शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका ७ प्रदेश अध्यक्षको रिपोर्टिङ : चुनावमा पार्टीभित्रैको गुटबन्दीले धक्का !

बागमती अध्यक्षले भने, ‘५ दिन बैठक बसेर भए पनि पदाधिकारी चयन गरियोस्’
आइतबार, १९ असार २०७९, १४ : २८
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न स्थानीय चुनावको समीक्षा र पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ९ बुँदे एजेण्डा अन्तरगत सात प्रदेशका अध्यक्षहरूले रिपोर्ट पेस गर्ने कार्यसूची रहेको थियो । सोही क्रममा सम्बन्धित प्रदेशका अधिकांश अध्यक्षहरूले गत स्थानीय निर्वाचनमा पार्टीकै जिम्मेवार नेता कार्यकर्ताबाट अन्तर्घात भएको, गुटबन्दी मौलाएको तथा बागी उम्मेदवारी दिने प्रवृत्ति देखिएको बताएका हुन् । उनीहरुले सत्ता गठबन्धनबाटै पनि पार्टीका कतिपय उम्मेदवारलाई भोट हाल्ने काम नभएको रिपोर्ट पेस गरेका छन् ।

उनीहरुले एमसीसीका बारेमा पार्टी स्पष्ट हुन नसकेको, पदाधिकारीको चयनमा ढिलाइ भएको, संगठन निर्माण प्रभावकारी नभएको विषय पनि औँल्याए भने आगामी चुनावमा पार्टी कसरी जाने भन्नेबारेमा पनि ठोस योजना जरुरी रहेकोमा जोड दिएका छन् ।  बैठकमा जिम्मेवारी सही ढङ्गले नदिएको गुनासो पनि उठेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ गर्दै अध्यक्ष हरिराम चौधरीले पार्टीभित्र जिम्मेवारी दिँदा सही मान्छेलाई सही ठाउँमा दिनुपर्नेमा जोड दिए । उनले अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा गुटबन्दी रहेको भन्दै त्यसको उचित समाधान जरुरी रहेको बताए । गुटबन्दीका कारण कतिपय स्थानीय तहमा आशाअनुसार नतिजा आउन नसकेको चौधरीको भनाइ थियो । उनले पार्टीको नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाही सन्तोषजनक हुन नसकेको भन्दै केन्द्रको ध्यानाकर्षण हुन जरुरी रहेको पनि बताए ।

यसैगरी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताइन् ।  उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् । पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातीत नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताइन् । ‘पार्टीमा अन्तर्घात भएको छ । समस्याहरू भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’ उनले कर्णालीमा गत स्थानीय निर्वाचनमा गठबन्धनमा पनि गडबड भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सही ढङ्गले तालमेल र गठबन्धन हुनुपर्नेमा जोड दिइन् ।

सहयात्रीले भने– पदाधिकारी चयन गरियोस्

यसैगरी बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी गरे ।  कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरू पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे ।

‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए ।

उनले तत्काल पदाधिकारी चयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए । प्रचण्डले ३ दिनमा बैठक सक्ने बताएपछि उनले ५ दिन लगाएर भए पनि पदाधिकारी चयन गरिनुपर्ने धारणा राखे ।  साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा उनले जोड दिए । उनले पार्टीमा बेतिथि मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए ।

मधेसको रिपोर्टिङ कस्तो ?

बैठकमा मधेस प्रदेशको तर्फबाट नेता गणेश शाहले अन्तर्घात गर्नेलाई कारबाही गर्न आवाज उठाए ।  शाहले नेताहरुबीचको विवादका कारण स्थानीय चुनावमा अन्तर्घात भएको बताए । अन्तर्घातकै कारण मधेसमा नतिजा कमजोर आएको उनले बताए । यस्तै गठबन्धन पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ । मधेसमा विवादकै कारण प्रदेश कमिटी समेत बन्न नसकेको उनले सुनाए  ।

‘पार्टीको आन्तरिक असहयोग र गुटबन्दीले चुनावको नतिजा राम्रो आउन सकेन । गठबन्धन पनि प्रभावकारी हुन सकेन’, उनले भने । उनले अहिलेको चुनाव राजनीतिक चुनाव हो कि पैसाको हो भन्ने प्रश्न गर्दै यसको पनि समीक्षा हुनुपर्नेमा जोड दिए ।

उनले अगाडि भने, ‘पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष निकै बढ्यो जस्तो लाग्यो । चुनावको बेला हाम्रो मधेसमा अप्रत्याशित पराजय भयो । यसबारे के गर्नुहुन्छ केन्द्रीय समितिले निर्णय गरोस्’, उनले भने, ‘हिजोबाट सिकेर आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे लागौँ ।’

यस्तै प्रदेश १२ बाट हर्क नेम्वाङ मिक्सो, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, लुम्बिनी प्रदेशबाट सुदर्शन बरालले भने पार्टीको आन्तरिक समस्या, समाधानका उपाय र योजनाका विषयमा प्रदेशगत रिपोर्ट पेस गरेका थिए । उनीहरुले गत चुनावमा बागी उम्मेदवारी दिनेहरू समेत रहेको उल्लेख गर्दै उनीहरूलाई कडा कारबाही गरिनुपर्नेमा जोड दिए ।

काँग्रेसको आलोचना

नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार गत निर्वाचनमा नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेष गरी काँग्रेस इमानदार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए । माओवादीलाई हराउन गठबन्धनकै दलहरू लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दल खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालिकोट जस्ता जिल्लाहरूमा अरू दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्‍यौँ । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरू (काँग्रेसलगायतका गठबन्धनका दलहरू) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेष गरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने पनि बताए ।

प्रचण्डले पार्टीभित्रका अन्तरघात गर्नेहरुलाई पनि कारबाही गरिने पनि बताए । पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सफल हुन नसकिएको बताए । तर, नतिजा तेस्रो स्थानमा भए पनि मत भने सुधारिएर आएको प्रचण्डले बताए । अहिले भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने हो भने आगामी निर्वाचनमा पार्टी कम्युनिस्टहरूको पहिलो नम्बरमा आउन सक्ने प्रचण्डले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप