आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो ओमिक्रोन : के भन्छन् काठमाडौंका सिडियो र सीसीएमसीसी ?

सीमा र हवाइमार्ग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : गृहमन्त्री
शुक्रबार, २३ पुस २०७८, १९ : ३८
शुक्रबार, २३ पुस २०७८

 केही दिनयता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ उकालो लागेको छ । संक्रमणको जोखिम बढ्न थालेपछि व्यवसायी एवं आम मानिसले सोध्न थालेका छन्– अब के हुन्छ ? के अब फेरि लकडाउन हुन्छ ?

संक्रामक ओमिक्रोन भेरियन्ट धमाधम पुष्टि भइरहेको हुनाले संक्रमितको ग्राफ बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको आँकडाअनुसार नेपालभर संक्रमितको संख्या ९६८ पुगेको छ । थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्था रहन निर्देशनसमेत दिइसकेको छ  ।

काठमाडौंमा मात्र होइन, बाहिरी जिल्लामा पनि संक्रमणको जोखिम बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय ९ दिनका लागि बन्द भएका छन् । शुक्रबार सार्वजनिक अपिल जारी गर्दै माघ ३ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय तुलसीपुर उपमहानगरपालिकाले गरेको हो ।

भारतमा पछिल्लो सात महिनापछि दैनिक संक्रमितको सङ्ख्या एक लाख पार भएको छ भने सिमा नाकाबाट आउनेमा धमाधम कोरोना संक्रमण भएको पाइएको छ । केही दिनयता  शून्यमा झरेको संक्रमण पछिल्लो साता उक्लिन लागेको नेपाल भारत सीमा नाका बेलहियाले जनाएको छ ।

त्यहाँ एन्टिजेन परीक्षण गर्दा बिहीबार ५३२ जनाको कोरोना परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारीको तेस्रो लहरको संकेत देखिइसकेको बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा अत्यधिक बिरामीको चाप बढ्न सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन एक साताअघि नै निर्देशन दिइसकेको अवस्था छ ।


विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले खोप लगाएका मानिसमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको पाइएको बताएका छन्  । तर, यसलाई हल्का भनेर वर्गीकरण गर्न नमिल्ने उनले बताएका छन् । उनले ओमिक्रोन संक्रमणको सुनामीले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहस नहस बनाउने संकेत गरेका छन् ।

सिंहदरबारमा सीसीएमसीसीको बैठक

देशभर महामारीको तेस्रो लहर फैलने त्रास बढेपछि शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठक बसेको छ ।

सीसीएमसीसीको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री वालकृष्ण खाणले रातोपाटीलाई बताए ।

सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, निर्माणाधीन स्वास्थ्य संरचना तुरुन्त बनाउने, सीमाबाट भित्रिने नेपालीहरुको पीसीआर र एन्टिजेन परीक्षणको दायरा बढाउने र संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको मन्त्री खाणले बताए ।

सीसीएमसीको बैठकमा सीमा नाका र हवाई उडान बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने चर्चा चले पनि शुक्रबार यसबारे कुनै निर्णय नभएको मन्त्री खाणको भनाइ छ ।


सीसीएमसीको बैठकको निर्णयबारे जानकारी दिँदै स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाएका मानिसहरुलाई कार्ड बोकेर हिँड्न सचेत गराइने बताए । साथै माघ पहिलो हप्ताबाट क्रमशः बुस्टर डोज दिइने उनले जानकारी दिए ।

के भन्छन् काठमाडौं उपत्यकाका सिडियो ?

कोरोना संक्रमणको जोखिम बढ्न थालिसक्दा पनि काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडियोहरु छलफलमा जुट्न सकेका छैनन् ।

नेपालमा गत मंसिर १९ गते दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । यस्तै, पुस ७ गते अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं ललितपुर र भक्तपुर परेका छन् । काठमाडौं जिल्लामा सक्रिय संक्रमित १ हजार ४५४ छन् । भक्तपुरमा ६६२ र ललितपुरमा ६६४ जना संक्रमित छन् ।


जनघनत्व बढी भएको मुख्य शहर काठमाडौं उपत्यकामा जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्ने क्रम जारी छ । संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट थप फैलन नदिनका लागि उपत्यकाका तीन जिल्लामा थप सर्तकता अपनाउन जरुरी देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराइसकेको छ ।

अत्यधिक भिडभाड र आवत–जावत हुने उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरमा संक्रमण फैलन नदिनका लागि छलफलमा जुट्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना महामारी विगतदेखि नै कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न बारम्बार निर्देशन दिइरहेको बताए ।

प्रजिअ रिजालले रातोपाटीसँग भने, ‘अब नगर, वडासँग जनस्वास्थ्यका मापदण्ड र खोपका विषयमा कसरी आगाडि बढ्ने भन्नेबारे छलफल गर्छौं । उच्च तहको निर्देशनसँगै स्थानीय निकायसँग चाँडै छलफल गरिनेछ ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ओमिक्रोन भेरियन्ट थप फैलन नदिनका लागि छलफलको तयारी भइरहेको रातोपाटीलाई बताए ।

छलफलका आधारमा कसरी थप सर्तकता अपनाउने भन्ने विषयमा निर्णय लिइने बताउँदै उनले ललितपुर जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । उनले भने, ‘सुरक्षाका मापदण्डसँगै तेस्रो लहर आएको खण्डमा कसरी प्रभावकारी कदम चाल्ने भन्नेबारे तत्काल छलफलमा जुट्छौँ ।’

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय भक्तपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले महामारीको सम्भावित तेस्रो लहरसँग जुध्न स्वास्थ्य संस्था र पालिकाहरुसँग छलफलको गृहकार्य भइरहेको बताइन् ।

परियारले रातोपाटीसँग भनिन्, ‘जनस्वास्थ्यका मापदण्ड पालना भए, नभएको बारे कडाइ गर्न निर्देशन दिइसकेका छौँ, आइतबार सम्बन्धित निकायसँग थप छलफल गरेर अगाडि बढ्छौं ।’

स्वास्थ्य मन्त्रालय के भन्छ ?

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुन सक्ने भएकाले अस्पतालहरुलाई अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

अन्य भेरियन्टमा जस्तै ओमिक्रोन भेरियन्टबाट पनि बच्न पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत मन्त्रालयका प्रवक्ता डा. संगीता कौसलले आग्रह गरिन् ।

सही तरिकाले बारम्बार हात धुन, सही तरिकाले मास्कको प्रयोग गर्न तथा दुई मिटरको दूरी कायम गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयकी प्रवक्ताका डा. संगीता मिश्राका अनुसार,  एस जिन सिक्वेन्सिङ गर्ने सुविधा वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश २, भेरी अस्पतालबाट सञ्चालनमा रहेको छ ।

शुक्रबारसम्म लक्षित जनसङ्ख्याको पूर्ण मात्रा खोप ५५.२ प्रतिशतले लगाएका छन् भने ७४.८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सबैजनाले खोप नलगाएको अवस्थामा संक्रामक मानिएको ओमिक्रोन घातक हुन सक्ने भएकाले सचेत हुनुको विकल्प नरहेको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप