मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : करिश्मा बनिन् 'कामरेड', एनआरएनएमा गाईजात्रा

मङ्गलबार, ०८ चैत २०७८, २१ : ३१
मङ्गलबार, ०८ चैत २०७८

 

आज २०७८ चैत ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

निर्वाचन आयोगले यो वर्ष सवारीसाधन नकिन्ने

निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । आयोगले अघिल्ला निर्वाचनका बेला सवारी साधन खरिद गर्ने गरेपनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बजेट थोरै भएका कारण सवारी साधन खरिद नगर्ने भएको हो । ​आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो वर्ष अर्थ मन्त्रालयले मितव्ययिता अपनाउन भन्दै कम बजेट सीमा तोकेकोले आयोगले सवारी साधन नकिन्ने बताए ।

करिश्माले खुलाइन् एमाले रोज्नुका कारण

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको मुख्य तीन कारण खुलाएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।​ ‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु,’ एमालेमा प्रवेश गरिसकेपछि संक्षिप्त मन्तव्य राख्दै उनले भनिन् ।

एनआरएनएमा ‘गाईजात्रा’

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो । विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।


पारस र सावित्रा दशक खेलाडी

पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।  आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो ।

 ३१ अर्बको मोबाइल फोन भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । 

 

आर्थिक वर्ष वैशाखदेखि नै

 

 

सात प्रदेशका नीति तथा योजना आयोग र प्रदेश/स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको आर्थिक वर्ष वैशाखदेखि नै शुरू हुनुपर्ने निष्कर्ष निकालेका छन् । हाल नेपालमा साउनदेखि आर्थिक वर्ष शुरू हुने गरेको छ । प्रदेश आयोग र जनप्रतिनिधिहरूले हाल अभ्यासमा रहेको आर्थिक वर्ष अवैज्ञानिक रहेकाले नेपाली क्यालेन्डरअनुसार वैशाखदेखि नै शुरू हुनुपर्ने निचोड निकालेका हुन्‌ । ​

हामी हारे देश हार्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।

बहसमा महिलाले अर्को बिहे गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव​

नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेपछि यसले नयाँ तरङ्ग सिर्जना गरेको छ ।  सामाजिक सञ्जालदेखि चियापसलमा समेत यसबारे बहस भइरहेको छ । पक्ष विपक्षमा आ–आफ्ना तर्कहरु प्रस्तुत भइरहेका छन् । प्रस्तुत छ, यसै विषयलाई लिएर पक्षधर नेपाल कानुन आयोगका सहसचिव तथा प्रवक्ता पाराश्वर ढुङ्गाना र विपक्षमा विचार राख्ने अधिवक्ता रक्षा बस्यालसँग रातोपाटीले गरेको कुराकानीः 

बालबालिकाका लागि ८४ लाख मात्रा फाइजर 

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप