मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : अदालतको दुई आदेशले हलचल, मधेसमा छुट्टै गठबन्धन

मङ्गलबार, ०६ वैशाख २०७९, २१ : २७
मङ्गलबार, ०६ वैशाख २०७९

आज २०७९ वैशाख ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

एमालेको उत्तराधिकारी

नेकपा एकीकृत समाजवादी पार्टीले एमाले नसुध्रिने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठबन्धन गरेको बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी पार्टीले २००६ साल वैशाख १० गते पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी आफू भएको जिकिर गरेको हो । यस्तै  तत्कालीन नेकपा (एमाले) र मार्क्सवादीबीच एकीकरण भई बनेको एमालेका उत्तराधिकारी पनि एकीकृत समाजवादी नै भएको अध्यक्ष माधव कुमार नेपालले बताए ।

अल्पकालीन अन्तरिम आदेश

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि बोलाएको हो । सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले यथाअवस्थामा कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्दै गत आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ​

राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरेको उनको भनाइ छ । 

देउवा–पौडेल दोहोरी

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन अघि बढाउने र पार्टीका भ्रातृ संगठनको पूर्णताको विषयलाई लिएर दोहोरी चलेको छ । मंगलबार नेपाल विद्यार्थी संघको स्थापाना दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवा र पौडेलबीच दोहोरी चलेको हो ।


बुबा पनि ‘होस्टाइल’

नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान दिएका हुन् ।​

प्रहरीमाथि कारबाही

प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ । सो उजुरी छानविन र काम कारवाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारवाही गर्छ । २०७८ साउन पछिको ८ महिनामा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा १२ सय २८ जनालाई विभिन्नस्तरको कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्णय खारेज

गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउनुपर्ने भनि गरेको निर्णय स्थगन गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ ।


सुन अभाव

बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी (एलसी) नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो ।​

जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप