शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोक्यो (मापदण्डसहित)

बिहीबार, ०२ भदौ २०७९, १६ : १३
बिहीबार, ०२ भदौ २०७९

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो । 

२४ साउनमा आयोगले ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको थियो । यसमा भएको उमेरको मापदण्ड पाँच वर्षपछि कार्यान्वयनमा आउने आयोगले जनाएको छ । 
सबै विधाका शिक्षक (फ्याकल्टी) को उमेर ७० वर्ष भन्दा बढी हुन नपाउने भएको छ । यसअघि यस अगाडी नेपाल मेडिकल काउन्सिलले तोकेको शिक्षकको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकेको थियो । 

आयोगले समेत सोही मापदण्डलाई मान्दै आएको थियो । अब ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ स्वीकृति भएसँगै नयाँ मापदण्ड तय भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी भएको चार वर्षपछि शिक्षकको न्यूनतम योग्यतासम्बन्धी मापदण्ड तय भएको हो । शिक्षक (फ्याकल्टी ) को पद राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ बमोजिम प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक हुनेछ । 

विश्वविद्यालय वा प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ । मेडिकल र डेन्टल बाहेकका विषयका लागि प्राध्यापक पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्नेछ । तर, नर्सिङ विद्याका शिक्षक (फ्याकल्टी) का लागि विद्यावारिधि अनिवार्य गरिएको छैन् । त्यस्तै सह–प्राध्यापक तहमा प्रतिष्ठान विश्वविद्यालय शिक्षण संस्थामा कम्तीमा ५ वर्ष अध्यापन सेवा अनुभव प्राप्त गरेको हुनुपर्नेछ । 

सह–प्राध्यापक तहमा रही सम्बन्धित विषय वा चिकित्सा शिक्षा सम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्डेक्समा कम्तीमा ६ वटा अनुसन्धान पत्र प्रकाशन भएको जसमध्ये कम्तीमा २ वटा लेखमा मुख्य लेखक भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप