बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक देखियो : प्रचण्ड

शनिबार, १४ जेठ २०७९, २३ : ०१
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथिको छलफलमा बोल्दै उनले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यक परेको बताएका हुन् ।

‘हामीले शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबीच उत्कृष्ट सहमति देखाएका थियौं,’ उनले भने, ‘उक्त समयमा राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमति देखाएका थियौं । आज पनि त्यसै प्रकृतिको एकता, सहमति र समझदारी बनाउनु आवश्यक छ ।’

प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताए । ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘तर, यसरी मात्रै समस्या समाधान हुने स्थिति छैन । यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ ।’ 

यस्तै, उनले संविधानसभाबाट संविधान घोषणा भएपछि देश दोस्रो निर्वाचनको तयारीमा रहेको बताए । ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन यस्तो समयमा सम्पन्न भयो, जुन बेला हामी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन प्रक्रियामा नै दुर्घटनामा पर्ने हौं कि भन्ने गम्भिर परिस्थिति बन्यो ।’

उनले गत वर्षको स्थिति सम्झँदै भने, ‘गत साल हामीले जे भोग्यौँ । हामीले जसरी संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति र राष्ट्रियताको रक्षाका निम्ति सडकमा जानुपर्ने परिस्थिति बन्यो । हामी सबै त्यो परिस्थितिबाट गुज्रेका छौं ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप