शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

मङ्गलबार, ०८ चैत २०७८, ०७ : ०७
मङ्गलबार, ०८ चैत २०७८

गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार ओलीले रातोपाटीलाई जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’, उनले भने, ‘अब विधान संशोधन गरेर आवश्यक व्यवस्था गरिन्छ ।’

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ । 

संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो । 

विवादले उग्र रूप लिँदै गर्दा शेष घलेको नेतृत्वमा काठमाडौँमा कुल आचार्य पक्षको छुट्टै महाधिवेशनको घोषणा गरिएको थियो । मूलतः एनआरएनएमा काँग्रेस–माओवादी र एमाले निकटका अभियन्ताबीच कित्ताकाट हुँदै आएको छ भने केही स्वार्थ समूहका कारण पनि समस्या पैदा हुँदै आएको छ । 

सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको दाबी गरिएको छ । यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप