शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गभर्नरले हुण्डी र क्रिप्टो रोक्नसमेत चासो दिएनन् : अर्थमन्त्री

सोमबार, २८ चैत २०७८, १९ : १७
सोमबार, २८ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हुण्डी र क्रिप्टोकरेन्सी लगायत कारोबार रोक्नसमेत निलम्बित गभर्नर महाप्रसाद अधिकारीले चासो नदिएको गुनासो गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफूले निकै अघि क्रिप्टो कारोबार रोक्न ध्यानाकर्षण गराएको, तर ग्रामिण क्षेत्रसम्म फैलिएपछि मात्रै झस्केको जस्तो भएको बताए । 

राष्ट्र बैंकले माघ ९ गते गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय लिएको थियो । विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले बजारमा क्रिप्टोकरेन्सीजस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति ध्यानाकर्षण भएको जनाएको थियो । साथै, क्रिप्टो कारोबार हुने एपहरूमा पनि प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले ढिला गरी कदम चालेकोप्रति अर्थमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘मैले समयमै यो हुण्डी र क्रिप्टो लगायतबारे बाहिर हो–हल्लामा आउनुअघि नै पाँच महिनाअघि नै ध्यानाकर्षण गराएको थिएँ । एकजना युवाले मलाई फोन गरेर यस्तो यस्तो भैरहेको छ भनेपछि मैले सचिवज्यू र गभर्नर साबलाई बोलाएँ,’ उनले भने, ‘यस्तो भैरहेको रहेछ, यसबारे अलिकति अध्ययन अनुसन्धान गरौं भनेँ । तर, त्यो कुरा ग्रामिण क्षेत्रसम्मै पुगिसकेपछि मात्रै झस्केको जस्तो भयो ।’

गभर्नरले कर्जा विस्तारमा पनि लापरवाही गरेर सरकारलाई असहयोग गरेकोप्रति अर्थमन्त्रीले संकेत गरे । कर्जा प्रवाह लक्ष्य १९ प्रतिशत राखेपनि ३२ प्रतिशतसम्म पुगेको, तर त्यत्तिका विस्तार हुँदा पनि केन्द्रीय बैंकले समयमै नियन्त्रण र नियमन नगरेको उनले आरोप लगाए । ‘सो काम अर्थ मन्त्रालयको नभइ राष्ट्र बैंककै हो । बस्तु आयात गर्दा पनि खर्च भयो । त्यत्रो ऋण गइसकेपछि उत्पादन क्षेत्रमा त्यसले केही न केही योगदान पु¥याउनुपथ्र्यो । ऋण प्रवाह र उत्पादन क्षेत्रको उत्पादन हेर्दा त्यो कुराको तालमेल कहीँ छैन,’ अर्थमन्त्री शर्माले थपे, ‘यस्तो पैसा कहाँ कहाँ लगानी भएको छ, रकम कसरी गइरहेको छ भनेर बारम्बार चासो चिन्ता राख्दै जान्ने प्रयत्न नगरेको होइन । तर, त्यो हामीले प्राप्त गर्न सकेनौं ।’ 

 


 

आयात वृद्धि हुँदै जाँदा विदेशी विनिमय सञ्चिति १४ प्रतिशतजति घटेको र स्थितिलाई नियन्त्रण गर्न आफूले शुरूदेखि नै कुरा गरेको अर्थमन्त्रीले बताए । विज्ञता वा सल्लाहकारका हिसाबले यो नियन्त्रण गर्ने काम राष्ट्र बैंककै भएको बारम्बार उल्लेख गरेको उनले दाबी गरे । अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा प्रवाह नियन्त्रण गर्न र उत्पादन क्षेत्रमा कर्जा प्रवाह गर्ने कुरामा पनि बारम्बार जोड दिएको, तर सो पैसा कहाँ खर्च भयो भनी खोज्न नसकिने अवस्था बनाइएकोप्रति पनि शर्माले असन्तुष्टि पोखे । 

गभर्नरमाथिको कारबाही व्यक्तिगत आरोप/प्रत्यारोपको विषय नभएको पनि अर्थमन्त्रीले बताएका छन् । आफूले केन्द्रीय बैंकमा हस्तक्षेप गरेको वा गर्ने कुरा नरहेको, तर आ–आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह खोजेको उनले उल्लेख  गरे । ‘त्यसको रिपोर्टिङ गर्ने सिस्टम हुन्छ होला । पद्धतीअनुसार गर्नुपर्ने काम होला । मन्त्रीले त झन् गर्नै मिल्दैन,’ उनले भने । अब गभर्नरविरुद्धको छानबिन समितिले नै आन्तरिक तथ्य सार्वजनिक गर्ने र एकमहिनाभित्र सबै कुरा आउने पनि अर्थमन्त्री शर्माले दाबी गरेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप