मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको मागदाबी

म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको माग दाबी
मङ्गलबार, ०८ चैत २०७८, १८ : ००
मङ्गलबार, ०८ चैत २०७८

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

अभिनेता पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका अनुसार अभिनेता पलमाथि जबरजस्ती करणीको कसुर स्थापित हुने यथेष्ट आधार र प्रमाण पेश गरिएको छ । साक्षीको बयान, घटना विवरण कागज, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स आदिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । अभिनेता पल शाहले भने हालसम्म पनि पीडित बालिकासँग प्रेम वा यौन सम्बन्ध केही नरहेको भन्दै जबरजस्ती करणीको अभियोग झुट्टा रहेको बयान दिँदै आएका छन् ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो । त्यसपछि शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका थिए ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप