शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घात र काँग्रेसका कारण स्थानीय तहमा लक्ष्यअनुसार नतिजा आउन नसकेको माओवादीको निष्कर्ष

आइतबार, १९ असार २०७९, १२ : ५६
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । 

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए ।  प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताए ।

पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात  र गठबन्धनका कारण सफल हुन नसकिएको बताए । तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको भनाई थियो । अहिले भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने हो भने आगामी निर्वाचनमा पार्टी कम्युनिस्टहरूको पहिलो नम्बरमा आउनसक्ने प्रचण्डले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप