बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने, हेलिकोप्टर प्रयोगबारे यस्तो छ व्यवस्था

विदेशी नम्बर प्लेटको सवारी साधन निषेध
शुक्रबार, ०४ चैत २०७८, ०९ : १६
शुक्रबार, ०४ चैत २०७८

निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । 

जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ ।  त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा भने चारवटा घोडा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ । 

राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नु पर्ने पनि आचारसंहितामा भनिएको छ । तर सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पाइने छैन। यस्तै एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न नपाइने आचारसंहितामा भनिएको छ । 

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न पाइने छैन । यस्तै ‘सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनु पर्ने’ पनि भनिएको छ । 
 
हेलिकोप्टर प्रयोगबारे आचारसंहितामा के छ ?

 आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्नेछन् ।  राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्ने छ । 

यस्तै निर्वाचन खर्चको सीमाभित्र रही सम्बन्धित उम्मेदवारको खर्च शीर्षकमा समावेश गरी गर्नु पर्नेछ । ‘सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन’, आचारसंहितामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप