बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख एमाले अधिवेशन विवाद : अध्यक्षका उम्मेदवारकाे फरक-फरक बोली

निर्वाचन अधिकृत भन्छन्, ‘मेरो हस्ताक्षर ‘स्क्यानिङ’ गरेर दुरुपयोग गरियो
बुधबार, २८ पुस २०७८, १७ : ३५
बुधबार, २८ पुस २०७८

नेकपा एमाले दैलेखको सातौं जिल्ला अधिवेशनबाट नेतृत्व छनोटको विषयमा सिर्जित विवादलाई लिएर दलभित्रका नेताहरुबीच मतभेद सुरु भएको छ । मतदान गरेको जम्मा मतदाताभन्दा ३१ मतपत्र मतपेटिकाभित्र बढी फेला परेपछि अध्यक्ष मण्डलमात्रै होइन, दलभित्रका नेताहरुमाथि कार्यकर्ताहरुले नैतिक प्रश्न उठाउन थालेका छन् ।  

सहमतिको प्रक्रियाबाट नेतृत्व टुङ्ग्याउन नसकेपछि अधिवेशन सुरु भएको पाँचौं दिनमा निर्वाचन भएको थियो । जम्मा ७ सय २१ मतदातामध्ये ७ सय १७ जना मतदानमा सहभागी भएको रेकर्डमा रहे पनि मतपेटिकाभित्र ७ सय ४८ मत भेटिएपछि मतगणना रद्द गरिएको छ । मंगलवार विहान साढे ९ बजेबाट सुरु भएको मतदान करिब साँझ पाँच बजेतिर सकिएको थियो । 

मतगणना स्थगित भएपछि दुई प्यानलका नेताहरुका फरक–फरक खालको टिप्पणी आउन थालको छ । अध्यक्षका उम्मेदवार सुर्यबहादुर शाहीको पक्षले आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ भने रविन्द्रराज शर्मा पक्ष मौन बनेको छ ।

शाही पक्षले मतदाता ७२१ भएको थाहा पाउँदा–पाउँदै मतपत्र ७४८ किन छापिएको ? भन्दै प्रश्न उठाइरहेको छ । निर्वतमान पार्टी अध्यक्षसमेत रहेका अध्यक्ष पदका उम्मेदवार शर्मा पक्षको ‘सेटिङ’ भएको हुन सक्ने आशंका शाही पक्षले गरेको छ ।

अर्को कुरा छापिएको सबै मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरिनुलाई गम्भीरतापूर्वक हेरिएको छ । स्रोतका अनुसार मतपत्रमा क्रम संख्या समेत उल्लेख छैन । यो विषयलाई लिएर एमाले पोलिटव्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको छ, जसमा दैलेखबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू सदस्य छन् । पोखरेलले जिल्लामा देखिएको विवादको विषयमा पार्टी केन्द्रलाई जानकारी गराई सकिएको रातोपाटीलाई जानकारी दिए ।

पोखरेलले भने,‘हामीले सबै रिपोर्ट पार्टी केन्द्रमा पठाइसकेका छौं । अब, अध्यक्ष, महासचिवज्यूको निर्देशन कुरिरहेका छौं । उहाँहरुबाट के निर्देशन आउँछ, सोही अनुसार अघि बढ्छौं ।’

अध्यक्षका उम्मेदवारका फरक बोली 

अध्यक्षका उम्मेदवार सुर्यबहादुर शाहीले अधिवेशनमा पार्टीको मूल्य, मान्यता विपरित गतिविधि भएको भन्दै आवाश्यक छानबिन गर्न माग गरेका छन् । उनले भने,‘१५ जना जति मतदाता निर्वाचनमा सहभागी नभएको पाइएको छ । सतप्रतिशत मत कुनै चुनावमा कट्दैन । त्यमाथि बढी मतपत्र छापिएको छ । यो योजनाबद्ध तरिकाले गरिएको मेरो ठम्याई छ ।’

यता अध्यक्षका अर्का उम्मेदवार रविन्द्रराज शर्माले केही नमुना मतपत्र पनि बाँडिएकाले केही समस्या देखिएको बताए । उनले भने,‘हामीलाई आरोप लगाउनुपर्ने केही त्यस्तो कारण छैन ।  हामीभन्दा माथि अध्यक्ष मण्डल पनि छ । पार्टीभित्रको चुनावमा कसैले धाँधली गर्छ भन्ने आशंका गर्ने ठाउँ हुँदैन । तर घटनाक्रम यस्तो आयो । छानबिन होला नि..!’

निर्वाचन अधिकृतको हस्ताक्षर दुरुपयोग !

नेता कार्यकर्ताहरुले निर्वाचन मण्डलमाथि मतपत्र बढी छापिएको र निर्वाचन अधिकृतको हस्ताक्षरको विषयलाई लिएर प्रश्न उठाइरहेका छन् । यसबारे निर्वाचन अधिकृत हिमालयजङ्ग शाही भन्छन्, ‘हामीले जम्मा ७३० मत छुट्याएको हो, त्यसमा ७१७ मत खस्यो । हामीले केही नमुना मत बनाएका थियौं । त्यसमा स्क्यानिङ् गरेर मेरो हस्ताक्षर प्रयोग भयो होला ।’

अधिकृत शाहीले दुबै पक्षका नेताहरुको पनि कमजोरी रहेको बताए ।  म त हस्ताक्षर गर्नमै व्यस्त भएँ,’ उनले भने,‘अन्य साथीहरुले के–के गर्नुभयो, त्यो थाहा भएन । हामीले तीनवटा क्लस्टरमा चुनाव गराएका थियौं । कतिपय मान्छे भोट हालेर त्यहीं घुमिरहेका थिए । त्यहींबाटै केही गडबड भएको हुन सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप