मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सहमतिपछि पनि एनआरएनएमा ‘गाईजात्रा’, रोकिएन घलेको समानान्तर सम्मेलन

मङ्गलबार, ०८ चैत २०७८, १२ : १६
मङ्गलबार, ०८ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो ।

विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।

गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । आचार्य घलेसँगै समानान्तर गतिविधिमा सक्रिय रहेकामा अन्ततः सहमतिको बिन्दुमा आएका हुन् ।

सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्यको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।

आचार्यसमेतको संलग्नतामा समानान्तर विश्व सम्मेलन भनिएकामा सहमतिपछि आचार्यलगायतको ठूलो समूह घलेको भेलामा अनुपस्थित भए ।

घलेको विश्व सम्मेलनमा आधा दर्जन हाराहारीमा मन्त्रीलाई बोलाइएको भएपनि अर्थमन्त्री शर्मामात्रै उपस्थित रहे । अर्थमन्त्री शर्माले आफूलाई घले र आचार्यले नै सम्मेलनका लागि बोलाएको भएपनि आचार्यलाई नै नदेखेको भन्दै खिन्नता प्रकट गरे ।

‘४ दिन अघि शेष घलेजी र कुल आचार्यजी मलाई आमन्त्रण गर्न जानु भएको थियो । तर, आज मलाई यहाँ आइसकेपछि केही फोनहरू आए । यो कार्यक्रममा मैले कुल आचार्यलाई पनि देखिन’, उनले भने, ‘म त यहाँ एनआरएनएको संरक्षकले आमन्त्रण गरेपछि आएको हुँ । उहाँ सफल व्यवसायी र अभिभावक पनि हुनुभएको हुनाले आएको हुँ । तपाईँले सबैलाई मिलाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले सरकारले एनआरएनएबाट ठूलो अपेक्षा लिएको भन्दै एकताबद्ध भएर काम गर्न पनि अनुरोध गरे । उनले राजनीतिमा आएको विकृत एनआरएनएमा देखिएको पनि बताए । उनले विधानलाई मिचेर काम नगर्न पनि एनआरएनएहरूलाई अनुरोध गरे ।

यस्तै कार्यक्रममा बोल्दै शेष घलेले एनआरएनएभित्रको बेथितिलाई निरूपण गर्न जरुरी रहेको भन्दै आफूहरूले सोही उद्देश्यले विश्व सम्मेलनको आयोजना गरेको बताए । उनले एनआरएनएको नेतृत्वमा रहेकाहरू बलियो अवस्थामा नरहेकै कारण संस्थामा भूकम्प आएको पनि बताए ।

उनले कार्यक्रममा सहभागी भएकामा अर्थमन्त्रीको प्रशंसा पनि गरे । कार्यक्रममा बैंक अनिल केशरी शाहको समेत सहभागिता रहेको थियो ।

घलेको विश्व सम्मेलन चल्दै गर्दा बालुवाटारमा पत्रकार सम्मेलन

 

घलेको विश्व सम्मेलनको उद्घाटन सत्र चल्दै गर्दा यता बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाको संयुक्त पत्रकार सम्मेलन भयो ।

पत्रकार सम्मेलनमा तीन जनै उम्मेदवारले गम्भीर छलफलपछि संस्था जोगाउन सफल भइएको र अब विवाद समाधान भएको दाबी गरे । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट संघको नेतृत्व गर्ने  सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । उनका अनुसार १० औँ विश्व सम्मेलन मार्च २४ र २५ मा चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । मितिमा अब सहमतिको आधारमा नै कार्यसमिति चयन गरिने बताइएको छ ।

‘वास्तवमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्रै होइन, यो विश्वभरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो’, केसीले भने, ‘हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पर्क गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प पनि गर्न चाहन्छौँ ।’

अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प नभएको उनको भनाइ छ ।

 पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजना गरिएको भेला अवैधानिक भएकोले सहभागी नहुन पनि अनुरोध गरिएको छ । केसीले सहमतिपछि संस्थाभित्रको समानान्तर गतिविधि बन्द भएको जिकिर गर्दै अदालतमा रहेका सबै मुद्दा फिर्ता लिने समझदारी भएको पनि बताए ।

यस्तै आचार्यले संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भइ एउटा निचोडमा पुगिएको बताए । यो सहमति संस्था बचाउने बचाउने उद्देश्यले भएको बताउँदै यसअघिका सबै समानान्तर कार्यहरूलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए । यस्तै अध्यक्षकी अर्का प्रत्यासी थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढिनुपर्ने बताइन् ।

एनआरएनएमा काँग्रेस र एमालेमा कित्ताकाट हुँदा विवाद रहँदै आएको थियो । यो विवाद हाललाई निरूपण भएपनि घले भने अझै चिढिएका हुन् । अभियन्ताहरूले अझै पनि घलेलाई मनाउन पहल भइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप