शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थलको फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई प्रचण्डको आग्रह

शनिबार, १४ जेठ २०७९, १२ : ५४
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई अनुरोध गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रचण्डले उक्त फैसला पुनरावलोकन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।

‘केही ठूला परियोजनामार्फत देशको अर्थतन्त्रलाई गुणात्मकता दिने कोसिसमा छौं,’ प्रचण्डले भने, ‘त्यसअन्तर्गत ठूला जलविद्युत परियोजनाहरू र जलाशययुक्त परियोजना अघि बढाउने सरकारको योजना छ ।’ यसैगरी, निजगढमा विमानस्थल बनाउने भनेर वर्षौं समय खर्किइसकेको समेत उनको भनाइ छ ।

अर्बौ रुपैयाँ लागत खर्च भइसकेको स्थानमा विमानस्थल बनाउन नमिल्ने भनेर सर्वोच्चले गरेको फैसला आफूलाई अनौठो र दुःखद् लागेको प्रचण्डले बताए । सर्वोच्चले फैसलामा जंगल भनेको छ, उक्त स्थानमा जंगल समेत नरहेको प्रचण्डले बताए । ‘त्याँ जंगलको जो कुरा गरिएको छ । त्याँ जंगल छैन । मैले निरीक्षण पनि गरेको छु,’ प्रचण्डले भने ।

अब सरकार र सर्वोच्चले निजगढ विमानस्थल निर्माणस्थलमा पर्यावरण अध्ययन गर्ने टोली बनाउनुपर्ने सुझाव समेत दिए । उक्त टोलीले त्यस क्षेत्रमा विमानस्थल बनाउँदा पर्ने पर्यावरणीय क्षति र त्यसको समाधानका उपाय सुझाउने र सोहीअनुसार आयोजनालाई अघि बढाउन सक्ने समेत प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप