शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् निर्वाचन आचारसंहिताका १० विशेषता

शुक्रबार, ०४ चैत २०७८, १६ : २८
शुक्रबार, ०४ चैत २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत तय गरेपछि चुनावी माहोल थप तातिएको छ।  निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । सोहीअनुसार आयोगले बिहीबार नै राजपत्रमा निर्वाचन आचारसंहितासमेत प्रकाशित गरिसकेको छ । यद्यपी सो आचारसंहिता कार्यान्वयनमा भने आइसकेको छैन । आयोगले तोकेको मितिदेखि सो आचारसंहिता लागू हुने आयोगले जनाएको छ । निर्वाचन आचार संहिता कहिलेदेखि लागू गर्ने भन्ने सन्र्दभमा आयोगको बैठक बसेर निर्णय हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।

आयोगले सवै पक्षले पालना गर्नुपर्ने, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, उम्मेदवार, राजनीतिक दल लगायत विभिन्न पक्षहरुले निर्वाचन अवधीमा पालना गर्नुपर्ने संहिता तयार गरेको हो ।

आचारसंहिताका १० विशेषता

१) कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्न नपाइने

निर्वाचन आचारसंहिता जारीपछि कुनै पनि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने आयोगको जनाएको छ । आचारसंहितामा उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो वा कार्यालयको भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, नयाँ पद सृजना गर्न, रिक्त पद पूर्ति गर्न, भत्ता वृद्धि गर्न, ग्रेड बृद्धि लगायतका काम गर्न पाइँदैन ।

२) शिक्षकले चुनाव प्रचारको गतिविधिमा भाग लिन नपाउने

निर्वाचनका बेला शिक्षा क्षेत्रमा कार्यरत प्राध्यापक, शिक्षक, कर्मचारीलाई चुनाव प्रचारमा निषेध गरिएको छ । सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने व्यवस्था गरिएको छ ।

३) भेष्ट, क्याप, गम्छा, झोलामा चुनाव चिन्ह छापेर प्रयोग गर्न निषेध

निर्वाचन आयोगले चुनावका बेला कुनै चुनाव चिन्ह अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचार संहिता बनाएको छ ।

आयोगले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने संहिता बनाएको छ । तर उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान बायोडाटाको विवरण खुलाई वितरण गर्न भने पाइने व्यवस्था छ ।

४) जुलुस, भेला गर्न ७२ घण्टाअघि स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने

आयोगले सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने उल्लेख गरेको छ । स्थानीय प्रशासनको अनुमति नलिई सभा जुलुस गर्न नपाइने संहितामा उल्लेख छ ।

५) कसैको घरको आसपासमा गई सो व्यक्तिको विरुद्ध प्रदर्शन गर्न नहुने

आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचार संहिता बनाएको छ । जस अनुसार भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ ।

यस्तै एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने व्यवस्था छ । प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने, घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा झण्डा वा निर्वाचन चिन्हको झण्डा राख्न नपाइने उल्लेख छ ।

६) चुनाव प्रचारको कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र

यस्तै निर्वाचन आयोगले चुनाव प्रचारको कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नु पर्ने आचार संहिता बनाएको छ । कार्तिक १ गतेदेखि माघ मसान्तसम्म भने बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म प्रचार प्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

७) बिजुलीका पोल र सार्वजनिक स्थानमा दलको चुनाव चिन्ह र झण्डा राख्न नपाइने

निर्वाचन आयोगले आगामी निर्वाचनका सन्र्दभमा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने आचार संहिता बनाएको छ । यस्तै कुनै क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने आचार संहितामा उल्लेख छ ।

८) सडक नाटक, डिजिटल डिस्प्ले मार्फत प्रचार गर्न नपाइने

आयोगले चुनाव प्रचारका लागि सडक नाटक, डिजिटल डिस्प्लेको प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । दलको प्रचारप्रसार उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने, कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने आचार संहिता बनाएको छ । अनलाइन वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न वा गराउन नहुने आचार संहितामा लेखिएको छ ।​

९) भित्तेलेखन गर्न नपाइने, उम्मेदवारको चुनाव चिन्हको तोरण बनाएर प्रचार गर्न नपाइने

आयोगको आचार संहितामा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको भित्तेलेखन गर्न नपाइने व्यवस्था छ । यस्तै झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने, उम्मेदवारको कार्यालयमा तुल कपडामा बनाइएको ३४३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक ठूलो साइजको बनाउन नहुने संहिता बनाइएको छ ।

यस्तै चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न वा गराउन नहुने आचार संहितामा उल्लेख छ । 

१०) उम्मेदवारले बैंक खातामार्फत चुनाव खर्च गर्नुपर्ने

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने आचार संहिता बनाएको छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, पदाधिकारीको नाम सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नु पर्ने । आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था आचार संहितामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप