शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले जिल्ला अधिवेशन : ७ जिल्लामा नेतृत्व चयन, दैलेखमा विवाद हुँदा हुम्लामा स्थगित

कर्णालीका जिल्ला तहको नेतृत्व चयनको फेहरिस्त
आइतबार, ०२ माघ २०७८, ०७ : ५९
आइतबार, ०२ माघ २०७८

पुस २३ गते उद्घाटन गरिएको नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीका ७ वटा जिल्लामा अधिवेशन सुरु भएको थियो भने अन्य जिल्लामा विविध कारण अधिवेशन सारिएको थियो । जिल्लाको अधिवेशन सुरु हुँदै गर्दा एमालेका शीर्षस्थ नेताहरूको एउटै मत थियो, ‘नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्छ र जनतामा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।’ 

तत्कालीन नेकपा र नेकपा एमाले विभाजनको केन्द्रविन्दु नै कर्णाली हो । यसअघिका अधिवेशनहरूमा तत्कालीन एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षबीच प्रतिस्पर्धा हुन्थ्यो । तर यो पटक नेपाल पक्ष अलग्गिएपछि एमालेको जनधार विभाजित बनेको छ । एमालेको धेरै नेता कार्यकर्ता अहिले माधव कुमार नेपालद्वारा गठित एकीकृत समाजवादीमा गोलबद्ध हुन पुगेका छन् । यसको असर कर्णाली एमालेभित्र प्रत्यक्ष परेको छ । 

नेपाल पक्ष बाहिरिएपछि कर्णालीका नेताहरूले अब एमालेभित्र प्रतिस्पर्धी कोही नरहेका कारण सर्वसम्मत नेतृत्व चयन हुने बताउँदै आएका थिए । सर्वसम्मत रूपमा अधिवेशन गर्न नसके जनतामा नकारात्मक सन्देश जाने र यसको लाभ एकीकृत समाजवादीले लिन सक्ने उनीहरूको बुझाइ थियो । अधिवेशन सुरु हुने दिनसम्म पनि प्रदेश तहका नेताहरू सर्वसम्मतिमै नेतृत्व टुङ्ग्याउने भाषण गरिरहेका थिए । तर एमालेले जुन रूपमा तयारी थालेको थियो, जिल्ला अधिवेशन सुरु भएपछि परिस्थिति त्यो भन्दा भिन्न भइदियो । १० जिल्ला रहेको कर्णालीमा आन्तरिक प्रतिस्पर्धा तीव्र देखियो ।

पार्टीभित्रको आन्तरिक चुनावलाई लिएर दलभित्रै मुद्दा–मामिलादेखि नेताहरूबिच प्रतिशोधको भावनासमेत सिर्जना भएको देखियो । नेताहरूको कार्यशैलीले कार्यकर्तामा निराशा मात्र पैदा भएको छैन, आन्तरिक चुनावमा देखिएको मतभेदले आगामी निर्वाचनमा असर त गर्दैन भन्दै उनीहरू चिन्तित पनि बनेका छन् । 

प्रदेशका १० जिल्लामध्ये डोल्पा, सल्यान र जुम्लामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ भने सुर्खेत, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । मुगु र दैलेखमा निर्वाचनको प्रक्रियाबाट पनि नेतृत्व टुङ्गिन सकिरहेको छैन । जिल्लातहमा रहेका नेताहरूले नेतृत्व चयनमा एउटा पक्षलाई हातमा लिई अर्को पक्षलाई ‘बाइपास’ गराउन खोज्दा सोचेजस्तोगरी अधिवेशन सर्वसम्मत हुन नसकेको कार्यकर्ताको ठम्याई छ । 

एमाले स्थायी कमिटी सदस्य तथा एमाले कर्णालीका इञ्चार्ज यामलाल कँडेलको गृह जिल्ला सुर्खेतमा अधिवेशन विवादित बन्यो । कँडेलले अधिवेशनमा हस्तक्षेप गरेको भन्दै अध्यक्षमा हार बेहोरेका डन्डीप्रसाद शर्माले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएका थिए । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उहाँ (यामलाल)ले प्रदेश इञ्चार्जको हैसियत बिर्सेर पार्टी कब्जा गर्न खोज्नुभयो । यतिमात्र होइन् निर्वाचन सम्पन्न भएपश्चात जितेका साथीहरूको शपथ ग्रहण कार्यक्रममा समेत मलाई सहभागी गराइएन । नयाँ बनेको जिल्ला कमिटीले निर्वाचनमा हारेका नेताहरूलाई एकताबद्ध बनाउन चाहेनन् ।’ उनले कँडेलले गुटको खेती गरेको र सहमति गर्ने नाममा अधिवेशनलाई त्रसित बनाएको आरोप समेत लगाए । साथै प्रदेशमा २० सिट भएको एमाले कँडेलकै कारण प्रतिपक्षको कुर्सीमा थन्किनु परेको उनले टिप्पणी गरे । नेता शर्माले जिल्ला कमिटीले पार्टीमा भएका कमीकमजोरी सुधार नगरे सडकबाटै ठेगान लगाउने चेतावनी समेत दिएका छन् ।

कर्णालीका जिल्ला तहको नेतृत्व चयनको फेहरिस्त 

सुर्खेत

एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी विजयी भएका छन्। मतपरीणाम अनुसार विसीले ३६८ उनका प्रतिस्पर्धी डन्डीप्रसाद शर्माले २६७ मत ल्याएका थिए । 

यस्तै उपाध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भए । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषि गिरीले २२६ मत ल्याएका छन् । त्यस्तै सचिवमा कवीन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याए ।

उप–सचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् । नेताहरूबीच सहमति नजुट्दा अन्तिममा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । 

जाजरकोट

जाजरकोटमा एमालेको अध्यक्षमा खीमबहादुर शाही विजयी भएका छन् । उनले  निवर्तमान अध्यक्ष करबीर शाहीलाई पराजित गरेका हुन् । कुल ४३३ जना प्रतिनिधि रहेको जाजरकोटमा खीमबहादुरले २१७ मत ल्याउँदा करबीरले २१० मत ल्याएका थिए।

यस्तै उपाध्यक्षमा गोपाल बहादुर बडाला विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नवराज सिंहले १७७ मत ल्याए। सचिवमा प्रेस चौतारी नेपालका उपाध्यक्ष समेत रहेका वीरबहादुर गिरीले २२५ मत ल्याएर विजयी भएका  छन् । 

उप–सचिवमा गोपाल नेपालीले २५८ र नरबहादुर बस्नेत २४७ विजयी भएका छन् ।

कालिकोट

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे  निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गरेका हुन् । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । 

यस्तै उपाध्यक्षमा दयाराम सिम्खडाले ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन्। 

सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएका छन्।

कालिकोटमा सर्वसम्मतको प्रयासबाट नेतृत्व चयन गर्न नसक्दा निर्वाचनमा जानु परेको एमाले कालिकोटका इञ्चार्ज नेशनल शाहीले बताए । पुस २४ गते सुरु गरिएको कालिकोटको जिल्ला अधिवेशन शुक्रवार सकिएको छ । 

 जुम्ला

जुम्लामा सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ। एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतलाई चयन गरिएको छ। उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकायालाई चयन गरिएको छ । 

रुकुम पश्चिम

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन् । यस्तै उपाध्यक्षमा मनवीर घर्ती, सचिव शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल बनेका छन् । सर्वसम्मत नेतृत्व चयन नभएपछि यहाँ पनि निर्वाचन प्रक्रियामा अघि बढाइएको हो  ।अध्यक्षमा देवकोटा सँगै नारायण कुमार शाह, टंकप्रसाद ओलीले दावी गरेका थिए।

सल्यान 

एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन निर्वाचित भएका छन्। उनी पनि सर्वसम्मत निर्वाचित अध्यक्ष हुन् । उपाध्यक्षमा भीमबहादुर सेन, सचिवमा ओजबहादुर बुढाथोकी, उपसचिवमा दानबहादुर केसी र पुष्पा बोहरा निर्वाचित भएका छन्। एमाले सल्यानका अनुसार बुढाथोकी र बोहराबाहेक अन्य पदाधिकारी सोही पदमा दोहोरिएका हुन्।

सचिव बनेका बुढाथोकी आठौँ जिल्ला सम्मेलनमा सचिव पदमा हाल समाजवादीमा गएका रमेश गौतमसँग पराजित भएका थिए।

डोल्पा

हिमाली जिल्ला डोल्पाको एमाले अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा पहिला नेतृत्व चयन गर्ने डोल्पा पहिलो जिल्ला हो। उनी सर्वसम्मत रूपमा चयन भएका हुन् । अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्षमा विश्वचन्द्र डसाल र सचिवका लंकबहादुर रोकाया चयन हुनुभएको छ । उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा चयन भएका छन्। डोल्पामा २३ गतेदेखि अधिवेशन सुरु गरेर २५ गते भित्रै नेतृत्व टुङटग्याएको थियो ।

मुगुमा अझै टुङ्गो लागेन, हुम्लामा अधिवेशन स्थगित 

हिमाली जिल्ला मुगुमा गत बुधबारदेखि अधिवेशन सुरु भएपनि नेतृत्व चयन हुन सकिरहेको छैन । एमाले मुगुका नेता डबल रोकायाका अनुसार सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्दागर्दै नसकिएपछि निर्वाचनमा जाने तयारी थालिएको छ। जसका कारण नेतृत्व चयनमा ढिलाइ भएको छ ।

अध्यक्षमा डम्मर रावल र जीत बहादुर मल्लको नाम चर्चामा छ। उनीहरुकोबीचमा ‘लबिङ’ भइरहेको छ,’उनले रातोपाटीसँग भने। हुम्लामा भने निर्वाचन सारिएको छ। जिल्ला कमिटीको बैठकले नै आगामी माघ २३ गतेका लागि भन्दै अधिवेशन सार्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य समेत रहेका हुम्लाका नेता दल रावलले जानकारी दिए ।  उनले भने,‘मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन सारिएको हो।’

दैलेखमा विवाद

निर्धारित समयमा नै अधिवेशन सुरु भएको दैलेखमा विवाद सिर्जना भएको छ। प्रतिनिधि भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ भने अध्यक्षका दुई उम्मेदवारबीचमा आन्तरिक द्वन्द्व सिर्जना भएको छ। 

यस जिल्लाको अध्यक्षको लागि सुरुमा पाँच जनाले दाबी गरेका थिए । तर अन्तिममा आएर वर्तमान अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा भयो। सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिएपनि नसकेपछि दुईजनाबीच निर्वाचन गर्नुपर्‍यो।

चुनावका लागि हिमालयजङ्ग शाहलाई मुख्य मतदान अधिकृत तोकियो भने अध्यक्ष मण्डलको नेतृत्व जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेललाई तोकिएको थियो । कुल ७२१ मत रहेको दैलेखमा चुनावमा ७१७ मत खसेको थियो । तर ३१ मत फर्जी भेटिएपछि दुई समूहबीच हङ्गामा नै मच्चिएको छ। यो विवाद पार्टी केन्द्रसम्म नै पुगिसकेको छ।

शाही पक्षले शर्मा पक्षले ‘सेटिङ’ गरेको हुनसक्ने आशङ्का गरिरहेको छ। अब दैलेखमा पुनः निर्वाचन गर्नुबाहेक विकल्प छैन। 

अर्को कुरा निर्विरोध निर्वाचित भएका उपाध्यक्ष नन्दकिशोर बस्नेतविरुद्ध उजुरी परेको छ। नारायण नगरपालिका– १ का प्रतिनिधि हरिबहादुर थापा नाम गरेको व्यक्तिले योग्यता नपुगेको, विधि र विधानविपरीत अध्यक्ष मण्डलको आदेशमा निर्वाचन आयोगले उनलाई सर्वसम्मत उपाध्यक्ष चयन गरेको भन्दै निर्वाचन आयोगमा बस्नेतविरुद्ध उजुरी दिएका छन्। जुन एमालेभित्र देखिएको पहिलो घटना हो ।

बस्नेत एक कार्यकाल मात्रै जिल्ला कमिटी सल्लाहकार सदस्य भएकाले पदाधिकारी हुन नपाउने भन्दै थापाले आयोगमा उजुरी गरेका हुन् । उजुरीमा बस्नेतको पद खारेजीको माग गरिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप