शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेको सिजनमा सुन अभाव, व्यवसायीले लिन छाडे गहना ‘अर्डर’

पुराना गहना लगेर नयाँ बनाउनुपर्ने बाध्यता
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ५४
मङ्गलबार, ०६ वैशाख २०७९

बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी (एलसी) नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो ।

केन्द्रीय बैंकले गत चैत २१ गते सुनको आयातका लागि एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । बैंकले बढ्दो आयातसँगै विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि डलर बाहिरिनबाट रोक्न भन्दै यस्तो व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिनुअघि दैनिक १० किलो सुन आयात हुन्थ्यो । त्यो सुन वाणिज्य बैंकहरूले आलोपालो आयात गरेर व्यवसायीहरूलाई वितरण गर्दै आइरहेका थिए । केन्द्रीय बैंकले ग्यारेन्टी नराख्न भनेपछि हाल सुन आयात शून्य छ ।

त्यसअघि, फागुन ११ गतेदेखि राष्ट्र बैंकले नै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य मुख्य सिजनमा दैनिक ३५/४० किलोसम्म सुन बिक्री हुने गरेको बताउँछन् ।

मुख्यगरी लगनको समय, तीज र दसैँ/तिहारको समय नेपालमा सुनको व्यापार बढ्ने गर्दछ । यस्तो सिजनमा दैनिक ४० किलोसम्म सुन बिक्री हुने गरेको महासंघ अध्यक्ष शाक्यको भनाइ छ । त्यस आधारमा वैशाख महिना पनि बिहेको सिजन भएकाले सुनको उच्च माग हुने गर्दछ ।

‘वैशाख महिना सुनको मुख्य सिजनमध्येको एक हो । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बिक्री कम छ,’ उनले भने, ‘त्यसैले, अहिले हामीले नयाँ अर्डर लिएका छैनौं । यसअघि नै आइसकेका अर्डर दिइरहेका छौं ।’ व्यवसायीहरूसँग सुनको मौज्दात नरहेकाले नयाँ अर्डर लिन छाडेको उनले जानकारी दिए ।

यद्यपि, अघिल्ला वर्षको तुलनामा २०७७ को बिहेको सिजनमा सुनको माग उल्लेख्य रहेन । अघिल्ला वर्षका बिहेको सिजनमा दैनिक ४० किलोसम्म सुन बिक्री हुन्थ्यो तर, २०७७ सालको माघ र फागुनमा दैनिक १० किलोका दरले सुन बिकेको थियो । त्यसैले गत वर्ष सुन बजारमा आपूर्तिको चाप नपरेको शाक्यले बताए ।

यद्यपि वैशाख महिनामा बिहेको लगन हुनाले यो महिना सुनको माग उच्च हुने गरेको तर आपूर्ति नहुँदा ग्राहकलाई सुन दिन नसकेको उनको भनाइ छ । उनका अनुसार नयाँ अर्डरअनुसार सुन बनाउने काम रोकिए पनि ‘रेडिमेड सुन’ बिक्रीवितरण भइरहेको छ ।

किन रोकियो सुन आयात ?

चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको अवधिमा आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको वार्षिक आयात बराबर हो । यस्तै, यस अवधिमा निर्यात ८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब पुगेको छ । चालु वर्षको ८ महिनाको तथ्यांक केलाउँदा निर्यातको तुलनामा आयात भयावह स्थिति छ ।

तथ्यांकमा तुलनात्मकरूपमा बढेको देखिए पनि निर्यात परिमाण न्यून हुँदा ८ महिनाको व्यापार घाटा नै ११ खर्ब रुपैयाँभन्दा बढी छ । यसले नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’लाई नै असर पारेको छ । यस्तै, कोभिड–१९ महामारीका कारणले विदेशी पर्यटक नआउँदा र विदेशी मुद्राको भरपर्दो स्रोत रेमिट्यान्स निरन्तर घट्दा अर्थतन्त्रमा थप चाप परेको हो ।

आयात उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति बाहिरिने क्रम तीव्र बन्दा विदेशी मुद्रा भित्रिने क्रम न्यून भइ भुक्तानी सन्तुलनको अवस्था  बनेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५८ करोड रुपैयाँ छ । यसले अहिलेको गतिमा आयात भइरहेमा ६.७ महिनाको आयात धान्न सक्छ ।

त्यसैले बढ्दो आयात दरलाई नियन्त्रण गर्ने गरी राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थासहित कडाई गरेको हो । आयात कडाइको सूचीमा सुन समेत परेपछि केन्द्रीय बैंकले एलसी नै नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दियो । यससँगै सुनको आयात रोकिएको हो ।

चालु वर्षको ८ महिनामा सुन आयात गर्दा २८ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । यसअवधिमा ४० लाख ४४ हजार ग्राम सुन भित्रिएको छ । गत वर्षको यही अवधिमा १६ अर्ब २८ करोड रुपैयाँ बराबरको २३ लाख ग्राम सुन भित्रिएको थियो । गत वर्षको तुलनामा सुन आयातमै दोब्बर रकम बाहिरिएपछि राष्ट्र बैंकले केही समयलाई यसको आयात बन्देज लगाएको हो ।

चाँदी पनि अभाव

केन्द्रीय बैंकले अनियन्त्रित आयात रोक्न सयौँ वस्तुको आयातमा कडाइ गरेको छ । यसमा चाँदीसमेत परेको छ । केन्द्रीय बैंकले चाँदी आयात गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यसले यतिबेला बजारमा चाँदीको समेत अभाव चुलिएको व्यवसायीको भनाइ छ ।

चालु आर्थिक वर्षको ८ महिनामा १२ अर्ब ७९ करोड रुपैयाँको १३ करोड ५३ लाख ग्राम चाँदी भित्रिएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड २५ लाख ग्राम चाँदी भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा करिब साढे २ गुणाले आयात बढेपछि तस्करीको आशंकामा राष्ट्र बैंकले चाँदीमा कडाइ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप