारका योजना (स्कीम) ल्याउँदा बीमा कम्पनीहरु चेपुवामा परेका छन् । केही बैंकहरुले २० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म बढी रकम फिर्ता दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरुले यस्तो योजना सार्वजनिक गरेपछि २० वर्षमा करिब दोब्बर भुक्तानी दिन्छु भन्ने सावधिक बीमा योजनाहरु समस्या परेका हुन् । यद्यपि, बीमा गराउनुको प्रमुख उद्देश्य लगानी प्रतिफलभन्दा पनि जोखिमको आर्थिक रक्षावरण हो ।

​५. काठमाडौंको फोहोर व्यवस्थापन

स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

६. सार्वजनिक बिदामा पनि आयोग खुल्ने

मंसिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी कामको चापका कारण निर्वाचन आयोग सार्वजनिक बिदाको दिन समेत खुला हुने भएको छ ।

नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

​७. माओवादी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

​८. चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो ।

​९. कोरोना भाइरस

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन्  । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन ।

​१० यो पनि..

बिहीबार नेप्सेमा २७ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८‍.२६ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक सामान्य अंकले घटेको थियो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा मेरो सेयर, सीआश्वा, वेब सीडीएएस, सीएनएस, सीडीएससी र आईपीओ रिजल्टलगायतका सेवा प्रभावित बनेको छ ।

सीडीएससीको सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्‍याकमा स्थानान्तरण गर्न लागिएकाले सेवा अवरुद्ध बनेको हो ।

​चीनले यस वर्ष नेपाललाई विभिन्न आयोजनामा लगानी गर्न १५ अर्ब रुपैयाँ अनुदान दिने बाचा गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काको हालैको तीन दिने चीन भ्रमणका क्रममा यस्तो घोषणा गरिएको हो । भ्रमणमा खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्नुका साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको थियो ।

​शुक्रबार र शनिबार हुने माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर वाईसीएलले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप